भर्खरै :

नेपालको शिक्षा विकासमा प्रजग कोरियाबाट पनि सिक्न सकिने

नेपालको शिक्षा विकासमा प्रजग कोरियाबाट पनि सिक्न सकिने

सरकारले जनतालाई जिल्ला सदरमुकाम, प्रदेश र सङ्घको राजधानीमा बसाइँसराइ केन्द्रित गराउँदा कृषि उत्पादन घटेर दाल, चामल, तरकारीसमेत भारतबाट किन्नुपर्ने अवस्था आयो । सन्तुलित विकास भए देश कृषिमा पुनः आत्मनिर्भर हुनेछ । जिल्ला जिल्लामा भौतिक पूर्वाधार बन्यो तर बसोबास पातलो भयो, देशको सन्तुलित विकास भएन ।
भक्तपुर नगरपालिकाले ०५६ सालमा ख्वप मावि सञ्चालन गरी शैक्षिक अभियान सुरु गरेको हो । अहिले भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरेर उत्पादन श्रमसँग जोडिएको शिक्षा दिने तयारी गर्दै छ । भक्तपुरबाट सुरु भएको ‘एक घर एक स्नातक’ शैक्षिक अभियान देशैभरि फैलाउनु जरुरी छ । देशका अन्य पालिकाहरूले पनि विद्यालय र कलेज सञ्चालन गरेको भए देशको सन्तुलित विकास हुने थियो ।
राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरूलाई बहुदल, प्रजातन्त्र, गणतन्त्र, पुँजीवाद, साम्राज्यवाद र समाजवादबारे शिक्षा नदिएको हुँदा संसद् प्रभावकारी भएन, भ्रष्टाचार बढ्यो । गरिब देशको बजार र कच्चा सामान कब्जा गर्ने साम्राज्यवाद हो । अमेरिकी साम्राज्यवादले मध्यपूर्वका देशहरूको तेल खानी कब्जा गर्न इराक, लिविया, प्यालेस्टिनमा आक्रमण ग¥यो । युक्रेनको खनिज पदार्थ कब्जा गर्न अमेरिकाले युक्रेनलाई रुसविरुद्ध युद्ध गराएको हो । यी सबै विषय शासक राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई बताएको भए देशमा सुशासन कायम गर्न सहयोग पुग्ने थियो । त्यसो नहुँदा सरकारमा गएका दलका कार्यकर्ताहरू उपभोक्ता समितिको कामसमेत ठेक्का लगाएर बजेटको दुरुपयोग गर्नतर्फ लागे ।
शासक दलहरूले जनतालाई निर्वाचन घोषणापत्रबारे शिक्षित गर्नुभन्दा आफ्ना कार्यकर्तामार्फत पैसा दिएर चुनाव जित्ने उपाय सिकाएको हुँदा पालैपालो प्रधानमन्त्री र मन्त्री बनेकाहरू कर्मचारी सरुवा बढुवादेखि विकास निर्माणको नाममा भ्रष्टाचारमा फसे । यसकारण, पनि देशको अर्थतन्त्र कमजोर भयो ।
भक्तपुरको शैक्षिक अभियानले नेपालसँगसँगै संसारलाई अगाडि बढाउन मद्दत पुग्नेछ । संस्थागत र सामुदायिक विद्यालयले नयाँ पुस्तालाई कृषि, साना तथा घरेलु उद्योग, जलविद्युत् उत्पादनसमेतमा शिक्षा दिनुपर्छ ।
संविधानको मौलिक हकअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी उल्लेख छ । यस धारामा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क, अपाङ्ग र आर्थिकरूपमा विपन्नलाई उच्च शिक्षासम्म निःशुल्क हुने उल्लेख छ । आधारभूत तहको शिक्षाको परिभाषामा कम्तीमा १२ कक्षासम्मको शिक्षा उल्लेख हुनुपर्ने तर कक्षा ८ सम्ममात्र उल्लेख गरियो । अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २० मा राज्यबाट माध्यमिक विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुने, दफा २७ मा निजी लगानीका विद्यालय सेवामूलक हुने र ५०० बढी विद्यार्थी भए १० प्रतिशत छात्रवृत्ति हुनुपर्ने उल्लेख छ । दफा २८ मा मातृभाषामा शिक्षा दिनुपर्ने पनि उल्लेख छ ।
विद्यालय शिक्षा विधेयक, २०८० को दफा १० मा विदेशी बोर्ड वा शिक्षण संस्थासँग आवद्ध विद्यालय सञ्चालन हुने उल्लेख छ । विदेशी लगानीमा विद्यालय कलेज खोल्न दिइएमा हाम्रा विद्यालय र कलेज कमजोर हुनेछन् । विश्व व्यापार सङ्गठनमा नेपाल सदस्य हुँदा विदेशी पुँजी र प्रविधिसँगै विद्यालय र कलेज नेपालमा खुल्ने र नेपाल विदेशी सामानको बजार हुँदा हाम्रा उद्योग व्यवसाय बन्द हुने अवस्था आयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताका लागि उपयोगी ‘जनताको साहित्य र साहित्यकार’, ‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठ्ठी’, ‘हजुरबुबाको चिठ्ठी’, ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’, ‘समाज विकास एक झलक’ लगायत पुस्तकहरू लेख्नुभएको छ । यी पुस्तक शिक्षकको साथसाथै विद्यार्थीलाई पनि अध्ययन गराउनु लाभप्रद हुने छ ।
अष्ट्रियाका सङ्गीतकार मोजार्टले ५ वर्षको उमेरमा पहिलो सङ्गीत सिर्जना गरेको र १० वर्षको उमेरमा युरोपको बर्लिन, लण्डन, पेरिस, जेनेभामा साङ्गीतिक प्रदर्शन गरेको पढ्न पाइन्छ । रुसी साहित्यकार पुश्किनले १३ वर्षको उमेरमै उत्कृष्ट रचना लेखेको र १५ वर्षको उमेरमा युरोपको एक प्रसिद्ध पत्रिका ‘दि मेसेन्जर’ मा उनको कृति प्रकाशित भएको पनि पढ्न पाइन्छ । पुश्किनले ‘रुसी जारहरूको मनोरञ्जनको लागि लेख्दिनँ’ भनेर जनताको लागि लेख्ने स्पष्ट गरेका थिए । जारकालीन रुसका नयाँ पुस्तालाई दुईसय वर्ष अगाडि नै ५–८ ओटा विदेशी भाषामा पोख्त बनाइएको पनि पढ्न पाइन्छ । यी जीवनी र विषयबाट विद्यार्थीलाई पे्ररणा मिल्ने छ ।
सुर्तीजन्य पदार्थ, मदिरा, लागूपदार्थबाट नयाँ पुस्तालाई सुरक्षित राख्ने र उनीहरूको सांस्कृतिक स्तर उँचो बनाउने काममा शिक्षकहरूको थप योगदान जरुरी छ । भक्तपुर जिल्लामा ३० वर्षअगाडि लागुपदार्थ दुव्र्यसनी ३०० जना थिए भने अहिले ७००० पुगेको बताइन्छ । यसतर्फ पनि विद्यालयहरू सचेत हुनु जरुरी छ ।
विद्यार्थीलाई आर्थिक समानताको पक्ष लिने र अन्धविश्वासलाई अस्वीकार गर्ने बौद्ध दर्शनलगायत माक्र्सको मानव इतिहासको विकासका सिद्धान्तबाट पनि शिक्षित गर्नु जरुरी छ । विद्यार्थीलाई विद्यालय तहदेखि भूगोल, इतिहास, राजनीतिशास्त्र विषय पनि अध्ययन गराउनु आवश्यक छ ।
प्रजग कोरियामा समाजलाई बुद्धिजीवीकरण गर्ने शिक्षा सुरु गरेको धेरै भयो । प्रजग कोरियाले ३ वर्षमा स्नातक, १ वर्षमा स्नातकोत्तर र ३ वर्षमा पीएचडी उत्तीर्ण गराउने व्यवस्था गरेको छ । त्यहाँ थुप्रै युवा वैज्ञानिकहरू तयार भएको सार्वजनिक भयो । नेपालजतिको भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाले भूउपग्रह उडाएको पनि वर्षौँ भयो । नेपालमा अझै सियो बनेको छैन । नेपाल सरकारले प्रजग कोरियाबाट सिक्नु जरुरी छ ।
देशको शिक्षा विकासको लागि प्याब्सनबाट आवश्यक सुझाव प्रस्तुत भए संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनेछु ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ साउन ३० गते निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) को जिल्ला कार्यकारी समिति भक्तपुरद्वारा आयोजित ‘प्याव्सन कन्क्लेभ
(PABSON CONCLAVE)’, २०८२ कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सारः सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *