भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ५

  • कार्तिक २३, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – ५

२० भन्दा बढी स्थानमा प्रतिनिधिको लागि पुरक निर्वाचनको मिति तय भयो – अक्टोबर १४ को आइतबार । ‘प्राभ्दा’ र हाम्रो पार्टी सङ्गठनले पहिलो निर्वाचनमा जस्तै जोडतोडले प्रचारप्रसारको काम अघि बढायो । मजदुरहरूलाई मताधिकारबाट वञ्चित गरेकोमा निर्वाचनकै बेला पनि ठुलो आन्दोलन भइरह्यो । कलकारखाना र मिलमा हुने बैठक र भेलाहरूमा मजदुरहरूबिच क्रान्तिकारी भावना बढिरहेको र निर्वाचन अभियानमा तिनको चासो अकासिएको बुझियो ।
धेरै स्थानमा त ‘अयोग्य फर्मान’ पाएका उम्मेदवारहरू नै मनोनीत भए । यसपालि उनीहरूलाई बोल्शेभिकहरूले तयार गरेको निर्देशपत्र (जनादेश) दिइएको थियो । लगभग सबैतिर यिनै निर्देशपत्र अङ्गीकार गरिएको थियो । मेन्शेभिकहरू विजयी भएका स्थानमा समेत बोल्शेभिक निर्देशपत्र पालन गरिएको थियो । सेम्यानिन्कोभ्स्की कारखानामा एक बोल्शेभिक र तीन मेन्शेभिकहरू विजयी भए । त्यहाँ मेन्शेभिकहरूले सङ्गठनको अधिकार लगायत विषय समेटेर बोल्शेभिक निर्देशपत्र तोडमोड गर्न खोजेका थिए । तर, त्यो संशोधनलाई बहुमतले अस्वीकार ग¥यो र हाम्रो निर्देशपत्रलाई जस्ताको तस्तै अँगीकार गरियो ।
बोल्शेभिक निर्देशपत्रमा हजारौँ मजदुरहरूको हस्ताक्षर थियो । तिनलाई पहिले नै प्रतिनिधि निर्वाचन भएका कारखाना र मिलमा समेत अङ्गीकार गरियो ।
पुरक प्रतिनिधि निर्वाचित हुनेबित्तिकै निर्वाचनमण्डलको भेला गर्ने मिति तय भयो । मजदुरहरूको निर्वाचनमण्डलले ६ जना निर्वाचक तय गर्ने भयो । यसपालि भेला अगावै विभिन्न घटकका उम्मेदवारहरूको संयुक्त सूचीमा सहमति खोज्नका लागि बैठक बस्ने समय नै थिएन । सामाजिक जनवादीहरूका दुई खेमाबिचको वादविवाद अघिको जस्तै हिंसात्मक थियो । मेन्शेभिक र बोल्शेभिकहरू आफ्ना पूर्व अडानबाट टसको मस भएनन् । त्यसैले सम्झौता गर्ने ठाउँ नै रहेन ।
दोस्रो निर्वाचनमण्डलको भेला अक्टोबर १७ मा थियो । पहिलोको भन्दा दोब्बर प्रतिनिधिहरूको उपस्थिति थियो । ८० भन्दा बढी प्रतिनिधि थिए । ठुला हडताल र विरोध प्रदर्शनले (पिटर्सबर्गको उपमेयर) देमकिन पनि अलि ठाउँमा आएको थियो । उसले निर्वाचनमण्डलको आधिकारिक अध्यक्षता ग्रहण ग¥यो । यसपालि भेलामा ४ घण्टाभन्दा लामो छलफल भयो । छलफलमा मजदुरवर्गले गर्नुपर्ने सबै क्रान्तिकारी कार्यको विश्लेषण र खण्डन मण्डन भयो । बोल्शेभिक र मेन्शेभिक विध्वंसकारीहरूबिच चर्को तर्कवितर्क भयो ।
प्रतिनिधिहरूले यो अवसरलाई राजनीतिक विषय उठान गर्ने निर्णय गरे । उनीहरूले राजनीतिका जल्दाबल्दा समस्याबारे प्रस्तावहरू पारित गर्ने प्रस्ताव राखे । त्यसबेला बाल्कन युद्ध चलिरहेको थियो । त्यो युद्धविरुद्ध प्रस्ताव पारित गरियो । दोस्रो संसद्का सदस्यहरूलाई निर्वासनमा पठाइएको थियो । तिनको मुद्दा पुनरावलोकन गर्नुपर्ने विषय भविष्यका सांसदहरूले उठाउनुपर्ने प्रस्ताव पारित भयो । साथै, कालासागरका जहाजीहरूलाई दिइएको सजायविरुद्ध प्रस्ताव पारित भयो । प्रतिनिधिहरूले एउटा अपिल पनि जारी गरे । पिटर्सबर्गको दोस्रो क्षेत्रमा हुने निर्वाचनमा सामाजिक जनवादी पार्टीका उम्मेदवारहरूलाई साथ दिन अपिल गरे । सामाजिक जनवादी पार्टीबारे भनियो – “जनताको हितको रक्षा गर्ने एकमात्र जुझारु, क्रान्तिकारी र निडर रक्षक । राजनीतिक दमनविरुद्ध सबै जातिको पूर्ण स्वतन्त्रता र हकअधिकारको निम्ति लड्ने एक मात्र जोदाहा ।” भेलाको अन्त्यतिर सेन्ट पिटर्सबर्गका मजदुरहरूले आफ्ना प्रतिनिधिलाई दिएको निर्देशपत्र (जनादेश) लाई सर्वसम्मतिले पारित ग¥यो । यसको प्रस्ताव बोल्शेभिकहरूले राखेका थिए । हाम्रो पार्टीको केन्द्रीय समितिले त्यस प्रस्तावको मस्यौदा तयार पारेको थियो । (खासमा त्यसका मस्यौदाकार कामरेड स्तालिन हुनुहुन्थ्यो ।) माथि भनेझैँ प्रतिनिधिहरू छनोट गर्ने बेलादेखि नै यी निर्देशपत्रको पालन भइरहेको थियो । यी निर्देशपत्रमा दुई कुरामा जोड दिइएको थियो । पहिलो, संसद्लाई क्रान्तिकारी विचार प्रचारप्रसार गर्ने माध्यमको रूपमा उपयोग गर्नु निकै महत्वपूर्ण छ । दोस्रो, सेन्ट पिटर्सबर्गबाट निर्वाचित हुने सांसद र सामाजिक जनवादी पार्टीले मजदुरवर्गका ‘सग्ला’ मागहरूको पक्षमा सङ्घर्ष गर्नुपर्छ ।
कुनै थपघट नगरी उपस्थित सबै प्रतिनिधिले अनुमोदन गरेको निर्देशपत्र यसप्रकार थियो ः
“सन् १९०५ को आन्दोलनमा रुसी जनताले अघि सारेका मागहरू पूरा भएका छैनन् ।
प्रतिक्रियावादी र ‘सुधारिएको सत्ता’ भन्नेहरूको बढ्दो रजगजबिच ती माग ओझेल परेका छन् । यस्तो बेला ती माग पूरा गर्नुपर्ने खाँचो झन् बढेको छ ।
मजदुरहरूलाई हडताल गर्ने अधिकारबाट वञ्चित गरिएको मात्र छैन । हडताल गरे कामबाट बेदखल गरिने सम्भावनालाई पनि नकार्न सकिन्न । तिनलाई सङ्गठन खोल्ने र भेला हुने अधिकारबाट वञ्चित गरिएको मात्र छैन । त्यसो गरे पक्राउ गरिने सम्भावनालाई पनि नकार्न सकिन्न । तिनलाई संसद् निर्वाचित गर्ने अधिकार समेत छैन । निर्वाचनमा भाग लिए तिनलाई ‘अयोग्य फर्मान’ दिने वा निर्वासनमा पठाउने पनि हुनसक्छ । जस्तो, केही दिनअघि पुतिलोभ कारखाना र नेभ्स्की जहाज–निर्माण उद्योगका मजदुरहरूलाई त्यसरी नै ‘अयोग्य’ घोषित गरियो ।
यो करोडौँ किसानहरूलाई भोकभोकै राख्ने र तिनलाई जमिनदार एवम् ग्रामीण प्रहरी हाकिमको दयामा अलपत्र छोड्ने प्रसङ्गभन्दा अलि फरक छ ।
यी घटनाक्रमले सन् १९०५ का मागहरू तत्काल पूरा गर्नुपर्ने स्थिति छ । रुसको आर्थिक अवस्था हेर्दा औद्योगिक सङ्कट नजिकिँदै गइरहेको सङ्केत पाइन्छ । बहुसङ्ख्यक किसानहरूको कंगालीकरण बढ्दो छ । यसबाट पनि सन् १९०५ को लक्ष्य अझ टड्कारो बन्छ ।
यसकारण, रुस अहिले जनआन्दोलनको सङ्घारमा छ । सम्भवतः सन् १९०५ को भन्दा ठुलो आन्दोलन हुनेछ । लेना हत्याकाण्डले यही भन्छ, ‘अयोग्य फर्मान’ विरुद्ध भएका हडतालहरूले यही कुरा प्रमाणित गर्छन् ।
सन् १९०५ मा जस्तै रुसी सर्वहारा वा भनौँ रुसी समाजको सबैभन्दा उन्नत वर्गले फेरि एकपल्ट आन्दोलनको अग्रदस्ताको भूमिका खेल्नेछ ।
सदियौँदेखि पिरोलिएका किसानहरू मात्र रुसी सर्वहारावर्गका सच्चा साथी बन्न सक्छन् । किनभने, रुसी किसानहरू रुसलाई सामन्तवादबाट मुक्त गर्न लालायित छन् ।
सामन्ती व्यवस्था र उदार पुँजीवादविरुद्ध दुई मोर्चामा लडाइँ लड्नुपर्छ । किनभने, यी दुवैले अहिले पुरानो सत्तासँग काँध जोड्न खोज्दै छन् । जनताको अबको सङ्घर्ष यतातर्फ उन्मुख हुनुपर्छ ।
तर, जनआन्दोलनको सम्मानित नेतृत्व लिनका लागि मजदुरवर्ग दुई कुराले सज्जित हुनुपर्छ । मजदुरवर्ग आफ्ना वर्गीय हकहितबारे सचेत बन्नुपर्छ र उसले व्यापक सङ्गठनको निर्माण गर्नुपर्छ ।
संसद्को बैठक अहिलेलाई बहुमत सर्वहारा जनतालाई सचेत र सङ्गठित पार्ने एक उत्तम माध्यम हो ।
यसैकारण, हामी संसद्मा आफ्ना सांसद पठाउँदै छौँ । हामी उहाँ र संसद्मा जाने समग्र सामाजिक जनवादी पार्टीको टोलीलाई जिम्मेवारी दिन्छौँ । संसद्मा चल्ने कानुनी खेलमा नअल्झी त्यो टोलीले संसद्को मञ्चबाट हाम्रा मागलाई व्यापक जनतामाझ पु¥याउनुपर्छ ।
चौथो संसद्को सामाजिक जनवादी टोली र विशेषगरी हाम्रा सांसदलाई हामी आह्वान गर्छौँ – कालो संसद्को शत्रु शिविरभित्र श्रमजीवीवर्गको झन्डा उच्च उठाउनुहोला ।
हामी संसद् भवनबाट सामाजिक जनवादी टोलीका सदस्यहरूले जोडजोडले सर्वहारा जनताको अन्तिम आजु उद्घोष गरेको सुन्न चाहन्छौँ । सन् १९०५ का एक–एक माग नछुटाई र नबिराई गुन्जाएको सुन्न चाहन्छौँ । रुसी मजदुरवर्गलाई व्यापक जनआन्दोलनको अगुवाको रूपमा घोषणा गरेको सुन्न चाहन्छौँ । उहाँहरूले ‘जनमुक्ति’ को वचन दिएर विश्वासघात गर्ने उदार पुँजीवादीहरूको भन्डाफोर गरेको सुन्न चाहन्छौँ । (टिपोट : जनतालाई झुक्याउन क्याडेटहरू आफूलाई ‘जनमुक्ति पार्टी’ भन्थे । वास्तवमा, सन् १९०५ मा खुलेको क्याडेट एक पुँजीवादी पार्टी थियो । क्याडेटको पूरा रूप ‘संवैधानिक लोकतान्त्रिक पार्टी’ थियो ।)
हामी चौथो संसद्मा जाने सामाजिक जनवादी टोलीलाई आह्वान गर्छौँ – यो टोलीले माथिका नाराको आधारमा एकताबद्ध भई अनुशासनमा रही काम गरोस् ।
यो टोलीले व्यापक जनतासँगको निरन्तर सम्पर्कबाट आफ्नो मनोबल बढाओस् ।
यो टोली रुसी श्रमजीवीवर्गको राजनीतिक सङ्गठनसँग काँधमा काँध मिलाएर अघि लम्कोस् ।”
बोल्शेभिक निर्देशपत्र सर्वसम्मतिले पारित भए तापनि निर्वाचनमा बोल्शेभिक र मेन्शेभिकहरूका दुई भिन्दाभिन्दै उम्मेदवार–सूची प्रस्तुत भयो । अघिल्लो निर्वाचनमण्डलमा जस्तै गोप्य मतदान हुने भयो । पाँच उम्मेदवारले मात्र चोखो बहुमत पाए । बोल्शेभिकहरूको तर्फबाट म र कोसत्युकोभले बहुमत पायौँ भने मेन्शेभिकहरूबाट गुदकोभ, पेत्रोभ र सुदाकोभले बहुमत पाए । अर्को मतदान भोलिपल्ट भयो । दुई बोल्शेभिक इग्नात्येभ र जाइत्स्तेभ शीर्ष स्थानमा रहे । चिठ्ठा तानेर इग्नात्येभलाई निर्वाचक चुनियो ।
यसरी दोस्रो चरणको निर्वाचनमा बोल्शेभिक र मेन्शेभिकहरू बराबरीमा रहे । दुवैले तीन–तीन निर्वाचक पाए । पार्टीको समर्थन पाउने संसद्को उम्मेदवारलाई छोडी बाँकी सबै निर्वाचक राजीनामा दिएर बहुमतको अधीनमा आउनुपर्छ भनी पार्टीले यसअघि नै सर्त राखेको थियो ।
निर्वाचनको परिणामबारे निष्कर्ष निकाल्दै कामरेड स्तालिनले ‘प्राभ्दा’ मा लेख लेख्नुभयो । उहाँले बोल्शेभिक निर्देशपत्रलाई अनुमोदन गरिएको हुनाले संसद्मा को जानुपर्छ भनी प्रस्ट भइसकेको तथ्यमा जोड दिनुभयो :
“मेन्शेभिकहरूले मुद्दालाई जति लुकाए पनि प्रतिनिधिहरूको इच्छा सबैभन्दा महत्वपूर्ण बुँदा अथवा निर्देशपत्रको विषयमा एकदम प्रस्ट थियो । सांसदलाई ‘प्राभ्दा’ ले दिएको निर्देशपत्रलाई बहुमत प्रतिनिधिले अङ्गीकार गरे । निश्चय नै निर्देशपत्र मेन्शेभिकहरूको विचारभन्दा आधारभूत रूपमै फरक थियो । खासमा त्यो पूर्णतः मेन्शेभिकविरोधी थियो । अब प्रश्न उठ्छ – विध्वंसकारीहरूले अब आफ्नै उम्मेदवारलाई सांसद मनोनीत गर्ने दुस्साहस गर्छन् भने निर्देशपत्रलाई के गर्ने ? किनभने, सम्पूर्ण प्रतिनिधिहरूले भावी सांसद त्यस निर्देशपत्रको दायराभित्र बस्नुपर्ने निर्णय गरेका थिए ।”
तैपनि, प्रतिनिधिहरूको प्रस्ट आदेशलाई विध्वंसकारीहरूले उति महत्व दिएनन् । परिणाम जे भए पनि तिनीहरूले आफ्नै उम्मेदवारलाई मनोनीत गर्न चाहे र त्यसको लागि उनीहरू जून हदसम्म पनि जाने भए ।
–क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *