१९५० को सन्धि संशोधन कि खारेजी ?
- कार्तिक २४, २०८२

निर्वाचकको छनोट र सांसदको चुनावबिच छोटो अन्तराल थियो । त्यसमा पार्टी समिति र निर्वाचकहरूबिच लगातार वार्ता चलिरह्यो । बहुसङ्ख्यक मजदुरहरूले बोल्शेभिकहरूलाई समर्थन दिएको तथ्य हो । त्यसैले, बोल्शेभिकलाई नै सांसद निर्वाचित गर्नुपर्ने हाम्रो तर्क थियो । अघिल्ला चरणका चुनावहरू बोल्शेभिकहरूकै पक्षमा थियो । पहिलो निर्वाचनमण्डलमा चार निर्वाचक हाम्रो सूचीबाट छनोट भएका थिए । अन्य दुईमध्ये एकजना मात्र मेन्शेभिक थिए र अर्का निर्वाचक चुनावपछि मात्र मेन्शेभिक बनेका थिए । निर्देशपत्र पारित भएको तथ्य हेर्दा दोस्रोपल्टको निर्वाचनमण्डलको सहानुभूति पनि बोल्शेभिकप्रति नै थियो । हामीले मतसङ्ख्याको (असमान) वितरणलाई देखाएर सेन्ट पिटर्सबर्गका बहुमत मजदुरको मनोभावलाई गलत तरिकाले व्याख्या गर्न नमिल्ने बतायौँ ।
हाम्रा कुनै पनि तर्कले विध्वंसकारीहरूलाई छोएन । तिनीहरूले हाम्रो कुरै सुन्न मानेनन् । केही बोल्शेभिकले चिट्ठा तानेर सांसद छनोट गर्न सकिने प्रस्ताव राखे । मेन्शेभिकहरूले त्यसलाई पनि सुनेको नसुन्यै गरे । बोल्शेभिक र मेन्शेभिक दुवै पक्ष सम्झौताको पक्षमा थिएनन् । संसद्मा आफ्नै उम्मेदवार पठाउने मन बनाएर दुवै पक्ष प्रान्तीय निर्वाचन मण्डलसमक्ष गए ।
अक्टोबर २० मा निर्वाचनमण्डलको बैठक बस्यो । सेन्ट पिटर्सबर्ग गुबेर्नियालाई प्रतिनिधित्व गर्न चार सांसद निर्वाचित गर्नुपर्ने थियो । एकजना किसानबाट, दुईजना जमिनदार र घरधनीहरूबाट र चौथो मजदुरहरूबाट । निर्वाचन मण्डलमा यी चार घटक/पकेटलाई प्रतिनिधित्व गर्ने ६६ निर्वाचक थिए । (टिपोट : यस शृङ्खलामा पकेट वा मजदुर समिति भनेर सांसद छनोट गर्ने यही वर्ग–विभाजलाई भनिएको हो । रुसी संसद् दुमामा अनेक वर्गबाट सांसद छनोट गरिन्थ्यो । ती वर्गीय निर्वाचन क्षेत्रलाई ‘क्युरी’ भनिन्थ्यो ।) यो निर्वाचनमण्डलमा प्रगतिशील र अक्टोबरवादीहरूको बहुमत थियो । तिनले दक्षिणपन्थी र राष्ट्रवादी पार्टीहरूविरुद्ध गठबन्धन बनाएका थिए ।
सरकारले राजकुमार साल्तिकोभलाई निर्वाचन मण्डलको अध्यक्ष नियुक्त गरेको थियो । साल्तिकोभले निर्वाचन प्रक्रियासम्बन्धी नीति–नियम पढे । उनले निर्वाचकहरूको सूची सही भए/नभएको जाँचे र सांसदको निर्वाचन सुरु गर्न आग्रह गरे । सुरुमा किसान निर्वाचकहरूबाट एक सांसद छनोट भए । किसान निर्वाचकमध्ये चारजना प्रगतिशील थिए भने एकजना दक्षिणपन्थी थिए । हामीले प्रगतिशील उम्मेदवारलाई मत दियौँ । सांसद बनेपछि मजदुरसम्बन्धी विधेयकको हकमा उनले सामाजिक जनवादी टोलीसँगै मतदान गर्नुपर्ने हाम्रो सर्त थियो । मतदानपछि तिनैले मनोनीत गरेका उम्मेदवार निर्वाचित भए । घरधनीहरूको ‘क्युरी’ बाट पनि एक प्रगतिशील नै सांसद बने । जमिनदारहरूको प्रतिनिधित्व एक अक्टोबरवादी सांसदले गर्ने भए ।
अब मजदुरहरूको सांसद चुन्ने प्रक्रिया सुरु भयो । मेन्शेभिक र बोल्शेभिक दुवैका सबै मजदुर निर्वाचकले मतदान गरे । मतगणनापछि मलाई सांसद निर्वाचित गरिएको घोषणा भयो । हामीले २९ का विरुद्ध ३४ मत पायौँ । मेन्शेभिक विध्वंसकारीहरूले एकदम कम मत पाए ।
यो विफलताले मेन्शेभिकहरू आगो भए । उनीहरूले निर्वाचनमा धाँधली भएको भन्दै एकाएक तीतो पोख्न थाले । पराजयलाई उनीहरूले त्यसरी पचाउन खोजे ।
पाठ ३
चौथो संसद्मा सामाजिक जनवादी धार
निर्वाचनपछिको अवस्था । मजदुरहरूका भ्रमण र पत्राचार । सामाजिक जनवादी समूहको बनोट । वार्सा सहरका सांसद जागेल्लो । ‘६’ बोल्शेभिक ।
सेन्ट पिटर्सबर्गमा निर्वाचन भएको एक महिनापछि संसद् सुरु भयो । एक महिना सामाजिक जनवादी समूहको सुगठन र भावी गतिविधिको तयारीमै बित्यो ।
संसद्को काम हाम्रा अन्य गतिविधिको दाँजोमा सानो अंश मात्र थियो । मजदुर सांसदहरू बढी त संसद्बाहिर सक्रिय हुन्थे । अघि म निर्वाचनमा व्यस्त थिएँ । लगत्तै निर्वाचनको सिलसिला सेलायो । अब मैले नयाँ–नयाँ पार्टीहरूको सामना गर्नुपर्ने भयो । ट्रेड युनियनको जिम्मेवारी, ‘प्राभ्दा’ आदिको काममा मलाई भ्याइनभ्याई भयो ।
म प्रत्येक दिन प्राभ्दाको कार्यालय जानुपथ्र्यो । यो कुरा पहिले नै तय भएको थियो । त्यसैले म ‘प्राभ्दा’ सँग नजिक भएँ । त्यो बेला ‘प्राभ्दा’ नेता स्तालिनको प्रत्यक्ष मार्गनिर्देशनमा चल्थ्यो । उहाँ ‘गैरकानुनी’ शैलीमा बस्नुहुन्थ्यो । पछिल्लो निर्वाचन अभियानको सम्पूर्ण जिम्मा उहाँलाई नै दिइएको थियो । साथै, सङ्गठनको संसदीय समूहलाई तयारी गर्नुपर्ने जिम्मेवारी पनि उहाँकै थियो ।
नेता स्तालिनसँग भेट भयो । उहाँले संसद् खुल्नुअघि नै केन्द्रीय समिति र मजदुर सांसदहरूको सम्मेलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यो सम्मेलन पक्कै पनि विदेशमा गर्नुपथ्र्यो ।
सम्मेलनमा संसद्को बोल्शेभिक टोलीको कार्ययोजना तय गर्नुपर्ने थियो । त्यस्तै, हाम्रो भावी गतिविधिसँग जोडिएका अनेक मुद्दाबारे दृष्टिकोण बनाउनुपर्ने थियो । स्तालिनको प्रस्तावमा मेरो पूर्ण समर्थन थियो । सुरुदेखि नै मजदुर सांसदहरूले पार्टी केन्द्रसँग घनिस्ट सम्बन्ध राख्न जरुरी थियो । तर, हामी सफल भएनौँ । हामीले संसद् सुरु हुनुभन्दा अगाडि सम्मेलन डाक्न सकेनौँ । संसद्को पहिलो सत्रसम्म त्यसलाई स्थगित गर्ने निर्णय भयो । यसबिच सम्मेलनको व्यवस्थित तयारी गर्ने समय पनि मिल्ने भयो ।
म बरोबर नेता स्तालिनलाई भेट्थेँ । कहिले सम्पादकको कार्यालयमा भेट्थेँ त कहिले बाहिरफेर भेट्थेँ । स्तालिन प्रायः मेरो कोठामा आउनुहुन्थ्यो । गुप्त प्रहरीको आँखा छल्न उहाँ अनेक भेष बदलेर आउनुहुन्थ्यो । सुरुसुरुमा नेता स्तालिनको सल्लाहले म र अरू मजदुर सांसदहरूलाई निकै मद्दत ग¥यो ।
दिनदिनै ‘प्राभ्दा’ को कार्यालय जाँदा मैले मजदुर सङ्गठनका प्रतिनिधिहरूलाई भेटेँ । त्यसरी म मजदुरहरूको आम मनोदशासँग परिचित भएँ । त्यहाँ (पिटर्सबर्ग) सहरका सबै जिल्लाबाट मजदुरहरू आउँथे । उनीहरू विभिन्न कारखाना र ज्यासलमा भइरहेका गतिविधिको कुरा गर्थे । कानुनी र गैरकानुनी सङ्गठनहरूका क्रियाकलापको खबर सुनाउँथे । क्रान्तिकारी मजदुरहरूका प्रतिनिधिहरूसँगको भेटघाट र कुराकानीबाट मैले भविष्यमा संसद्मा गर्नुपर्ने कामको लागि प्रचुर सामग्री पाएँ ।
मजदुरहरू आफ्ना सांसदहरूसँग घनिष्ट सम्बन्ध राखे । आफ्ना सांसदलाई उनीहरू आफ्नो हितको सच्चा प्रतिनिधि ठाने । अखबारमा निर्वाचनको परिणाम बाहिर आउने बित्तिकै विभिन्न कारखानाका मजदुरहरूले मलाई पत्राचार गर्न थाले । उनीहरू मलाई अनेकवली आग्रह गर्थे, थरीथरी प्रश्न सोध्थे । अनेक उद्योगका प्रतिनिधिमण्डलहरूलाई भेट्न र ‘प्राभ्दा’ को कार्यालयनजिक रहनका लागि मैले सहरको केन्द्र भागतिर बसाइँ सर्नुपर्ने भयो । मैले गर्दै आएको कामबाट बिदा लिएँ । संसद् भवननजिकै स्पालेर्नाया गल्लीमा घर बहालमा लिएँ । यसअघि म नेभ्स्काया जास्ताभामा बस्थेँ । त्यहाँबाट आफ्ना सामलतुमल नयाँ घरमा सारेँ ।
कारखानामा काम गर्दा मलाई प्रहरीका सुराकीहरूले उति ध्यान दिएका थिएनन् । म प्रतिनिधि निर्वाचित भएपछि तिनले मेरो चियोचर्चो गर्न पसिना बगाउन थाले । म निर्वाचकमा छनोट भएपछि सुराकीहरूको सङ्ख्या बढ्यो । अब तिनले मेरो घरवरिपरि पहरा दिन थाले । तिनले मेरा प्रत्येक क्रियाकलापमा निगरानी गर्थे । मलाई भेट्न आउने सबैको पिछा गर्थे ।
हरेक दिन मैले एक चाङ चिठीपत्र पाउँथे । सेन्ट पिटर्सबर्गबाट होइन अन्य सहरबाट पनि मकहाँ चिठीपत्र आउँथ्यो । धेरैधेरै मजदुरले मलाई आफूकहाँ बोलाउँथे । जनतासँग यसरी सरसल्लाह गर्ने काम जारी राख्न मैले ‘प्राभ्दा’ मा लेख्न थालेँ । घरमा आएका पाहुनासँगको भेटघाटबारे म ‘प्राभ्दा’ मा लेख्थेँ । यस्ता पाहुनामध्ये धेरै त अनेक सङ्गठनका प्रतिनिधि हुन्थे । कतिपय पाहुना निजी समस्या लिएर आउँथे ।
बोल्शेभिक सांसदहरू
मजदुरहरूसँग हुने कुराकानी र मलाई आउने चिठीपत्रमा हाम्रो देशका मजदुरहरूको जीवनचर्याका प्रत्येक पाटो समेटिएको हुन्थ्यो । मलाई ट्रेड युनियनले सम्पन्न गरेका काम र भोग्नुपरेको कारबाहीबारे बताइन्थ्यो । मजदुर हडताल, तालाबन्दी, बेरोजगारी र प्रहरी दमनका नयाँ घटनाहरूबारे मलाई जानकारी गराइन्थ्यो । मलाई पक्राउ पर्नेहरूको पक्षमा बोलिदिन अनुरोध आउँथ्यो । त्यसैगरी निर्वासनमा परेका मजदुरहरूले मलाई चिठी लेख्थे । उनीहरू मलाई आर्थिक सहयोग गर्न र अन्य भौतिक राहत पठाइदिन अनुरोध गर्थे । निजी समस्या लिएर आउने कतिपय मजदुरले मसँग काम मिलाइदिन आग्रह गर्थे । मकहाँ आउने अधिकतर पाहुना मसँग संसद् र त्यसका गतिविधिबारे सोधपुछ गर्थे । उनीहरू मलाई आफ्ना चाहनाहरू बताउँथे र मलाई सल्लाह पनि दिन्थे ।
मैले तुरुन्तै पत्रको जवाफ पठाउनुपथ्र्यो । मसँग गरिएका आग्रह सकेसम्म पूरा गर्नुपथ्र्यो । धेरै मुद्दामा मैले याचिका दायर गर्नुपथ्र्यो र सरकारका विभिन्न संस्थानसँग वार्ताको चाँजो मिलाइदिनुपथ्र्यो । यी काम गर्न धेरै समय चाहिन्थ्यो । यसकारण, संसद् खुल्नुभन्दा अगाडि नै म काममा डुबिसकेको थिएँ ।
टेलिग्राम र स्थानीय सूचना स्रोतबाट हामीले बिस्तारै देशैभरिको निर्वाचन परिणामको सग्लो चित्र पायौँ । भावी संसद्मा सामाजिक जनवादी खेमाको बनोट कस्तो हुनेछ भन्ने मोटामोटी अनुमान भयो । तर, हामीले पाउने सबै सूचना सटिक र भरपर्दा थिएनन् । त्यसैले इर्कुत्स्कका सांसद मानकोभ साँच्चै को हुन् भन्ने स्पष्ट भएन । साइबेरियाका तटवर्ती जिल्लाबाट सामाजिक जनवादी सांसद निर्वाचित भएको खबर पछि गलत साबित भयो । पछि मात्र ती सांसद सामाजिक जनवादी नभई त्रुदोभिक हुन् भन्ने पुष्टि भयो । निर्वाचनको माहोल नै त्यस्तो थियो । सरकारी सञ्चार जगतमाथि पूर्ण विश्वास गर्ने स्थिति थिएन । टेलिग्रामहरू सजिलै ‘वामपन्थी’ निर्वाचित भयो भनिदिन्थे । तर, कुन पार्टीको भन्ने अज्ञात रहन्थ्यो ।
निर्वाचित सांसद सेन्ट पिटर्सबर्ग आएपछि मात्र सांसदहरू कोको रहेछन् भनी थाहा पाइयो । सेन्ट पिटर्सबर्गको सांसद हुनाले मैले ‘प्राभ्दा’ मार्फत सेन्ट पिटर्सबर्ग आएका सम्पूर्ण सामाजिक जनवादी प्रतिनिधिलाई हाम्रो साङ्गठनिक बनोटबारे छलफल गर्न बोलाएँ । मैले उनीहरूलाई पत्रिकाको सम्पादकीय कार्यालयबाट मेरो ठेगाना लिन आग्रह गरेँ । यो घोषणा खासमा सबै सांसदहरूलाई तुरुन्तै बोल्शेभिक मुखपत्र ‘प्राभ्दा’ को सम्पर्क र प्रभावमा ल्याउनका लागि गरिएको थियो । यसरी सेन्ट पिटर्सबर्गमा सामाजिक जनवादी सांसदको पहिलो बैठक ‘प्राभ्दा’ को सम्पादकीय कार्यालयमा बस्यो । त्यहाँ आएपछि मात्र सांसदहरू संसद्मा प्रवेश गरे । मेन्शेभिक सांसद चखेइद्जे र स्कोबेलेभ पनि ‘प्राभ्दा’ को कार्यालयमा आए । उनीहरूले बोल्शेभिकहरूसँग ‘मैत्रीपूर्ण’ सम्बन्ध स्थापित गर्न खोजे ।
अधिकांश सामाजिक जनवादी सांसदहरू सेन्ट पिटर्सबर्ग आइपुगेपछि तिनले प्रतिनिधित्व गर्ने विभिन्न इलाकाको निर्देशन र जनादेशबारे जानकारी आदानप्रदान गर्न सम्मेलन डाकियो । सुरुसुरुमा हामी तुराइद दरबारमा बैठक बस्थ्यौँ । पछि हामीले आफ्नै ठाउँमा बैठक बस्न उचित ठान्यौँ । सामाजिक जनवादी समूहले ३९ रोजदेस्तभेन्स्कायामा चार–पाँच कोठाको घर भाडामा लियो । यो मुख्यालयलाई चाँडै नै प्रहरीले घेरा हाल्यो । उनीहरू त्यो कोठाका ढोका र झ्यालहरूबाट निरन्तर हाम्रो चियोचर्चो गर्थे ।
दोस्रो र तेस्रो संसद्मा जस्तै चौथो संसद्मा सामाजिक जनवादी समूहले एउटै भावनाले काम थाल्यो । यो समूहमा बोल्शेभिक र मेन्शेभिक दुवै थिए । तर, यी दुई समूहबिच एकाएक चोटिलो सङ्घर्ष सुरु भयो । यसअघि यस्तो हुँदैनथ्यो । तेस्रो संसद् प्रतिक्रियावादीहरू हिंसामा उत्रेको बेला सुरु भएको थियो । त्यसबेला क्रान्तिकारी सङ्घर्ष ओरालो लाग्दै थियो । चौथो संसद्को निर्वाचन भने मजदुर आन्दोलन बिस्तारै उठिरहेको बेला सम्पन्न भएको थियो । अर्को खेपको क्रान्तिकारी लडाइँमा उत्रिरहेको मजदुरवर्गले आफूलाई फटाफट मेन्शेभिकहरूबाट अलग्याउँदै थियो । निर्वाचनको क्रममा मजदुर इलाकाहरूमा बोल्शेभिक र मेन्शेभिकहरूबिच घमासान सङ्घर्ष भएको थियो । त्यसैले संसद्को सामाजिक जनवादी समूहबिच पनि त्यो सङ्घर्ष चर्किनु स्वाभाविक थियो । अपेक्षा गरेअनुसार नै सामाजिक जनवादी समूहको पहिलो बैठकमै बोल्शेभिक र मेन्शेभिकहरूबिच चर्काचर्की भयो ।
संसद्को सुरु हुनुभन्दा ठीक अघि छोटो समयका लागि समूहको बैठक बस्यो । समूहमा बहुमत भएको फाइदा उठाउँदै मेन्शेभिकहरूले समूहको सचिवमण्डलमा बढी सीट लिन खोजे । तर, हामीले झन्डै आधा सीट बोल्शेभिकहरूलाई छोड्न बाध्य पा¥यौँ । मेन्शेभिक चखेइद्जे अध्यक्षमा निर्वाचित भए । बोल्शेभिक मालिनोभ्स्की उपाध्यक्ष बने । अर्का मेन्शेभिक तुल्याकोभ कोषाध्यक्ष बने । सचिवमण्डलका अन्य दुई सदस्य बोल्शेभिक पेत्रोभ्स्की र मेन्शेभिक स्कोबेलेभ थिए ।
सामाजिक जनवादी समूहमा १४ सांसद थिए । तीमध्ये ६ जना बोल्शेभिक र ७ जना मेन्शेभिक थिए । १४ औँ सदस्य वार्सा सहरका सांसद जागेल्लो थिए । उनले मेन्शेभिकहरूलाई समर्थन गरे । बहुमत मेन्शेभिकहरूले सुरुसुरुमा आफूलाई बहुसङ्ख्यक मजदुरवर्गको समर्थन रहेको दाबी गर्न खोजे । तर, निर्वाचनमा उनीहरू नगण्य थिए । त्यसैले उनीहरूको दाबी सही थिएन । निर्वाचनको मत परिणाम हेर्दा बोल्शेभिकहरू नै मजदुरहरूका वास्तविक नेता थिए । त्यसकारण, बोल्शेभिक सांसद नै संसद्मा मजदुरवर्गका सच्चा प्रतिनिधि थिए ।
रुसका सबैभन्दा ठुला औद्योगिक इलाकामा भएका ६ मजदुर क्षेत्रमा बोल्शेभिकहरू विजयी भएका थिए । यसको विपरीत मेन्शेभिक सांसदहरू गैरमजदुर वर्गीय केन्द्रबाट निर्वाचित भएका थिए । उनीहरू मूलतः सीमान्त प्रान्तबाट आएका थिए । ती क्षेत्रको ठुलो हिस्सा निम्न पुँजीवादी थियो । मजदुर जनसङ्ख्याको वितरण हेर्दा मजदुरवर्गले कसलाई मत दिएको थियो भन्ने प्रस्ट थियो । मजदुरका ६ चुनावी इलाकाका कलकारखाना र मिलहरूमा १० लाख ८ हजार मजदुर थिए । तर, मेन्शेभिकहरू विजयी भएका ८ चुनावी इलाकामा जम्मा २ लाख १४ हजार मजदुर थिए । बाकुको निर्वाचन क्षेत्रलाई पनि जोड्दा जम्मा मजदुर सङ्ख्या २ लाख ४६ हजार हुन आउँथ्यो । (बाकुमा धेरै मजदुरलाई मताधिकारबाट वञ्चित गरिएको थियो ।) यी तथ्याङ्कबाट के स्पष्ट हुन्छ भने बोल्शेभिकहरूले मेन्शेभिकको दाँजोमा पाँच गुणा मजदुर भोट पाएका थिए । मजदुर वर्गको प्रतिनिधित्व घटाउने गरी निर्वाचन प्रणाली तय भएको हुँदा सामाजिक जनवादी समूहमा शक्तिको यस्तो असन्तुलन आएको थियो ।
जनताबिच मुख्य प्रभाव बोल्शेभिकहरूकै थियो । मजदुरहरूको निर्वाचनमण्डलले अघिल्ला संसद्मा भन्दा यसपालि बढी सांसद निर्वाचित गरेको तथ्यले पनि यही कुरा साबित गथ्र्यो । दोस्रो संसद्मा मजदुर क्षेत्रबाट १२ मेन्शेभिक र ११ बोल्शेभिकहरू निर्वाचित भएका थिए । तेस्रो संसदमा मेन्शेभिक र बोल्शेभिक सांसद बराबरीमा थिए । चौथो संसद्मा मजदुर क्षेत्रबाट ६ सांसद मात्र निर्वाचित भए । तर, ती सबै बोल्शेभिक थिए । दोस्रो संसद्को निर्वाचन हुँदा रुसी सामाजिक जनवादी मजदुर पार्टीको लन्डन महाधिवेशन चलिरहेको थियो । त्यो बेला बहुमत पार्टी सदस्य बोल्शेभिक थिए । चौथो संसद्को बेला कम्तीमा पनि तीनचौथाइ क्रान्तिकारी मजदुरहरूको समर्थन बोल्शेभिकहरूलाई आयो ।
सामाजिक जनवादी समूहको बनोट पार्टीको बनोटसँग मिलेन । यो संयोग मात्र थिएन । संसद्वादी मजदुर पार्टीहरूको अवसरवादी चरित्र संसारका सबै पुँजीवादी देशमा हेर्न पाइन्छ । एक त यस्तो किन पनि हुन्छ भने पुँजीवादी शासनमा सबैभन्दा प्रगतिशील, क्रान्तिकारी मजदुरहरूको मताधिकारलाई सीमित पार्ने गरी निर्वाचन प्रणालीलाई मोडिन्छ । दोस्रो, पुँजीवादी शासनमा समाजवादी पार्टीहरूको गैरसर्वहारा तप्काले संसदीय गतिविधिमा बडो रुचि देखाउँछ । यो तप्कामा निम्न पुँजीपति, सरकारी जागिरे र बुद्धिजीवीहरू पर्छन् ।
सामाजिक जनवादी समूहको बोल्शेभिक खेमामा मजदुरहरू मात्र थिए । उनीहरू सिधै कलकारखाना र ज्यासलहरूबाट निर्वाचित भएर संसद्मा आएका थिए । यस्तोमा सात मेन्शेभिक सांसदमध्ये तीनजना बुद्धिजीवी थिए । चखेइद्जे पत्रकार थिए, स्कोबेलेभ इन्जिनियर थिए र चखेनकेली वकिल थिए । यी तीनजना ककेसस क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्ला संसद्हरूमा पनि त्यहाँबाट मेन्शेभिक सांसद निर्वाचित हुन्थे । ककेसस क्षेत्रमा मेन्शेभिकहरूले निरन्तर निर्वाचित हुनुको खास कारण जारशाही सरकारको नीति थियो । जारशाही सरकार त्यहाँका रैथाने जनतालाई रुसीकरण गर्न चाहन्थ्यो । जवाफमा ती जनता मेन्शेभिकहरूलाई जिताउँथे । यसबाट पनि मेन्शेभिकहरू निम्न पुँजीवादी मतमा निर्भर थिए भन्ने पुष्टि हुन्छ । मेन्शेभिकका चार मजदुर सांसद पनि सीमान्त प्रान्तहरूबाट निर्वाचित भएका थिए । बुर्यानोभ तुराइद गुबेर्निया (क्रिमिया) बाट, तुल्याकोभ दोन क्षेत्रबाट, खाउस्तोभ उफा गुबेर्नियाबाट, मानकोभ इर्कुत्स्क गुबेर्नियाबाट निर्वाचित भएका थिए । ती क्षेत्रका मतदातालाई राजनीतिक रूपमा उति चासो थिएन । उनीहरू त जारशाही सरकारको साम्राज्यवादी नीतिविरुद्ध राष्ट्रवादी आन्दोलनबाट प्रभावित थिए । मजदुर मेन्शेभिकहरू निर्वाचित हुनुमा तिनको यही भावनाले काम गरेको थियो ।
Leave a Reply