ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू–२
- कार्तिक १५, २०८२

“बाबु म तिमीलाई एउटा कथा सुनाउँछु ।”
 कञ्चनपुर जिल्लाको मुक्त कमैया बस्तीमा नेपालको सम–सामयिक राजनीतिको विषयमा छलफल कार्यक्रम सकिएलगत्तै मेरो कुरा सुनिरहनुभएका एक अधबैँसे थारु बुबाले मलाई आफूतिर तान्नुभयो । तराईको घाममा रातदिन खेत खलिहानमा मेहनत गर्ने बानीले हुनसक्छ, उमेरले भर्खर त्रिपन्न छोए पनि अनुहार चाउरिएर उहाँ सत्तरी नाघेकाजस्ता देखिनुहुन्थ्यो, जीउ सुकेर निगालोजस्तै हुनुहुन्थ्यो । तर, उहाँको अनुहारको चमक भने अँध्यारो रातलाई चिर्ने पूर्णिमाको चन्द्रमा जस्तै लाग्थ्यो ।
 नेपाली भाषा प्रस्टसँग बोल्न नजाने पनि बिच–बिचमा अड्किँदै ती बुबाले भन्नुभयो, “बाबु, हामी धान खेतमा गोडमेल गर्दा कालो जुकाले टोकेको चालै पाउँदैनौँ । निकैबेर टोकेर जुका मोटाइसकेपछि हाम्रो शरीरलाई छोडेर गएको हामी पत्तै पाउँदैनौँ । बिस्तारै चिलाउन थालेपछि के भयो भनी हेर्दा बल्ल जुकाले टोकेको थाहा पाउँछौँ । त्यतिबेलासम्म अलि अलि खाना खाएर जम्मा गरेको हाम्रो शरीरको रगत चुसेर पनि जुका भागिसकेको हुन्छ ।”
 म उहाँको कुरा सुन्दै थिएँ । “मैले के भन्न खोजेको, बुभ्mयौ बाबुले ?”
 मैले टाउको त हल्लाएँ, तर राम्रोसँग बुझेको जस्तो उहाँलाई लागेन सायद । त्यसैले उहाँले विस्तारपूर्वक भन्नुभयो, “हामीले चुनावमा जिताएर पठाएका ठुला दलका नेताहरू पनि ती काला जुकाजस्तै हुन् बाबु । हाम्रो शरीरमा टाँसेर, हाम्रै रगत चुसेर, आफू मोटाउने अनि हामी नेपाली जनतालाई सुकाउने । ती बेइमान नेताहरू हाम्रो भोटबिना बाँच्न पनि सक्दैनन् र हामीलाई चुसेर आनन्दसँग बाँच्न पनि दिँदैनन् । होइन त ?”
 औपचारिक विद्यालय शिक्षाबाट वञ्चित भएका ती थारु बुबाले यति सरल भाषामा नेपाली शासक दलका नेताहरूको विश्लेषण गर्नुभएको देख्दा मैले आफूलाई अल्पज्ञानी ठानेँ ।
 नजिकको खटियामा बसेर हामीबिच कुराकानी भइरहेको सुनिरहनुभएका अर्का बुबाले बायाँ हातमा सुर्ति राखेर दायाँ हातको बुढी औँलाले सुर्ति माड्दै अर्को कथा प्रस्तुत गर्नुभयो, “हाम्रो थारु समाजमा कुकुर र गधाको कथा सुनाउने गरिन्छ नानी । त्यो के हो भने, कुकुर र गधाबिच दौड प्रतियोगिता हुन्छ । जो छिटो दौडेर कुर्सीमा बस्छ, ऊ गाउँको राजा बन्छ ।”
 “कुकुर र गधाको कथा मलाई राम्रोसँग थाहा छ नि, चिथे !” अघिल्लो बुबाले बिचमै रोकेर हस्तक्षेप पाराले भन्नुभयो ।
 “तँलाई थाहा भएर भो त छैठी ? सहरबाट आएका यी नानीलाई थाहा छैन नि ।” दोस्रो बुबाले झर्केर भन्नुभयो । सँगसँगै हुर्केका सहपाठी भएर होला, उहाँहरू आपसमा अनौपचारिक शब्दहरू ‘चिथे’ र ‘छैठी’ भन्न अप्ठ्यारो मान्नुहुन्थेन ।
 हातमा माडेको सुर्ति मुखमा हाल्दै दोस्रो बुबाले भन्नुभयो, “ध्यान दिएर सुन नानी । कुकुर र गधाबिच दौड चल्यो । कुकुरलाई आफू गधाभन्दा छिटो दौड्न सक्छु भन्ने घमण्ड थियो । ऊ आफ्नै गतिमा दौड्यो । कुकुरजस्तो गधा दौड्न सकेको थिएन ।”
 कथा सुनाउनुभएका बुबा अलि परको झाडीमा थुक्न जानुभयो । फर्केर फेरि कथा भन्न सुरु गर्नुभयो, “सुनिरहनुभएको छ नि नानी । अँ, मैले के भन्दै थिएँ भने, कुकुर छिटो दौड्न थाल्यो । तर, त्यो गाउँमा अरु थुप्रै कुकुरहरू पनि थिए, जसले दौडिरहेको कुकुरलाई भुक्दै लखेट्न थाल्यो । दौडिरहेको कुकुर अन्य कुकुरहरूको घेरामा प¥यो र डरले पुच्छर लुकाउँदै यताउता हेर्न थाल्यो । ऊ पनि भुक्दै थियो, तर अरु कुकुरहरूले उसलाई अगाडि बढ्नै दिएनन् । गधा भने आफ्नै गतिमा दौडिरहेको थियो । उसलाई न अरु कुकुरहरूले भुके, न त अरु गधाहरूले नै बाटो छेके । अन्त्यमा, गधा कुर्सीमा बस्यो । दौड प्रतियोगितामा आफू जितेको र राजा भएकोमा उसमा घमण्ड पैदा भयो । प्रतियोगितामा हारेका कुकुर भने रिसले चुर भइरहेको थियो ।”
 “यो कथाले के सन्देश दिन्छ त ?” मैले उहाँसँग आफ्नो उत्सुकता प्रकट गरेँ ।
 कथा हाल्ने दोस्रो बुबा मुसुक्क हाँस्नुभयो । उहाँले मेरो मन्द बुद्धिलाई कटाक्ष गर्नुभएको भान भयो मलाई । उहाँले कथालाई अथ्र्याउँदै बेलिविस्तार लगाउनुभयो, “अहिले हाम्रो देशमा आन्दोलन गरेका, सिंहदरबार र सरकारी कार्यालय जलाएका आन्दोलनकारीहरू मेरो कथाको कुकुरजस्तै हुन् । अनि, सरकारमा बसेकाहरू गधाजस्तै हुन् ।”
 “त्यस्तो त भन्न नमिल्ला कि बुबा ?” मैले अप्ठ्यारो मान्दै भनेको उहाँलाई चित्त बुझेन क्यारे र उहाँले अलि ठुलो स्वरमा भन्नुभयो, “आन्दोलनकारीहरू कुकुर नभए आपसमा झगडा किन गर्थे ? अनि सरकारमा बसेकाहरू गधा नभए आफ्नो बुद्धिले जनताको पक्षमा किन निर्णय गर्दैनन् ? सरकारमा बसेकालाई नत्थी कस्ने त अरु नै छन् नि ? होइन र नानी ?”
 माटो, हलो र गोरुकै वरपर झन्डै दुईतिहाइ जीवन बिताउनुभएका र राजधानीबाट सुदूर मुक्त कमैया क्षेत्रमा बस्नुभएका पाका उमेरका बुबाको सटिक विश्लेषणबाट म अवाक् भएँ । मैले स्नातकोत्तर तहसम्म पढेको र थुप्रै ठाउँमा ‘भाषण’ गर्दै हिँडेको त उहाँहरूको अगाडि प्राथमिक तहको जस्तो महसुस भयो । हिनताबोधले मेरो मन चसक्क भयो ।
 ग्रामीण जीवन र कष्टसाध्य भोगाइले पनि धेरै कुराहरू सिकाउँदो रहेछ । सलाम छ थारु बुबाहरूलाई र मैले थप केही भनिनँ ।
Leave a Reply