भर्खरै :

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

पेइचिङ, १३ कात्तिक (एएफपी) । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो ।
सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठुला अर्थतन्त्रबिच लामो समयदेखि चल्दै आएको व्यापारिक तनाव अन्त्य गर्न सम्भावित सहमतिको सङ्केत देखिएको छ ।
दुर्लभ खनिज पदार्थदेखि लिएर सोयाबिन र बन्दरगाह शुल्कसम्मका विषयमा चलेको व्यापारिक द्वन्द्वले विगत केही वर्षयता विश्व बजारमा ठुलो अस्थिरता ल्याएको र आपूर्ति श्रृङ्खलामा अवरोध उत्पन्न गरेको थियो ।
भेटवार्तामा राष्ट्रपति सी जिनपिङले दुई देशबिच ‘क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सकारात्मक अन्तरक्रिया हुन आवश्यक’ रहेको बताउनुभएको छ । उहाँले दुवै पक्षका वार्ता टोलीहरूले ‘महत्वपूर्ण आर्थिक र व्यापारिक मुद्दाहरूमा गहिरो विचार–विमर्श गरी तिनको समाधानका लागि सहमति प्राप्त गरेको’ उल्लेख गर्नुभएको सिन्ह्वाको उद्धरणमा भनिएको छ ।
यद्यपि, प्राप्त सहमतिका विशिष्ट विवरणहरू सार्वजनिक गरिएको छैन । राष्ट्रपति सीले भन्नुभयो, “दुवै पक्षका टोलीहरूले सकेसम्म चाँडो अनुगमन कार्यलाई परिष्कृत गरी अन्तिम रूप दिनुपर्छ । सहमतिलाई स्थायी र कार्यान्वयन योग्य बनाउँदै चीन, संयुक्त राज्य अमेरिका तथा विश्व अर्थतन्त्रमा स्थिरता ल्याउने ठोस नतिजा प्रस्तुत गर्नुपर्छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पसँगको यो भेटले अमेरिका–चीन व्यापार सम्बन्धमा नयाँ पाना पल्टाउने आशा गरिएको छ । यसको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा पनि पर्ने विश्वास गरिएको छ ।
दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन् ।
उनका अनुसार यस भेटपछि पेइचिङले दुर्लभ खनिज तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ ।
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, “हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाइएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौँ ।” यस कदमपछि चीनमाथिको कुल कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा पुगेको उनको भनाइ छ ।
उनले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि केही समयपछि अमेरिका आउने योजना रहेको बताए । साथै, एनभिडियाले चीनसँग उच्च प्रविधियुक्त कम्प्युटर चिप्स निर्यातबारे छलफल गर्न लागेको जानकारी पनि दिए ।
ट्रम्पले ‘धेरै चाँडै’ दुई देशबिच व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने विश्वास व्यक्त गरे ।
तर, दुई मुलुकबिचको दीर्घकालीन प्रतिस्पर्धा भने कायम नै छ । विश्वका ठुला दुई अर्थतन्त्रले उत्पादन, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधि विकास र युक्रेनमा युद्धजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रभाव कायम राख्ने प्रयास गरिरहेका छन् ।
दक्षिण कोरियाको बुसान सहरमा करिब १०० मिनेट लामो वार्तापछि दुवै नेताले तनाव घटाउने र सहकार्य गर्ने प्रतिज्ञा व्यक्त गर्नुभयो । राष्ट्रपति सीले पनि मतभेदका बाबजुद सँगै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “हाम्रो फरक राष्ट्रिय पृष्ठभूमिका कारण कहिलेकाहीँ दृष्टिकोण फरक हुन सक्छ, तर सहकार्य अपरिहार्य छ ।”
बैठक अघि अमेरिकाले चीनमाथि थप १०० प्रतिशत आयात कर लगाउने चेतावनी दिएको थियो । तर, चिनियाँ पक्षले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण शिथिल गर्ने र अमेरिकी कृषि उत्पादन खरिद बढाउने सङ्केत देखाएपछि वातावरण केही सहज बनेको थियो ।
यो बैठक बुसानस्थित सैन्य परिसरमा सामान्य वातावरणमा सम्पन्न भएको थियो ।
सामान्य रूपमा बजारले सकारात्मक प्रतिक्रिया दिएको छ । अमेरिकी सेयर बजारमा पनि व्यापारिक आशा बढेको देखिएको छ । तर, विश्लेषकहरूले यो प्रगति अस्थायी हुन सक्ने चेतावनी दिएका छन् । फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका वरिष्ठ निर्देशक क्रेग सिङ्गलटनका अनुसार दुवै देशले अहिलेको सहकार्यलाई अस्थिरता नियन्त्रण गर्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छन्, प्रतिस्पर्धा भने कायम नै छ ।
गत वर्षदेखि ट्रम्प प्रशासनले चीनमाथि चरणबद्ध रूपमा नयाँ कर लगाउँदै आएको छ । यसको एक हिस्सा फेन्टानिलसम्बन्धी मुद्दासँग जोडिएको दाबी गरिएको थियो । अक्टोबर १० मा चीनले दुर्लभ पृथ्वी निर्यातमा प्रतिबन्ध कडा पारेपछि ट्रम्पले १०० प्रतिशत आयात करको धम्की दिनुभएको थियो । तर हालको सहमतिको परिणामस्वरूप यो दर ४७ प्रतिशतमा झरेको छ, जसलाई उनले ‘तुरुन्तै प्रभावकारी’ हुने बताउए ।
विश्वको अधिकांश दुर्लभ अर्थ खनिज उत्पादन र प्रशोधनमा चीनको प्रभुत्व रहेको छ । अर्थ खनिज लडाकू विमान, विद्युतीय सवारी, रोबोट र उच्च प्रविधिका उपकरण निर्माणका लागि अत्यावश्यक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *