सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
युद्धकलाबारे
युटोपियालीहरू युद्ध वा लडाइँलाई पाशविक काम ठान्छन् र युद्धमा संलग्न हुनेहरूलाई घृणा गर्छन् । अन्य राष्ट्रहरूमा रहेको चलनको ठीकविपरीत तिनीहरू युद्धमा पाएको गौरवलाई सबभन्दा ठुलो अपमान ठान्छन् । तिनीहरू दिनहुँजस्तै युद्धको अनुशासनको अभ्यास र व्यवहार गर्छन्, पुरुषहरूमा होइन केही निश्चित दिनमा महिलाहरू पनि युद्धको अभ्यास गर्छन् तथापि तिनीहरू आवश्यक परेको बेलामात्र हतियार उठाउँछन् । आफ्नो देशको रक्षाको लागि, शत्रुहरूले ओगटेको आफ्ना मित्रहरूको जमीनलाई मुक्त पार्न वा अत्याचारबाट पीडित जनतालाई मुक्त गर्नुपरेमात्र तिनीहरू युद्ध गर्छन् । तिनीहरू त्यसो दया वा करुणाको कारण गर्छन् । रक्षाको लागि नभई कहिलेकाहीँ बदला लिन पनि तिनीहरू आफ्ना मित्रहरूलाई मद्दत गर्छन् । तर, यस विषयमा सल्लाह र छलफलबिना केही काम हुँदैन । आवश्यक परेको बेलामात्रै युटोपियालीहरू युद्ध गर्छन् । आफ्नो वा आफ्ना मित्रहरूका व्यापारीहरूलाई अरु कुनै देशमा कानुनको गलत व्याख्या गरी तथा न्यायको नाउँमा अन्यायपूर्वक आरोप लगाएर कैद गरिएमा तिनीहरू आफैँ अगाडि सरेर आक्रमण गर्न पछि पर्दैनन् ।
नेफेलोगेटस् (Nephelogets) हरूको पक्षमा युटोपियालीहरूले आलाओपेलिटान्स (Alaopolitans) विरुद्ध गरेको युद्धको पछाडि पनि यहीँ कारण थियो । युटोपियालीहरूका अनुसार एक नेफोलोगेटस् व्यापारीले आलाओपोलिटान्सहरूबाट अनाहकमा दुःख पाए । सही वा गलत जे भए तापनि त्यो युद्ध एकदम क्रूर र विनाशकारी बन्यो । दुवै पक्षको घृणाको कारण धेरै व्यक्तिहरूमाथि कुटपिट भयो । आलाओपोलिटान्सहरू नेफोलोगेटस्हरूको बन्धक बनेपछि मात्रै युद्ध अन्त्य भयो । युटोपियालीहरूले त्यो युद्ध आफ्नो लागि लडेका थिएनन् । आलाओपोलिटान्सहरू युद्धभन्दा पहिले समृद्ध थिए भने नेफेलोगेटस्हरू तिनीहरूको तुलनामा केही पनि थिएनन् ।
आफ्ना मित्रहरूमाथि भएको अन्यायको बदला दिनमा युटोपियालीहरू प्रतिबद्ध छन् तर पैसाको मामिलामा तिनीहरू त्यस्ता छैनन् । यदि कसैले धूर्ततापूर्वक कुनै सम्झौतामार्फत सामान खोसेर कुनै शारीरिक क्षति पु¥याएन भने तिनीहरूसँग व्यापार नगरी आफ्नो चित्त नबुझेसम्म बदला लिन्छन् । तिनीहरू आफ्नो मित्रको क्षतिलाई आफ्नो क्षतिभन्दा पनि गम्भीररूपमा लिन्छन् । तिनीहरूको मित्रहरूका व्यापारीहरूले आफ्नो सामान गुमाए तिनीहरू त्यो क्षति सहन्छन् । तर, तिनीहरूका नागरिकहरूले साधारण सामानबाहेक अरु केही गुमाउँदैनन् ।
आफ्नो देशमा पर्याप्त भएको सामान तथा कसैले पनि गुमाएको अनुभव गर्दैनन् । तसर्थ, आफ्नो लागि कुनै पनि क्षति अनुभव नहुने क्षतिको लागि धेरै मानिसहरूको ज्यान लिएर बदला लिनु क्रूरता भएको तिनीहरू सोच्छन् । तर, संयोगवश तिनीहरूको कुनै पनि नागरिक अरु कुनै देशमा मारिए वा अपाङ्ग भए आफ्ना राजदूतमार्फत सत्य कुरा पत्ता लाउने प्रयास गर्छन् तथा दोषीलाई सुपुर्दगी नगरेसम्म सन्तुष्ट हुँदैनन् । त्यसो भएन भने तिनीहरू युद्ध छेड्छन्† दोषीहरूलाई मृत्युदण्ड दिएर वा बन्दी बनाएर सजाय दिन्छन् । रक्तपातबाट विजय पाउनु मूर्खता भएको भन्दै त्यस्तो विजयप्रति तिनीहरू खेद व्यक्त गर्छन् ।
आफ्ना शत्रुहरूलाई धुत्र्याइँ वा कपटबाट दबाउनुमा तिनीहरू गौरवको अनुभूति गर्छन् तथा त्यसको लागि तिनीहरू विजय प्राप्त गर्छन् । आफ्ना शत्रुहरूलाई दबाएको ठाउँमा विजयको प्रतीकस्वरूप ढुङ्गाको स्मारक खडा गर्छन् । त्यसपछि तिनीहरू विजय मनाउँछन्, धाक रवाफ देखाउँछन् किनभने मानिसले बाहेक कसैले पनि बुद्धि लगाएर युद्ध जित्न सक्दैन । शारीरिक शक्तिबाट भालु, सिंह, बँदेल, ब्वाँसो, कुकुर र अन्य जङ्गली जनावरहरूमात्र लड्छन् । तिनीहरू शारीरिक शक्तिमा बलियो भएजस्तै मानिस बुद्धि र ज्ञानमा बलियो हुने तिनीहरूको धारणा छ ।
युद्ध गर्ने तिनीहरूको प्रमुख उद्देश्य त्यो सामान प्राप्त गर्नु हो जुन आफूले पहिल्यै पाए युद्ध नै हुँदैन । तर, यो सम्भव नभए दोषीहरूसँग तिनीहरू कस्तो क्रूर बदला लिन्छन् भनेपछि तिनीहरू त्यस्तो गर्न डराउँछन् । यही नै तिनीहरूको प्रमुख आशय हो । यसैलाई तिनीहरू सबैभन्दा पहिले कार्यान्वयन गर्छन् तथापि तिनीहरू प्रशंसा वा ख्याति चाहनुभन्दा खतराहरू पन्छाउनमा सचेत छन् । तसर्थ, एकपटक युद्ध समाप्त भएको घोषणा भएपछि शत्रुको भूमिमा तिनीहरू धेरै घोषणा गर्छन् । ती घोषणामा शत्रुका राजकुमार र अन्य व्यक्तिलाई मार्नेहरूलाई धेरै पुरस्कार दिन्छ । अन्य व्यक्तिहरूमा राजकुमार पछि आउने मुख्य व्यक्तिहरू पर्छन् । ती व्यक्तिलाई जिउँदै पक्रेर ल्याउनेलाई घोषितभन्दा दोब्बर पुरस्कार दिन्छन् । ती व्यक्तिहरूले आफ्नो विचार परिवर्तन गरेर युटोपियाको साथ दिन चाहन्छन् भने तिनीहरूलाई क्षमादान, जीवनदान दिन्छन् । तसर्थ, तिनीहरूका शत्रुहरू सबैले एक अर्कालाई शङ्काको दृष्टिकोणले हेर्छन् तथा डर र खतरामा बाँच्छन् । राजकुमारहरूले जसलाई धेरै विश्वास गर्छन्, त्यसैले बढी धोखा दिएको धेरैपटक देखिसकिएको छ । पुरस्कारको लोभमा मानिसले नगर्ने त्यस्तो केही काम छैन । पुरस्कार दिने मामिलामा तिनीहरू पछि पर्दैनन्, जति ठुलो खतरा उति ठुलो पुरस्कार । तसर्थ, तिनीहरूले धेरै सुनमात्र नभई सुरक्षित स्थानमा धेरै जमीन दिने वाचा गर्छन् । आफ्नो वाचालाई युटोपियालीहरू बिना कुनै छल पूरा गर्छन् ।
आफ्ना शत्रुहरूलाई खरीद–बिक्री गर्ने कामलाई अरुहरू क्रूर र कायरता मान्छन् तर तिनीहरू प्रशंसायोग्य ठान्छन् । बुद्धिमान् मानिसहरूले यस्तो उपायबाट बिना कुनै लडाइँ युद्ध जित्छन् । यसबाहेक तिनीहरू यसलाई दयालु काम ठान्छन् किनभने सानो सङ्ख्यामा आक्रमणकारीहरूको हत्याबाट युद्धमा दुवैतिर मारिने धेरै निर्दोषहरूको ज्यान बचाउन सकिन्छ । आफ्नो जनतालाई जस्तै शत्रु जनतामाथि पनि तिनीहरू दयाभाव राख्छन् किनभने तिनीहरू आफ्नो इच्छाविपरीत राजकुमारहरूको सनकमा युद्धमा होमिएका हुन्छन् । यस्तो उपायबाट कुरा अगाडि बढेन भने राजकुमारका भाइ वा अन्य कुनै मुख्य व्यक्तिलाई आफ्नो पक्षमा ल्याउन बहस र असन्तोष फैलाउने प्रयास गर्छन् । यो उपाय पनि काम लागेन भने तिनीहरूले शत्रु देशको नजिकै रहेको अर्को देशलाई युद्ध गर्न उक्साउँछन् । यसको बदलामा मद्दत गर्ने र युद्धमा सहयोग गर्ने बाचा गर्छन् तथा पैसाको सन्दर्भमा प्रशस्तै दिन्छन् । तर, आफ्ना नागरिकहरूलाई तिनीहरू युद्धमा पठाउँदैनन् वा थोरैमात्र पठाउँछन्, आफ्ना प्रिय नागरिकहरूलाई सूत्र पक्षको राजकुमारसँग साट्न पनि तिनीहरू इच्छुक छैनन् । तर, सुन र चाँदीलाई उनीहरूले त्यस्तै अवसरको लागि राखेको हुँदा त्यसलाई खुलारूपमा खर्च गर्छन् ।
आफ्नो घरमा रहेको सम्पत्तिबाहेक विदेशमा तिनीहरूको धेरै सम्पत्ति छ किनभने धेरै राष्ट्रहरू तिनीहरूका ऋणी छन् । तसर्थ, तिनीहरू ती देशहरूबाट सैनिकहरू भाडामा लिन्छन् र युद्धमा पठाउँछन् । तीमध्ये पनि यस्तो गरिने सबैभन्दा मुख्य देश जापोलेटस् (Japoletes) हो । युटोपियाबाट ५०० माइल पूर्व रहेको जापोलेटस्का निवासीहरू कठोर, जङ्गली र असभ्य छन् । तिनीहरू घना जङ्गल र उच्च पहाडहरूमा बस्छन्, त्यहीँ हुर्कन्छन् । तिनीहरू कठोर प्रवृत्तिका हुन्छन्, गर्मी, जाडो, श्रम खप्न सक्छन्, घर बनाउने काम र लुगा लाउनेमा घरेलु र रुखो छन्, पशुपालन गर्छन् । तिनीहरूको धेरैजसो जीवन शिकार र चोरीमा बित्छ । तिनीहरू युद्धको लागि नै जन्मेका हुन्, युद्ध नै चाहन्छन् र युद्ध गर्न पाए धेरै खुसी हुन्छन् । जुन देशमा सैनिकहरूको अभाव हुन्छ त्यहाँ तिनीहरू जान्छन् र थोरै ज्यालाको बदलामा आफ्नो सेवा दिन्छन् । यही तिनीहरूको जीवनयापनको एउटा आधार हो । अरुको ज्यान लिएर तिनीहरू आफू बाँच्छन् । जसबाट ज्याला लिन्छन् तिनीहरूको लागि कठोरतापूर्वक, बफादारीतापूर्वक तिनीहरू लड्छन् । तर, तिनीहरूको निश्चित समय अवधि हुँदैन, भोलिपल्ट बढी ज्याला पाए तिनीहरू अर्को पक्षमा जान्छन् र पर्सि अलि बढी पैसामा पुनः फर्किन्छन्, यही सर्तमा तिनीहरू करारमा बाँधिन्छन् । थोरैमात्र युद्ध हुने भएकोले दुवै पक्षमा सैनिकहरूको अभाव रहन्छ तसर्थ एक–आपसमा परिचित र मैत्रीसम्बन्ध रहेका नाताकुटुम्बहरू दुईविपरीत पक्षले भाडामा लिएपछि आफ्नो सम्बन्ध बिर्सेर क्रूरतापूर्वक एक आपसमा लड्छन् । थोरै पैसा बढी पाएको कारण तिनीहरू आफ्नो पक्ष छिनछिनमा परिवर्तन गर्छन् । लडाइँ गरेर पाएको रकम तिनीहरू दङ्गा, भिडन्त आदिमा खर्च गर्छन् ।
यी जनता युटोपियालीहरूको लागि अन्य सबै राष्ट्रसँग लडाइँ गर्छन् किनभने तिनीहरूलाई अरु कुनै राष्ट्रले भन्दा युटोपियाले बढी ज्याला दिन्छ । राम्रो मानिसलाई राम्रो काममा प्रयोग गर्ने युटोपियालीहरू ती खराब र क्रूर मानिसहरूलाई त्यस्तै काममा प्रयोग गर्छन् तथा आफ्नो ज्यान खतरामा पारेको बदलामा धेरै पुरस्कारको वाचा गर्छन् । तीमध्ये धेरैजसो आफ्नों पुरस्कार लिन फर्कदैनन् तर युद्धमा जीवित रहेकाहरूलाई तिनीहरूले आफूले वाचा गरेको जति दिन्छन् किनभने अर्को पटक तिनीहरू आफ्नो लागि झन् बफादारीपूर्वक लडून् । आफूले कति जनाको ज्यान लियो भन्ने कुराको लेखाजोखा युटोपियालीहरू राख्दैनन् किनभने दुष्ट र खराब जनताबाट विश्वलाई मुक्ति दिलाउनु मानवताको लागि राम्रो काम भएको तिनीहरू सोच्छन् । जसको लागि लड्छन्, त्यहाँको सेना युटोपियालीहरू प्रयोग गर्छन् तथा अन्य मित्रहरूको मद्दत लिन्छन् । अन्तमा तिनीहरू आफ्नो देशमा जान्छन् तथा सम्पूर्ण सेनाको, नेतृत्व आफ्नो नागरिकहरूमध्ये एक योग्य व्यक्तिलाई दिन्छन् । उनीअन्तर्गत युटोपियालीहरू अर्को दुई जनालाई नियुक्त गर्छन् । यदि उनी बन्दी भए वा मारिए अर्को दुईमध्ये एकले उनको उत्तराधिकारी बन्छन् । दोस्रो व्यक्ति पनि असक्षम भए तेस्रोलाई नियुक्त गरिन्छ किनभने सेना प्रमुखको मृत्यु वा उनको जीवनमाथि खतराले सम्पूर्ण सेनालाई खतरामा पार्छ । हरेक सहरबाट जो युद्धमा जान चाहन्छन् तिनीहरू छानिन्छन् किनभने इच्छाविपरीत कसैलाई पनि युद्धमा पठाइनु हुँदैन भन्ने तिनीहरूको धारणा छ । यदि कोही मानिस कमजोर मुटुको छ भने उनले आफूले पनि केही काम गर्न सक्दैन तथा आफ्ना साथीहरूलाई पनि कायर बनाउँछ । तर, यदि आफ्नो देशविरुद्ध युद्ध भयो भने तिनीहरू काँतरहरूलाई बहादुरहरूसँगै जहाजमा राख्छन् अथवा तिनीहरूलाई भाग्न नसकिने गरी राखिन्छ । आफ्ना शत्रुहरू देखेर लाजले अथवा भाग्ने ठाउँ नपाएर तिनीहरू सबै डर बिर्सन्छन् । धेरै पटक, आवश्यक परेको बेला तिनीहरू आफ्नो कायरतालाई क्षमतामा बदल्छन् ।
कसैलाई पनि इच्छाविपरीत युद्धमा सामेल नगरिने भएकोले युद्धमा आफ्नो पतिको साथ पनि चाहने महिलाहरूलाई रोकिँदैन । यसको विपरीत तिनीहरूलाई प्रोत्साहित गरिन्छ तथा युद्धमा हरेक महिला आफ्नो पतिसँगै उभिन्छे । यसबाहेक हरेक व्यक्ति आफ्ना बाल–बच्चा, नाताकुटम्बसँगै रहन्छन् किनभने आवश्यक परेको बेला एक–आपसमा सहयोग गर्न सकियोस् । पति आफ्नो पत्नीबिना, पत्नी आफ्नो पतिबिना र छोरा–छोरी आफ्नो पिताबिना घर फर्कनु ठुलो लज्जा हो । तसर्थ, अर्को पक्षले कठोर युद्ध गरे ठुलो मारकाट र रक्तपातका साथ युद्ध गरिन्छ, दुवै पक्षलाई ठुलो क्षति हुने गरी । युद्धको आवश्यकताबाट आफूलाई टाढा राख्न तिनीहरू हरसम्भव उपाय गर्छन् वा भाडाका सैनिकहरूलाई प्रयोग गर्छन् । तर, कुनै उपाय बाँकी नरहेपछि बहादुरीपूर्वक तिनीहरू युद्धमा होमिन्छन् । सुरुमा तिनीहरू धेरै आक्रामक हुँदैनन् तर विस्तारै तिनीहरूको साहस बढ्छ र तिनीहरू एक इञ्च जमीन छाड्नभन्दा मर्न रुचाउँछन् । यस क्रममा आफूपछि आफ्ना सन्तानहरू कसरी बाच्नेछन् भन्ने कुराप्रति ध्यान दिँदैनन् । यही चिन्ताबाट मुक्त हुने भएकोले तिनीहरूमाथि विजय प्राप्त गर्न धेरै गा¥हो छ । तिनीहरूको नैतिकता र हतियारसम्बन्धी ज्ञानले पनि मद्दत पु¥याउँछ । अन्तमा, बाल्यकालदेखि नै आफू हुर्केको वातावरण, राम्रो विचार, राम्रो कानुन र व्यवस्थाले तिनीहरूको साहसलाई बढाउँछ । तिनीहरूले बेमतलबमा आफ्नो ज्यान खतरामा पार्दैनन् न त तिनीहरू युद्धप्रेमी नै छन् ।
लडाइँ आफ्नो चरम सीमामा रहेको बेला छानिएका, एकै साथ जीउने मर्ने वाचा गरेका युवाहरूको एउटा टोलीलाई शत्रुहरूको सेना प्रमुखलाई नष्ट गर्न पठाइन्छ । त्यो टोलीले कहिले गुप्त, कहिले खुला शक्ति र दाउपेच प्रयोग गर्छ । उसलाई नजिक र टाढा दुवैबाट आक्रमण गरिन्छ । उनीमाथि लामो समयसम्म आक्रमण गरिन्छ, घाइतेहरूको ठाउँमा नयाँ व्यक्तिहरू आउँछन् । उनी नमारिने वा बन्दी नबन्ने सम्भावना थोरैमात्र हुन्छ । तिनीहरूले युद्ध जिते आफ्ना शत्रुहरूमाथि नरसंहार मच्चाउँदैन्, तिनीहरूलाई जीउँदै समाउनु उपयुक्त ठान्छन् । आफ्ना शत्रुहरू पीछा गर्दैनन् वा पछ्याउँदैनन् तर रणभूमिमा आफ्ना झण्डामुनि एक भाग सेना छाड्छन् । यदि शत्रुहरूको पछाडिको सेनाबाहेक सबै सेना अन्योलग्रस्त भए तथा तिनीहरूले विजय प्राप्त गरे आफूले शत्रुहरूको पीछा गर्नुभन्दा भाग्न दिन्छन् । आफू त्यस्तै, अवस्थामा धेरै पटक परेको तिनीहरूलाई स्मरण छ । एकपटक तिनीहरूको आवियेथ पूर्णतः पराजित भइसक्दा विजयको खुसी मनाइरहँदा शत्रुहरूले भागिरहेकासँग क्रूर व्यवहार गरे ।
त्यसैबेला विद्युतीय धराप थाप्न तयार रहेका तिनीहरूका सैनिकहरूको एउटा टोलीले अचानक आक्रमण गरेर शत्रुहरूलाई तितरवितर पारे तथा सम्पूर्ण युद्धको भाग्यलाई नै परिवर्तन गरिदिए । आफूमाथि अरु कोही विजय हुनुभन्दा केही क्षण अगाडि, विजेताहरूमाथि विजय प्राप्त गरे । तिनीहरू धराप थाप्नमा वा धरापबाट सुरक्षितसाथ निस्कनमा बढी सक्षम छन् भन्ने कुरा पत्ता लगाउन गा¥हो छ । केही पनि नहुँदा तिनीहरूले भाग्ने आशय राखेको तपाईँ सोच्नुहुन्छ । तर, जब तिनीहरूले त्यो उद्देश्य पूरा गर्छन् तब भाग्ने कुरा तिनीहरूले सोच्दै नसोचेको तपाईँले विश्वास गर्नुहुन्छ । शत्रुहरूको सङ्ख्याभन्दा आफ्नो सङ्ख्या बढी भएको पायो भने अथवा कुनै ठाउँको एकदम नजिकै पायो भने तिनीहरूले राती, चुपचाप वा आफ्नो शत्रुलाई छलेर आफ्नो शिविर हटाउँछन् वा दिउँसोको समयमा तिनीहरू विस्तारै पछाडि हट्छन् । तर, यसरी पछाडि हट्दा तिनीहरूसँग भिडन्त गर्नु तिनीहरू युद्धको लागि अगाडि बढ्दाभन्दा झन् खतरनाक छ ।
तिनीहरू आफ्नो शिविरलाई एउटा गहिरो र चौडा नहर खनेर सुरक्षित पार्छन्, यसो गर्दा निस्केको माटो भित्र फ्याँकिन्छ । यो काम दासहरूले होइन, सैनिकहरू आफैले गर्छन् । केही अनपेक्षित घटनाप्रति निगरानी राख्नुपर्नेहरूबाहेक सबै सेना यस काममा संलग्न हुन्छन् । तसर्थ, धेरै मानिसको श्रमबाट ठुलो जमीन घेर्ने त्यत्रो ठुलो नहर सोचेकोभन्दा कम समयमा नै बन्छ । तिनीहरूले चलाउने हतियार र लगाउने सुरक्षा कवच शक्तिशाली र हरेक प्रहार सहन सक्ने खालको हुन्छ । त्यसबाहेक पौडन र विभिन्न शारीरिक क्रियाकलाप गर्न पनि सजिलो छ ।
Leave a Reply