भर्खरै :

युवाहरूले आफ्नै देशमा बसी देशको विकासमा योगदान गर्नु जरूरी

युवाहरूले आफ्नै देशमा बसी देशको विकासमा योगदान गर्नु जरूरी

भक्तपुर, २३ कार्तिक । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित छिकोङ समूह भनपा १० दोस्रो वार्षिक वर्षको अवसरमा शनिबार सम्पन्न भयो ।
भक्तपुर सुडालस्थित ठुली ब्रह्मायणीमा भएको उक्त कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले भनपाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रलाई अक्षरशः लागु गरी कार्यान्वयन गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले गरिब र जेहेनदार विद्यार्थीलाई शैक्षिक ऋणका साथै छात्रवृत्ति दिई उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहित गरिरहेको उहाँले बताउनुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “दक्ष जनशक्ति बिदेसियपछि देश झन्झन् पछाडि पर्नेछ । युवाहरूले आफ्नै देशमा बसी देशको विकासमा योगदान गर्नु जरूरी छ । भनपाले स्वरोजगारलाई प्रवद्र्धन गर्न विभिन्न सीपमूलक तालिमहरू दिइरहेको छ ।”
नयाँ पुस्तालाई भक्तपुर नगरको इतिहास, भूगोल, संस्कृति र सम्पदाबारे जानकारी दिन नगरभित्रका ९२ वटा विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गरिसकेको उहाँले बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भक्तपुरको सम्पदा संरक्षणलगायत शिक्षा, स्वास्थ्य र सरसफाइमा उदाहरणीय नगर बन्न सक्नुमा नेमकिपाका अग्रजहरूको महत्वपूर्ण योगदान रहेको छ भन्नुभयो ।
नगरको फोहरलाई सही व्यवस्थापन गर्न नगरवासीहरूले उचित ध्यान दिन जरूरी रहेको चर्चा गर्दै उहाँले कुहिने र नकुहिने फोहोर छुट्याई मात्र विसर्जन गर्न नगरवासीहरूमा अनुरोध गर्नुभयो ।
छिकोङ प्रशिक्षक मुना बासुकलाले छिकोङ व्यायाम श्वास प्रश्वासबाट गरिने भएकोले यसले स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य कृष्णनारायण दुमरू, सहायक प्रशिक्षक कमल कोजु, रोशना ब्यान्जु, तीर्थलक्ष्मी मानन्धर, किसोरकुमार श्रेष्ठ र केशरी कोजुलगायतले छिकोङ खेलको महत्व र अनुभवबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *