बुटवलमा नेमकिपाको कार्यकर्ता प्रशिक्षण कार्यक्रम
- आश्विन २४, २०८२
राष्ट्रपति निवासमा सर्वदलीय बैठक
काठमाडौँ, २४ सोज । शुक्रबार शीतल निवासमा आयोजित अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा निर्वाचन नै एक मात्र विकल्प भएको धारणा राख्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षा गर्नु सबै दलको साझा जिम्मेवारी भएकोले शान्ति, सुरक्षा र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक तयारी र सुरक्षा प्रत्याभूति गर्न सरकार जिम्मेवारीपूर्वक लाग्नुपर्छ । राजनीतिक दलहरूबिच कुनै दुविधा वा अस्पष्टता भए खुलस्त छलफल गरी समाधान खोज्नुपर्छ । निर्वाचनबाहेक अन्य विकल्प खोज्ने प्रयास देश र लोकतन्त्र दुवैका लागि घातक हुनेछ ।”
राष्ट्रपति पौडेलले दलहरूलाई जनतामाझ स्पष्ट सन्देशका साथ जान, जेन–जी पुस्ताले उठाएका माग र असन्तुष्टिलाई आत्मसात् गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आह्वान गर्नुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जीको नेता को हो स्पष्ट नभएको बताउँदै नेका, एमाले माओवादीका जेन–जी भनेर आउने, अस्पताल र सडकबाट जेन–जी आउँदा अन्योल भएको बताउनुभयो ।
“निर्वाचनको लागि सरकार तयार छ । आवश्यक सामानहरू जुटाउने काम गर्दै छौँ । निर्वाचन आयोगसँग पटक पटक छलफल गर्दै वातावरण निर्माण गर्दै छौँ । दलहरूले निर्वाचनमा सक्रियतापूर्वक भाग लिने अपेक्षा गर्छौँ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नयाँ जनादेशको लागि निर्वाचनमा जानु राम्रो विकल्प भएकोले प्रजातन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू निर्वाचनबाट पछि हट्न नहुने बताउनुभयो ।
“हामी निर्वाचित प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने ‘भरेको बन्दुक हुनुपर्ने’ प्रजातान्त्रिक मान्यतामा विश्वास गर्दछौँ । यसअघिका प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्दा संसद् पुनस्र्थापनाको लागि न्यायालयमा जाने दलहरूले संसद्को अधिकार न्यायालयलाई बुझाए । त्यो गलत थियो”, केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो ।
सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न खुट्टा कमाए भने जेन–जीको आन्दोलनको भावना पूरा नहुनेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो, “देशलाई २७ खर्ब सार्वजनिक ऋणमा पु¥याएको, वार्षिक व्यापारघाटा १५ खर्ब भएको र दाल–चामल, तरकारीसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था आउनुले नै अहिलेको समस्या निम्तिएको हो ।”
केन्द्रीय सदस्य प्रजापतिले थप्नुभयो, “नेपाली युवाहरूलाई दैनिक हजारौँको सङ्ख्यामा रोजगारीका नाउँमा विदेश पठाउने, उच्च शिक्षा अध्ययनको लागि विभिन्न देशमा पठाउने गलत सोचले गर्दा नै युवा–विद्यार्थीहरूमा असन्तोष बढेको हो । भदौ २३ र २४ गतेको घटना त्यसको विस्फोटको रूप हो ।”
ठुल्ठुला भ्रष्टाचारी र जघन्य अपराधीहरूलाई संविधान संशोधन गरेर भए पनि मृत्युदण्डको व्यवस्था हुनुपर्नेमा जोड दिँदै उहाँले जनताको भावनाअनुसार काम गरेको भए नेताहरू घरघरमा कुटिने, नेताहरूको घरमा आगजनी गर्ने, सार्वजनिक सम्पत्ति ध्वंश गर्ने अवस्था आउने थिएन भन्नुभयो ।
जेन–जी आन्दोलनबाट राजनीति देश र जनताको निःस्वार्थपूर्वक सेवाको निम्ति हो भन्ने शिक्षा लिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपाले संसद् र सडकबाट जनताका न्यायोचित आवाजहरू उठाउँदा सरकारमा गएका दलहरूले वास्ता नगरेको कारण अहिलेको स्थिति आएको हो भन्नुभयो ।
नेकाका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेसको निर्वाचनबारे आधिकारिक धारणा आगामी केन्द्रीय कार्य समितिले निर्णय गर्ने बताउँदै भदौ २४ गते राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, संसद् भवन, कोइराला निवासजस्ता महत्वपूर्ण संरचनाहरू जेन–जीको नाउँमा घुसपैठ गरेर आगजनी गर्नेहरूमाथि कारबाही गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
चुनाव गर्ने सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने उल्लेख गर्दै उहाँले शान्ति सुरक्षाको सुनिश्चितताबिना चुनाव सम्भव छैन भन्नुभयो ।
एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले लोकतान्त्रिक पार्टीहरूले चुनावमा विमति राख्नुपर्ने कुनै कारण नभएको धारणा राख्दै निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र भयरहित हुनुपर्छ भन्नुभयो । तर एमालेको आधिकारिक धारणा भने केन्द्रीय समितिको निर्णयपछि सार्वजनिक हुने उहाँले बताउनुभयो ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो, “निर्वाचनको वातावरण सरकारले बनाउनुपर्छ, सुरक्षामा कुनै कमी नहोस्, निर्वाचनको लागि सरकार दृढताका साथ लाग्नुपर्छ ।”
जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले दलहरूको सहभागिताबिनाको चुनावको कुनै अर्थ नहुने बताउँदै निष्पक्ष र भयरहित चुनाव सम्पन्न गर्नेतिर सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाले जनता, प्रहरीहरूको मनोबल खस्केको छ, अपराधीहरूको मनोबल बढेको छ, यस्तो अवस्थामा न दल न जनता चुनावमा जान सक्छन् भन्दै परिस्थितिलाई सामान्यीकरण गर्दै लानुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले सबै दलहरू निर्वाचनको लागि तयार हुनुपर्ने, दलहरूलाई बाइपास गरेर निर्वाचन गर्नुको औचित्य नहुने बताउँदै अहिले भइरहेको अराजक अवस्थाको अन्त्य हुनुपर्छ भन्नुभयो ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले चुनावमा भाग लिने निर्णय गरेको जानकारी दिँदै दलका नेताहरू घरमा बस्न सक्ने अवस्था नरहेको बेला चुनाव कसरी हुन्छ भन्नी प्रश्न गर्नुभयो ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश संरचना खारेजी र स्थानीय तह गैरदलीय हुनुपर्ने पक्षमा रहेको बताउँदै संविधान संशोधन गरेर अब सरकार अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जनता समाजवादी नेपालकी रेणु यादवले निर्वाचनमा जान जनता तयार छ छैन यकिन गरेर मात्र निर्वाचनतर्फ लाग्नुपर्ने बताउनुभयो ।
रास्वपाका नेता विपिन आचार्यले अबको छलफल विदेशमा बसेका नेपालीहरूलाई मतदानको अधिकारबारे केन्द्रित हुनुपर्ने बताउनुभयो ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेलले सबै दलहरू चुनावको लागि तयार भए यो सरकार शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न तयार रहेको बताउनुभयो ।
बैठकमा जसपा नेपालका विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीका चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीका ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीना लामा, नेकपा एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुषाल पनि सहभागी हुनुहुन्थ्यो ।
Leave a Reply