भर्खरै :

छोराको चाहनामा जीवनमा नै खतरा ?

छोराको चाहनामा जीवनमा नै खतरा ?

सुदूरपश्चिममा महिलाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ । छोरा मात्रै सन्तान हो भन्ने खालको सोच त्यहाँ धेरै पाइन्छ । त्यसैले छोरा नपाउञ्जेलसम्म महिलाको ज्यान नै जाने गरी महिलाहरू गर्भवती भइरहन्छन् ।
धिरु र उनको परिवारलाई भेट्न हामी गाडी चढेर बाबले भन्ने गाउँ गयौँ, ३ वर्षअघि आधा बाटो पुगेपछि त गाडी चढ्नुको सट्टा हिँडेर नै आएको भए ठीक हुने थियो जस्तो लाग्यो, किनभने बाटो असाध्यै नराम्रो थियो । गाडी छोडेपछि गोरेटो, पहाडी बाटोमा एक घण्टा हिँडेपछि हामी विष्ट परिवारको आँगनमा पुग्यौँ । त्यो बेलामा धिरु आँगनमा बसिरहेकी थिइन् । उनका दुई छोरीहरू उनीसँगै थिए । अरु छोरीहरू खेतमा काम गर्न गएका थिए ।
१५ वर्षमा विवाह भएर १६ वर्षमा पहिलो सन्तान जन्माएकी धिरुले ३५ वर्षमा १२ औँ सन्तान जन्माउन खोज्दा पाठेघर फुटेर प्रजनन स्वास्थ्यको समस्या भई मृत्युसँग लड्नुपरेको थियो । धिरुको छिमेकी दिदी–बहिनीले समयमा नै उनको खराब अवस्थाबारे थाहा पाई बयलपाटा अस्पताल ल्याएर मात्रै उनको जीवन बाँच्यो ।
पाठेघर फुटेपछि त शल्यक्रिया गरी पाठेघर निकाल्नु एकमात्र ज्यान बचाउने उपाय हो । यदि समयमा शल्यक्रिया गर्न सकिएन भने यस्तो महिलाको केही समयपछि मृत्यु भइहाल्छ । बयलपाटा अस्पतालमा यस्तो उपचार गर्दा पनि धिरु र उनको परिवारले एक पैसा तिर्नुपरेन । यस्तो सामुदायिक अस्पताललाई पैसा दिनुपर्छ भनेर हामी केही जनस्वास्थ्य विज्ञ लागिपरेका छौँ ।
अस्पतालमा उपचार गराउनुको साथै समुदायमा नै उच्च रक्तचाप, मधुमेहको समस्याबारे जानकारी दिएर रोकथाम गर्नको लागि पनि जनस्वास्थ्य विज्ञहरू प्रयत्नशील छन् । तर, स्वास्थ्य मन्त्रालयका पदाधिकारहरू भन्छन्, “तपाईँहरू कि अस्पतालको लागि मात्र स्रोत माग्नुस्, समुदायमा काम नगर्नुस्, कि समुदायमा मात्र काम गर्नुस्, अस्पतालमा काम नगर्नुस् ।”
स्वास्थ्य जागरुकता फैलाएपछि अस्पताल आउने बिरामीको सङ्ख्यामा कमी आउँछ अनि अस्पतालको स्रोत पनि बच्छ भनेर मन्त्रालयले कहिले बुझ्ने हो ? यससम्बन्धमा मन्त्रालयका उच्च पदाधिकारीले विचार गर्नैपर्छ ।
धिरु विष्टजस्ता महिलालाहरू सुदूरपश्चिममा धेरै नै छन् । यदि समुदायमा गएर छोरा–छोरी भनेका एकै हुन् भनेर बुझाउन सके त्यति धेरै बच्चा पाउनुपर्ने विवशताबाट महिलाहरूले मुक्ति पाउन सक्थे होलान् । महिलाहरूलाई यस किसिमको प्रसव जटिलताबाट बचाउन प्रयास गर्न जरुरी छ । नत्र प्रसूति जटिलताका कारण धेरै महिलाहरूको अकालमै मृत्यु भएका खबर आई नै रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *