ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू–२
- कार्तिक १५, २०८२

चिनियाँ साहित्यकार लु सुनले भन्नुभएको छ, “क्रान्तिकारीहरूले लेख्न थालेपछि मात्र क्रान्तिकारी साहित्यको जन्म हुन्छ । कलम पनि क्रान्तिको हतियार हो, समाज परिवर्तनको ज्यावल हो ।” साहित्यकार हरिबहादुर श्रेष्ठले पनि पुस्तक ‘जनताको साहित्य र साहित्यकार’मा लेख्नुभएको छ, “कामदारवर्गको साहित्य पुँजीवादी समाज र साहित्यलाई चकनाचुर पार्ने बन्दुक या बम हो ।” यसर्थ कामदार वर्गको मुक्ति या क्रान्तिका निम्ति कामदार वर्गका क्रान्तिकारीहरूले नै लेख्नुपर्छ, बोल्नुपर्छ । त्यसको लागि श्रमिक वर्गकै आफ्नो मञ्च या साहित्यिक आन्दोलन जरुरी हुन्छ । यही आवश्यकताबोध गरी नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले आजभन्दा ४५ वर्ष अघि अर्थात् नेपाल सम्बत् ११०० बाट तःमुंज्या नामको एउटा साहित्यिक एवम् सांस्कृतिक दबु अर्थात् आन्दोलन सुरु गर्नुभयो । त्यसको १८ वर्षपछि विविध भाषा साहित्य सम्मेलन सुरु भयो । यी दुईवटै दबु कामदार वर्गीय साहित्यिक, सांस्कृतिक, राजनीतिक एवम् भाषिक आन्दोलनका सशक्त दृष्टान्त हुन् । जनसाहित्यको विकास र विविधभाषाको सम्मान या संरक्षणमा दुईटै दबुले बेजोड भूमिका निर्वाह गरेको मूल्याङ्कन बौद्धिक एवम् साहित्यिक जगतको छ ।
 मानव समाज र सभ्यताको विकासमा यी दुई दबुको बेग्लै योगदान छ । त्यतिमात्र होइन नेपालको राजनीतिक परिवर्तन र उत्तारचढावमा बाटो देखाउनसमेत सफल देखिन्छ । साहित्य, राजनीतिसँगै सीमा, भूगोल, अर्थतन्त्र, विज्ञान, स्वास्थ्यलगायत विविध राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा विमर्शको चौतारी बन्न सफल छन् । यी दुई दबुका आ—आफ्ना मुखपत्र छन्, ‘तःमुंज्या’ र ‘विविध’ । यसका पछिल्ला अङ्क क्रमशः ४५ औँ नेपालभाषा साहित्य तःमुंज्याको मञ्च र २७ औँ विविधभाषा साहित्य सम्मेलनको मञ्चबाट सार्वजनिक गरियो । यी दुई मुखपत्र नेपालको कामदार वर्गीय साहित्यिक, राजनीतिक आन्दोलन या सङ्घर्षका सारथी हुन् भन्दा अतिशयोक्ति नहोला । यसका हरेक अङ्कमा सिङ्गो देश, जगत अटाउँछ । यसभित्र समकालीन राजनीतिक अवस्थाको दर्पणसँगै भविष्यको मार्गचित्रसमेत अनुभव हुन्छ । पछिल्ला अङ्कले पनि पाठकलाई समसामयिक राजनीतिक घटना परिघटनालाई हेर्ने स्पष्ट दृष्टिकोण प्रदान गर्छ । यी पछिल्ला अङ्कमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँसँगको अन्तर्वार्ता निकै पठनीय छन् ।
 अध्यक्ष रोहितले तःमुंज्यासँगको अन्तर्वार्तामा भन्नुभएको छ — “नेपालको वर्तमान राजनीतिक स्थितिमा संरा अमेरिका र भारतको धेरै भूमिका छ ।” पछिल्लो ‘जेन–जी आन्दोलन’ या प्रदर्शनी र त्यसपछिका पराकम्पनहरूको समीक्षा गर्दै उहाँले भन्नुभयो, “एकैदिनमा देशभरिको विभिन्न सार्वजनिक सम्पत्तिमा आगजनी गर्न र देशमै आतङ्क मच्चाउन यी दुई शक्तिको हात नभएको भए नेपालमा त्यस्तो कुनै शक्ति नै छैन ।” ‘जेन–जी आन्दोलन’ लाई क्रान्तिको संज्ञा पनि दिइँदै छ यहाँ । उहाँले विभिन्न देशहरूको उदाहरण दिँदै यो क्रान्ति नभएको विचार राख्नुभएको छ, “यो क्रान्ति होइन, शासक वर्गले आफ्नो घोडा मात्र फेर्ने नीति हो । क्रान्ति भएको भए उत्पादनका साधन र सेवा सामाजिकीकरण गर्ने बाटोमा लान्थे र शोषणरहित समाज निर्माणतिर जनता पुग्थे । तर, अब आउने क्रान्ति भनेको समाजवाद नै हो ।” विविध भाषा साहित्य सम्मेलनको मञ्चबाट पनि उहाँले समाजवादबारेका केही भ्रम चिर्नुभयो । समाजवाद आउनेबित्तिकै सबै समस्या समाधान नहुन सक्छ । समाजवाद निर्माण आफैमा सङ्घर्षको एउटा अपरिहार्य चरण या श्रृङ्खला हो । समाजवाद पुँजीवादी गर्भबाट जन्मिने बच्चा हो त्यसैले पुँजीवादी रगतका टाटाहरू रहनु स्वाभाविक हो , त्यसलाई सफा गर्नुपर्छ । यो सङ्घर्ष पुस्तौँ लम्बिन सक्छ । समाजवाद निर्माणको चरणमा सफल भइएन भने पुँजीवादको पुःस्थापना पनि हुन सक्छ । यो इतिहासको अनुभव हो । त्यसकारण अबको नयाँ पुस्तालाई क्रान्ति र समाजवादको मूल्य सिकाउन, त्यसका लागि योग्य तयार गर्नु अहिलेको आवश्यकता हो ।
 ‘साम्राज्यवादी शासकसँग घोडा फेर्नुको विकल्प हुँदैन ।’ यो अध्यक्षज्यू कै भनाइ हो । तसर्थ नयाँ पुस्तालाई साम्राज्यवाद र नयाँ तथा पुराना उपनिवेशवादको विरोधमा सङ्घर्षको भावना दिन जरुरी छ । क्रान्ति कुनै एउटा पुस्ताबाट सम्भव हुँदैन भन्ने संसारका क्रान्तिहरूको अनुभव सुनाउन जरुरी छ । क्रान्तिमा युवा पुस्ताको सक्रियता बेजोड रहे पनि क्रान्तिको नेतृत्व उमेरले नभई विचार या सिद्धान्तले हुन्छ । नेता लेनिनले भन्नुभएको छ, “क्रन्तिकारी पार्टीको नेतृत्वबिना क्रान्ति सम्भव छैन ।” बहुमत कामदार वर्ग र विचारको एकता त्यही नेतृत्वले सम्भव तुल्याउँछ । सबैतिर पुरानो निरङ्कुश शोषणको व्यवस्था ढाल्नुलाई क्रान्ति भनियो । सामान्य फेरबदल या मान्छेको हेरफेर क्रान्ति कसरी हुन सक्छ ?
 विविध बुलेटिनमा स्रष्टा प्रधानको लेख ‘नयाँ पुस्ता’ को क्रान्ति पढ्दा अहिलेको ‘जेन–जी आन्दोलन’ लाई हेर्ने आँखा भेटिन्छ, थुप्रै अन्योल र जिज्ञासा मटिन्छन् । उहाँले नक्सलवादी आन्दोलनदेखि संसारका थुप्रै आयातित अवसरवादी आन्दोलनहरूसँग ‘जेन जी चर्चा’ लाई जोडेर हेर्ने पृष्ठभूमि दिनुभएको छ । क्रान्ति वास्तवमा के हो ? र क्रान्तिमा उमेरको महत्वबारे लेख्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “लेनिन र स्तालिन उमेरले होइन सिद्धान्त र व्यवहारले सफल भएका हुन् । चीनको क्रान्तिले पनि आफ्नो देशको मुक्तिको निम्ति साम्राज्यवादविरोधी निरन्तरता र सिद्धान्तले पोख्त भई सफलता प्राप्त गरेको हो । कोरिया, भियतनाम, लाओस र कम्बोडियालगायतका देशहरूको कथा पनि त्यस्तै हो ।”
 अहिले ‘जेन–जी आन्दोलन’ मा त स्वतन्त्र तिब्बत, रैथाने तिब्बती भाइचारा जस्ता संस्था, एनजीओ, आइएनजीओको व्यापक संलग्नता देखिन्छ । सुशीला कार्की प्रधानमन्त्री हुनासाथ दलाई लामाको शुभकामना सन्देश आउनु काकताली मात्र त हुन सक्दैन । खम्पाली विद्रोहका सेनालाई धेरै अघि मुस्ताङबाट हटाइएको हो । पुनः फरक भेषमा नेपाली भूमिमा उपद्रोह मच्चिने डर पनि छ । प्रधानले प्रस्ट पार्नुभएको छ, “नेपाल एक चीन नीति मान्ने एक तटस्थ राष्ट्र हो भन्नेबारे ध्यान दिइएन भने संरा अमेरिकाले नेपाललाई अन्तर्राष्ट्रिय युद्धमा फसाउन बेर छैन ।”
 साहित्यकार हरिबहादुर श्रेष्ठको पुस्तक ‘जनताको साहित्य र साहित्यकार’ को एउटा महत्वपूर्ण खण्ड ‘उदङ्ग्याउनुको अर्थ के हो’ ले ‘तःमुंज्या’ र ‘विविध’ दुईटै दबुको औचित्य र उद्देश्य बताउँछ । दुबै बुलेटिनमा नेमकिपाका केन्द्रिय सचिव प्रेम सुवालका लेख छापिएका छन् । उहाँले मानव समाजको विकास र सङ्घर्षको पृष्ठभूमिमा वर्तमान राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थालाई छ्यास्नुभएको छ । दुवैमा भनपा प्रमुख सुनिल प्रजापतिका लेख सङ्कलित छन् । उहाँले निर्वाचनको घोषणापत्रलाई अक्षरस कार्यान्वयन गर्ने प्रयासका सिलसिला पस्कनुभयो ।
 ‘विविध’ मा जनकवि चन्द्रबहादुर उलक, कृष्णकुमार वैद्य, दामोदर सुवाल, एसआर, शुरेनका सशक्त कविता सङ्ग्रहित छन् । जलस्रोतविद् रतन भण्डारीले नेपालका नदीनाला र जलस्रोतबारे निकै महत्वपूर्ण जानकारी उजिल्याएका छन् । २६ औँ विविधभाषाको दबलीमा अतिथिहरूबाट व्यक्त मन्तव्यहरू सङ्ग्रहित छन् । नयाँ पुस्तालाई देशभक्त योद्धा न्गुयेन वान ट्रवाईसँग भेट गराउने कोसिस पनि छ यसमा । थुप्रै कविता, लघुकथा, लेख, निबन्ध यसभित्र छन् । प्रभात पटनायकको ‘अवरुद्ध पुँजीवादको भ्रामक कल्पना’ शिर्षकको लेखले वर्तमान विश्व पुँजीवाद बुझ्न, पुँजीवादी अर्थशास्त्रको इतिहास र विकासक्रम बुझ्न सघाउँछ । माक्र्सवादी विचार वास्तवमा पुँजीवादलाई पार लाउने उपाय हो भन्ने बोध गराउँछ । ‘जातजातिका नजाति कुरा’ र ‘हामीमध्ये को हो आर्य ?’, चिन्मयका यी दुई विश्लेषणात्मक लेख सा¥है जानकारीमूलक छन् । मानव पुर्खा र जात या नश्लबारे जिज्ञासा भएका हरकोहीका लागि यी लेख, प्रस्तुत सन्दर्भसामग्री र पुस्तक सहयोगी हुन सक्छन् । विज्ञानको विकाससँगै भएका डिएनए परिक्षणहरूले उदाङ्गो पारेको खोक्रो जातिवाद या फासीवादी युद्ध मानसिकताको तस्बीर भेटिन्छ लेखहरूमा ।
 ‘तःमुंज्या’ मा सम्पदा संरक्षणमा राज्यको भूमिका आवश्यक भएको विचार भगवत नरसिंह प्रधानले राखेका छन् । साथै नेपालभाषा, नेपाली भाषामा लेखिएका थुप्रै कविता, कथा, लेख, निबन्ध, एकाङ्की, व्यङ्ग्यहरू सङ्ग्रहित छन् । दुवै मुखपत्रमा तःमुंज्या र विविधभाषा साहित्य समाजका गतिविधि शब्द र तस्बीरमा देख्न पाइन्छ । समग्रमा दुवै पठनीय छन् । गाता, साजसज्जा र मूल्य ठिकै छ । तःमुंज्याको सम्पादनमा थप मेहनत पुगेको भए पाठकका गुनासा कम हुन्थे सायद । ‘तःमुंज्या’ मा अन्तर्राष्ट्रिय, क्रान्तिकारी एवम् सशक्त साहित्य अपेक्षित छन् । बुलेटिनहरू नियमित र निरन्तर प्रकाशनको कामना । प्रकाशकहरूप्रति साधुवाद ।
Leave a Reply