भर्खरै :

विश्व मञ्चमा रास्वपा सरकार पनि गुनासोमै सीमित !

विश्व मञ्चमा रास्वपा सरकार पनि गुनासोमै सीमित !

रास्वपा सरकारले संयुक्त राष्ट्र सङ्घको महासभामा नेपालको राजनीतिक, आर्थिक, सामाजिक बन्दोबस्तबाट जनतालाई के–कस्तो हित भइरहेको छ भन्ने विषय राख्नुपर्ने थियो तर, राख्न सकेन । राष्ट्र सङ्घमा रास्वपा सरकारको गुनासो थियो – नेपालका एक गरिब किसानलाई समयमा मल उपलब्ध भएन । नेका, एमाले, माओवादीका सरकारले नेपालमा रासायनिक मल कारखाना स्थापना गरेनन् । रास्वपा सरकारले चालू बजेटमा मल कारखाना स्थापना गर्न बजेट विनियोजन गरी राष्ट्र सङ्घको महासभामा बोल्नुपर्दथ्यो । झन्डै दुईतिहाइको रास्वपा सरकारले राष्ट्र सङ्घको महासभामा नेपालीलाई साँझ–बिहान खाना पकाउन ग्यास सहज नभएको गुनासो ग¥यो तर आफ्नै देशको नदी नालाबाट पर्याप्त जलविद्युत् उत्पादन गर्ने बजेट विनियोजन किन गरेन ?
रास्वपा सरकारले राष्ट्र सङ्घमा अन्तरमहादेशीय क्षेप्यास्त्रहरू, बन्दुक र गोलावारूद सहज सीमा पार हुने गुनासो पनि ग¥यो तर त्यसरी विनाशकारी हातहतियार सहज सीमा पार गरिरहेका देश कुन कुन हुन् स्पष्ट गरेन । यस्ता विनाशकारी हतियार उत्पादक र बिक्रेता संसारमा पहिलो देश संरा अमेरिकी साम्राज्यवाद नै हो । यतिखेर संरा अमेरिकी प्रशासक ट्रम्पले नाटो देशहरूलाई युद्धको तयारीमा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत बजेट छुट्याउन लगाए । के यो यथार्थ रास्वपा सरकारलाई थाहा छैन ?
रास्वपा सरकारले राष्ट्र सङ्घमा नेपालको कारण पृथ्वीको तापमान नबढेको तर यसको मार नेपालले खेपिरहेको, संसारमा भइरहेको युद्धमा नेपालको कुनै भूमिका नभएको तर युद्धको मार खेपिरहेको उठायो । दुई सय वर्षमा संरा अमेरिकी साम्राज्यवाद करिब ५ सय युद्ध, सैनिक हस्तक्षेप, आर्थिक नाकाबन्दी, सरकार पलटमा सहभागी भएको विषय रास्वपा सरकारले उठाएन । संसारमा सबभन्दा बढी प्रदूषण फाल्ने सरकार संरा अमेरिकी साम्राज्यवाद नै हो । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट निस्कने संरा अमेरिकी सरकार नै हो । यो विषय पनि रास्वपा सरकारले राष्ट्र सङ्घको महासभामा उठाएन ।
राष्ट्र सङ्घमा रास्वपा सरकारको दाबी थियो – ‘वर्तमान विश्व व्यवस्था बाहिर देखिएभन्दा धेरै बिग्रिएको छ ।” त्यसो त रास्वपा सरकार गठनयता छानबिनमा नेपालको बन्दोबस्त पनि थप बिग्रिएको छ । नेका, एमाले, माओवादी सरकारले कर्मचारी प्रशासन चलाउन खर्बौँ खर्ब रुपैया ऋण लिए भने रास्वपा पनि यही बाटोमा हिँडिरहेको छ । बजेटको बेला रास्वपा सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो पनि सरकार ऋणमा चलेको र आज पनि ऋण नलिए सरकार ठप्प हुने बताए । हिजो नेकाको सरकारमा १०–१५ वर्ष योजना आयोगलगायत महत्वपूर्ण पदमा काम गरेका वाग्ले नेकाको असफलताको निम्ति एक जिम्मेवार व्यक्ति हुन् । उनैलाई रास्वपा सरकारले अर्थमन्त्री बनाउनु हिजोको कमजोरीलाई रास्वपाले पनि बोकेको हो ।
रास्वपा सरकारले राष्ट्र सङ्घमा ७२ घण्टाभित्र संसारको जुनसुकै हतियार पु¥याउन सक्ने विश्वसँग एउटा किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट बञ्चित गराउन नहुने बतायो । यो आवाज विश्व मञ्चमा राख्नु रास्वपा सरकारले नेपालका झन्डै २५ प्रतिशत जनसङ्ख्या गरिबी रेखा मुनिरहेकोलाई तत्काल माथि उठाउने बजेट रास्वपा सरकारले किन बनाएन ? के नेपालमा स्रोत–साधन कब्जा गर्ने मुठीभरका व्यक्तिहरूको हितमा रास्वपा सरकारले बजेट बनाएको होइन ? के रास्वपा सरकारले पहिला आफूले राम्रो बन्दोबस्त गरेर विश्वसामु देखाउने होइन ? के रास्वपा सरकारले पनि विश्वसामु अघिल्ला नेका, एमाले, माओवादीले जस्तै गुनासो गर्नेमात्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *