भर्खरै :

मुटु रोगीको उपचारमा प्रयोग हुने ‘क्याथल्याब’ को सेवा किन पुगेन ?

मुटु रोगीको उपचारमा प्रयोग हुने ‘क्याथल्याब’ को सेवा किन पुगेन ?

नेपालमा ४० लाखभन्दा बढी मुटु रोगी रहेको तथ्याङ्क सार्वजनिक भयो । मुटु रोगीमध्ये ७० प्रतिशतलाई हृदयघात हुने गरेको छ । अस्वस्थ्यकर खानपानले बर्सेनि मुटु रोगी बढ्दो छ । प्राकृतिक प्रकोप, दुर्घटना, चोटपटकजस्ता घटनाबाट घाइतेको मुटु वा रक्तनली बन्द भएमा बिरामीको चिरफार नगरी उपचार गर्न ‘क्याथल्याब’ नामको मेसिन प्रयोग गरिन्छ । एउटा ‘क्याथल्याब’ बाट दैनिक १२ देखि १५ जना मुटु रोगीको उपचार हुन्छ । तर, राजधानी काठमाडौँमा यो मेसिन १३ वर्षसम्म प्रयोगमा नल्याइएको समाचार प्रकाशित भयो ।
‘‘SofyNofa’ -Cardiac catheterization lab) बाट मुटुको नसा, धमनीहरू हेर्ने र मुटुमा ब्याट्री राख्ने काम गरिन्छ । मुटुमा तार पठाएर मुटुको धड्कनको जाँच ‘क्याथल्याब’ मा गरिन्छ । प्रायः दाहिने खुट्टाको काछ अथवा हातको नाडीबाट मुटुमा तार पठाउने गरिन्छ । सानो सुइको माध्यमले एनेस्थेसियाद्वारा मासु मारेर बिरामीलाई बेहोस् नबनाईकन उपचार गरिन्छ । उक्त ठाउँबाट पाइप छिराएर मुटुको धमनीसम्म पु¥याएर औषधिको सहायताले मुटुको नसा हेरिन्छ । मुटुमा ब्लकेज रहेछ भने बेलुनको माध्यमबाट ब्लकेजहरू खोलेर मुटुको उपचार गरिन्छ । यस्तो मेसिन जिल्ला जिल्लाका अस्पतालहरूमा पु¥याउनु जरुरी छ । तर, राजधानीमै सरकारको बेवास्ता देखियो ।
२०६९ सालमा ल्याइएको राष्ट्रिय ट्रमा सेन्टरको ‘क्याथल्याब’ १३ वर्षदेखि प्रयोग गरिएको छैन । ट्रमा सेन्टरले बिरामीलाई वीर अस्पताल पठाउने गरेको छ । वीर अस्पतालमा पनि एक हप्तामा दुई दिनमात्र ‘क्याथल्याब’ सञ्चालन गरिने खुलासा भयो । यसकारण मुटुका बिरामी निजी अस्पताल धाउन बाध्य छन् । सरकारी अस्पतालमा १ लाखमा हुने उपचार निजी अस्पतालले ३ लाखसम्म लिने गरेको जनताको गुनासो छ ।
त्रिवि शिक्षण अस्पतालमा १२ वर्ष पुरानो एउटा ‘क्याथल्याब’ भए पनि कहिले चल्छ कहिले बिग्रन्छ । त्रिविले बिरामीलाई सँगैको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गर्ने गरेको सुनिन्छ । मनमोहनमा तीन ओटा भए पनि बिरामीको चापअनुसार सेवा दिन सकिरहेको छैन । मनमोहनमा ५ हजार र शिक्षण अस्पतालमा ६ हजार मुटुका बिरामीको चाप भएजस्तै अन्य अस्पतालहरूमा पनि हजारौँ बिरामी छन् । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा चार ओटा ‘क्याथल्याब’ सञ्चालनमा छन् । सिभिललगायतका अस्पतालमा ‘क्याथल्याब’ सेवा छैन । के काठमाडौँ बाहेकका जनताले मुटुको उपचार पाउने अधिकार राख्दैनन् र ?
डा. भगवान कोइरालाका अनुसार जन्मेका बालबालिकामध्ये १ प्रतिशतमा मुटुको कुनै न कुनै रोग जन्मजात हुने बताए । नेपालमा ५ हजारदेखि ७ हजार बालबालिका जन्मजातै मुटु रोग लिएर आउँछन् । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धूम्रपान, मोटोपनको कारण मुटु रोग लाग्दछ । मिसावट भएको अस्वस्थ्यकर पत्रु खानाले पनि मुटुका रोगी बढिरहेका छन् । जनतालाई मिसावट भएको अस्वस्थ्यकर पत्रु खानेकुरा खुवाउने र रोगपछि उपचार पनि नगर्ने सरकार कसको हो ? जनता प्रश्न गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *