२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
- श्रावण १, २०८३
पश्चिमी गोलाद्र्धको कुनै त्यस्तो देश बाँकी छैन जुन देश संरा अमेरिकाको चङ्गुलमा कुनै न कुनै समयमा नफसेको होस् । भेनेजुयला त्यसको अपवाद होइन । १९ औँ शताब्दीदेखि नै वाशिङटनले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको हो । त्यो सिलसिला आज पनि चालु छ । यत्तिखेर भेनेजुयलामाथि संरा अमेरिकाको आडमा सत्ताकब्जा र प्रत्यक्ष संरा अमेरिकी सैनिक हमलाको खतरा दिनानुदिन बढ्दो छ ।
हस्तक्षेपको लामो इतिहास
बीसौं शताब्दीमा संरा अमेरिकाले भेनेजुयलामाथि विशेषतः त्यहाँको तेल खानी कब्जा जमाउन हस्तक्षेप गर्यो । त्यसअघि भने तेलकै लागि संरा अमेरिकाले भेनेजुयलामाथि हस्तक्षेप गरेको थिएन । सन् १८९५ मा भेनेजुयला र बेलायतबिच सिमाना विवाद भएको थियो । त्यत्तिबेला संरा अमेरिकामा गुमर क्लिभल्यान्ड राष्ट्रपति थिए । ल्याटिन अमेरिकाका कुनै पनि देशमा युरोपेली देशको उपनिवेश हुन नदिन प्रतिपादित मुनरो सिद्धान्तमा आधारित रहेर ‘विश्व शक्ति’को रूपमा वाशिङटन त्यो सिमाना विवादमा संलग्न भएको थियो । वाशिङटनले सो विवादमा भेनेजुयलाको पक्ष लिएको थियो । उक्त विवादमा भेनेजुयलाको जीत भयो । क्लिभल्यान्ड सरकारले त्यतिबेला भनेको थियो, “आज व्यवहारतः अमेरिकी महादेशमा संरा अमेरिका सार्वभौम बनेको छ ।” त्यसो भनेर उसले मसिनो स्वरमै बेलायतविरूद्ध युद्धको धम्की दिएको थियो । समयान्तरमा त्यो घटनामा बेलायत संरा अमेरिकासामु झुक्यो ।
सन् १९०८ मा डच र भेनेजुयलाबिच अर्को विवाद भयो । संरा अमेरिकी जलसेनाले भेनेजुयलाका तत्कालीन उपराष्ट्रपति जुआन भिसेन्टे गोमेजलाई सत्ताकब्जा गर्न मद्दत गर्यो । ‘क्याचफिस’ नामले चिनिएका गोमेजले प्रत्यक्ष वा आफ्नो कठपुतली राष्ट्रपतिहरूमार्फत जीवनको अन्तिम दिनसम्म भेनेजुयलामाथि शासन चलाए । सन् १९३५ मा उनको निधन भयो । ‘क्याचफिस’को शासन मध्ययुगीन निर्ममताको एउटा उदाहरण थियो । राजनीतिक बन्दीमध्ये ‘भाग्यमानी’ ले जेलनेलको सजाय पाउँथे । ‘अभागी’ लाई घाँटी वा अण्डकोशमा अङ्कुश गाडेर झुण्ड्याइन्थ्यो ।
गोमेज निकै भ्रष्ट थिए । उनको निधन हुँदाको समयमा गोमेजसँग २० करोड अमेरिकी डलर (आजभोलिको मूल्यमा ३ अर्ब ६० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति भएको बताइन्छ । स्ट्यान्डर्ड आयल (आजभोलिको इक्जोनमोबिल) र रोयल डच शेललगायतका विदेशी तेल कम्पनीहरूलाई ठुलो मात्रामा सहुलियत दिएर उनी वाशिङटन र अमेरिकी व्यापारिक केन्द्र वाल स्ट्रिटका प्रिय बनेका थिए । रोमुलो बेतानकोर्ट बीसौँ शताब्दीको मध्यतिर भेनेजुयलामा दुई कार्यकाल राष्ट्रपति बने । उनलाई आधुनिक प्रजातान्त्रिक भेनेजुयलाका संस्थापक मानिन्छ । गोमेजबारे उनले लेखेका छन्, “भेनेजुयाली अर्थतन्त्रमाथि विदेशी नियन्त्रणको लागि गोमेज एक हतियार थिए । उनी शक्तिशाली बाह्य स्वार्थका सहयोगी र नोकर थिए ।”
शताब्दी अघिदेखि दक्षिण अमेरिकी देश भेनेजुयलाबाट संरा अमेरिकाले ऊसँग भएको अथाह पेट्रोलियम पदार्थको दोहन गर्दै आएको थियो । त्यही कारण वाशिङटनले सन् १९४८ देखि १९५८ सम्म एक दशक भेनेजुयलामा तानाशाही शासन चलाएका निरङ्कुश तानाशाही मार्कोस पेरेज जिमेनेजलाई सहयोग गरेको थियो । जिमेनेजको शासनकालमा पनि गोमेजको शासनकालमा जस्तै राजनीतिक बन्दीहरूलाई निकै निर्मम यातनाको शिकार बनाइन्थ्यो । जिमेनेज आफ्ना जनताप्रति जति क्रूर थिए, बहुराष्ट्रिय कम्पनीहरूका लागि त्यत्ति नै हार्दिक थिए । आफ्ना जनतालाई भन्दा बहुराष्ट्रिय कम्पनीलाई नजिक मान्ने जिमेनेज सरकारलाई वाशिङटनले निकै प्यारो मान्थ्यो । ‘विशेष सेवा र उपलब्धि हासिल गर्न गरेको असामान्य योगदान’ बापत उनलाई वाशिङटनले ‘द मिलिटेरी लिजिअन अफ मेरिट’ पदकबाट सम्मानितसमेत गरेको थियो । हजारौँ निर्दोष भेनेजुयालीलाई कैदी बनाउने, यातना दिने र हत्या गर्ने जिमेनेज सरकारको राष्ट्रिय सुरक्षा निर्देशनालयलाई वाशिङटनले अतुलनीय सहायता गथ्र्यो ।
सन् १९५८ मा भेनेजुयलामा प्रजातन्त्र स्थापना भयो । त्यसको केही वर्षपछि दक्षिण अमेरिकाका अधिकांश देश संरा अमेरिकी आडमा उदाएका सैनिक तानाशाहहरूका फलामे मुट्ठीभित्र जकडिन पुगे । दमनकारी तानाशाही शासनका सेना र सुरक्षाकर्मीलाई संरा अमेरिकाले तालिम दिने गथ्र्यो । संरा अमेरिकी सैनिक विद्यालय र अन्य प्रशिक्षणालयमा अपहरण, यातना, हत्या र प्रजातन्त्रको दमनको विषयमा प्रशिक्षण चल्थ्यो । संरा अमेरिकाले तयार गरेको यातनाको निर्देशिकाअनुसार तालिम प्राप्त हत्यारा स्क्वायडले जतिबेला मध्यअमेरिकादेखि अर्जेन्टिनाका निर्दोष पुरुष, महिला र केटाकेटीको हत्या, यातना र आतङ्कित गर्दै थियो, त्यत्तिबेला भने दशकौँसम्म भेनेजुयालीहरूले शान्ति र समृद्धिको समय बिताए । तथापि संरा अमेरिकाले भेनेजुयाली मामिलामा हस्तक्षेप गर्न छोडेन । सन् १९९८ मा भएको स्वतन्त्र र निष्पक्ष चुनावबाट ह्युगो चाभेज राष्ट्रपति निर्वाचित भए । त्यसपछि भेनेजुयलामा बोलिभारियाली क्रान्तिको थालनी भयो । त्यतिबेला संरा अमेरिकाले भेनेजुयलामा गरेको हस्तक्षेपको आकार हेर्दा त्यसले संसारलाई चकित पार्ने गरेको छ ।
बोलिभारियाली क्रान्ति
बोलिभारियाली क्रान्ति आर्थिक र सामाजिक सुधारको शृङ्खला हो । त्यो क्रान्तिले भेनेजुयलामा नाटकीयरूपमा गरिबी र अशिक्षा घटाएको छ । साथै त्यहाँका करोडौँ जनताको स्वास्थ्य र अन्य जीवन अवस्थामा ठुलो मात्रामा सुधार भएका छन् । संसारले नै यो प्रगति स्वीकारेको छ । यो सुधारअन्तर्गत राष्ट्रिय अर्थतन्त्रका सबै प्रमुख क्षेत्र राष्ट्रियकरण गरियो । समाजवादी उत्थानको रूपमा यो क्रान्ति अघि बढ्यो । त्यही कारणले चाभेजलाई करोडौँ जनताको आँखाका नायक र भेनेजुयाली कुलीन वर्गको शत्रु बनायो । बोलिभारियाली क्रान्तिले दक्षिण अमेरिकी देशहरूबिच थप बलियो र शान्तिपूर्ण सम्बन्धमा जोड दिन्छ । त्यो क्रान्ति भेनेजुयलामा मात्र सीमित रहेन । ल्याटिन अमेरिकाका अन्य देशमा पनि बोलिभारियाली क्रान्ति विस्तार भयो । त्यही क्रान्तिकै आधारमा संरा अमेरिकाकै लाखौँ मानिसलाई चाभेजले निःशुल्करूपमा घर तताउन इन्धनको बन्दोबस्त गरिदिएका थिए । यस्ता क्रियाकलापले चाभेज वाशिङटनको पनि आँखाको कसिङ्गर भएका थिए ।
संरा अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यु बुश जुनियरले संरा सङ्घमा दिएको भाषणमा चाभेजलाई ‘राक्षस’ भनेका थिए । तिनकै सरकारले सन् २००२ मा चाभेजविरूद्ध सैनिक विद्रोह गरायो । तर, त्यो विद्रोह असफल भयो । त्यो विद्रोहसँग नवअनुदारवादीहरू जस्तै इलिअट अब्राहम्स र अट्टो रेइचको निकै नजिकको सम्बन्ध थियो । अब्राहम्स बदनाम इरान कोन्द्रा घटनासँग जोडिएको अपराधी हो । उसले मध्य अमेरिकामा संरा अमेरिकानिर्देशित आमनरसंहारका घटनामा प्रमुख भूमिका खेलेको थियो । रेइच क्युवाबाट भागेका आतङ्कवादीहरूका कट्टर समर्थक हो जो अमेरिकी महादेशभरि कम्तीमा सयौँ पुरुष, महिला र केटाकेटीको हत्याको लागि जिम्मेवार छ । सैनिक विद्रोहका मुख्य दुई योजनाकारहरू सैनिक कमान्डर इफ्रेन भासक्युज र जनरल रामिरेज पोभादे संरा अमेरिकी सैनिक विद्यालयबाट तालिम प्राप्त थिए । सैनिक विद्रोहले केही समयसम्म चाभेजलाई सत्ताच्युत ग¥यो । तर, ४७ घण्टापछि चाभेजका पक्षधर सेना र जनताले उनलाई फेरि सत्तामा स्थापित गराए ।
बाराक ओबामाले चाभेजको बदनाम गर्ने बुशकै नीतिलाई निरन्तरता दिए । ओबामाले चाभेजको सरकारलाई ‘अधिनायकवादी’ भने ¤ निर्वाचन पर्यवेक्षण गर्ने संस्था कार्टर सेन्टरका कामका लागि नोबेल शान्ति पुरस्कार जितेका संरा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले भेनेजुयलाको निर्वाचनलाई ‘संसारकै उत्कृष्ट चुनाव’ भनेका थिए । तथापि ओबामाबाट त्यस्तो नकारात्मक प्रतिक्रिया आएको थियो । ओबामाले भेनेजुयलालाई ‘संरा अमेरिकी राष्ट्रिय सुरक्षाको लागि असामान्य खतरा’ घोषणा गरेका थिए । ओबामाले त्यतिबेला आफ्नो देशले इतिहासमा कहिल्यै पनि युद्धको थालनी नगरेको भन्ने झूट कुरा गरेका थिए । संरा अमेरिकाले ल्याटिन अमेरिका र क्यारिबियाली देशहरूमा पचासभन्दा बढी पटक हमला, कब्जा वा हस्तक्षेप गरेको छ । जतिबेला ओबामाले यो कुरा गर्दै थिए, संरा अमेरिका मध्यपूर्व, उत्तरी अफ्रिका र दक्षिण एसियाका सात वटा देशमा बमबारी गर्न व्यस्त थियो । दशकौंसम्म संरा अमेरिकाका हरेक सरकारले भेनेजुयलाको छिमेकी देश कोलम्बियालाई ठुलो सहयोग गर्दै आएको छ । संरा अमेरिकाले कोलम्बियाको दक्षिणपन्थी सरकारलाई सैनिक र अरबौँ डलर आर्थिक सहायता गर्दै आएको छ । जबकि सरकार र त्यहाँको अर्धसैनिक दस्ताले गर्ने आमसंहार र पुँजीपतिवर्गको हितको लागि आदिवासी तथा मजदुरहरूमाथि गर्ने गरेका घातक दमनका लागि कोलम्बियाली सरकारको आलोचना हुँदै आएको छ ।
वाशिङटनका साथीहरू
सन् २०१३ मा ह्युगो चाभेजको निधन भयो । चाभेजको निधनपश्चात् भेनेजुयलाको राष्ट्रपति पदमा निकोलस माबुरो निर्वाचित हुँदै आएका छन् । सन् २०१७ को जुलाईमा निकोलस मादुरोविरूद्ध संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी लगाए । यो निकै आश्चर्यचकित पार्ने तर संरा अमेरिकाको आफ्नै खालको पाखण्डीपन थियो । माडुरोले बोलिभारियाली क्रान्तिलाई निरन्तरता दिने घोषणा गर्दा वाशिङटनले भेनेजुयलामाथि हमला गर्ने धम्की दियो । त्यो क्रान्तिले मानिसलाई दुःख दिएको वाशिङटनको भनाइ थियो । ट्रम्पले भेनेजुयलाको सन्दर्भमा यस्ता कुरा गर्दैगर्दा अर्कोतिर संसारकै सबभन्दा बढी मानव अधिकार उल्लङ्घनकर्ता देशहरूजस्तै इस्लामिक अतिवादी राजतन्त्र साउदी अरबलाई भने समर्थन गरिरहेको छ । साउदी सरकारले यमनमाथि हमला गर्नुका साथै त्यहाँ भोकमरीको अवस्था निम्त्याइरहेको छ । साउदीले यमनमा गरेको हमलाकै कारण यमनका दसौँ हजार मानिस अनाहकमा मारिएका छन् । साउदी सरकारले आफ्नै जनतामाथि पनि क्रूर दमन गर्दै आएको छ ।
भेनेजुयलामा अवैधानिकरूपमा राष्ट्रपति पदमाथि कब्जा जमाउन खोज्ने हवान ग्वाइडोलाई मान्यता दिने र नवअनुदारवादी शासन परिवर्तनका कुख्यात खेलाडी इलिअट अब्राहम्सलाई विशेष प्रतिनिधिमा नियुक्त गर्ने ट्रम्पका पछिल्ला कदमले भेनेजुयलाको सरकार र सेनालाई फाल्ने तथा विद्रोहको बीउ छर्ने प्रपञ्च गरेको देखिंदै छ । प्रमुख नवअनुदारवादी आर्किटेक्ट र सन् २००३ मा इराकमाथि हमलाका मुख्य नेता जोन बोल्टनले इरान, भेनेजुयलालगायतका देशमा सरकार परिवर्तनको पक्षमा वकालत गर्दै आएका छन् । उनले भेनेजुयला, क्युवा र निकारागुआलाई ‘तानाशाहीका त्रिखुट्टी’ घोषणा गरेका छन् । उनको यो पाखण्डीपूर्ण उपमाले पूर्वराष्ट्रपति बुशले दिएको संज्ञा दुष्टहरूको मण्डलीको स्मरण गराउँछ । बोल्टनले दूरभविष्यको भयावह अवस्थाको पूर्णतः उपेक्षा गर्दै ट्रम्प सरकारको आडमा सत्ता परिवर्तनको लागि वकालत गर्दै आएका छन् ।
संरा अमेरिकाले आफू र वाल स्ट्रिटका पुँजीपतिवर्गले चाहेको भन्दा भिन्न राजनीतिक र आर्थिक बाटो आफ्नै स्वविवेकले चुन्ने कुनै पनि सरकार वा राजनीतिक आन्दोलनमाथि दमन, गुप्तचरी र नाकाबन्दीमार्फत सधैँ असफल बनाउने प्रयास गर्ने गरेको छ । लामो समयदेखि संरा अमेरिकाले बोलिभारियाली क्रान्तिमाथि दमन गर्न खोजिरहेको थियो । अरू असङ्ख्य जनताका सङ्घर्ष र आन्दोलनलाई जस्तै यसलाई पनि दमन गर्न चाहेको थियो । माडुरो सरकार पूर्ण छैन । तर, वाशिङटनले एकातिर माडुरोलाई अधिनायकवादी भनिरहेको छ र काराकसमा सत्ता परिवर्तनका लागि वकालत गरिरहेको छ भने अर्कोतिर संसारभरिकै क्रूर तानाशाहीहरूलाई समर्थन पनि गरिरहेको छ । वाशिङटनले ती तानाशाहहरूलाई समर्थन गरिरहेको छ किनभने उनीहरू र संरा अमेरिकाबिच रक्तपातपूर्ण हमलाकारी काम गर्नेमा समानता छ । यस्तै पाखण्डका कारण पृथ्वीमा संरा अमेरिका बदनाम छ । विशेषतः संसारका गरिब जनता बस्ने भूभागमा संरा अमेरिकाको विरोध हुने गरेको छ ।
(ब्रिट विलकिन्स सान फ्रान्सिस्कोका लेखक तथा अभियन्ता हुन् ।)
स्रोत : टेलिसुर
Leave a Reply