क्रान्तिकारी चे ग्वेभारा
- आश्विन १५, २०८३
सन्दर्भ : ज्येष्ठ नागरिक दिवस – २०८३
संयुक्त राष्ट्र सङ्घले सन् १९९० मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो । सन् १९९१ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सुरुआत वि.स. २०६३ साल पुस ११ गते भएको थियो । नेपालमा ज्येष्ठ नागरिक दिवस हरेक वर्ष असोज १५ गते मनाइन्छ ।
नेपालको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ अनुसार ६० वर्ष उमेर पूरा गरेको नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । नेपालको संविधान २०७२ को धारा ४१ मा मौलिक हकअन्तर्गत ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ । उक्त धारामा “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भन्ने कुरा उल्लेख छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिकको सम्मान, पालनपोषण, स्वास्थ्य सेवा, सार्वजनिक यातायात तथा अन्य सार्वजनिक सेवामा सुविधा र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था छ । सार्वजनिक यातायातमा २ वटा सीट सुरक्षित गर्नुपर्ने र भाडामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ । तोकिएका स्वास्थ्य संस्थामा उपचार गर्दा ५० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ ।
ज्येष्ठ नागरिकको सम्मान गर्न, अधिकार संरक्षण गर्न, स्वास्थ्य राम्रो बनाउन, सामाजिक सुरक्षा सुनिश्चित गर्न तथा योगदानको कदर गर्न ज्येष्ठ नागरिक दिवस मनाइनुपर्छ । ज्येष्ठ नागरिकलाई सम्मान तथा आदर गर्नुपर्छ । उनीहरूको मर्यादालाई कायम राख्नुपर्छ । उनीहरूको अधिकार र सामाजिक सुरक्षाबारे चेतना फैलाउनुपर्छ । स्वास्थ्य सेवा तथा सार्वजनिक सेवामा सहज पहुँच बढाउनुपर्छ । ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप तथा अनुभवको सदुपयोग गर्नुपर्छ । परिवार र समाजमा ज्येष्ठ नागरिकप्रति आदर र सद्भाव बढाउनुपर्छ । यी उद्देश्यहरू परिपूर्तिको लागि विद्यालय, वडा, पालिका, क्लवलगायत विभिन्न सङ्घ संस्थाहरूले विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्छन् र गर्नु पनि पर्छ ।
ज्येष्ठ नागरिकको आफ्नो जीवन, शिक्षा, समाजसेवाको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । यसको लागि सुनाउने प्रवचन कार्यक्रम, लेखरचना, पत्रपत्रिका, पुस्तक–पुस्तिकाहरूमा अनुभव प्रकाशन गर्न सकिन्छ । ज्येष्ठ नागरिकका ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । परस्परा, संस्कृति र अनुभवको आदानप्रदान गर्न सँगै बसी अन्तरक्रिया गर्न सकिन्छ । भजन, गीत, नृत्य, कविता तथा स्थानीय संस्कृति प्रदर्शन आदिबाट सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । बालबालिका तथा युवाहरूलाई ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्ने गराउने गर्नुपर्छ । ज्येष्ठ नागरिकका अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । ज्येष्ठ नागरिकको सहभागितामा सामुदायिक कामहरू गर्नुपर्छ । ज्येष्ठ नागरिकको अनुभवबाट नयाँ पुस्तालाई प्रेरणा दिनुपर्छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा दोसल्ला र माला ओढाउने, सम्मान–पत्र प्रदान गर्नेजस्ता भौतिक रूपमा देखिने कार्यहरू भइरहेका छन् । त्यसको साथै रक्तचाप वा मुटुरोगसम्बन्धी, मधुमेह रोगसम्बन्धी, आँखा–कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दै आएको छ ।
ज्येष्ठ नागरिक भनेको उमेरले मात्र ज्येष्ठ भएका व्यक्ति होइनन् । उनीहरू समाजका जीवित इतिहास हुन् । अनुभवका भण्डार र ज्ञानका स्रोत हुन् । उनीहरूले आफ्नो जीवनमा अनेकौँ सङ्घर्ष, दुःख, सुख, सफलता र चुनौतीहरू पार गर्दै आजको पुस्ताको लागि बाटो निर्माण गरेका छन् । आज हामीले प्राप्त गरेका शिक्षा, सुविधा, प्रविधि, विकास, उन्नति, प्रगति आदिका पछाडि अघिल्लो पुस्ताको ठुलो योगदान रहेको छ । विद्यालय, कलेज, विश्वविद्यालय, बाटोघाटो, खानेपानी, स्वास्थ्य सेवा, सामाजिक संस्था, समुदायको विकासलगायत समग्र क्षेत्रमा ज्येष्ठ नागरिकहरूले आफ्नो श्रम, समय र जीवन समर्पण गरेका छन् । त्यसैले, ज्येष्ठ नागरिकलाई बोझका रूपमा होइन, ज्ञान र अनुभवका अमूल्य स्रोतका रूपमा हेर्नुपर्दछ । नयाँ पुस्ताले ज्येष्ठ नागरिकबाट धेरै कुरा सिक्न सक्छ । कठिन परिस्थितिमा कसरी धैर्य गर्ने, परिवार र समाजलाई कसरी जोडेर राख्ने, संस्कार र संस्कृतिको संरक्षण कसरी गर्ने, श्रमको सम्मान कसरी गर्ने, जीवनमा भएका समस्यालाई कसरी समाधान गर्नेजस्ता ज्ञान र सीप ज्येष्ठ नागरिकको अनुभवबाट प्रत्यक्ष सिक्न सकिन्छ । ज्येष्ठ नागरिकसँग वा पुस्तासँग जीवन, समाज, संस्कृति र व्यवहारको गहिरो अनुभव हुन्छ । नयाँ पुस्ता र पुरानो पुस्ताको ज्ञान र सीपलाई जोड्न सकियो भने हाम्रो समाज अझ समृद्ध बन्न सक्छ ।
ज्येष्ठ नागरिकको कुरा सुन्नु, आवश्यक पर्दा सहयोग गर्नु, स्वास्थ्यको ख्याल गर्नु, निर्णय प्रक्रियामा सहभागी गराउनु, उनीहरूको अनुभवलाई समाज निर्माणमा उपयोग गर्नु नै ज्येष्ठ नागरिकप्रतिको वास्तविक सम्मान हो । उनीहरूको अनुभव नयाँ पुस्ताको मार्गदर्शन हो । नयाँ पुस्ताको ऊर्जा समाजको भविष्य हो । त्यसैले, ज्येष्ठ नागरिकका इमानदारिता, अनुशासन, परिश्रम, सहकार्य, सद्भाव जिम्मेवारीजस्ता मूल्य–मान्यता नयाँ पुस्तामा विकास गर्नु आवश्यक छ । रोजगारी र जीवनका चुनौतीबारे उचित मार्गदर्शन दिन ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण हुन्छ । भाषा, कला, साहित्य, जात्रा, पर्व तथा स्थानीय मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नुपर्छ । सामाजिक विकृति न्यूनीकरण गर्नुपर्छ । लागूपदार्थ दुव्र्यसन, हिंसा, आगजनी, भेदभाव, अन्धविश्वासलगायत अन्य सामाजिक विकृतिविरुद्ध समुदायमा चेतना फैलाउनुपर्छ । टोल, विद्यालय, बस्ती, सहकारी तथा सामाजिक संस्था, स्थानीय विकासका गतिविधिहरूमा ज्येष्ठ नागरिकको अनुभवलाई प्रयोग गर्नुपर्छ । गाउँ–सहर, देशको इतिहास, पुराना घटना, व्यक्तित्व, कला, सामाजिक परिवर्तन आदिका अनुभव ज्येष्ठ नागरिकबाट प्राप्त गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्छ र भविष्यको लागि अभिलेख तयार गर्नुपर्छ । आफ्नो व्यवहारबाट सहिष्णुता, मेलमिलाप, सहकार्य र सामाजिक एकताको सन्देश दिनुपर्छ । संविधान, नागरिक कर्तव्य, सामाजिक जिम्मेवारी, वातावरण संरक्षण तथा सार्वजनिक हितका विषयमा युवालाई सचेत बनाउनुपर्छ । यी तमाम कामहरूको लागि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई आधार मान्नुपर्छ ।
ज्येष्ठ नागरिकको सेवा, सुरक्षा र सम्मानलाई व्यक्तिगत परिवारको मात्र जिम्मेवारी नभई राज्य र समाजको साझा जिम्मेवारीका रूपमा हेर्नुपर्छ । देशको संविधान, ऐन–कानुन र आर्थिक व्यवस्था उक्त जिम्मेवारी पूरा गर्न उपयुक्त हुनुपर्छ । पर्याप्त सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य उपचार, औषधि, आवास तथा आवश्यक सामाजिक सेवाको व्यवस्था राज्य (नेपाल सरकार) ले गर्नुपर्छ । स्थानीय सरकारले ज्येष्ठ नागरिक केन्द्र वा आदर निकेतन, दिवा सेवा केन्द्र, स्वास्थ्य शिविर, घरदैलो सेवा, स्थानीय सामाजिक कार्यक्रम आदिको व्यवस्था गर्नुपर्छ र सञ्चालन गर्नुपर्छ । साथै असहाय तथा एक्ला ज्येष्ठ नागरिकको हेरचाह, सामाजिक सहभागिता र सहयोगमा स्थानीय समाज र समुदायको भूमिका महत्वपूर्ण हुन्छ । घरपरिवारमा ज्येष्ठ नागरिकलाई माया, सम्मान, दैनिक हेरचाह र भावनात्मक सहयोग प्रदान गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई बोझ वा दयाको पात्र होइन, समाजको योगदानकर्ता र अनुभवको स्रोतका रूपमा हेर्नुपर्छ ।
सारमा, ज्येष्ठ नागरिकले जीवनभर समाज निर्माणमा योगदान गरेकाले वृद्धावस्थामा सम्मानपूर्वक जीवन बिताउने वातावरण बनाउनु राज्य (सरकार), परिवार र समाजको साझा दायित्व हो ।
Leave a Reply