भर्खरै :

क्युवाली क्रान्तिबारे कामरेड चेको संस्मरण

क्युवाली क्रान्तिबारे कामरेड चेको संस्मरण

समाजवादी देश क्युवा विगत ६३ वर्षदेखि अर्थात् सन् १९६२ देखि साम्राज्यवादी देश संरा अमेरिकाको नाकाबन्दीविरुद्ध लड्दै छ । समाजवादी क्रान्ति सफल भएको ३ वर्षभित्र क्युवाविरुद्धको नाकाबन्दी सुरु गरिएको थियो । समाजवादी क्रान्तिको आभा निस्तेज बनाउने उद्देश्यसाथ साम्राज्यवादी देश संरा अमेरिकाले गरेको एक खालको युद्ध थियो – नाकाबन्दी । नाकाबन्दीविरुद्धको लडाइँ त्यसकारण साम्रज्यवादविरुद्धको लडाइँ हो, विश्वमा समाजवादको गौरवलाई उच्च राख्ने लडाइँ हो त्यो ।
साम्राज्यवादविरुद्धको युद्ध आज पनि जारी छ । आज विश्व क्युवाप्रति ऐक्यबद्धता जनाउँदै छ । संरा अमेरिका र केही पिछलग्गू देशलाई छोडेर कुनै पनि देश त्यो अमानवीय नाकाबन्दीको पक्षमा छैन । नाकाबन्दी अन्त गर्न संयुक्त राष्ट्र सङ्घमा पटकपटक प्रस्ताव पारित गरिएका छन् ।
कोभिड – १९ महामारीविरुद्ध विश्व मानव समुदायको सेवामा जुटेको क्युवालाई विश्वले ऐक्यबद्धता जनाउनु स्वाभाविक छ । क्युवामा स्वास्थ्य क्षेत्रमा भएको अकल्पनीय उपलब्धि क्युवाली क्रान्तिको देन हो ।
कोभिड – १९ को पहिलो लहरमै क्युवाली डाक्टर र स्वास्थ्यकर्मीहरू संसारको कुनाकाप्चा पुगेर सेवा गरे । क्युवामा फिडेल क्यास्ट्रोपछिका नयाँ पुस्ता उहाँले भन्नुभए जस्तै –“घाम नपुगेको देशमा क्युवाली डाक्टर पुग्दै छन् ।”, विश्वलाई सहयोग प्रदान गर्दै छन् । कोभिड – १९ विरूद्ध मानव समुदायको रक्षाका लागि क्युवाले खोप आविष्कार र उत्पादन गरी आपूर्ति गरेको थियो । भूगोलमा अत्यन्त सानो देशले ठुलो मानवीय कार्य गर्दै छ । यस्तो महामारीको बेला बाह्य विश्वबाट क्युवाले कच्चा पदार्थ प्राप्त गर्न सकेको भए, क्युवाले यस्ता अझ कति धेरै काम गथ्र्यो होला ? क्युवाको खोप ल्याटिन अमेरिका, अफ्रिका, एसियाली मुलुकमा आयात गर्न सहज भइदिएको भए, मानव समुदायको ठुलो कल्याण हुनेमा शङ्का छैन ।
यद्यपि, संरा अमेरिका आफूभन्दा भूगोलमा सानो देशलाई दबाउन उद्यत छ । ऊ क्युवाली क्रान्तिको तेजिलो प्रकाशले विश्वमा उज्यालो फैलाउने डरले आतिन्छ । ऊ क्युवाली क्रान्तिको इतिहास मेट्न चाहन्छ ।
हो, क्युवाली क्रान्तिको इतिहासबारे यो विश्वमा अझ चर्चा परिचर्चा आवश्यक छ । धेरै – धेरै फिडेल क्यास्ट्रो, चे ग्वेभारा र भिल्मा इस्पिनहरूका देनबारे प्रकाश पार्नु आवश्यक छ । क्युवाली क्रान्तिपछिको समाजवाद जोगाउने र साम्राज्यवादसँग निरन्तर लड्ने अर्को क्रान्तिका निम्ति इतिहासको रक्षा जरुरी छ ।
क्युवाली क्रान्तिको इतिहास सुनाउने एउटा पुस्तक ‘क्युवाली क्रान्तिको संस्मरण’ (Reminiscences of the Cuban Revolutionary War) बारे केही चर्चा गर्नु आज झनै सान्दर्भिक देखिन्छ । यो पुस्तकले आजको क्युवालाई इतिहाससँग जोड्न सघाउँछ । आजको क्युवामा बाँचेको समाजवाद प्राप्तिका निम्ति उठेका सङ्घर्षशील आवाजहरूको कथा सुनाउँछ । क्रुर बाटिस्टा शासनविरुद्ध जनताको बलमा लडेका थुप्रै लडाइँ र युद्धहरूको दस्तावेज पढ्न पाइन्छ, पुस्तकमा । केस्राकेस्रा केलाइएको सङ्घर्षको आख्यान पढ्न पाइन्छ । क्युवामा जनतामाथिको दमन र जनताले व्यहोर्न परेको चरम गरिबीविरुद्ध उठेको सङ्घर्षका शृङ्खलालाई चे ग्वेभाराले जसरी देखे, जसरी अनुभव गरे त्यसैलाई उतारेर यो पुस्तक बनेको छ । क्युवाको रूपान्तरणलाई ‘चे’ ले आफ्नै आँखाले देखे । यो पुस्तकले क्युवाको रूपान्तरणको इतिहास बताउँछ । त्यतिमात्र होइन, यो पुस्तकले चेको जीवन रूपान्तरणको कथा पेश गर्दछ । फिडेल क्यास्ट्रोसँग चे ग्वेभाराको भर हुनु र चे ग्वेभारा क्युवाली क्रान्तिको पथमा सामेल हुनुदेखि क्रान्तिको सफलता र त्यसपछिको जनसरकारमा चेको भूमिकासम्मका घटनाक्रम समाविष्ट छन् । घटनाक्रमहरू त छँदैछन् सँगै सङ्घर्षमा जोडिएका हजारौँ हजार कामरेडहरू, किसानहरू, मजदुरहरूको जीवन र कथा पुस्तकभित्र समेटिएका छन् ।
‘चे’ क्युवाले दिएको नाउँ हो । अर्नेस्ट्रो ग्वेभारालाई क्युवाली क्रान्तिले चे ग्वेभारा बनायो । ‘चे’ नामको गुरिल्ला स्पिरिट, युवापन, सङ्घर्षशील भावना क्युवाली क्रान्तिकै देन हो । पुस्तकमा चेकी छोरी अलैदा ग्वेभारा मार्चको विचार पनि छ । यो पुस्तकमा मेडिकल क्षेत्र र सङ्घर्षको मैदानमध्ये एउटा के चुन्ने ? यस प्रश्नमा चेले गरेको सङ्घर्षको एउटा अंश छ ।
पुस्तक दुईवटा खण्डमा विभक्त छ । पहिलो खण्डमा सन् १९६३ सम्मका आलेखहरू, क्युवाली क्रान्तिको सुरुआती दिनदेखि सङ्घर्षका उकालीओरालीमा क्युवाली नेतृत्वले लिएको सैन्य नीति, कूटनीतिबारे राम्रो चर्चा छ । दोस्रो खण्डमा सन् १९६३ पछि चेले लेखेका निबन्ध र लडाइँका खण्डहरू छन् । यसमा क्रान्तिको सामाजिक–राजनीतिक विश्लेषण छ ।
विश्वभर हतियार निर्यात गर्ने देश संरा अमेरिकाको बलमा टिकेको बाटिस्टा सरकारविरुद्ध असाध्यै सीमित हातहतियारले लड्नुपर्ने ती युद्धकालीन दिनहरूबारे पुस्तकमा चर्चा गरिएको छ । थुप्रै क्युवाली आफ्नो देशको अस्तित्व रक्षाको निम्ति, सार्वभौमिकताका निम्ति, क्युवाको भविष्यका निम्ति क्रान्ति खाँचो ठान्थे । थुप्रै डर, त्रास, भोक, अभाव, हावाहुरी, आँधीबताससँग जुझेर क्युवाली जनताले बहादुरी देखाएका थिए । आजको क्युवाले क्रान्तिको त्यो भावनालाई जिवन्त राखेको छ ।
क्युवाली क्रान्तिको इतिहासलाई धेरै आँखाले विश्लेषण गरेको पाइन्छ । यो पुस्तकको विशेषता भनेको ‘चे’ को दृष्टिकोण हो । चेसँगै हिँडेका गुरिल्लाहरूको अनुभूति हो । पुस्तकमा लडाइँका अपेक्षा र सीमितता, सफलता र असफलताहरू सबै समाविष्ट छन् । एउटा गुरिल्ला कामरेड आफ्नै आँखा अगाडि ढल्दा पनि नदेखेझैँ गरी दुश्मनविरुद्ध जाइलाग्नु पर्ने अवस्थादेखि तिर्खा मेट्न एक थोपा पानी नभेट्दा पनि हिँड्नुपर्ने ठाडा उकालीहरूको कथाले पाठकलाई भावुक बनाउँछ । बाटिस्टाका सेनाहरूको अभद्र र अमानवीय आक्रमणले पाठकलाई आक्रोशित पनि बनाउँछ ।
गोलाबारुद र बन्दुकको अभावले हरेक लडाइँमा समस्या हुन्छ । जस्तोसुकै कठिनाइमा पनि हतियार नछोड्नू, नबिसाउनू भन्ने निर्देशन सा¥है महत्वपूर्ण थियो त्यो समयमा । ‘मातृभूमि या मृत्यु’, लडाकूमा ऊर्जा दिने नारा थियो । त्यसैको लागि हजारौँ क्युवालीहरूले आफ्नो जीवन सुम्पे । चेकी छोरी अलैदा ग्वेभारा भन्छिन् –“हिजो जसरी हतियार छोड्नु या एकैछिन बिसाउनुले पनि लडाइँ हार्न सक्ने सम्भावना हुन्थ्यो । त्यसरी नै आजको विश्वमा ज्ञान र बुझाइको कमीले हामी हार्न सक्छौँ । त्यसैले सुन्दर विश्वका निम्ति ज्ञानरूपी हतियार तिखार्दै सँगसँगै लडौँ ! हामी विजयोन्मुख छौँ ।”
पुस्तकमा चेको छोटो जीवन चर्चा छ । सन्दर्भ अलेग्रिया डे पिओ (Alegria de Pio) को सङ्घर्षको मैदानको, जहाँ चेले आफ्नो स्टेथस्कोप छोडेका थिएनन् । त्यो त्यही नै ठाउँ हो जहाँ उनले थुप्रै घाइतेहरू एकसाथ देखे, उपचार गराए । उपचारको सामग्री झोला बोक्ने या गोलाबारूदको झोला बोक्ने ? पहिलोपटक उनी दुविधामा परेका थिए । उनले बन्दुक समाए, गोलबारूदको झोला बोके र क्रान्तिको पथमा हिँड्न अठोट त्यहीँबाट गरे । मृत्यु पनि शानदार हुनुपर्छ भन्थे चे । नलडेर मर्नु के मर्नु ? सङ्घर्षविनाको जीवन के जीवन ? सङ्घर्ष, लडाइँ, युद्ध आफ्नो पेशाभन्दा धेरै माथि हुन्छ भन्ने दृष्टान्त चे हुन् ।
उनी दमरोगका बिमारी थिए । पहाडहरू चढ्नु, ओर्लनु, धेरै लामो हिँड्नु उनको दमले थाम्दैनथ्यो । मुटुको धड्कन बन्द हुँदै छ भनेपनि लड्न खोज्ने चेले आफ्नो दमरोगलाई निरन्तर चुनौती दिए । घाम, तिर्खा, भोक, थकान अनि दम त्यसपछि आफ्नो डायरी लेखन कर्म ! ला प्लाटा, सियरा मायस्ट्रा, अर्रोयो डेल इन्फियर्नोका हवाई आक्रमणहरू, अनि उनको गुरिल्ला नेतृत्व ! आज पनि क्युवाली जनता ‘चे’ लाई ऊर्जाको अर्को नाम बताउँछन् ।
बाटिस्टा सरकारले फिडेललाई मार्ने मान्छेलाई १० हजार डलर पुरस्कार घोषणा गरेको थियो । क्युवाली क्रान्तिकारीहरूको नेतृत्व गरिरहेका फिडेललाई गाउँ–बस्ती, जङ्गल र जनताको माझ नै सबैभन्दा सुरक्षित ठाउँ बन्यो । फिडेल खोज्न निस्केका कतिपय शत्रुहरू पनि फिडेलको कुरा सुनेपछि, देखेपछि क्रान्तिका पक्षमा लागेका सन्दर्भहरू छन् ।
पुस्तकमा अल्टोस डे इस्पिनोसा (Altos de Espinosa) मा अचानक गरिएको आक्रमण, ला मोन्टेरिया गाउँमा क्रान्तिका धोकेबाजहरूको मृत्युका घटनाहरू सङ्कलित छन् ।
पुस्तकमा क्युवाली क्रान्तिभित्रका महिला योद्धाहरूसँगको साक्षात्कारबारे राम्रो चर्चा छ । नेतृ भिल्मा इस्पिन, असेला डे लस, सान्तोस योलान्दा फेरेर, हायडे सानामारिया, सेलिया सान्चेजहरूले क्रान्तिमा खेलेको अद्वितीय भूमिकाको सविस्तार वर्णन पुस्तकमा छ । क्युवाली क्रान्तिमा महिलाहरूको सहभागिता क्रान्तिभित्रको पनि क्रान्ति किन थियो भन्ने बुझ्न पुस्तकले सघाउँछ ।
युद्धका असाध्यै कठिन दिन आफ्नो शारीरिक अस्वस्थ्यताका कारण र त्यति नै बेला आफ्ना आत्मीय मित्रहरूको मृत्युका कारण दुःख अनुभव भएको बताउँछन् चे । जस्तोसुकै परिस्थितिमा पनि कुनै घटनाको अभिलेखीकरण गर्ने र डायरी लेख्ने चेको स्वभाव धेरैलाई अनुकरणीय लाग्नेछ ।
क्रान्तिकालीन समयमा फिडेलसँग लिइएको अन्तर्वार्ताबारे चर्चा छ । आफ्नो ज्यानलाई हत्केलामा राखेर सियरा मायस्ट्राको पहाडमा शत्रुको मिलिटरी क्याम्प पार गर्दै आएका पत्रकार बोन तारनले फिडेलसँग र पत्रकार जेन डानियलले चेसँग लिएको अन्तर्वार्ता उल्लेखनीय छ । मोर्चामा सघाइरहेका किसानको प्रतिक्रिया मन छुने खालको छ ।
पुस्तकमा उल्लेखित ऐल यूभेराको लडाइँ र त्यहाँ घाइते भएका गुरिल्लाको लामो उपचार अनि ऐल यूभेराबाट फिर्ती यात्राको कथा मार्मिक छ । सियरा मायस्ट्राको सानो टुक्रा स्वतन्त्र भइसकेपछि युद्धको नीति कसरी परिवर्तन गरियो, योद्धाहरूलाई कस्तो अनुशासनमा राखियो ? युद्धभूमिमा धोका दिनेहरूको नियति कस्तो भयो ? भन्ने चर्चा छ ।
वास्तवमै जनताको दैलो गुरिल्ला सेनाको घर थियो । जनताको बारीमा उम्रेको अन्न, तरकारी, उखुमा गुरिल्ला सेना रमाए । अझ भनौँ गुरिल्लाले जनताको अभाव र कठिनाइहरूसँग साक्षात्कार गरे ।
पुस्तकमा बुयसिटोमा आक्रमण, एल होमबिटोको युद्ध, ऐल पाटोजो जसले क्युवाली क्रान्तिको जन्म देखेका थिए, उनको बारे चर्चा छ । क्युवाले लिएको कृषि सुधारको नीतिमा सघाएका व्यक्ति चे नै थिए । ग्वाटेमालाको मुक्ति आन्दोलनमा चेले भाग लिएका थिए ।
फिडेल र चेहरूले इस्कामबेरी पहाड चढ्दाको अनुभूतिका पानाहरू पुस्तकमा छन् । फिडेल र चेका सहयात्री कालिस्टो गार्सिया, रमिरो भाल्डेस, जुुआन अल्माइडा, गुलेइर्मो गार्सिया, राउल क्यास्ट्रो, जोजे सोटस लगायतका व्यक्तित्वहरूसँग पाठकलाई चिनाउँछ । जङ्गलमा गुरिल्ला सेनालाई सघाएका किसानहरूको निर्मम हत्याको मर्माहत क्षणहरूको प्रस्तुति छ पुस्तकभित्र ।
जनताको संयुक्त शक्तिबाट फुल्जेन्सिया बाटिस्टाको शासन ढल्यो । फिडेलले अन्याय र शोषणको युगविरुद्ध जित या मृत्युको नारा दिएका थिए । पुस्तकले क्युवाली क्रान्तिमा युद्ध कौशल र असल कूटनीतिक व्यवहार केलाउँछ । क्रान्तिका निम्ति बाह्य र आन्तरिक परिस्थिति तयार रहेको बेला जनताको बलमा सफल क्युवाली क्रान्तिको उपलब्धि जोगाउने सङ्घर्ष अद्यापि जारी छ । विश्वमा समाजवादी आन्दोलन र क्रान्तिको उज्यालो फैलनुको विकल्प छैन । नयाँ पुस्ताले क्युवा, फिडेल, चेहरू चिन्न सके जीवनआदर्श पाउँछन् । यो पुस्तकले युवा पुस्तालाई जीवनआदर्श त दिन्छ नै समाजवादी आन्दोलनलाई ऊर्जा दिने महत्वपूर्ण काम पनि गर्छ । समग्रमा पुस्तक चेको युद्धमैदानको सुन्दर अभिलेखीकरण हो भन्दा फरक पर्दैन । उनले उल्लेख गरेका गुरिल्ला रणनीति वास्तवमै महत्वपूर्ण छ । अध्ययन गर्नैपर्ने पुस्तकमध्ये एउटा पुस्तक यो हो भन्दा अतियुक्ति नहोला ¤ योद्धा कामिलोबारेको अंश असाध्यै मन छुने खालको छ । चेको लेखनशैली प्रभावशाली अनुभूत हुन्छ । राजनैतिक परिवर्तन या क्रान्तिका निम्ति हिँडेकाहरूलाई किताबभित्रको शब्दचित्रले चेसँगै अर्जेन्टिना, मेक्सिको, क्युवा हुँदै बोलिभियासम्मको यात्रा गराउँछ ।
चेले दिनदिनको सङ्घर्ष पस्कने क्रममा आफ्नो जीवशैली, विशाल हृदय, स्वतन्त्रता तथा क्रान्तिप्रतिको विश्वास, अध्ययन र लेखक व्यक्तित्व उजागर गरेका छन् । चे र फिडेलहरूको देश क्युवा र उनीहरूले लडेको क्युवाली क्रान्तिको आभा आज पनि तेजिलो छ । मानव समुदायको रक्षा गर्न र विश्वलाई युुद्धमैदान बनाउन उद्यत साम्राज्यवादबाट विश्वलाई जोगाउने सङ्घर्षमा क्युवा आज एक्लो छैन । क्युवामाथिको नाकाबन्दी अन्त्य भएको दिन क्युवामात्र होइन ल्याटिन अमेरिकी महादेश थप उज्यालो हुने निश्चित छ ।

– ‘श्रमिक’ साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *