भर्खरै :

के हो क्याम्ब्रिज एनालाइटिकाको स्क्यान्डल ?

– रमेश प्रजापति
विश्व जगतमा अहिले निकै चर्चामा रहेको विषय हो – फेसबुक र क्याम्ब्रिज एनालाइटिका स्क्यान्डल । यो स्क्यान्डलसंगै विश्वभर फेसबुकमाथिको विश्वसनीयता र गोपनीयताको प्रश्न टड्कारो रुपमा उठिरहेको छ । सामाजिक सञ्जालहरुमा अहिले डिलिट फेसबुक अर्थात् फेसबुक बन्द गरको ह्यासट्याग टे«न्डिङमा छ । यो स्क्यान्डलले वर्तमान समयमा हामीमाथि सामाजिक सञ्जालहरुको माध्यमबाट विश्वका ठूलाठूला कम्पनीहरुले कसरी आफ्नो नियन्त्रणमा राखेको छ ? हाम्रा अतिगोप्य र नीजी तथ्याङ्क अथवा डाटाहरु प्रयोग गरेर कसरी हाम्रो मानसिकता र सोच्ने शैलीलाई रि–प्रोग्राम गर्दैछन् ? कतिसम्म खतरनाक हुन सक्दा रहेछन् सामाजिक सञ्जाल भन्ने प्रश्नलाई अगाडी सारिदिएको छ । यसै सन्दर्भलाई लिएर फेसबुकका सीईओ मार्क जुकरवर्गले अमेरिकी संसदीय समितिमा स्पष्टीकरण पनि दिइसकेका छन् । अहिले युट्युब, ट्विटरजस्ता सामाजिक सञ्जालहरुमा उक्त प्रश्नोत्तरका भिडियोहरु भाइरल बनिरहेका छन् । आखिर के हो त फेसबुक र क्याम्ब्रिज एनालाइटिकाको स्क्यान्डल ? किन अहिले यो विषय चर्चामा छ ? यहि विषयमा आज थोरै चर्चा गरौं ।
के हो क्याम्ब्रिज एनालाइटिका ?
क्याम्ब्रिज एनालाइटिका एक डाटा माइनिङ (तथ्याङ्क अध्ययन र विश्लेषण) गर्ने नीजी कम्पनी हो ।
 
यसको स्थापना सन् २०१३ मा एस्.सी.एल्. ग्रुपको मातहत रहने गरी भएको हो । यसको प्रधान कार्यालय बेलायतको लन्डनमा छ । यसका सी.ई.ओ. अलेक्जाण्डर निक्स र सहायक स्टिभ बानोन हुन । यसमा रोवर्ट मर्सर र रिबेका मर्सरको लगानी रहेको छ ।
 
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने भित्री उद्देश्यकासाथ यो कम्पनीको स्थापना गरिएको थियो । कम्पनीले यसअघि पनि विभिन्न चुनावी गतिविधिहरुमा सहयोग गरेको थियो ।

 
को हुन् क्रिस्टोफर विली ?
क्रिस्टोफर विली यस स्क्यान्डलको रहस्योद्घाटन गर्ने प्रमुख व्यक्ति हुन् । २८ वर्षीय यी डाटा एनालिस्ट (तथ्याङ्क विश्लेषक)लाई सन् २०१४ मा क्याम्ब्रिज एनालाइटिकाले आफ्नो कम्पनीमा नियुक्ति दिएको थियो । विलीले १६ वर्षको उमेरमा विद्यालयको औपचारिक शिक्षा छोडेका थिए र पछि क्यानडाको संसदमा केही समय काम गरेर राजनितिका विषयवस्तुहरुबारे जानकारी राख्ने र त्यसको विश्लेषण गर्नेबारे जानकारी हासिल गरे । २१ वर्षको उमेरमा उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट पुनः अध्ययन सुरु गरे र २४ वर्षको उमेरमा उनी पीएचडी गर्दै थिए । यहि समय क्याम्ब्रिज एनालाइटिकाले आफनो कम्पनीमा काम गर्न प्रस्ताव गरेको थियो र अनुसन्धान विभागको प्रमुख बनाएको थियो ।

कसरी सुरुभयो डोनाल्ड ट्रम्पलाई जिताउने खेल ?
अमेरिकी राष्ट्रपतिय चुनाव सन् २०१६ मा भए पनि डोनाल्ड ट्रम्पलाई जिताउने तयारी क्याम्ब्रिज एनालाइटिकाले सन् २०१४ बाटै गरेको थियो । मतदाताहरुको राजनीतिक मनोविज्ञान बुझेर त्यसमाथि प्रभाव जमाउन क्याम्ब्रिज एनालाइटिकालाई सबैभन्दा पहिले मतदाताहरुको विषयमा जानकारी हासिल गर्नुपर्ने चुनौतिपूर्ण काम थियो र त्यसको निम्ति उनीहरुसंग डाटा(तथ्यांक) थिएन । क्रिस्टोफर विलीले त्यसको निम्ति क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर डा. अलेक्जाण्डर कोगानको सहायता लिए ।

डा. कोगानले आफ्नो कम्पनी ग्लोबल साइन्स रिसर्चको नामबाट फेसबुक प्लेटफर्मको प्रयोग गरी एक फेसबुक एप्लिकेशन बनाए । सो एपबाट एउटा सर्भे गरियो जसको उद्देश्य एउटा शैक्षिक प्रयोजनको निम्ति भनिएको थियो । लगझ २ लाख ७० हजार फेसबुक प्रयोगकर्ताहरुले सो एप डाउनलोड गरी सर्वेक्षणमा भाग लिए । अनलाइन सर्वेक्षणको क्रममा डा. कोगानले सो एपमार्फत् झण्डै ५ करोड व्यक्तिहरुको प्रोफाइलबाट तथ्यांक सङ्कलन गर्न सफल भए । किन की उनले बनाएको एप(सफ्टवेयर)बाट सर्वेक्षणमा सहभागी भएका व्यक्तिहरुको मात्र नभई सो व्यक्तिको फ्रेन्डलिस्टमा भएका सबै व्यक्तिहरुको पनि तथ्याङ्क संकलन गरेको थियो र ती प्रयोगकर्ताहरुलाई आफ्नो बारे जानकारी सङ्कलन हुँदैछ भन्ने जानकारी पनि थिएन जुन गैरकानुनी थियो । यसरी करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुका नीजि तथा व्यक्तिगत विवरणहरु संकलन गरेर
 
डा. कोगानले एउटा डाटाबेस बनाए जसलाई क्याम्ब्रिज एनालाइटिकाले झण्डै १ मिलियन अमेरिकी डलरमा किनेको थियो । अब क्याम्ब्रिज एनालाइटिकासंग करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको व्यक्तिगत विवरणहरु थिए जसमा ती व्यक्तिहरुको नाम, ठेगाना, सम्पर्क नं, ईमेल ठेगाना, धर्म, जात, परिवार संख्यामात्र नभई फेसबुकमा तिनीहरुले गरेका लाइक, कमेन्ट, सेयरबाट तिनीहरु कस्तो सोच राख्छन् ? के कुराले उनीहरुलाई बढि प्रभावित बनाउन सक्थे ? उनीहरुको रुचि के हो ? उनीहरुलाई के कुरा बढी मनपर्छ ? के मन पर्दैन सबै जानकारी निकाल्न सकिन्थ्यो ।
 

क्याम्ब्रिज एनालाइटिकाले त्यसपछि ती करिब ५ करोड व्यक्तिका विवरणहरुको विश्लेषण गरी मतदाताहरुको प्रोफाइल तयार ग¥यो । फलस्वरुप कुन क्षेत्रका मानिसहरुका रुचिका विषय के हुन् ? उनीहरुलाई के कुराले बढि प्रभावित बनाउन सक्थ्यो ? कस्तो विषयले उनीहरुको सोच बदल्न सकिन्थ्योजस्ता कुराहरु बुझ्न कम्पनी सफल भयो । त्यसपछि उनीहरुले मतदाताहरुको स्वभावअनुसार नै उनीहरुलाई त्यस्तै विज्ञापनहरु देखाउन थाले जुन उनीहरुका रुचिका विषय थिए । विस्तारै कम्पनीले मतदाताका मनोविज्ञान बुझेर उनीहरुले रुचि राख्ने विषयहरुमै राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पका भाषण र समाचारहरु सुनाउन थालियो । ट्रम्पको प्रचार अभियानका कार्यक्रमहरु पनि त्यतैतिर बढि केन्द्रीत गर्न थालियो जतातिर उनका समर्थक बढि हुन सक्ने तथ्याङ्कले देखाएको थियो । यसरी विस्तारै विस्तारै उनीहरुले पढ्ने समाचारहरु, हेर्ने विज्ञापनहरुमा ट्रम्पका गुणगान गराउने किसिमका विषयवस्तुहरु राखिन थाले । यसले ट्रम्पप्रति मानिसहरुको हेर्ने दृष्टिकोणमा नजानिँदो ढङ्गले परिवर्तन ल्याउन उनीहरु सफल भए । मतदाताहरु त्यहि सोच्थे जे क्याम्ब्रिज एनालाइटिका उनीहरु सोचुन् भन्ने चाहन्थे, उनीहरु त्यहि कुरामा बहस गर्थे जुन क्याम्ब्रिज एनालाइटिका चाहन्थ्यो । यसरी डोनाल्ड ट्रम्पको पक्षमा जनमत जुटाउन उनीहरु सफल भए र अन्ततः डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न पुगे ।
राष्ट्रपतीय निर्वाचनमा रुसको हस्तक्षेप थियो त ?
केही वर्ष पहिले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले हस्तक्षेप गरेको समाचारहरुले विश्वका सञ्चारमाध्यम ढाकिएको थियो । तर क्याम्ब्रिज एनालाइटिकाको यो स्क्यान्डलबाट सो कुरा गलत सावित भएको छ । अनुसन्धानका क्रममा रहस्य खुल्दै गएपछि कम्पनीका लगानीकर्ता रोवर्ट मर्सरले क्याम्ब्रिज एनालाइटिकाका सीईओ अलेक्जाण्डर निक्सलाई सो सम्पूर्ण कामहरु रुसको निर्देशनअनुसार भएको जस्तो देखाउन भन्दै त्यसै किसिमका कागजातहरु तयार गर्न भनेको कुरा अहिले प्रकाशमा आएको छ । साथै युरोपियन युनियनबाट बेलायत बाहिरिएको विषयमा पनि कम्पनीले धेरैलाई बेलायत बाहिरिनुपर्ने पक्षमा प्रभावित बनाएको रहस्य पनि खुलेको छ ।
 
किन मागे जुकरवर्गले माफी ?

यो स्क्यान्डलमा फेसबुक प्रमुख दोषी नभए पनि स्पष्टीकरणको क्रममा मार्क जुकरवर्गले अमेरिकी संसदीय समितिमा माफी मागेका छन् । फेसबुकले कुनैपनि प्रयोगकर्ताको डाटा नबेचेको र पासवर्ड पनि ह्याक नभएको भने पनि क्याम्ब्रिज एना
लाइटिकाले उसको प्लेटफर्म प्रयोग गरी डाटा सङ्कलन गरेको छ । फेसबुकको गोपनीयताको कमजोर र उदार सुरक्षा नीतिका कारण प्रयोगकर्ताहरुका विवरणहरु सङ्कलन भएका थिए । जुकरवर्गले सो विषयमा माफि मागी आफ्नो टिमले यसमा सुधार गर्ने जानकारी गराएका
 
छन् । फेसबुकको यो स्क्यान्डल बाहिरिएसंगै कहिले पनि गिरावट नआएको फेसबुकको सेयरमा भारी गिरावट आएको छ । साथै सामाजिक सञ्जालहरुमा पनि फेसबुकको चर्को आलोचना भइरहेको छ ।
अन्तमा,
यो स्क्यान्डलबाट अहिलेको समयमा सामाजिक सञ्जालको भूमिका कति महत्वपूर्ण र कति खतरनाक पनि हुनसक्छ भन्ने बुझ्न सकिन्छ । नेपालमा पनि सामाजिक सञ्जालका विषयलाई लिएर धेरै चर्चा हुने गरेका छन् । पछिल्लो समयमा नेपालमा सरकारले फेसबुक बन्द गर्ने जस्ता हल्लाले पनि ठाउँ पाएका छन् । सामाजिक सञ्जालहरुमा भ्रमपूर्ण र गलत समाचारहरु सम्प्रेषण गर्ने र साइबर अपराधका घटनाहरु पनि दिन प्रतिदिन बढ्दो छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दो छ । सामाजिक सञ्जालहरुमा हाम्रा विवरणहरु सङ्कलन भइ नै रहेका छन् । यो सत्य हो । सामान्यतया यी कम्पनीहरुले हाम्रा व्यक्तिगत विवरणहरु सुरक्षित राख्ने विश्वास दिलाउँछन् तर कहिलेकाहीँका यी र यस्ता स्क्यान्डलहरुबाट हाम्रा विवरणहरु चोरी हुन सक्ने खतरा त छँदैछ । अहिलेको समयमा सामाजिक सञ्जालहरुको प्रयोगलाई पूणरुपमा बन्द नै गर्नु पनि व्यावहारिक नहोला । बरु साइबर अपराधलाई न्युन बनाउन नियम कानुनको कडाईकासाथ पालना गराउनु राम्रो होला । किनकी सामाजिक सञ्जालका सकारात्मक पक्षहरु पनि धेरै छन् र यो अहिल हाम्रो दैनिकी पनि बनिसकेको छ । त्यसकारण फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालहरुमा कुन तहसम्मका विवरण मात्र राख्ने त्यसको निर्धारण हामी स्वयम्ले गर्न जरुरी छ । चीन, उत्तरकोरियाजस्ता देशमा फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालहरु प्रतिबन्धित गर्नुको कारण पनि यहि नै हो । त्यहाँ उनीहरुको आफ्नै सामाजिक सञ्जाल छ अर्थात् विकल्प छ । नेपालले पनि आफ्नै देशको सामाजिक सञ्जालको विकास गरी प्रयोगमा ल्याए नेपालका विषयमा विवरणहरु हामीसंगै सुरक्षित हुनेछन् । अहिलेलाई हामी प्रयोगकर्ताहरु आफैले सामाजिक सञ्जाल प्रयोगमा सतर्कता अपनाउनु नै उचित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *