भर्खरै :

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

क्वाङ्जु (दक्षिण कोरिया), १५ कार्तिक (एपी) । एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीनफिङबिच व्यापार युद्ध अन्त्य गर्न सहमति भएको केही दिनपछि आएको हो ।
दुई दिनसम्म दक्षिण कोरियाको ऐतिहासिक सहर क्वाङ्जुमा चलेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेताहरूले विश्वव्यापी आर्थिक चुनौतीहरू पार गर्न सहयोग र बहुपक्षीयतामा जोड दिएका छन् । उनीहरूले विश्वको दुई ठुला अर्थतन्त्र – अमेरिका र चीन – बिचको तनावले प्रभावित भएको आर्थिक सन्तुलन पुनःस्थापना गर्न सँगै अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।
गत बिहीबार ट्रम्प र सीले एपेक शिखर सम्मेलनको साइडलाइनमा भेट गरी अघिल्ला व्यापार अवरोधहरू फिर्ता लिने र तनाव घटाउने सहमति गरेका थिए ।
संयुक्त वक्तव्यमा भनिएको छ, “विश्वव्यापी व्यापार प्रणालीले अहिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । एसिया–प्रशान्त क्षेत्रको विकास र समृद्धिका लागि बलियो व्यापार र लगानी अपरिहार्य छ भन्ने हाम्रो साझा विश्वास पुनः पुष्टि गर्दछौँ ।”
सी चीनफिङको प्रमुख भूमिका
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चीनफिङले ‘विश्वव्यापी स्वतन्त्र व्यापार र आपूर्ति शृङ्खलाको स्थिरता’ लाई समर्थन गर्ने घोषणा गर्नुभयो । उहाँले एपेकसँगै आयोजित सिइओ शिखर सम्मेलनमा पठाएको सन्देशमा भन्नुभयो, “चीनमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो ।”
शुक्रबार सीले जापान, क्यानाडा र थाइल्यान्डका प्रधानमन्त्रीहरूसँग द्विपक्षीय भेट गर्नुभयो र शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट तय भएको थियो । सियोलका अधिकारीहरूका अनुसार उक्त भेटमा कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरण प्रमुख एजेन्डा थियो ।

एआई र जनसाङ्ख्यिकीय चुनौतीमा छलफल
शुक्रबारको सत्र व्यापार र लगानीमा केन्द्रित रहे पनि शनिबारको बैठकमा कृत्रिम बौद्धिकता (एआई), जनसाङ्ख्यिकीय चुनौती र सांस्कृतिक उद्योगमा सहकार्यका विषयमा गहन छलफल भयो ।
नेताहरूले दुई पृथक वक्तव्य जारी गर्दै ती विषयहरूमा साझा दृष्टिकोण प्रस्तुत गरे । पहिलो वक्तव्यले एआईलाई द्रुतरूपमा बढ्दै गएको डिजिटल वातावरणमा ‘सम्भावित आर्थिक उत्प्रेरक’ का रूपमा व्याख्या गर्दै समन्वित नीतिको आह्वान ग¥यो । दोस्रो वक्तव्यले घट्दो जन्मदर, वृद्ध जनसङ्ख्या र तीव्र सहरीकरणजस्ता सामाजिक चुनौतीहरू सामना गर्न सहकार्यको आवश्यकता औँल्यायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *