भर्खरै :

‘हिन्द–प्रशान्त रक्षा प्रमुख सहकार्य परिषद्’ को भ्रम

  • कार्तिक २३, २०८२
  • सु यास्वान
  • विचार
‘हिन्द–प्रशान्त रक्षा प्रमुख सहकार्य परिषद्’ को भ्रम

हालसालै फिलिपिन्सको मिडियामा चार देशको एउटा बैठकबारे बाक्लै चर्चा भयो । ‘अत्यन्त कर्मकाण्डी’ भए पनि त्यो बैठकले सुरक्षाको भ्रम भने छ¥यो ।
मलेसियाको क्वालालम्पुरमा १२ औँ रक्षामन्त्रीस्तरीय आसियान बैठक बस्यो । कार्यक्रमबिच समय मिलाएर अस्ट्रेलिया, जापान, फिलिपिन्स र संरा अमेरिकाका रक्षामन्त्री नोभेम्बर १ को दिन अलग्गै बैठक बसे । बैठकमा अस्ट्रेलियाका रिचर्ड मार्लेस, जापानका कोइजुमी शिन्जिरो, फिलिपिन्सका गिल्बर्टो टिउडोरो र अमेरिकाका पिट हेगसेथ थिए । अस्ट्रेलिया सरकारले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार चार देशले केही गम्भीर चासोका विषयमा कुराकानी गरे । पूर्वी र दक्षिणी चीन सागरमा चीनले अस्थिरता ल्याउने गतिविधि गरेकोमा चारै रक्षामन्त्रीले गम्भीर चासो व्यक्त गरे । अर्को, उनीहरूले ‘अस्ट्रेलिया–जापान–फिलिपिन्स–अमेरिका हिन्द–प्रशान्त सुरक्षाप्रमुख सहकार्य परिषद् गठन गर्ने खाका’ मा सहमति व्यक्त गरे ।
यो सानो समूह दक्षिण चीन सागरको मुद्दालाई थप गिजोल्ने र त्यही नाममा गुटबन्दी गर्ने खेलको सिलसिला हो ।
प्रस्तावित ‘हिन्द–प्रशान्त रक्षाप्रमुख सहकार्य परिषद्’ नयाँ बोतलमा पुरानै रक्सी हो । फिलिपिनी पत्रिका ‘सोधखोज’ ले एक विज्ञको भनाइ राख्दै लेख्छ, “यो कूटनीतिक साझेदारी ‘क्वाड’ जस्तै छ ।” यसबाट सो समूहको गुह्य खुल्छ । अर्को भाषामा भन्नुपर्दा यो ‘परिषद्’ क्षेत्रीय सुरक्षाको आवरणमा देशविशेषलाई तारो बनाउन बुनिएको ‘लघुपक्षीय’ संयन्त्र हो । यसमा सुरक्षा सुनिश्चित गर्ने कुरा गौण छ भने आफ्नो उपस्थिति देखाउने कुरा बढी छ ।
दक्षिण चीन सागरको विषयमा केन्द्रित एक चिनियाँ अनुसन्धान संस्थाका निर्देशक दिङ दुओले भने, “यो परिषद् अमेरिकाको ‘हिन्द–प्रशान्त रणनीति’ र वर्तमान फिलिपिनी विदेशनीतिको कुम–जुधाइ हो ।” उनले भने, “संस्थागत सहकार्यका माध्यमबाट यसले फिलिपिन्सलाई रणनीतिक रूपमै अमेरिका र उसका मित्रहरूसँग बाँध्नेछ । फिलिपिन्स–अमेरिका सम्बन्ध अब दुईपक्षीय सम्बन्धबाट अझ लक्ष्यदार लघुपक्षीय सम्बन्धमा फेरिएको छ ।”
हिजोआज फिलिपिन्सले दक्षिण चीन सागरमा सक्रियता बढाएको छ । उसले चीनको तटवर्ती सुरक्षागार्डका जहाजलाई उक्साउँदै छ । यसको लागि फिलिपिन्सले बेलाबेला बाह्य शक्ति ल्याएर ‘संयुक्त गस्ती’ गर्दै छ । यसपालि उसले अमेरिका, जापान र अस्ट्रेलियासँग मिलेर अर्को चर्तिकला देखायो । फिलिपिन्सले आफुलाई ठुलो दबाबमुनि बसिरहेको सानो देशको रूपमा चित्रण गर्छ र आफ्नो छलछामलाई बलियो पार्न विदेशी धापको प्रयोग गर्छ ।
अन्य तीन सहभागीलाई गहिरिएर नियाल्ने हो भने तिनीहरूलाई मित्र देश मात्र भन्न मिल्दैन । संरा अमेरिकाले ‘हिन्द–प्रशान्त’ को ओतमुनि अरुका क्षेत्रीय मामिलामा रणनीतिक पञ्जा गाड्न र नियन्त्रण कायम गर्न खोज्दै छ । जापान ‘प्रतिरक्षा सहकार्य’ को खोल ओढी सैन्यकरणलाई सामान्य देखाउने बाटोमा जाँदै छ । अस्ट्रेलियाले आफ्नो मौलिकताको बखान गर्दै वासिङटनको चीन नीतिको पछि लाग्दै छ । यी देशहरू दक्षिण चीन सागरबाट धेरै टाढा छन् । तैपनि, त्यहाँ आफ्नो बोली बिकाउन खोज्दै छन् । तिनीहरूले सुरक्षाको माला जप्दै छन् । तर, त्यो ओठे चिन्ता मात्र हो । फिलिपिन्सले एकजना ‘रक्षक’ भेटाएँ भन्ठानेको होला । खासमा उसले ‘विपत्ति लाउनेहरू’ लाई निम्तो दिएको पनि हुनसक्छ ।
दिङले भने, “क्वाड र औकसजस्ता पुराना गठबन्धनको अनुभव हेर्दा यस्ता साना समूहको राजनीतिको प्रभाव सीमित हुन्छ भने उद्देश्य शङ्कास्पद हुन्छ । तिनको मुख्य समस्या तिनको सामूहिक–मुठभेडको तर्कमा छ । यस्तो तर्कले क्षेत्रीय असुरक्षा घटाउने भन्दा पैदा गर्ने र चर्काउने गर्छ ।” अमेरिका, भारत र जापानबिच व्यापार, भन्सार कर र रणनीतिको विषयलाई लिएर आएको मनमुटाव हेर्दा अहिले क्वाडभित्र छिद्र परिसकेको देखिन्छ । क्वाडको भविष्यमा यसले असर गर्नेछ ।
क्वाड नै घिटीघिटी गर्दै छ भने ‘क्वाड–सरी’ अन्य प्रयोगको वास्तविक परिणाम के होला ?
तथापि, चार देशले बनाएको यो गिरोहले यो भेगमा तनाव ल्याउने कुरामा शङ्का गर्नुपर्दैन । बैठकमा यी चार देशले ‘बालिकातान २०२६’ नामक संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरियो । यो अभ्यासमा यसअघि जापान र अस्ट्रेलिया पर्यवेक्षक रहन्थे । यसपालि उनीहरू पूर्ण सहभागी बन्नेछन् । दिङ भन्छन्, “यसले तिनीहरूको सैन्य सहकार्य सोचबाट यथार्थमा परिणत भएको देखाउँछ । तर, यसले फिलिपिन्सका केही राजनीतिक शक्तिलाई गलत सङ्केत दिन सक्छ, समुद्री छाती–तन्काइलाई बढावा दिन सक्छ र मुठभेडको जोखिम बढाउन सक्छ ।”
यस अर्थमा ‘सुरक्षा’ शब्द क्षेत्रीय सैन्यकरण लुकाउने सजिलो पर्दा बनेको छ । यसको विपरीत चीनले विवाद समाधान गर्न र दक्षिण चीन सागरमा शान्ति सुव्यवस्था कायम गर्न संवाद र सरसल्लाहमा जोड दिँदै आएको छ । यो नीति सहकार्य र आपसी सम्मानमा आधारित छ ।
तथाकथित ‘अस्ट्रेलिया–जापान–फिलिपिन्स–अमेरिका हिन्द–प्रशान्त रक्षाप्रमुख सहकार्य परिषद्’ को चकचकले दक्षिण चीन सागरको पानी अलिबेर चल्मलाउन सक्छ । तर, दक्षिण चीन सागरको भविष्य ‘साना समूह’ ले नभई आपसी सहकार्यले मात्र सुनिश्चित गर्न सक्छ । यो भेगलाई अहिले केही चाहिएको छ भने त्यो संवाद, विश्वास र साझा विकास हो; केही स्वनियुक्त खेलाडीहरूको गुट चाहिएको होइन ।
(‘ग्लोबल टाइम्स’ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *