भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ३७

  • मंसिर २५, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – ३७

दुईचार दिनपछि मैले थप पन्ध्र सय रुबल बाकु पठाए । रकमसँगै मैले एउटा तार सन्देश पठाएको थिएँ जुन ‘प्राभ्दा’ मा प्रकाशित भयो, “सेन्ट पिटर्सबर्गका सर्वहारा जनताको तर्फबाट सङ्घर्षमा प्रदर्शन गर्नुभएको एकता र लगनका निम्ति म बाकुका वीर सर्वहाराहरूलाई बधाई दिन्छ । सेन्ट पिटर्सबर्गका मजदुरहरू तपाईँहरूको लडाइँलाई ठुलो चाख र सहानुभूतिका साथ हेर्दै छन् ।”
बाकु हडताल समितिले पत्रिकालाई तारमा जवाफ फर्काए । उनीहरूले सेन्ट पिटर्सबर्गका मजदुरहरूलाई तिनको भौतिक र नैतिक सहायताका लागि हार्दिक धन्यवाद दिए ।
बाकुको हडताल जति लम्बिँदै गयो सेन्ट पिटर्सबर्गमा मजदुर गतिविधि पनि उत्तिकै फैलियो । मजदुरलाई कामबाट निकाला गर्ने, निर्वासचनमा पठाउने र हडतालीहरूलाई धरपकड गरेको देखेर पिटर्सबर्गका मजदुरहरूले जूनको अन्त्यतिर विरोध हडताल आयोजना गरे । सुरुमा यो आन्दोलन सुस्त थियो । यसले केही कारखानालाई मजदुरलाई पनि छोयो । तर, हाम्रो पार्टीले यो आन्दोलनलाई फैलाउन र जनसङ्घर्षको तयारीमा आफ्नो सारा ऊर्जा लगायो ।
गुप्त प्रहरी पनि सक्रिय भयो । धेरैलाई गिरफ्तार ग¥यो । सम्पूर्ण मजदुर सङ्घसंस्थाविरुद्ध अभियान नै छेड्यो । उनीहरूले मजदुरहरूका शैक्षिक समाजहरूमा ध्यान केन्द्रित गरे । उनीहरूले साम्पसन्स्की सडकमा रहेको त्यसखाले शैक्षिक समाजलाई ध्वस्त पारेर काम थाले । त्यसको हाताभित्र झन्डै चालिस मान्छे पक्राउ परे । तीमध्ये धेरैजसो पार्टी सदस्य थिए । प्रहरीहरू दैनिकजसो यस्ता समाजहरूमा जान्थे र खानतलासी लिन्थे । कहिलेकाहीँ त्यहाँ जो भेटिन्छ, तिनलाई गिरफ्तार गर्थे ।
यी खानतलासीपछि मैले गृहमन्त्री माक्लाकोभसँग वार्ता गर्ने माग राखेँ । मन्त्रीसँग छलफल गर्नुपर्ने मसँग धेरै कारण थिए । प्रहरीले गरिरहेको गिरफ्तारी, निर्वासन चलान, प्रहरीको जोरजबरजस्ती आदिबारे छलफल गर्न चाहन्थेँ म । मलाई माक्लाकोभ भोलिपल्ट बिहान मसँग भेट्न राजी भएको जानकारी गराइयो ।
गृहमन्त्रीको घर फोन्तान्का बर्दीधारी र सादा पोशाकका प्रहरीहरूको कडा निगरानीमा रहन्थ्यो । घरभित्र र बाहिर दुवैतिर प्रहरी हुन्थे । प्रहरीहरूको लाम छिचोल्दै म मन्त्रीको कोठामा पुगेँ । भर्खरै मन्त्री बनेका माक्लाकोभलाई खासमा रानीले नियुक्त गरेकी थिइन् । त्यसकारण, उनले आफूमाथि गरिएको विश्वासलाई सही ठह¥याउन निकै मेहनत गरे । उनले मजदुरवर्गका सङ्घसङ्गठन ध्वस्त पार्न सम्पूर्ण तयारी गरिसकेको बताए । साम्पसोनिएभ्स्की समाजमा छापा मार्दा गिरफ्तार गरेका व्यक्तिहरूलाई छोड्न उनले ठाडै अस्वीकार गरे । त्यहाँ एउटा गैरकानुनी पुस्तकालय पत्ता लागेको उनको आरोप थियो । मैले प्रहरीको मनोमानीलाई रोक्नुपर्नेमा जोड दिएँ । उनले औपचारिक जवाफ दिए ।
माक्लाकोभले भने, “तपाईँले पार्टीप्रति बफादारीको शपथ खानुभएको छ र त्यसलाई पालन गर्दै हुनुहुन्छ । त्यस्तै शपथ हामीले महाराजप्रति खाएका छौँ र अहिले राजमुकुटको सेवा गर्दै छौँ । हामी क्रान्तिकारी आन्दोलनविरुद्ध लड्न आवश्यक सम्पूर्ण कदम चालिरहेका छौँ ।”
यसपछि उनले आफू हाम्रो सङ्गठनले गरिरहेका सम्पूर्ण गतिविधिबारे जानकार भएको देखाउन खोजे । उनले भने, “तपाईँहरूले भूमिगत गतिविधि, पत्रिका प्रकाशन र पर्चा वितरण गरिरहनुभएको विषयमा म जानकार छु ।” यसपछि उनले टेबलको घर्रा ताने र भर्खरै प्रकाशित भएको घोषणापत्र देखाए ।
त्यो पर्चा केही दिनअघि मात्र मेरो निवासमा खेस्रा गरिएको थियो र अघिल्लो राति मात्र छापिएको थियो । मसँग कुरा गर्ने तयारी गर्न माक्लाकोभले गुप्त प्रहरीलाई हाम्रा गैरकानुनी गतिविधिको मूर्त प्रमाण दिन भनेको हुनुपर्छ । गुप्त प्रहरीको आँखाबाट केही पनि लुक्दैन भनी साबित गर्न चाहन्थे उनी । यो पर्चा उनले पक्कै पनि पर्चा छाप्न सघाउने एजेन्ट इग्नातिएभबाट प्राप्त गरेका थिए ।
त्यो पर्चालाई चिनेको छनक नै नदिई मैले कुराकानी लम्ब्याएर कुनै लाभ नहुने निधो गरेँ । फर्किने बेला मैले भनेँ, “हामी तपाईँसँग यो अध्ययन कक्ष वा सदनको मञ्चबाट कुरा गर्नेछैनौँ । मजदुर वर्गले वर्तमान सत्तासँगैको प्रत्यक्ष सङ्घर्षको छिनोफानो सडकबाट गर्नेछ ।”
माक्लाकोभले जतिसुकै प्रहरी परिचालन गरे पनि र जतिसुकै घमण्ड गरे पनि सरकारले क्रान्तिकारी आन्दोलनको विकासलाई पछि तान्न सकेन । त्यो भेटको केही हप्ताभित्रै आन्दोलनले अद्भूत आयाम पक्रियो ।
१९
जुलाई
पुतिलोभ कारखानामा गोलीबारी । कारखानाहरूमा । जुन्कोभ्स्कीसँग वार्ता । ‘रुसी जनताको युनियन’ ले रगत माग्यो । सेन्ट पिटर्सबर्गका छेकबारहरू ।
जुलाईको आरम्भदेखि सेन्ट पिटर्सबर्गका कारखाना र ज्यासलमा हडतालहरू तीव्र गतिमा बढ्यो । जुलाई १ गते लाङगेसिपेन, लेसन, एरिकसन, साइमन्स–शुकर्ट, ऐभाजलगायत कारखानाका मजदुरहरूले काम छोडे । कारखाना छोड्नुअघि उनीहरूले बैठक बसी बाकुका मजदुरहरूमाथि भइरहेको ज्यादतीको विरोध गर्ने निर्णय गरेका थिए । सेन्ट पिटर्सबर्गका मजदुरहरूले घोषणा गरे, “बाकुका कामरेडहरू हामी तपाईँहरूसँगै छौँ । तपाईँहरूको विजय हाम्रो विजय हो ।” केही सरकारी कारखानाहरूमा मजदुरहरूले हडताल घोषणा गरेनन् । तर, उनीहरूले निर्धारित समत्न्दा अगावै काम छोडे र बैठक बसेर बाकुका मजदुरहरूको लागि चन्दा सङ्कलन गरे ।
पुतिलोभ कारखानाको चौरमा मजदुरहरूले सभाको आयोजना गरे । त्यसमा १२ हजार मजदुर सहभागी थिए । तर, प्रथम वक्ताले दुई शब्द के राखेका थिए ‘प्रहरी प्रहरी’ भनेको चिच्याहट आयो । निर्णय गर्नुअघि नै सभा तितरबितर भयो । दुई दिनपछि पुतिलोभका मजदुरहरू बाकुकै घटनालाई लिएर पुनः भेला भए । यो बैठक आन्दोलनको दिशा मोड्ने घटना साबित भयो । सेन्ट पिटर्सबर्गमा जुलाई आन्दोलनको लहर चल्यो ।
पुतिलोभ कारखाना मजदुरहरूले दुई घन्टाअघि नै काम छोडे र झन्डै १२ हजार मजदुरहरू सभामा उपस्थित भए । दुई जना वक्ताले बाकुका मजदुरहरूको दुर्दशाबारे बताए र मजदुरहरूलाई हडतालीहरूलाई मद्दत गर्न र एकदिने विरोध हडताल घोषणा गर्न आह्वान गरे ।
सभा टुङ्गिएपछि मजदुरहरू गेटमा उपस्थित भए र गेट खोल्न माग गरे । गेट त खुल्यो । तर, त्यो मजदुरहरूका लागि नभई जनपद र घोडचढी प्रहरीका लागि खोलिएको थियो । उनीहरू भित्र पसेपछि गेट पुनः बन्द गरियो । त्यसपछि कारखानानजिकै लुकेर बसेको प्रहरीले भीडलाई सर्वत्र छरिन भन्यो । तर, गेट बन्द हुनाले त्यसरी छरिन सम्भव थिएन । मजदुरहरूले विरोध जनाए र जवाफमा प्रहरीले गोलीबारी सुरु ग¥यो । ‘छेकबारतिर जाऔँ’ भनेर चिच्याउँदै भीड चौरको एउटा कुनातर्फ लाग्यो र त्यहाँबाट प्रहरीतर्फ ढुङ्गामुढा गर्न थाल्यो । प्रहरीले दोस्रो खेप गोलीबारी ग¥यो । त्यसपछि घाइतेहरूको आर्तनादबिच पालैपालो मजदुरलाई गिरफ्तार गर्न थाल्यो ।
मजदुरहरूको बयानअनुसार दुई व्यक्ति मारिए, झन्डै पचास जना घाइते भए भने सय भन्दा बढी मानिसलाई प्रहरीले थानामा लिएर गयो । गोलीबारी भएको सूचना पाउनासाथ म कारखानामा पुगेँ । मजदुर भीडले मलाई घटनाको बेलिबिस्तार लगायो । तरबार र कोर्राको व्यापक प्रयोग भएको रहेछ । उनीहरूले मलाई धरपकडबारे बताए । तर, हताहत हुनेहरूको सङ्ख्याबारे कसैले पनि किटेर भन्न सकेन । अरू बेलाजस्तै भीडमा अनेक हल्ला फैलिएको थियो । तर, प्रहरीको रवैयाप्रति सबैले एकमुष्ट आक्रोश व्यक्त गरे ।
सही सूचनाका लागि मैले कारखाना प्रशासनसँग कुरा गरेँ । तर, मैले कुराकानी गरेका सबैजना मृतकको सङ्ख्या कबुल गर्न डराए । उनीहरूले कुरा टार्न खोजिरहे । कारखानाको अस्पतालमा रहेको स्वास्थ्यकर्मी कति डराएको थियो भने उसले आफूले केही पनि नदेखेको बतायो । उसले कुनै मृतक वा घाइतेलाई त्यहाँ नल्याइएको बतायो । धेरै मजदुरलाई बारम्बार प्रश्न गरेपछि अन्ततः तथ्य पत्ता लाग्यो ।
कारखानाबाट म सिधै प्रहरी चौकी पुगेँ र पक्राउ परेकाहरूलाई के गरिन्छ भनी सोधपुछ गरेँ । एक दर्जन सशस्त्र प्रहरी अधिकारीहरू थानेदारको कक्षमा जम्मा भए । मैले कड्किँदै लगातार प्रश्न गरिरहेको उनीहरूले ध्यान दिएर सुनिरहे । मैले तत्काल जवाफ चाहिन्छ भनिरहेँ । निहत्था मजदुरहरूलाई गोली ठोक्ने आदेश कसले दियो, कति जना मारिए र कति जनालाई के कस्तो कसुरमा पक्राउ गरियो भनेर सोधेँ ।
थानेदारले आफूले कुनै अन्जान व्यक्तिलाई जवाफ दिनुपर्छ भन्ने छैन र कसैलाई पनि प्रहरी कारबाहीमा हस्तक्षेप गर्ने अधिकार छैन भने । मैले उनलाई आफ्नो सांसदको परिचयपत्र देखाएँ । त्यसपछि उनी अलि हच्के । उनले तुरुन्तै नगर गभर्नरलाई फोन गरे । गभर्नरले मलाई कुनै सूचना नदिन कडा आदेश दिए ।
त्यसपछि प्रहरी अधिकारीहरूले मलाई धकेल्दै थानाबाहिर ल्याए । तिनले मलाई पक्राउ परेका मजदुरहरूसँग बोल्नै दिएनन् । मजदुरहरूलाई पशुलाई झैँ चुटिएको पक्का थियो । धेरै मजदुर उभिन वा बस्न नसकेर भुइँमै पसारिएका थिए ।
सधैँझैँ रातको काम गर्न म ‘प्राभ्दा’ को कार्यालयमा गएँ । घटनाको पूरै दृश्य मेरो दिमागमा नाचिरहेको थियो – घाइतेहरूको क्रन्दन, प्रहरीको असह्य रवैया र मजदुरहरूबिच फैलिएको अत्यास र आक्रोश । त्यहाँ मैले देखेजानेको सबै कुरा बताएँ । हामीले पत्रिकामा छाप्न एउटा सङ्क्षिप्त रिपोर्ट लेख्यौँ । त्यति नै बेला हामीले मेन्शेभिक पत्रिका ‘डेन’ (दिन) का सम्पादकहरूलाई पनि घटनाको जानकारी गरायौँ । उनीहरूले पनि एउटै छापाखाना प्रयोग गर्थे ।
भोलिपल्ट ‘प्राभ्दा’ मा घटनाको पूर्ण विवरण छापियो । साथमा हामीले त्यसको महत्व उजागर गर्ने एउटा छोटो नोट पनि छापेका थियौँ । प्रमुख लेख छापिने ठाउँमै त्यो सामग्री प्रकाशित भएको थियो ।
राति मैले गृहमन्त्रीलाई फोन गरेर पुतिलोभ कारखानाको घटनाबारे प्रश्न सुन्न भनेँ । माक्लाकोभ नगरबाहिर रहेछन् । उनका सहयोगी जुन्कोभ्स्कीले मलाई एउटा सन्देश पठाए । सन्देशमा उनले मलाई भोलि बिहान ८ बजे भेट्ने लेखेका थिए ।
निर्धारित समत्न्दा केही मिनेट ढिलो म उनको सेर्गेयेभ्स्काया सडकस्थित निवासमा पुगेँ । मैले भनेँ, “रातभरि त्रुदोभाया प्राभ्दामा तपाईँहरू गस्तीहरूसँग भिड्नुपरेको हुनाले म अलि ढिलो आइपुगेँ ।” यो भनाइले जर्नेललाई एकाएक असहज पा¥यो ।
उनले भने, “निश्चय नै तपाईँसँग समय छैन । तपाईँ जहिल्यै मजदुरहरूलाई हडताल गर्न उक्साउँदै कारखाना–कारखाना जो चहार्नुहुन्छ । तपाईँलाई पुतिलोभ कारखानामा कसरी पस्न दिइयो भन्ने सोचेरै म छक्क परेको छु । तपाईँ संसद्को सदस्य हुनुहुन्छ । तपाईँको काम कानुन बनाउने हो । यसै उद्देश्यले तपाईँलाई निर्वाचित गरिएको हो । तर, तपाईँ धेरै समय कारखानाहरूमा बिताउनुहुन्छ, केके षड्यन्त्र रच्नुहुन्छ, पर्चा जारी गर्नुहुन्छ र पत्रिका प्रकाशित गर्नुहुन्छ । यसले पाठकहरूलाई आपराधिक काम गर्न उक्साउँछ ।” उनले टेबलमा राखिएको ‘त्रुदोभाया प्राभ्दा’ को पछिल्लो अङ्क देखाए । त्यसपछि भने, “मैले तपाईँ र तपाईँको पत्रिकामाथि तुरुन्तै मुद्दा चलाउन एउटा विशेष आयोग बनाउन आदेश दिएको छु ।”
जवाफमा मैले भनेँ, “तपाईँको कानुनले मलाई कारबाही गर्ने घटना पहिलो हुँदै होइन । तपाईँ कारबाही गर्न सक्नुहुन्छ, मलाई थाहा छ । तर, म यहाँ अर्कै कामले आएको हुँ । पुतिलोभ कारखानाका मजदुरहरूलाई गोली ठोक्ने अधिकार प्रहरीलाई कसले दियो, भन्नुहोस् । तपाईँको जवाफ म सेन्ट पिटर्सबर्गका अरू कारखानाका मजदुरहरूलाई सुनाइदिनेछु ।”
उनले फ्याट्टै भने, “त्यहाँ कसैलाई गोली नै हानिएको छैन । प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको थियो ।”
हामी एकअर्कालाई हेर्दै टेबलको दुईतिर जुरुक्क उठ्यौँ । उनले भनेँ, “हामी मजदुरहरूले प्रहरीलाई ढुङ्गामुढा हानेको टुलुटुलु हेर्न सक्दैनौँ । प्रहरीसँग राइफल र तरबार छ । भविष्यमा यस्तै अवस्था आयो भने उनीहरूले गोली ठोक्नेछन् । हतियार उनीहरूलाई त्यही भएर दिइएको हो ।”
मैले भनेँ, “हाम्रा मन्त्रीहरूबाट मैले अर्कै जवाफको अपेक्षा नै गरेको थिइनँ । यसबारे म मजदुरहरूलाई जानकारी गराउनेछु । तपाईँ मलाई कारखानाहरूमा जानबाट रोक्न सक्नुहुन्न । मजदुरहरूबाट निर्वाचित सांसदले मजदुरहरूलाई तपाईँको प्रहरी थानाले चुटिरहेको बेला सदनमा भाषण गरेर मात्र बस्न सक्दैन ।”
त्यो कुराकानीलाई च्वाट्टै काटेर म जारको गोली ठोकुवा प्रमुखको घरबाट बाहिर निस्केँ ।
जुन्कोभ्स्कीसँगको मेरो वार्तालाप ‘प्राभ्दा’ मा प्रकाशित भयो । त्यो अङ्क जफत गरियो । तर, अर्को अङ्कमा प्राभ्दाले पुनः त्यो वार्तालाप छाप्यो । हामी पुतिलोभ कारखानामा अकस्मात गोली चलाइएको थिएन बरु त्यो गोलीबारी जारशाही सरकारको दमनकारी नीतिकै परिणाम थियो भनी मजदुरहरूलाई बताउन कटिबद्ध थियौँ ।
पुतिलोभ कारखानाको गोलीकाण्डको खबरले सेन्ट पिटर्सबर्गका मजदुरहरूमा ठुलो छाप पा¥यो । लेना सुनखानीको नरसंहारको खबरले मजदुरहरू माझजस्तो आक्रोश पैदा भएको थियो, त्यस्तै आक्रोश देखियो । गुप्त प्रहरीले जे कुरालाई पनि ‘आपराधिक प्रचारबाजी’ सँग जोडिहाल्थ्यो । उसले लेख्यो, “मजदुर प्रेसमा पुतिलोभका मजदुरहरूमाथि गोलीबारीबारे प्रकाशित गरेका लेख–रचनाले जनतामा ठुलो प्रभाव पारेको छ । यो प्रभाव अत्यन्त सघन र असरदार छ ।”
प्रहरीले यो डढेलोलाई पिटर्सबर्गमै सीमित गर्न बल ग¥यो । गोलीकाण्डका खबर छापिएका प्राभ्दाका सम्पूर्ण अङ्क जफत गरियो । तर, यसको लागि कुनै कानुनी आदेश जारी गरिएको थिएन । सडकमा पत्रिका जफत त गरियो साथै पत्रिका बाँड्ने सबै हल्काराको घरमा खानतलासी पनि लिइयो । यी हल्काराहरू नार्भा जिल्लामा बस्थे । प्रहरीले प्राभ्दाका भेटेजतिका सबैप्रति खोस्थे ।
कालासयहरूले खतराको गन्ध सुँघिहाले । उनीहरूले प्रहरीलाई जार र पितृभूमिको रक्षामा खटिन र क्रान्तिकारी आन्दोलन प्रत्येक चिन्ह नामेट पार्न आह्वान गरे । ‘रुसी जनसङ्घ’ को मुखपत्र ‘रुस्कोये ज्नाम्या’ मा एउटा रक्तपिपासु आह्वान गरिएको लेख छापियो । शीर्षक थियो – बादायेभलाई झुन्ड्याऔँ ।
गोली काण्डको भोलिपल्ट सेन्ट पिटर्सबर्गभरि हडताल सुरु भयो । कम्ती ७० हजार मजदुरले काम छोडे । आफ्नो वक्तव्यमा विङ्लर कारखानाका मजदुरहरूले उद्घोष गरे, “रगतको होली खोल्ने यो खबर सुनेपछि हामीले काम सुरु नगर्ने बरु हडताल गर्ने अठोट ग¥यौँ । हाम्रो आक्रोशको कुनै सीमा छैन । यस्ता चेतावनीलाई अब नसहने हामीले प्रतिज्ञा गरेका छौँ ।” भोलिपल्ट प्राभ्दा यसप्रकारका वक्तव्यहरूले भरियो भने सडकमा मजदुरहरूको ताँती लाग्यो । मजदुरहरू प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरू अनेक कारखानामा घुमिरहे र आफ्ना कामरेडहरूलाई आन्दोलनमा आउन भने । जुलुस झन्झन् बढ्दै गयो ।
सेन्ट पिटर्सबर्गको मस्को जिल्लाका प्रदर्शनहरू तुफानी रहे । त्यहाँका सम्पूर्ण कलकारखानाहरू ठप्प भए । मजदुरहरू सडकमा आए । मजदुरहरूको मागअनुसार सम्पूर्ण होटल र सरकारी भोड्का पसलहरू बन्द भए । सहायकहरू सबैजना प्रदर्शनमा सामेल भएपछि जिल्लाभरका किराना पसलहरू बन्द भए । मध्यान्नतिर एउटा विशालकाय भीड क्रान्तिकारी गीत गाउँदै र भीडको अघिल्तिर लालझन्डा फराउँदै पुतिलोभ कारखानातर्फ लाग्यो ।
पुतिलोभनजिकै रेल रोकिराख्ने अड्डामा प्रहरीसँग मजदुर भीडको जम्काभेट भयो । प्रहरीले अनेकपल्ट गोलीबारी गरे । प्रदर्शनकारीहरू लाखापाखा लागेनन् बरु ढुङ्गामुढामा उत्रे । पन्ध्र मिनेटसम्म हानाहान चलेपछि अन्तिम गोली सिद्धिएझैँ गरी प्रहरीले त्यहाँबाट कुलेलम ठोके । चार मजदुर घाइते भए र तिनलाई अस्पताल लगियो ।
अर्को झडप भिबोर्ग जिल्लामा भयो । आतज कारखानाका मजदुरहरूको विशाल जुलुस साम्प्सोनिएभ्स्की सडक हुँदै अघि बढ्दै थियो । जुलुस सहरको केन्द्रतर्फ जाँदै थियो । त्यही बेला प्रहरी तिनको बाटो रोक्न खोज्यो । प्रहरीले गोली हान्यो र प्रदर्शनकारीहरूले ढुङ्गा हाने । तर, सन्जोगले कोही घाइते भएन । भीड सडकपेटीमा हिँड्न बाध्य भयो । सहरका विभिन्न स्थानमा दिनैभरि प्रहरीसँग झडप भइरह्यो ।
साँझपख सेन्ट पिटर्सबर्गको पार्टी समितिले आगामी कार्यक्रमबारे छलफल ग¥यो । मजदुरहरूको स्वतन्त्र गतिविधिलाई सदृढ पार्नु र त्यसलाई शक्तिशाली र सङ्गठित आन्दोलनमा रूपान्तरण गर्नु नै हाम्रो कर्तव्य थियो । हामीले हडताललाई थप तीन दिन लम्ब्याउने र नयाँ प्रदर्शनहरू आयोजना गर्ने निधो ग¥यौँ । पहिलो प्रदर्शन हामीले भिबोर्गतिरबाट निकाल्ने सोच्यौँ । जुलाई ७ गतेका लागि हामीले एउटा ठुलो प्रदर्शनको आयोजना ग¥यौँ । त्यो दिन फ्रान्सका राष्ट्रपति हेनरी पोइँकारे सेन्ट पिटर्सबर्ग आउँदै थिए ।
यसअघि हामीले बाकुका हडतालीहरूलाई समर्थन गर्न अपिल जारी गरेका थियौँ । अब आन्दोलनको मुख्य लक्ष्य सेन्ट पिटर्सबर्गका मजदुरहरूलाई गोली ठोकेको विरोध गर्नु थियो । कार्यक्रमको सामान्य योजना कोर्न हामीले विभिन्न कारखानाका प्रतिनिधिहरूको बैठक डाक्यौँ । बैठक सहरबाहिर पोरोखोभ्ये स्टेशनमा राखियो । प्रतिनिधिहरूलाई एउटा सङ्केत शब्द दिइएको थियो । त्यो शब्द भन्ने जोकोहीलाई जङ्गलको बाटो बैठकस्थलमा पु¥याउन ठाउँ–ठाउँमा गाइडहरू राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *