सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२

भक्तपुर, २३ कार्तिक । जेन्युइन स्कूलको ३० औँ वार्षिक उत्सवको अवसरमा ‘सानो हात ठुलो ताल : मादलमा भविष्यको चाल’ भन्ने नारासहित जिल्लास्तरीय एकल मादल प्रतियोगिता आइतबार भक्तपुरको ऐतिहासिक दत्तात्रयमा सम्पन्न भयो ।
कार्यक्रममा जिल्लाका विभिन्न २१ विद्यालयका विद्यार्थीहरूले चार मिनेटको समयसीमामा मादलका विभिन्न बोल झल्किने प्रस्तुतिहरू दिएका थिए ।
उक्त प्रतियोगिताका प्रमुख अतिथि एवम् सांस्कृतिक वाद्यवादनका अग्रज गुरु पञ्चलाल लाछिमस्युले धाँ र धिमे बजाउन सक्षम कलाकारहरू स्थानीय स्तरमा धेरै भइसकेकाले मादल जस्तै अन्य परम्परागत बाजा वा वाद्यवादनको प्रवद्र्धन युवाहरूलाई हस्तान्तरण गरेर जानुपर्ने बताउनुभयो ।
उहाँले परिवर्तित समयअनुसार नयाँ पुस्तालाई अभिरुचि जगाउन विद्यालयले यस्तै कार्यक्रमहरू राखेर निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पढाइ सँगसँगै उच्च संस्कारसहितको शिक्षा दिन विद्यालय र घर–परिवारबाट समेत जोड दिनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगर मूर्त र अमूर्त कला र संस्कृतिमा धनी भएजस्तै सभ्य जीवन र सुसंस्कार पनि नयाँ पुस्तालाई सिकाउनुपर्ने बताउँदै जेन्युइन स्कूलको यस कार्यक्रम सराहनीय छ भन्नुभयो ।
कार्यक्रममा निर्णायकमण्डलमा रहनुभएका वरिष्ठ वाद्यगुरु भरत बुढाथोकी, सांस्कृतिक प्रतिष्ठानका वाद्यगुरु नरेश प्रजापति र ‘धिमे मैँचा’ इन्दिरा लाछिमस्युले मादल देशभरिको गौरव र हाम्रो चिनारी भएको बताउनुभयो ।
हरेक वडा वडामा सङ्गीत कलासम्बन्धी कक्षा र यसको महत्वको बारेमा चर्चा परिचर्चाका कार्यहरू थालनी हुनुपर्ने उहाँहरूको भनाइ थियो ।
विद्यालयका निमित्त प्रिन्सिपल राजन धौभडेलले शिक्षालाई संस्कारसँग जोड्दै विद्यालयस्तरबाटै कला, संस्कृति, सम्पदाको सम्मान र प्रवद्र्धन गर्दै बालबालिकाहरूमा अन्तर्निहित सिर्जनालाई उजागर गर्न यो प्रतियोगितात्मक उद्देश्य रहेको बताउनुभयो । प्रतियोगिताका नियमबारे विद्यालयका सङ्गीत शिक्षक पुरुषोत्तम सुवालले कार्यक्रममा प्रकाश पार्नुभयो ।
कार्यक्रमको अन्तमा निर्णायकमण्डलका तर्फबाट वरिष्ठ वाद्यवादक नरेश प्रजापतिले प्रतियोगितमा पहिलो स्थान लिशा स्कूलका आरेस लाखे, दोस्रो स्थान डेमोस स्कूलका संश्लेषण तामाङ, तेस्रो स्थान वागीश्वरी मा.वि.का सुप्रिच बासी र सान्त्वना बाल विकास स्कूलका प्रभास खर्बुजाले हासिल गरेको घोषणा गर्नुभयो ।
कार्यक्रममा जेन्युइन स्कूलका विद्यार्थीहरूको मौलिक परम्परागत महाकाली नाच विभिन्न विधाका नृत्य र सङ्गीतको प्रस्तुति रहेको थियो । विद्यालयका शिक्षिका द्वय रमा थापा र निकिता साखकर्मीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा गायक राजकुमार मानन्धरले भावुक नेवारी गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply