भर्खरै :

सब से बडा रोग, क्या कहते है लोग

सब से बडा रोग, क्या कहते है लोग

केही वर्षअघि तराईबाट म एयरपोर्टमा आउँदा हातमा सानो झोला मात्रै थियो । ट्याक्सीमा जाँदा धेरै पैसा पर्ने भएकोले आधा घण्टा नै हो, ५० रुपैयाँमै घर पुगिन्छ भनेर बस चढें । घरनजिकको चोकमा आइसकेपछि ओर्लेर अर्को बस चढ्न खोज्दा त बसको हिलो लुगामा लाग्यो । अलिकता त पानीले पखालेर बसमा चढेँ । घर आएपछि ४ सय मिटर हिँड्नुपर्ने थियो, बाटोमा एक परिचितले सोधे, “कसरी लुगामा हिलो लाग्यो ?” “बसमा चढ्दा” भनेँ । मेरो उत्तर सुनेर उनले भने, “किन माइक्रोबसमा चढेको त ? आफ्नो ‘स्टाटस’ को त ख्याल राख्नुपर्छ ।” उनको तर्कले म छक्क परेँ । माइक्रोबस, बस चढ्दा मेरो स्टाटस खत्तम हुने हो र भन्ने विचार मनमा आयो तर केही बोलिनँ ।
अझ कति जनाले त माइक्रोबस चढ्दा लोभ गरेर ‘ट्याक्सी नचढेको’ पनि भन्छन् । तर त्यसको मलाई मतलबै लाग्दैन । यसका कारण म गन्तव्यमा कहिल्यै कत्ति पनि ढिलो पुगेको छैन । अझ कतिपय ठाउँमा त गाडीमा आउनेहरू भन्दा समयमै पुग्छु । मलाई जरुरत नपरे पनि पैसा किन खर्च गर्नु भन्ने लाग्छ । हो, माइक्रो वा बसमा चढ्दा सहजचाहिँ हुँदैन, कतिचोटि त ठेलमठेल पनि गर्नुपर्छ । खलासीका अपशब्द पनि सहनुपर्छ, बेस्सरी आफूले कसैको खुट्टा कुल्चिइन्छ, कसैले आफ्ना खुट्टामा कुल्चिदिन्छन्, उसलाई ठेल्नुपर्छ । तर, यसैले मेरो ‘स्टाटस’ कम भयो भन्ने लाग्दैन । मलाई चिनेकाले बसमा भलाकुसारी गर्छन्, रोकिएपछि ‘जाऊँ है’ भन्दै हिँड्छन् । तर, किन ‘माइक्रो बस चढेर कम स्टाटस भएकोे’ भन्दैनन् ? जसले मलाई चिन्दैन, उसलाई म जेमा चढे पनि के फरक भयो र ? बस चढ्दा ठेलमठेल गरेको देखे पनि के वास्ता ?
मेरो ‘स्टाटस’ बढाउन भनेर म हिँड्न छाड्दिनँ, हिँडेर जान सकिने ठाउँमा ट्याक्सी चढेर जाँदिनँ । अरूसँग मागेर गहना लाउँदिनँ । त्यसैले मलाई विवाह भोजमा सहभागी हुँदा वा टीभीमा अन्तर्वार्ता दिन जाँदा नयाँ लुगा लगाउनुपर्छ भन्ने तनाव हुँदैन ।
तर ९० वर्षीया आमा÷ठुलीआमासँग हिँड्दा त म कि आफ्नो गाडीको प्रबन्ध गर्छु कि त ट्याक्सीमै जान्छु । उहाँहरूलाई माइक्रोबसमा ठेलमठेल गराउनुहुँदैन । मेरी आमाले दुःखपूर्ण यात्रा गर्नुप¥यो भने त म एक सक्षम छोरी भएर पनि के काम लाग्यो भनेर मेरो स्टाटसमा धक्का लाग्थ्यो होला । म आफू स्वस्थ भएको बेला बस चढ्दा त किन इज्जत कम हुनु !
स्विडेनमा मन्त्री पनि साइकल र बसमा यात्रा गर्छन् भन्ने समाचार सुनिन्छ । तर, हाम्रो समाजमा मोटर र मोबाइलसँग स्टाटस गाँसिएको छ । यो सोचबाट मुक्त हुन गाह्रो हुन्छ । मैले ठीक गरिरहेकी छु, अरूले कुरा काटेर केही फरक पर्दैन भन्ने मानसिकता भए समस्यै हुन्न भन्ने मलाई लाग्छ ।
चाडपर्वका बेला विभिन्न रेडियो र टीभीले मलाई खाना/स्वास्थ्यबारे अन्तर्वार्ता लिन बोलाउँछन् । एकै दिन दुईवटा टीभीमा अन्तर्वार्ता दिँदा भने मेरो लुगा एउटै हुने भयो । अन्तर्वार्ता हेरेका एक जनाले भने, “अन्तर्वार्ता त ठिक्कै थियो । तर दुवै अन्तर्वार्तामा लुगा एउटै थियो, फेरेको भए हुन्थ्यो नि !!” मैले भने, “मलाई टिभीमा हरेकचोटि नयाँ लुगा लगाएर आउने नियम छैन । विचार सुन्न बोलाइन्छ । किन नयाँ लुगा फेर्ने र ?” मेरो कुरा सुनेर ती परिचित त चुप लागे । तर मेरा भतिजाले मलाई माया गरेर दसैंमा नयाँ लुगा ल्याइदिए । उनले ‘डिप्लोम्याटिक’ भाषामा भने, ‘टिभिमा तपाईंले लगाएको लुगा हेर्दा तपाईंलाई कालो लुगा सुहाउँछजस्तो लागेर यो लुगा उपहार दिएको हुँ ।’ मायाले दिएको उपहार पाएर म त दङ्ग पो परेँ । तर, टिभीमा जाँदा बारम्बार नयाँ लुगा लगाउनुपर्छ भन्ने लाग्दैन । मैले भतिजालाई धन्यवाद दिँदै मनमनै भनेँ ।
जाडोका बेला विवाह भोजमा जाँदा नयाँ लुगा लगाएर कामेको मान्छे देखेकी छु । अनि लाग्छ– सुन्दर लुगा देखाउन जाडोले कामेपछि के रमाइलो भयो र ? कतिचोटि विवाहमा साधारण पहिरन लगाएर जाँदा दिदी कति जनाको भनाइ पनि खाएकी छु, “विवाहमा जाँदा पनि सुतीको लुगा लगाउने ? हेर, सुनको गहना पनि नलगाएकी, आफ्नो स्टाटसको त ख्याल गर्नुपर्छ । के भन्लान् मान्छेले ?” मेरो उत्तर रेकर्ड गरेझैँ हुन्छ, “मलाई विवाहमा बोलाएको हो, मेरो लुगा÷गहनालाई होइन ।”
मेरो स्टाटस बढाउन भनेर म हिँड्न छाड्दिनँ, हिँडेर जान सकिने ठाउँमा ट्याक्सी चढेर जाँदिनँ । अरूसँग मागेर गहना लाउँदिनँ। यसले मलाई धेरै सजिलो भएको छ ।
तर, सबैको सोच यस्तो नहुन सक्छ । जसलाई जे सजिलो लाग्छ, त्यही गर्ने हो ।
अहिले मोबाइलसँग जोडिएर पनि ‘स्टाटस’ बन्न थालेको छ । केही महिनाअघि एक साथीले पुरानो मेरो मोबाइल नोकिया देखेर भने, “तपाईंले यस्तो मोबाइल प्रयोग गर्दा त तपाईंको स्टाटस कम हुन्छ नि !”
पत्रकार, व्यापारीलाई आफ्नो कामका लागि नयाँ–नयाँ मोडलका मोबाइल फोन जरुरत पर्छ । मलाई त यही नोकियाले जीवन सहज भएको छ, मैले उत्तर दिएँ।
नयाँ लुगा, नयाँ मोबाइल लिएर मात्रै सुखी भइन्न भन्ने बुझे त जीवन सहज हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *