भर्खरै :

प्यालेस्टिनी जनताबाट देशभक्तिको पाठ सिक्नुपर्ने

प्यालेस्टिनी जनताबाट देशभक्तिको पाठ सिक्नुपर्ने

ललितपुर, ५ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ वर्षमा सबै नेपाली जनताले राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना अध्ययन गरी देशको विकासमा योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या ललितपुरको आयोजनामा बुधबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख प्रजापतिले चाड पर्व मनाउने सवालमा भइरहेको अन्योलको अन्त्य गर्न सबै नेवार समुदायले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ता (जेन–जी) को आन्दोलनले दलहरूको सरकार ढलेर नयाँ सरकार गठन भएको छ; संविधानविपरीत तत्कालको समस्या समाधान गर्न निर्दलीय चरित्रको सरकार गठन भए पनि देशको राजनीति संवैधानिक बाटोमा फर्काउने उपयुक्त सहज बाटो निर्वाचन नै हुनसक्छ ।”
विकासको नाउँमा लुट, चरम भ्रष्टाचार, हर क्षेत्रमा भागबन्डामा नियुक्ति र व्यक्तिगत तथा दलगत स्वार्थको लागि मात्र काम गर्ने दलहरूकै कारण वर्तमान सङ्कट उत्पन्न भएको धारणा राख्दै प्रमुख प्रजापतिले भन्नुभयो, “अहिलेको अवस्था सिर्जना हुनुमा सरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थानहरूको चलखेल हुनसक्ने भएकोले एनजीओ र आईएनजीको गतिविधिबाट सतर्क रहनुपर्छ ।”
“संरा अमेरिकाले गरिब तथा अन्य विकसित देशहरूमाथि आक्रमण गरी प्राकृतिक स्रोत र साधनहरूमा कब्जा गर्दै छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको जथाभावी कर नीति र तानाशाही प्रवृत्तिको विरोधमा अमेरिकाभर लाखौँ जनताले आन्दोलन गर्दै छन्; ट्रम्प विश्वभर नाङ्गिदैै छन्; अरूको घरमा आगो लगाउनेहरूको घरमा कुनै दिन आगो लाग्छ भन्ने अमेरिका उदाहरण बन्दै छ”, उहाँले भन्नुभयो ।
प्यालेस्टिनी जनताबाट देशभक्तिको पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले ६७ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाए पनि इजरायलविरूद्ध निरन्तर लडेर संसारका जनतालाई प्यालेस्टिनी जनताले देशभक्तको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले समाजवादमा मात्रै कामदार जनताले मुक्तिको श्वास फेर्न पाइने भएकोले समाजवादको लागि सबै जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
नेपाभाषा साहित्य तःमुंज्या ललितपुरका अध्यक्ष कवीन्द्र डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महेन्द्र ब्रह्माचार्यले जेनजी आन्दोलनबारे चर्चा गर्दै वर्तमान सरकारबाट राम्रो कामको आशा गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा कवि रामेश्वर श्रेष्ठ ‘जलन’, महन्त महर्जन, सुजिता महर्जनलगायतले समसामयिक विषयमा लेखिएका कविताहरू वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *