विद्यार्थीलाई देश र जनताप्रति समर्पित बनाउन शिक्षकहरू सक्रिय र योग्य हुनुपर्ने
- आश्विन २५, २०८२
भक्तपुर, १८ असोज । पैतालिसौँ नेपालभाषा साहित्य तःमुंज्या नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सुरू भएको छ ।
भक्तपुर नगरपालिका वडा नं. २ नपखु परिसरमा भएको तःमुंज्या (सम्मेलन) को पहिलो दिनको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक जगतलाल खर्बुजाले पानसमा दीप प्रज्जवलित गरी गर्नुभयो । त्यस्तै नेकिपाका सचिव प्रेम सुवालले जनकवि चन्द्रबहादुर उलकका दुईटा कविता सङ्ग्रहहरू (वर्गंजक थः केनि र चन्द्रबहादुर उलकका कविता–२) को विमोचन पनि गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “साहित्यमा राजनीति हुन्छ । देश, समाज र परिवारमा पनि राजनीतिक छलफल जरूरी छ । शासक दलहरूले राजनीति सरकारमा पुग्न र सम्पत्ति कुम्ल्याउन गरिरहेको छ । नेमकिपाले देश र जनताको निःस्वार्थ सेवालाई नै राजनीति ठानेको छ र गरिबको सेवा गर्ने नै राजनीति मानेको छ ।”
“नेमकिपाले संसद्मा विद्यालयका शिक्षक योग्य बनाउनुपर्ने आवाज उठायो, जिल्लाका शिक्षा कार्यालयहरू, शिक्षा मन्त्रालय र मन्त्रीहरूलाई आग्रह ग¥यो तर सरकारहरूबाट ध्यान दिइएन”, उहाँले थप्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “इजरायली फासिवादले प्यालेस्टिनमा नरसंहार र भूमि कब्जा गर्दै छ, जनसङ्ख्या संहार गर्न बालबालिका र महिलाको हत्या गर्दै छ, पत्रकारहरूलाई हत्या गर्दै छ, धेरै वर्ष अगाडि प्यालेस्टिनी राष्ट्रपति यासेर अराफात बसेको घरमा बमवारी गरेका इजरायलले अहिले पनि बमवारी गर्दै छ ।”
“नेमकिपाले सबैलाई सैनिक तालिम चाहिने विषय उठाउँदै छ । सरकारहरू सचेत भएर यस्तो काम गरेको भए नेमकिपाले यो विषय उठाउनुपर्ने थिएन । सरकारहरू युवालाई विदेश पठाउने, परीक्षाविना उत्तीर्ण गराउने काम गर्दै छन् । विदेशीको हित हेर्ने शासक दलहरू विदेशी दलाल हुन् । नेपालको हित होइन विदेशमा बिक्ने शिक्षा दिने सरकारहरू पनि विदेशी दलाल नै हुन् । यस्ता सरकारहरूको कारण नेपालीलाई दुःख भइरहेको हो”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शासक दलहरूले सर्वसाधारण जनताको मत पैसा दिएर किनेको र पैसाको बलमा सरकारमा गएको हुँदा अहिलेदेखि नै जनतालाई सिद्धान्तलाई बुझेर मत हाल्न सचेत गर्नु जरूरी छ । जनता सचेत नभए देश सुरक्षित हुनेछैन र यो भन्दा बढी दुःख हुनेछ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालभाषा साहित्य तःमुंज्या कामदार वर्गका जनताको साझा मञ्च भएको चर्चा गर्दै यसले नेपालभाषा र अन्य भाषाका साहित्य सर्जकहरू जन्माउने कार्य गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार स्वच्छ प्रशासन, सदाचार, शिक्षा, स्वास्थ्य सरसफाइ आदिको माध्यमबाट देश र जनताको सेवा गर्दै आएको प्रस्ट पार्नुभयो ।
नगर प्रमुख प्रजापतिले भनपाले सञ्चालन गरिरहेका कलेजहरूमा देशका ७७ वटै जिल्लाका विद्यार्थीहरू अध्ययन गरिरहेको जानकारी दिँदै भनपाले सञ्चालन गरिरहेको ख्वप अस्पताल र सहरी स्वास्थ्य क्लिनिकहरूमार्फत नगरवासीहरूलाई मात्र नभई देशभरिबाट आउने गरेका जनताको स्वास्थ्य जाँच र उपचार भइरहेको बताउनुभयो ।
उहाँले सरकारले ख्वप विश्वविद्यालय ऐन ल्याएर सञ्चालन स्वीकृति दिएमा कम लागतमा मेडिसिन (चिकित्साशास्त्र) पढाउने सोच भनपाको रहेको स्पष्ट पार्नुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले देशको अहिलेको स्थितिबारे चर्चा गर्दै भ्रष्टाचारी शासकहरूले अहिले परिणाम भोगिरहेको बताउनुभयो ।
देश बडो ठुलो समस्याबाट गुज्रिरहेको धारणा राख्दै उहाँले सबै मिलेर निकास दिनुपर्ने बताउनुभयो ।
मानव अङ्ग प्रत्यारोपणका विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले आफूले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको प्रमुख भई कार्य गर्दा केन्द्रले ९९ प्रतिशत प्रत्यारोपण सफलतापूर्वक गरेको र समयमै मृगौला दान पाउन सक्ने बिरामी अकालमा मर्न नपर्ने बताउनुभयो ।
केन्द्रलाई गर्भमै तुहाउने षड्यन्त्र हुँदा भक्तपुरका जनप्रतिनिधिहरूबाट निकै सकारात्मक सहयोग पाएको स्मरण गर्दै उहाँले भक्तपुर स्वास्थ्य उपचार सेवाको केन्द्र बन्दै गइरहेको बताउनुभयो ।
साहित्यकार नरेन्द्रराज प्रसाईले भक्तपुरमा र तःमुंज्याको मञ्चमा फरक राजनीतिक सिद्धान्त र विचारका साहित्यकार र बुद्धिजीवीहरूले समेत मञ्च पाइरहेको उल्लेख गर्दै यो नै वास्तविक प्रजातान्त्रिक अभ्यास चएको बताउनुभयो ।
भक्तपुर नारायणमान बिजुक्छेँ र नेमकिपाको रगत तथा पसिनाका कारण उत्कृष्ट राजनीति र साहित्यको स्थल भएको बताउँदै उहाँले भक्तपुरलाई नेपालकै देशभक्त जिल्ला नामकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बनेपाका साहित्यकार कृष्णकुमार वैद्यले विदेशी हस्तक्षेपले जनताले चाहेको परिवर्तन नआउने हुँदा विदेशी हस्तक्षेप कदापि स्वीकार्य हुनेछैन भन्नुभयो ।
उहाँले साहित्यमा देश र जनताको अवस्था झल्किनुपर्ने बताउनुभयो ।
त्रिमूर्ति प्रतिष्ठानकी अध्यक्ष एवं कवयित्री इन्दिरा प्रसाईले भक्तपुरले ख्वप सर्कलका कलेजहरू सञ्चालन गरेर देशकै लागि नमुनाको कार्य गरिररहेको बताउनुभयो । उहाँले भक्तपुरको साहित्यिक भविष्य उज्ज्वल रहेको विचार व्यक्त गर्नुभयो ।
त्रिवि अङ्ग्रेजी विभागका प्रमुख डा. तारालाल श्रेष्ठले आफ्नो भाषा बिर्सेको समुदाय उपनिवेशमा रहने र भाषा, साहित्य र अमूर्त सम्पदाहरू स्वतन्त्रताको अत्यावश्यक पक्ष रहेको बताउनुभयो ।
उहाँले देशको जटिल स्थिति चिर्नका लागि जनताले निःस्वार्थ राजनीति र नेतृत्वलाई चिनेर साथ दिनुपर्ने बताउनुभयो ।
सक्वका साहित्यकार यचु जोशीले भाषा र संस्कृति देशकै सम्पदा भएको बताउँदै नेपालभाषा, साहित्य र नेवार संस्कृतिको गौरव कायम राखनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मानिस जातिलाई अरू प्राणीभन्दा विशिष्ट बनाउनुमा भाषा र साहित्यको मुख्य योगदान रहेको धारणा राख्दै भाषा र साहित्यको उत्कृष्टताले समाजको उत्कृष्टता थाहा पाउन सकिने बताउनुभयो ।
उहाँले भक्तपुरका जनतामा भएको देशभक्तिपूर्ण चेतना देशभर फैलाउन आवश्यक छ भन्नुभयो ।
ज्योतिषशास्त्री डा. वीरेन्द्र कायस्थले पर्व जगेर्नामा भाषा र साहित्यको ठुलो योगदान रहने धारणा राख्दै पञ्चाङ्ग एकरूपता ल्याउन राष्ट्रिय गोष्ठी आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ इन्जिनियर एवं लेखक रामबिन्दु श्रेष्ठले भाषा, साहित्य, संस्कृति, कला र कौशल समाजको अत्यन्तै महत्वपूर्ण भाग भएको उल्लेख गर्दै भाषा र संस्कृति गुमाउनु भनेको घरको न घाटको हुनुजस्तै हुने बताउनुभयो ।
कवयित्री बेबी झाले आफ्नो देश र आमाको काखभन्दा न्यानो र महत्वको स्थान अरू नहुने बताउनुभयो ।
कार्यक्रममा स्थापित र नवोदित थुप्रै कवि एवं साहित्यकारहरूले आ–आफ्ना रचना वाचन गर्नुभयो भने बिचबिचमा प्रगतिशील गीत–सङ्गीतहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रमको सुरूवातमा कवि दामोदर सुवालको रचनामा गायकद्वय रवि हाडा र लक्ष्मण पलिखेलले स्वागत गीत गाउनुभयो ।
कार्यक्रममा सम्मेलनका प्रमुख अतिथि बिजुक्छेँ (रोहित) ले स्थानीय अग्रज किसान कार्यकर्ता विकुनारायण मातां, लोककवि सङ्घरत्न शाक्य, कनाक बाजा गुरू जगतलाल खर्बुजा एवं चर्चित गायक एवं सङ्गीतकार रवि हाडालाई कदर पत्र र नगर पुरस्कारकासाथ सम्मान गर्नुभयो ।
सम्मेलनको दोस्रो दिन आइतबार बिहान ११ः बजेदेखि कार्यक्रम सुरु हुनेछ ।
Leave a Reply