क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
शिजाङ (तिब्बत) को दक्षिणी भूभागमा अवस्थित शाननान, जसलाई तिब्बती भाषामा ल्होका भनेर पनि चिनिन्छ, हिमाल र नदीको सङ्गममा बसेको एउटा सहर हो । समुद्री सतहबाट तीन हजार सात सय मिटरभन्दा माथि रहेको यो सहर भौगोलिक उचाइले मात्र होइन, संस्कृतिको गहिराइले पनि चिनिन्छ । तर, यहाँको साँच्चिकै ठुलो उपलब्धि भनेको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षमा भएको अद्भूत प्रगति हो ।
यो प्रतिवेदन केवल तथ्यको सूची होइन† यो मेरो आँखाले देखेको, कानले सुनेको र मनले महसुस गरेको कथा हो । सहरका गल्लीहरूमा, अस्पतालको कोरिडोरमा, बिरामीहरूको अनुहारमा र चिकित्सकहरूको जोसमा मैले एउटा यस्तो कथा देखेँ, जसलाई बुझ्न ‘स्वास्थ्य’ भन्दा ‘जीवनप्रति समाजवादी प्रतिबद्धता’ भन्ने शब्द नै उपयुक्त लाग्छ ।
शाननान पिपुल्स अस्पताल : सहरको मुटु
शाननान सहरको स्वास्थ्य प्रणालीको केन्द्रबिन्दु हो—शाननान पिपुल्स अस्पताल । यो एउटा अस्पताल मात्र होइन, यो यहाँका हजारौँ मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको मुटु हो ।
अस्पतालको प्रवेशद्वारबाट भित्र पसेपछि देखिएको थियो — रोग र उपचारको भेटघाट स्थल । अस्पतालमा ५८० शय्या (बेड) छन्, जसले ठुला सहरका मानक अस्पतालसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता राख्छ । भव्य भवनहरू, उज्याला कोठाहरू, सफा करिडोर र व्यस्त चिकित्सकहरूको अनुहारमा म एउटा आत्मविश्वास देख्थेँ — “हामी तयार छौँ” भन्ने आत्मविश्वास ।
करिब ६ सय कर्मचारी यस अस्पतालमा कार्यरत छन्, जसमा करिब एकतिहाइ चिकित्सक हुन् । यो अनुपात आफैँमा भन्नुपर्दा उल्लेखनीय छ । यी चिकित्सकहरू बिरामीको उपचार मात्र गर्दैनन्, भविष्यप्रतिको आशा र उच्च समाजवादी आस्थाको खेती गर्छन् ।
अन्तर–प्रान्तीय सहकार्य : समाजवादी ऐक्यबद्धताको उदाहरण
यो अस्पतालको अर्को विशेषता हो यसको अन्तर–प्रान्तीय सहकार्यको मोडेल । चीनले समाजवादको सिद्धान्तलाई राजनीति वा अर्थतन्त्रमा मात्र होइन, स्वास्थ्य क्षेत्रमा पनि समानता र सहकार्यको रूप दिन खोजेको छ ।
अस्पतालमा दुई मेडिकल निर्देशक नियुक्त हुने व्यवस्था छ । एक स्थानीय, जसले सहरको सन्दर्भ र संस्कृति बुझ्छन्् र अर्को सहयोगी प्रान्तबाट आउने, जसले नयाँ प्राविधिक ज्ञान र अनुभव ल्याउँछ । यस्तो निर्देशकको कार्यकाल तीन वर्षको हुन्छ । यसले संस्थागत स्मृति र निरन्तरतामा योगदान पु¥याउँछ ।
हाल शाननान पिपुल्स अस्पताललाई आन्हुई प्रान्तले सहयोग गरिरहेको छ । आन्हुई प्रान्तले एक जना आईसीयू विशेषज्ञ निर्देशकसंगै २५ जना विशेषज्ञ चिकित्सकहरू पठाएको छ । तिनीहरूले शल्यक्रिया, न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीदेखि लिएर गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा अस्पताललाई एकदम बलियो बनाइदिएका छन् ।
यो सहयोग मात्र होइन, यो चीनको समाजवादी नीतिको प्रतिबिम्ब हो—जहाँ एउटा प्रान्तको स्रोत र दक्षता अर्को प्रान्तका जनतासम्म पुग्छ । व्यक्तिगत स्वार्थभन्दा सामूहिक कल्याणलाई प्राथमिकता दिने यो नीतिले मलाई गहिरो रूपमा छोयो ।
टेलिमेडिसिन : दूरीलाई छोट्याउने विज्ञान
शाननानको भूगोलले स्वास्थ्य सेवामा सधैँ चुनौती खडा गर्छ । दुर्गम गाउँहरू, हिमाली बाटा र लामो दूरीले बिरामीलाई समयमै उपचारसम्म पु¥याउन कठिन बनाउँछ । तर, यहाँ विज्ञानले समाजवादसँग हातेमालो गरेको छ—टेलिमेडिसिनमार्फत ।
टेलिमेडिसिनले केवल उपचारलाई सहज बनाएको छैन; यसले शिक्षा पनि दिएको छ । स्थानीय डाक्टरहरूले नियमित रूपमा अनलाइन तालिम पाउँछन्; केस डिस्कसन गर्छन् र विशेषज्ञसँग संवाद गरेर आफ्नो ज्ञान अद्यावधिक गर्छन् । यसरी विज्ञानले भौगोलिक दूरीलाई पराजित गरिरहेको छ ।
तिब्बती परम्परागत औषधि : संस्कृति र स्वास्थ्यको सङ्गम
शाननानको स्वास्थ्य प्रणालीलाई बुझ्न आधुनिक उपकरण मात्र हेर्नु पर्याप्त हुँदैन । यहाँको अर्को आत्मा छ—तिब्बती परम्परागत औषधि ।
सहरमा एउटा ठुलो तिब्बती औषधि अस्पताल पनि छ । भित्तामा बुद्धमूर्तिहरू, काठका औषधि बाकसहरू र सुगन्धित जडीबुटीको गन्धले अस्पताललाई फरक अनुभूति दिन्छ । यहाँ उपचार शरीरको रोग हटाउने उद्देश्यले मात्र गरिँदैन; यहाँ उपचारलाई आत्मा, वातावरण र शरीरको सन्तुलन ठानिन्छ ।
एक जना तिब्बती चिकित्सकले मलाई भने, “आधुनिक चिकित्सा रोगसँग लड्छ, हाम्रो चिकित्सा जीवनसँग संवाद गर्छ ।” यो वाक्यले मलाई गहिरो सोचमा पु¥यायो । वास्तवमा, शाननानको स्वास्थ्य प्रणाली आधुनिक र परम्परागत दुवैलाई समेटेर चलिरहेको छ । बिरामीले चाहे आधुनिक उपचार लेओस् अथवा परम्परागत औषधि वा दुवै, यसले स्वास्थ्यलाई केवल ‘उपचार’ होइन, ‘समग्र जीवनशैली’ को रूपमा चित्रण गर्छ ।
समाजवाद र स्वास्थ्य : चीनको दृष्टि
शाननानमा मैले जे देखेँ, त्यो स्थानीय अस्पताल वा चिकित्सकको कथा मात्र होइन† त्यो चीनको समाजवादी दृष्टिकोणको प्रत्यक्ष रूप हो ।
समाजवाद भन्नाले यहाँको सन्दर्भमा राजनीतिक नारामात्र होइन, वास्तविक नीतिगत अभ्यास हो । स्वास्थ्य क्षेत्रलाई ‘सामूहिक सम्पत्ति’ को रूपमा बुझिएको छ । त्यसैले, एक प्रान्तले अर्को प्रान्तलाई सहयोग गर्छ । सरकारले टेलिमेडिसिनमा लगानी गर्छ । त्यसैले, आधुनिक उपचार र परम्परागत चिकित्सा दुवैलाई समान महत्व दिइन्छ ।
‘जनताकै लागि, जनताद्वारा’ समाजवादको मूल विचार, शाननानको स्वास्थ्य क्षेत्रमा जीवन्त रूपमा देखिन्छ । यो नीतिले उपचारलाई व्यापार होइन, अधिकार बनाएको छ ।
चुनौतीहरू अझै बाँकी
सबै कुरा आफैमा परिपूर्ण छैन । अझै केही चुनौतीहरू देखिन्छन् ।
– दुर्गम गाउँमा विशेषज्ञ उपचार सीमित छ ।
– भाषिक असहजता र सांस्कृतिक विविधताले विशेषगरी बाह्य आगन्तुकलाई कठिनाइ हुन्छ ।
– भू–उचाइका कारण हुने रोगहरू अझै ठुलो चुनौती बनेका छन् ।
– विशेषज्ञ चिकित्सकहरूको दीर्घकालीन स्थायित्व अझै समाधान गर्नुपर्ने प्रश्न हो ।
यी चुनौतीलाई पनि समाजवादको साझा भावना, प्राविधिक सहकार्य र स्थानीय सीप विकासले क्रमशः कम गर्दै लगेको अनुभव भयो ।
शाननान सहरमा मैले देखेको स्वास्थ्य प्रणाली औपचारिक संरचना वा अस्पतालको तथ्याङ्क मात्र होइन† यो एउटा कथा हो—समाजवाद, विज्ञान, संस्कृति र मानवीय करुणाको ।
५८० शय्याको शाननान पिपुल्स अस्पताल आज हजारौँ जनताको जीवनसँग प्रत्यक्ष जोडिएको छ । ६०० कर्मचारी, जसमा एकतिहाइ चिकित्सक, दिन–रात बिरामीको सेवामा समर्पित छन् । आन्हुई प्रान्तबाट आएका आईसीयू विशेषज्ञ निर्देशक र २५ जना चिकित्सकले यहाँको सेवामा गुणात्मक छलाङ ल्याएका छन् । टेलिमेडिसिनले दुर्गम गाउँ र ठुला अस्पतालबिचको दूरी घटाइदिएको छ र तिब्बती परम्परागत औषधिले संस्कृति र स्वास्थ्यलाई एउटै सूत्रमा गाँसेको छ ।
यसरी, शाननानको स्वास्थ्य प्रणालीले देखाएको यात्रा चीनको समाजवादले चिकित्सा क्षेत्रमा ल्याएको वास्तविकताको प्रतिबिम्ब हो । समाजवादले यहाँ स्वास्थ्यलाई ‘सुविधा’ होइन, ‘अधिकार’ बनाइदिएको छ ।
जब म अस्पतालको आँगन छोड्दै थिएँ, मेरो मनमा एउटा प्रश्न गुञ्जिरह्यो, “के हामीले पनि हाम्रो समाजमा स्वास्थ्यलाई यति नै सामूहिक, यति नै सांस्कृतिक र यति नै समाजवादी दृष्टिमा लिन सक्छौँ ?”
चीनको भ्रमण मेरो लागि एउटा यात्रामात्र भएन, यो मेरो आत्मामा गहिरो छाप छोड्ने अनुभव बन्यो । विशेषगरी शाननान र ल्हासामा बिताएको समयले मलाई बुझायो—समाजवाद कुनै शासन प्रणाली मात्र होइन, जीवनलाई सामूहिक सुन्दर यात्रामा बदल्ने दर्शन हो ।
शाननानमा उभिँदा मैले इतिहासको सुगन्ध महसुस गरेँ । त्यहाँका प्राचीन गुफा, ऐतिहासिक स्मारक, अनि हरियालीले जीवनको सरल सौन्दर्यलाई उजागर गरिरहेका थिए । तर, त्यससँगै आधुनिक विद्यालय, अस्पताल र पूर्वाधारहरू पनि समान महत्वका साथ उभिएका देखिन्थे । यसले मलाई बुझायो—समाजवादले विगतलाई मेट्दैन, बरु विगतकै जगमा भविष्यको महल खडा गर्छ ।
ल्हासामा पुगेपछि मैले संस्कृति र आधुनिकताको असाधारण सहजीवन देखेँ । पुराना मठ–मन्दिरहरूमा अझै प्रार्थनाको स्वर गुञ्जिरहेको थियो । त्यसैको छेउमा नयाँ पुस्ताको हाँसो, विद्यालयको घण्टी, अनि अस्पतालको सेवा मिसिएको थियो । त्यहाँ मैले महसुस गरेँ —संस्कृति र आधुनिकता विरोधी होइनन्, बरु एउटै गीतका दुई धुन हुन् । समाजवादले यी दुईलाई यति सन्तुलित ढङ्गले मिलाइदिएको रहेछ कि परम्परा अझै गहिरो बनेको छ र आधुनिकता अझै उज्यालो ।
चीनमा मैले देखेको अर्कोे सुन्दरता मानिसहरूको अनुहारमा प्रतिबिम्बित थियो । उनीहरू आत्मविश्वासी र सन्तुष्ट देखिन्थे । उनीहरूलाई थाहा थियो—राष्ट्र उनीहरूको साथमा छ । त्यहाँ स्वास्थ्य वा शिक्षा कुनै व्यापार थिएन, ती त सबैको अधिकार थियो । यही चेतनाले चीनलाई बलियो बनाएको रहेछ—जहाँ समाज उठ्छ, त्यहाँ राष्ट्र सबल हुन्छ ।
नेपाल फर्कँदा मेरो मनमा एउटै प्रश्न गुञ्जिरहेको थियो—हामी किन यो बाटोमा अघि बढ्न सक्दैनौँ ? हाम्रो गाउँले संस्कृति अझै सामूहिकतामा अडिएको छ, हाम्रो परम्परामा अझै पनि सहकार्यको जग बलियो छ । यदि हामीले समाजवादको आत्मा —समानता, सहकार्य र सामूहिक चेतनालाई आत्मसात गर्नसक्याँैं भने हाम्रो भूमिमा पनि शाननान र ल्हासाजस्तै विकासका फूलहरू फुल्न सक्छन् ।
शाननानले मलाई एउटा गहिरो पाठ सिकायो — विकास भनेको पुरानो मेट्नु होइन, पुरानोमा नयाँ जीवन फुक्नु हो । जब परम्परा र आधुनिकता आपसमा हातेमालो गर्छन्, जब समाज सामूहिक चेतनामा उभिन्छ, त्यतिबेला मात्र साँच्चिकै सुन्दर भविष्य जन्मिन्छ ।
(लेखक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)
Leave a Reply