भर्खरै :

के सबै प्रगतिशील साहित्य माक्र्सवादी हुन्छन् ?

के सबै प्रगतिशील साहित्य माक्र्सवादी हुन्छन् ?

सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील साहित्य माक्र्सवादी हुन्नन् । प्रगतिशील शब्दको अर्थ अगाडि बढेको भन्ने हो । अगाडि वा प्रगतिशील भन्नासाथै कसको दाँजोमा भन्ने प्रश्न उठ्छ । दास युगमा सामन्तवादी विचार र साहित्य प्रगतिशील हुन्छ भने सामन्तवादी युगमा पुँजीवादी विचारधारा र साहित्य प्रगतिशील हुन्छ । त्यस्तै, सर्वहारा क्रान्ति र समाजवादको युगमा पुँजीवादी विचारधारा प्रतिक्रियावादी र समाजवादी विचारधारा प्रगतिशील हुन्छ । यसरी प्रगतिशील र प्रतिक्रियावादी साहित्य पनि भिन्नाभिन्नै युग र देशको अवस्थाअनुसार छुटिन्छ ।
सामन्तवादी समाजमा युवक र युवतीले स्वतन्त्र छनोट गर्न पाउनु, जमीन जोत्नेको हुनु, जातभात मासिनु, व्यक्तिगत व्यापार र उद्योग बढ्नु, स्कूल, कलेज खोलिनु प्रगतिशील कदम हुन् । यी सबै पुँजीवादी लक्षणहरू हुन् । तर, पुँजीवादी समाज समाजवादी समाजमा सङ्क्रमण हुने बेलामा यी सबै कुराहरू प्रगतिशील हुँदैनन् । समाजवादी समाजमा उच्छृङ्खल युवक–युवतीको जोडीलाई घृणा गर्न थालिन्छ । उत्पादनका साधन र व्यापारको सामाजिकीकरण प्रगतिशील हुन्छ । पुँजीवादी स्कूल, कलेज र शिक्षा प्रतिक्रियावादी हुन्छ ।
आज हाम्रो समाजमा सामन्तवाद, साम्राज्यवाद, पुरानो र नयाँ उपनिवेशवादको विरोध गर्ने सबै साहित्य प्रगतिशील हुन्छन् । आध्यात्मिक दर्शन, दैवी सिद्धान्त, जातपातको भेदभाव, अन्धविश्वास, अशिक्षा, विज्ञानविरोधी भावना, आइमाईमाथिको बन्देज र असमानता, पिछडिएको खेती व्यवस्था, किसान र पिछडिएको वर्गमाथिको शोषण र दमन आदिको विरोध गर्नु सामन्तवादको विरोध गर्नु हो । त्यसैगरी विदेशी हमला, थिचोमिचो, असमान सन्धिहरू, विदेशी एकाधिकार पुँजी एवम् आर्थिक, राजनैतिक, सैनिक र सांस्कृतिक हस्तक्षेपको विरोध गर्नु तथा राष्ट्रिय पुँजी र व्यापारको विकास, भूमिसुधार, किसान र मजदुरवर्गको पक्ष लिनु सामन्तवाद, साम्राज्यवाद, पुरानो र नयाँ उपनिवेशवादको विरोध गर्नु हो । समाजवाद र सर्वहारा क्रान्ति, भियतनाम, लाओस, कम्बोडिया, प्यालेस्टिन, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको मुक्ति र स्वतन्त्रता सङ्ग्रामको समर्थन गर्नु आदि सबै प्रगतिशील पाइला हुन् । किनभने, हाम्रो नेपाली समाज पनि सामन्ती, अर्धसामन्ती, औपनिवेशिक र अर्धऔपनिवेशिक देशहरूकै अवस्थामा छ । यसकारण, देशको सामन्ती र अर्ध सामन्ती, औपनिवेशिक र अर्ध औपनिवेशिक समाजलाई पल्टाउन यी माथिका पाइलाहरू आवश्यक छन् । त्यस सामन्ती र उपनिवेशवादी अवस्थालाई खतम गर्ने सङ्र्षमा उदार सामन्त, राष्ट्रिय पुँजीपतिवर्ग, मध्यमवर्ग, धनी किसान र अरू मजदुर किसानहरू पनि सामेल हुन्छन् । यसकारण, तिनीहरू प्रगतिशील हुन् किनभने तिनीहरू यस वर्तमान सामन्ती र औपनिवेशिक समाजलाई बदल्न चाहन्छन् । तर, तिनीहरू सबै माक्र्सवादलाई मान्दैनन् । माक्र्सवादी भन्नुको अर्थ पुँजीवादको पतनको अनिवार्यता, सर्वहारावर्गको हुकुम र समाजवादको अनिवार्यता मान्नेहरू तथा सोअनुसार काम गर्नेहरू हुन् । आज नेपालमा सामन्तवाद र साम्राज्यवाद तथा नयाँ र पुरानो उपनिवेशवादको विरोध गर्नेहरू सबै प्रगतिशील हुन् ।
यस्तो अवस्था चीन र अरू देशमा पनि आएको पाइन्छ । जापानविरोधी लडाइँ र नौलो जनवादी सङ्घर्षको बेलामा कम्युनिस्टहरू, प्रजातान्त्रिक पार्टीका सदस्यहरू, राजनैतिक जागृति भएका मजदुरहरू, युवक, विद्यार्थी र प्रगतिशील बुद्धिजीवीहरू प्रगतिशील फाँटमा राखिएका थिए । अहिले भियतनाममाथि अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा लड्ने तत्वहरू जरुरै प्रगतिशील हुन् । त्यस्तै, हाम्रो आफ्नो समाजको सन्दर्भमा सामन्तवाद, साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवादको विरोधमा लेखिने सबै साहित्य प्रगतिशील हुन्छन् । सामन्ती शोषण, दमन र अत्याचारको विरोधमा किसान, मजदुर र जनताको प्रजातन्त्रको पक्षमा लेखिने सबै साहित्य प्रगतिशील हुन् ।
तर, यस कुरामा केही शङ्का छैन कि प्रगतिशील तत्वहरूमध्ये कम्युनिस्ट र माक्र्सवादीहरू सबभन्दा अघिल्लो पङ्क्तिमा हुन्छन् । तिनीहरू समाजका अग्रदूत हुन् । यसकारण, यो धेरै सम्भव छ कि प्रगतिशील साहित्यको नेतृत्व तिनीहरूले मात्रै गर्न सक्छन् । सामन्तवाद र साम्राज्यवादविरोधी कतिपय लेखक र कविहरू तथा तिनीहरूले रचना गरेका साहित्य माक्र्सवादी नहुन सक्छन् । तर, कम्युनिस्ट र माक्र्सवादीहरू तथा तिनीहरूको दर्शन अरू सबै वर्ग र दर्शनभन्दा अगाडि बढेको हुनाले तिनीहरूको साहित्य जरुरै प्रगतिशील हुन्छन् । यसकारण, सबै प्रगतिशीलहरू माक्र्सवादी हुँदैनन् तर सबै माक्र्सवादी प्रगतिशील हुन्छन् ।
के सबै यथार्थवादी साहित्य प्रगतिशील हुन्छन् ?
प्रगतिशील साहित्य यथार्थवादी हुन्छ तर सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् । यथार्थवादी साहित्य र आदर्शवादी साहित्यको बिचमा कुनै एक खास हिमालय, पहाड उभिएको छैन । कुनै पनि साहित्य तत्कालीन समयको दर्शन, राजनीति र समाज व्यवस्थामा आधारित भएको हुन्छ । दास युग र सामन्ती युगको मध्यमा अध्यात्मवादी दर्शनको आधारमा दास मालिक र सामन्तवर्गले कमारा, अर्ध–कमारा र अरू वर्गमाथि हुकुम चलाउँथे । त्यसबेलाको साहित्यमा देवी–देवता र परीहरूका काल्पनिक कथा र राजा–महाराजाका कथाहरू लेखिन्थे । तर, ती सबै कथाहरू पूर्णतया काल्पनिकमात्र होइनन्, त्यस युगका साहित्यमा त्यसबेलाका यथार्थ चित्रहरू पनि पाइन्छन् । ईश्वर, स्वर्ग, देव–देवताको अज्ञात शक्तिको काल्पनिक र रहस्यमय कुराहरूजस्ता अयथार्थ कुराहरू लेख्छन् भने अर्कोतिर राजसत्ताको विषयमा बाबु र छोरा, दाजु र भाइको सङ्घर्ष, दास मालिकका कमारा– कमारीहरूमाथि आफ्नो एकछत्र प्रभुत्व, बहुपत्नी व्यवस्था, आईमाईलाई वस्तुसरि बेचबिखन गर्ने चलन सम्पत्ति र राजसत्ताको निम्ति आफ्नै गोत्रमा हुने हिंसात्मक भिडन्तले त्यसबेलाको यथार्थ चित्र दिन खोज्छ । रामायण र महाभारत यसका उदाहरण हुन् । कुन्तीको कथाले त्यस समयको मातृसत्ता र द्रौपदीको कथाले समूह विवाह, कृष्ण र गोपनीहरूको कथाले कमारी (दास) हरूमाथि मालिकको हुकुम र पितृसत्ताको सङ्क्रमणको युगलाई सङ्केत गर्छ । जेहोस्, ती साहित्य दास मालिक र सामन्तहरूकै गुणगान गर्न लेखिएका हुन् । त्यसकारण, यो जनताको पक्षको साहित्य होइन । जनताको पक्षमा नलेखिएको साहित्य प्रगतिशील हुनसक्दैन ।
युरोपको समाजमा अध्यात्मवादी दर्शन र सामन्तवादी युगको दबदबा छँदा विज्ञान र तल्लो समाजको वास्तविकतासँग साहित्य त्यतिकै टाढा थियो । पृथ्वी गोल छ भनेर सिद्ध गर्नु अपराध हुन्थ्यो र दूरबिन राक्षसको यन्त्र साबित हुन्थ्यो । तर्क, विज्ञान, सत्य र यथार्थले विषपान गरेर मृत्युलाई अँगाल्नुपर्दथ्यो । तर, सामन्तवादभित्र पुँजीवादको पेट बोक्न थाल्दछ । उत्पादन शक्तिमा फेरबदल हुन थाल्दछ । उद्योगको विकास हुन थाल्दछ । समाजमा पुँजीपति र मजदुरवर्गको उदय हुन थाल्दछ । अध्यात्मवादी दर्शनको विरोधमा भौतिकवादी दर्शनले प्रबलता पाउन थाल्दछ । दैवी सिद्धान्तको ठाउँमा सामाजिक सम्झौताको सिद्धान्तले ठाउँ लिन थाल्दछ । साहित्य अब भौतिकवादी दर्शनअनुरूप नै अगाडि बढ्न जान्छ । मतलब यथार्थवादी दृष्टिकोणको विकास हुन्छ । सामन्त र ठूला–बडाको ऐस–आराम, अल्छी, झक्की, अहङ्कारी र चरित्रहीनता र शोषणको भन्डाफोर हुन थाल्छ । यसकारण, त्यसबेलाको यथार्थवादी र पुँजीवादी साहित्य त्यस युगको तुलनामा प्रगतिशील थियो । तर, त्यही कुरा यथार्थवादको नाउँमा आज यहाँ दोह¥याइन्छ भने त्यो प्रगतिशील नहुन पनि सक्छ ।
औद्योगिक क्रान्तिले पुरानो समाजलाई पूरै ध्वस्त पारिदियो । पुरानो सामन्ती रीतिरिवाज र भावुकतालाई चकनाचुर पारिदियो । धार्मिक र राजनीतिमा लुकेको अन्याय, अत्याचार र शोषणलाई पुँजीवादले नाङ्गो पारिदियो । अब साहित्यले पनि नयाँ पुँजीवादी समाज र पुँजीपतिवर्गको यथार्थ चित्रण गर्न थाल्यो । सामन्ती प्रभुहरूको जस्तै यिनीहरूको पैसामा बिकिने नैतिकतालाई उदाङ्ग्याइदियो । यसप्रकार, यथार्थवादी साहित्यले झन्झन् जग बसाल्न थाल्यो ।
तर, पछि यथार्थवादी साहित्यको एउटा हाँगा समाजको यथार्थ चित्रण गर्ने नाउँमा यौनवाद र छाडावादतिर लाग्यो, जसको प्रतिनिधित्व पुँजीवादी साहित्यले गर्यो । यो यथार्थवादी साहित्य भए पनि प्रगतिशील साहित्य हुन्न । अर्को हाँगा जनताको आर्थिक जनजीवनको चित्रण गर्दै पुँजीवादी समाजको कुरा पत्ता लगाई उदाङ्ग्याउन थाल्यो । मजदुर र किसानहरूको पक्षमा लेख्न थालियो । यो प्रगतिशील साहित्य हो ।
माथिका यी कुराहरूले प्रस्ट गर्छ कि यथार्थवाद स्वयम् सदा प्रगतिशील रहन्न । दास युग र सामन्त युगको काल्पनिक र बेकारका साहित्य दास मालिक तथा सामन्तहरूको गुणगान भन्दा पुँजीवादको उदाउँदो युगमा पुँजीवादी साहित्यकारहरूले यथार्थ जीवनको आधारमा लेखिएको साहित्य पुरानोको दाँजोमा अगाडि बढेको भन्नुपर्छ । दार्शनिकरूपले अध्यात्मवाद कल्पनामा उड्थे भने भौतिकवाद जमिनमा हिँड्छ, साहित्यिक रूपले दास मालिक र सामन्तहरूको गुणगानभन्दा मध्यम र पुँजीपतिवर्गको गुणगान नयाँ वर्ग र बहुसङ्ख्यकको पक्षमा हुन्छ । यसकारण, त्यो प्रगतिशील थियो पुरानो साहित्यको दाँजोमा ।
पछि पुँजीवादको विकास देखेपछि मध्यमवर्गले पुँजीवाद र पुँजीपतिवर्गको भन्डाफोर गरिदिन्छ, त्यो प्रगतिशील कुरा हो । तर, पछि यथार्थवादी साहित्यको नाममा यौनवादी साहित्यको रचना गर्न थाल्यो । यो यथार्थवादी भए पनि जनमानसलाई बिटुल्याउने भएको हुनाले यो अप्रगतिशील साहित्य हुन्छ ।
पुँजीवादी व्यवस्थाले नै सर्वहारावर्गलाई जन्माउँछ । भौतिकवादी दर्शनको ठाउँमा द्वन्द्वात्मक भौतिकवाद र माक्र्सवादको निर्माण हुन थाल्दछ । माक्र्सवादले पुँजीवादी व्यवस्था र त्यसको तमाम बनावटमाथि प्रहार गर्न थाल्दछ । साहित्यले मजदुरवर्गको पक्षमा कलम उठाउन थाल्दछ । पुँजीवादी र तल्लो पुँजीवादी विचारधारा र नैतिकतामाथि पनि प्रहार सुरु गर्छ । सर्वहारा क्रान्तिले समाजवाद ल्याउँछ । समाजवादको उदयपछि पुँजीवादी युगको साहित्य जतिसुकै यथार्थवादी होस्, प्रगतिशील हँुदैन । पुँजीवादको पतनपछि पुँजीवादी यथार्थवादी साहित्यलाई प्रगतिशील भन्नु त मरेको बाघको जँुगा समात्नेलाई वीर भन्नु जत्तिकै हास्यास्पद हुनेछ । यसकारण, सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् ।

स्रोत : जनताको साहित्य र साहित्यकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *