भर्खरै :

के सडक जनताको सम्पत्ति होइन ?

के सडक जनताको सम्पत्ति होइन ?

भक्तपुर नगरपालिका, देको–मिवा–इतापाखे आवास आयोजना (खोला किनार) क्षेत्रमा भर्खरै कालोपत्रे सडक निर्माण सम्पन्न भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई आवतजावतमा ठुलो राहत मिलेको छ । तर, विकास निर्माणको यो खुसी धेरै समय टिक्नेमा शङ्का उत्पन्न भएको छ; किनकि एकातिर केही व्यक्तिको लापरबाही र अर्कोतर्फ प्राविधिक कमजोरीका कारण गम्भीर जोखिममा पर्न थालेको छ ।
सडक निर्माण सम्पन्न भएलगत्तै छेउछाउका केही जग्गाधनीहरूले घडेरीमा माटो फिलिङ गर्ने नाममा सडकको पानी निकासका लागि बनाइएका मुख्य नालीहरू नै पुरेर गाडी लग्दा वर्षाको पानीको उचित निकास नभई सडक जलमग्न हुने तथा कालोपत्रे नष्ट हुने सम्भावना बढेको छ । त्यति मात्र होइन, जग्गा फिलिङ गर्न र अन्य प्रयोजनका लागि भारी सवारीसाधनहरू सिधै पैदलयात्री हिँड्ने सडक पेटी (फुटपाथ) मा कुदाउने गरिएको छ, जसका कारण नयाँ बनेका सडक पेटीहरू ठाउँ–ठाउँमा भासिएर र चर्केर कुरूप भइसकेका छन् । सार्वजनिक सम्पत्तिलाई यसरी क्षति पु¥याउँदा पनि सम्बन्धित जग्गाधनीहरूले भत्किएको पेटी मर्मत गर्ने वा पुरिएको नाली सफा गरिदिने सामान्य दायित्वसमेत पूरा गरेका देखिंदैनन् ।
यसैबिच, खोला किनारको अर्को समस्या पनि उत्तिकै गम्भीर बनेको छ । यसअघि पीआईडी (PID) द्वारा खोला छेउमा लगाइएको ढुङ्गाको पर्खाल (रिभेटमेन्ट वाल) एकदमै कमसल र जग पनि माथि–माथि मात्र राखिएको कारण बर्खाको भलसँगै धेरै ठाउँमा भत्किकेको छ भने कतिपय स्थानमा चर्केर भत्किने अवस्थामा पुगेको छ । यद्यपि, हाल आयोजनाले यसको बचावट (प्रोटेक्सन) का लागि केही मर्मतको काम गरिरहेको देखिए पनि, यसले मात्र दीर्घकालीन समाधान दिने छैन । भोलिका दिनमा सडकलाई थप जोखिमबाट बचाउन खोला किनारमा अझ बलियो र स्थायी किसिमको तटबन्ध वा प्रोटेक्सन वाल निर्माण गर्न अति आवश्यक भइसकेको छ ।
व्यक्तिगत लापरबाहीले नयाँ सडक बिग्रने र अर्कोतर्फ कमजोर संरचनाका कारण खोलाले बाटो बगाउने र भत्काउने खतरा बढेपछि यसको प्रत्यक्ष मार आम स्थानीय बासिन्दा तथा उपभोक्ताहरूले भोग्नुपरेको छ । जनताको कर र पसिनाबाट बनेको सार्वजनिक सम्पत्ति के केही व्यक्तिको लापरबाही र कमजोर निर्माणकै कारण ध्वस्त हुन दिने हो ?
तसर्थ, सडक पेटी बिगार्ने र नाली पुर्ने गतिविधिहरूलाई तत्काल रोक लगाउन, पुरिएका नाली तथा भत्किएका पेटीहरू मर्मत गर्न लगाउन र खोला किनारमा स्थायी तथा बलियो प्रोटेक्सन वाल निर्माणको काम अगाडि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो ।
– एक स्थानीय उपभोक्ता/पाठक भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *