इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
कम्युनेली समाजको राजनीतिक अर्थशास्त्र
माक्र्स र एँगेल्सले लेख्नुभयो, “राजनीतिक अर्थशास्त्रका सबै ग्रन्थले निजी सम्पत्तिलाई सामान्य ढङ्गले लिन्छन् ।” यसको विपरीत हेगेलकै शैलीमा माक्र्सले जोड दिँदै लेख्नुभयो, “सबै उत्पादन प्रकृतिको दोहन हो । व्यक्तिले कुनै समाज–विशेषभित्र रहेर वा त्यसको माध्यमबाट यो दोहन गर्छ । यस अर्थमा सम्पत्ति (दोहन) उत्पादनको पूर्वसर्त हो भन्नु पुनरोक्ति मात्र हो ।” त्यस्तै उत्पादन भनेकै निजी सम्पत्ति हो भनी दाबी गर्नु मानव इतिहासको ठुलो खण्डलाई अस्वीकार गर्नु हो । कम्युनेली उत्पादन र सम्पत्तिमा समाजको ‘प्राकृतिक अर्थतन्त्र’ निहीत थियो । उत्पादक शक्तिको विकासको सुरुआती चरणमा उत्पादन त्यसरी नै चल्थ्यो । निजी सम्पत्ति वर्गीय समाज र श्रम विभाजनको उदयसँगै देखा प¥यो । उत्पादन सम्बन्ध पुँजीवादी बनिसक्दा पनि निजी सम्पत्तिको दबदबा जारी छ ।
‘ग्रुन्ड्रिजे’ मा माक्र्सले लेख्नुभयो, “(एसियाली, स्लाभोनिक, प्राचीन समाज र जर्मन स्वरूपमा) सम्पत्तिको मूल अर्थ हो – आफ्नै उत्पादन वा पुनरुत्पादनका सर्तसँग श्रमजीवीहरूको सम्बन्ध हो । यहाँ यी श्रमजीवीहरू उत्पादक वा आफैलाई पुनरुत्पादन गर्ने पात्र हुन् ।” यहाँ मूलतः भारत र जाभाका गाउँले समुदायलाई ‘एसियाली’ भनिएको हो । रुसका ‘मिर’ वा किसानी कम्युनलाई ‘स्लाभोनिक’ भनिएको हो । उन्नाइसौँ शताब्दीमा पनि ती कम्युन जीवित थिए । ‘प्राचीन समाज’ को अर्थ ग्रीक पोलिसमा देख्न सकिने कम्युनेली सम्बन्ध थिए । जर्मन स्वरूपको अर्थ पुरानो मार्क प्रथा थियो । त्यो प्रथामा जर्मन जनजातिहरूमा बेलाबेला ‘सँगै हुन्थे’ तर स्थायी रूपमा ‘सँगै बस्दैनथे’ । माक्र्सले केल्ट समुदायमा पाइने कम्युनेली÷सामुदायिक सम्पत्तिको पनि चर्चा गर्नुभयो । ‘जर्मानिया’ नामक रचनामा टासिटसले जर्मन जनजातिबारे लेखेका थिए, “जनसङ्ख्याको अनुपात अनुसार भूमिलाई किसान समूहले आलोपालो जोतभोग गर्छन् । त्यसपछि त्यो भूमिलाई स्तर अनुसार बाँडिन्छ । प्रशस्त खेतीयोग्य जमिन हुनाले बाँडफाँड सजिलै सम्पन्न हुन्छ । जोत्नुपर्ने जमिन बर्सेनि फेर्ने काम हुन्छ । तैपनि प्रशस्त जमिन बाँकी रहन्छ ।”
धेरै कम्युनेली समाजमा ‘व्यक्तिसँग कम्युनबाट अलग्गै सम्पत्ति हुँदैन । बरु सामूहिक उपभोगको सिद्धान्तअनुसार ऊ त्यो सम्पत्तिको भोक्ता हुन्छ ।’ प्रायः अतिरिक्त श्रमको एउटा हिस्सा ‘उच्च समुदाय’ पुनरुत्पादनमा खर्च हुन्छ । त्यो अवस्थामा ‘खेत र माटोको दोहन गर्नका लागि व्यक्ति कम्युनको सदस्य हुनैपर्छ । तर, कम्युनको सदस्यको रूपमा व्यक्ति ‘विशेष चक्ला’ को मालिक पनि हुन्छ ।’
‘ग्रुन्ड्रिजे’ र ‘पुँजी’ दुवै रचनामा माक्र्सले पेरुको कम्युनेली सम्बन्धमा ठूलो जोड दिनुभयो । त्यो कम्युन इन्का जातिमा पाइन्थ्यो । प्रेसकटको रचनाका आधारमा माक्र्सले इन्का समाजबारे टिपोट तयार पार्नुभयो । त्यो समाजमा व्यक्तिसँग ‘(भूमिलाई) अलग पार्न वा आफ्नो बनाउन मिल्ने शक्ति थिएन’ । बरु भूमि सामुदायिक हुन्थ्यो र बर्सेनि त्यसलाई पुनः बाँडफाँड गरिन्थ्यो । ‘पुँजी’ मा माक्र्सले इन्का जातिको स्वामित्वमा रहेको पेरुमा ‘प्राकृतिक अर्थतन्त्र’ वा मालविहीन अर्थतन्त्र रहेको उल्लेख गर्नुभयो । उहाँले त्यसलाई ‘पेरुबासीको बनिबनाउ साम्यवाद’ भन्नुभयो । पेरुको एउटा पक्षले माक्र्सलाई चकित पा¥यो । त्यो समाजमा ‘पैसाको प्रचलन र श्रमिक तप्का नभए पनि’ ‘अर्थतन्त्रका उच्चतम स्वरूप अर्थात् सहकार्य, विकसित श्रमविभाजन आदि’ थिए । स्लाभिक समुदायलगायत अन्य केही समाजिक संरचनामा माक्र्सले विशेष जोड दिनुभएको पक्ष यस्तो छ – बाह्य सम्बन्धमा मौद्रिक विनिमयको प्रचलन भए पनि ‘कम्युनेली समाजको मुटुमा मूल प्रवृत्तिको रूपमा त्यो प्रचलन थिएन’ । रोमन साम्राज्य आफ्नो उत्कर्षमा छँदा समेत ‘मुद्रा प्रथा’ को चल्ती सेनामा मात्र थियो ।
तत्कालीन समयमा विद्यमान गाउँले समुदायले ‘एसियाली कम्युन प्रणाली’ लाई जनाउने माक्र्सको बुझाइ थियो । ती समुदायले श्रमिक र उत्पादनको प्राकृतिक अवस्थाबीच ‘मूल एकता’ झल्काउने उहाँले बताउनुभयो । उहाँले जोड दिएर ‘भारतमा (कताकति अवशेष मात्र भए पनि) (आदिम कम्युनेली सम्पत्तिको) विविध स्वरूपको संगालो अझै पनि जीवित रहेको र ‘कम्युनेली÷सामुदायिक श्रम’ को ‘स्वतःस्फूर्त विकसित रूप’ देख्न सकिने’ बताउनुभयो । वास्तवमा ‘एसियाली र खासगरी भारतीय कम्युनेली
(सामुदायिक/सामूहिक) सम्पत्ति वा स्वामित्वका रूपहरूको गहिरो अध्ययनले के देखाउँछ भने थरीथरीका आदिम कम्युनेली स्वामित्वको विघटनले सम्पत्तिका विविध स्वरूपलाई जन्म दिन्छ । उदाहरणको लागि रोम र जर्मनीका निजी सम्पत्तिका प्रारम्भिक रूपहरू आजको भारतीय कम्युनेली सम्पत्तिका निश्चित स्वरूपमा पहिल्याउन सकिन्छ ।’ एसियाका गाउँले समुदायमा पाइने सम्पत्तिका स्वरूपले (सिद्धान्ततः) प्राचीन ग्रीस र रोमका पूर्व रूप दर्साउँछन् । पुँजीवादभन्दा अगाडिका आर्थिक बनोटबारे माक्र्सले गर्नुभएको विश्लेषणबारे इतिहासकार हब्सबामको टिपोट मननीय छ । हब्सबाम लेख्छन्, “इतिहास हेर्दा पूर्वी स्वरूपहरू (एसियाली र स्लाभोनिक) मान्छेको उत्पत्तिसँग नजिक छन् किनभने तिनले जटिल सामाजिक संरचनाको दायराभित्र पनि क्रियाशील आदिम (गाउँले) समुदायलाई जोगाइराखेका छन् र तिनमा वर्ग व्यवस्थाको पूर्ण विकास भएको पाइन्न ।”
प्रायः माक्र्स र एँगेल्सले ‘एसियाली उत्पादन प्रणाली’ को विचारमा बढी जोड दिएको बताइन्छ । माक्र्सको भन्दा पनि कार्ल विटफोगलको विचारमा आधारित भएर यसो भन्ने चलन छ । त्यो समाजमा ठूला सिँचाइ परियोजनाको आवश्यकता हुनाले ठूलो सामूहिक श्रमको प्रचलन रहेको र त्यसले गर्दा केन्द्रीकृत, स्वेच्छाचारी राज्य फस्टाउन पुगेको वा राज्यको अत्यधिक विस्तार भएको बताइन्छ । माक्र्सको चित्रणमा यस्तो भन्ने आधार उति पाइन्न । सन् १८५६ मा प्रकाशित ‘राजनीतिक अर्थशास्त्रमा योगदान’ को भूमिकामा माक्र्सले एसियाली प्रणालीको विचार राख्नुभयो । तर, ‘एसियाली प्रणाली’ भनेर उहाँले कहीकतै उल्लेख गर्नुभएन बरु त्यो विचार नै त्याग्नुभयो । एक ठाउँमा माक्र्सले विशाल सिँचाइ प्रणालीको व्यवस्थापन गरेको स्वेच्छाचारी राज्यको चर्चा गर्नुभयो तर उहाँको विश्लेषण मूलतः गाउँले समुुदायमा केन्द्रित थियो । ती समुदायलाई उहाँले आत्मनिर्भर सहकारीको रूपमा हेर्नुभयो । ती समुदायमा प्रचलित कृषि तथा साना हस्तकला उत्पादनमा उहाँले सामुदायिक स्वामित्व, उत्पादन र विनिमयको प्रचलन पाउनुभयो । उहाँले भारतका यी गाउँले समुदायलाई ‘आदिम साम्यवाद’ सँग जोडेर व्याख्या गर्नुभयो । यी समुदायमा ग्रीस र रोमका ‘प्राचीन कम्युन र राज्य’ का भन्दा पनि पुराना जरा भेटिने माक्र्सले बताउनुभयो । प्राचीन ग्रीस र रोममा दासप्रथा थियो तर एसियाली समाजको आर्थिक जगमा यो प्रथा थिएन । यी समाजले प्रायः स्वेच्छाचारी तिरोतिरानको रूप लिएका थिए । तर पनि यो रूपले गाउँले समुदायमा विद्यमान सम्पत्ति र उत्पादनको कम्युनेली मर्मलाई नमारेको माक्र्सको बुझाइ रह्यो । तथापि, माथिबाट थोपरिएको स्वेच्छाचार र उपनिवेशवादले यी समुदायलाई फेरिफेरि दोहोरिरहने जमोटमा परिणत गरिदिए ।
‘ग्रुन्ड्रिजे’ मा माक्र्सले कम्युनेली उत्पादन र विनिमयको आर्थिक चरित्र त्यसको सामूहिक मानवीय आवश्यकता तथा सामाजिक व्यक्तिको विकासमा केन्द्रित रहेको बताउनुभयो । “उत्पादनको सामुदायिक चरित्रले सुरुदेखि नै त्यसको उपजलाई सामुदायिक वा साझा उपज बनाउँछ (र त्यसलाई माल विनिमयले मध्यस्थता गर्दैन) ।” “उत्पादनमा हुने मूल लेनदेन मूल्यको लेनदेन हुँदैन बरु गतिविधि (र उपभोग मूल्य) को लेनदेन हुन्छ ।” यस्तो सामुदायिक उत्पादन÷विनिमय ‘सामुदायिक आवश्यकता र सामुदायिक उद्देश्यले तय गर्छन् तथा सुरुदेखि नै सामुदायिक उत्पादनको दुनियामा व्यक्तिको सहभागिता सुनिश्चित हुन्छ ।’
सामुदायिक उत्पादनको प्रकृति नै कस्तो छ भने यसलाई बजारले निर्धारण गर्दैन । (बजारले सबै उत्पादन सम्बन्धलाई पुँजीलाई मध्यस्थता गर्न दिन्छ ।) बरु यो उत्पादनको निर्धारण कम्युनेली सिद्धान्तले गर्छ । यी सिद्धान्तले उत्पादनको सामाजिक चरित्र सुरुदेखि नै तय गर्छन् । यस अर्थमा कम्युनेली सम्पत्तिको आधारमा हुने यो उत्पादन आधुनिक सन्दर्भमा ‘निश्चित सामाजिक योजना अनुरूप’ गरिनुपर्ने माक्र्सले तर्क राख्नुभयो । यो सामाजिक योजनाले श्रमका विविध कार्य तथा श्रमिक समूहका विभिन्न आवश्यकताबिच उचित अनुपात कायम गर्नुपर्ने माक्र्सको तर्क थियो ।
माक्र्सको भनाइअनुसार पुँजीवादी समाजमा ‘समय सबथोक हो, मान्छे केही होइन† मान्छे बढीमा समयको दास हो । गुणस्तरको केही अर्थ रहन्न । मात्राले नै सबथोक निर्धारण गर्छ’ । यसको विपरीत कम्युनेली उत्पादनको हकमा एक मात्राको रूपमा श्रमकाल महत्वपूर्ण हुन्छ र त्यो नै सर्वेसर्वा होइन । माक्र्सले लेख्नुभयो, “निश्चय नै समय निर्धारण अत्यावश्यक रहन्छ । समाजले गहुँ, चौपाया आदि उत्पादनमा जति थोरै समय लगायो उति बढी समय उसले अन्य भौतिक वा मानसिक उत्पादनमा खर्च गर्नमा पाउँछ । व्यक्तिको हकमा जस्तै समाजको विकासको विविधता, आनन्द र सक्रियता समयको बचतमा निर्भर हुन्छ । समयको बचतमै अन्ततः सारा अर्थतन्त्रलाई समेट्न मिल्छ । यसैगरी आफ्ना आवश्यकता पूर्ति हुने गरी पर्याप्त उपज हासिल गर्नका निम्ति समाजले आफ्नो समयलाई निश्चित उद्देश्य राखेर बाँडफाँड गर्नुपर्छ । यसप्रकार उत्पादनका विविध शाखामा श्रमकालको योजनाबद्ध बाँडफाँडका साथै समयको बचत कम्युनेली उत्पादनको जगमा पहिलो आर्थिक नियमको रूपमा रहन्छ । त्यहाँ यो नियम उच्च तवरले लागु हुन्छ । यद्यपि, यो विनिमय मूल्य (श्रम वा उत्पादन) लाई श्रमकालले नाप्ने परिपाटीभन्दा फरक हुन्छ । एउटै कार्यक्षेत्र वा अनेकथरी कार्यमा विभिन्न व्यक्तिले लगाउने श्रम एकअर्काबाट मात्रात्मक मात्र होइन, गुणात्मक रूपमै भिन्न हुन्छन् ।”
सन् १८६८ माक्र्सले एँगेल्सलाई एक पत्रमा लेख्नुभयो, “श्रमकालले उत्पादनलाई कुनै न कुनै प्रकारले नियमन गर्छ र समाजको कुनै पनि स्वरूपले यो भूमिकाबाट श्रमकाललाई हटाउन सक्दैन । तर यो नियमनलाई समाजले सिधा र सचेत ढङ्गले नियन्त्रण नगरी श्रमकाल मालको मूल्यअनुरूप तय हुन्छ भने त्यसले पुँजीवादी समाजको अराजकता उत्पन्न हुन्छ र त्यसले ‘अनेक श्रेणीगत आवश्यकताहरू’ परिपूर्ति गर्न सक्दैन । श्रमकालमाथि यसप्रकारको सिधा र सचेत नियन्त्रण साझा स्वामित्व हुने अवस्थामा मात्र सम्भव हुन्छ ।” पुँजीवादको माल उत्पादनमा आधारित अर्थतन्त्रमा (व्यक्तिको स्वतन्त्र विकाससहित) सबैभन्दा जरुरी मानवीय र सामाजिक आवश्यकताहरू उत्पादनको मूल उद्देश्य नबनी उल्टो पुँजी सञ्चयको बाटोमा तगारा बन्छन् ।
सहकार्यमार्फत कुनै बेला श्रमिकहरू ‘क्रियाशील प्राणी’ बन्थे । सहकार्यबाट बन्ने श्रमको त्यो उत्पादक शक्ति पुँजीवादी समाजभन्दा अघि मात्र सम्भव थियो । ‘पुँजी’ मा माक्र्सले लेख्नुभयो, “त्यो ‘सरल सहकार्य’ ले ‘विशाल संरचनाहरू’ निर्माण ग¥यो र त्यसको झलक ‘प्राचीन एसिया, इजिप्ट, इट्रस्कान र पेरुको इन्का सभ्यताका भव्य स्मारकहरू’ मा देख्न पाइन्छ ।” एसियाका प्रारम्भिक सभ्यताहरूले ‘आफूसँग भएको अतिरिक्त उत्पादनलाई भव्य वा उपयोगी निर्माण कार्यमा लगाउन पाए । तिनले कृषिबाहिर रहेका समस्त जनताका हात र पाखुरालाई नियन्त्रण गरी अद्भूत स्मारकहरूको निर्माण गरे । ती स्मारकमा अझै पनि ती सभ्यताको शक्ति देख्न सकिन्छ ।” ती माल–उत्पादन नगर्ने विविधतापूर्ण समाजले तिरोका रूपमा विशाल कृषि जनसङ्ख्याबाट अतिरिक्त उपज जम्मा गर्न सके । यो प्राकृतिक अर्थतन्त्रसँग मेल खाने पद्धति हो । आज यसलाई तिरोमा आधारित उत्पादन प्रणाली भनिन्छ । प्राचीनकालदेखि सामन्ती समाजसम्म वा भनौँ पुँजीवादभन्दा पहिलेका अनेकथरी सभ्यताहरू यो प्रणालीमा समेटिन्छन् । यीमध्ये अधिकांश सभ्यताले समाजको जग÷आधारमा सामुदायिक वा सामूहिक सम्बन्धहरू जोगाइराखेका थिए । समिर अमिनले लेखे, “‘तिरोमा आधारित पद्धति’ पुरानो ‘उत्पादनको सामुदायिक प्रणाली’ बाट जन्मियो । आज पनि ग्रामीण समुदायमा त्यो पद्धतिले एउटा सामाजिक र राजनीतिक संयन्त्र जोड्छ । यो संयन्त्रमा कर–तिरोको माध्यमबाट समुदायको शोषण गरिन्छ । त्यो पद्धति विभिन्न समय र स्थानमा फरक रूपमा प्रकट भयो । तथापि ‘पुँजीवादभन्दा अगाडिका समाजहरूमा सबैभन्दा बढी पाइने पद्धति त्यही’ थियो ।”
(स्रोत : मन्थ्ली रिभ्यू । सम्यक)
Leave a Reply