क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग, काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्स, भौतिकशास्त्र विभाग, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कार्यशाला गर्न पाउँदा हामी ज्यादै खुसी छौँ ।
विश्वविद्यालयहरूमा फिजिक्सका विद्यार्थी घट्दै गइरहेको बेला आज हामीले ‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरूमा अन्तर्राष्ट्रिय कार्यशाला २०२५’ को उद्घाटन गर्दै छौँ । यस कार्यशालाले नेपालका विश्वविद्यालयहरूमा फिजिक्स पढ्ने विद्यार्थीहरूलाई उत्साहित गर्ने र नयाँ विद्यार्थीहरूको आकर्षण बढ्ने हामीले आशा गरेका छौँ ।
भक्तपुर नगरपालिकाले दुई वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ । तीमध्ये ख्वप कलेजमा विज्ञान विषयमा उच्च शिक्षाको कक्षा सञ्चालन हुँदै आएको छ । त्यहाँ हामीले फिजिक्स पढ्ने विद्यार्थीहरूको कमी अनुभव गर्दै आएका छौँ । यो कार्यशालाले हाम्रो कलेजमा पनि विद्यार्थीको आकर्षण बढ्ने आशा गरेका छौँ ।
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले हामीले भक्तपुर नगरपालिकामा काम गरिरहेका छौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आजभन्दा दुईदशक अघि ‘सय वर्षपछिको भक्तपुर’ नाउँको किताब लेखेर भक्तपुरको सय वर्षपछिको रूपरेखा कोर्नुभएको थियो । हामीले त्यसैको आधारमा काम गरिरहेका छौँ । हामी जनप्रतिनिधिहरू नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएर पार्टीको नीति र निर्देशनअनुसार काम गरिरहेका छौँ । शैक्षिक क्षेत्रमा पनि हामीले निर्वाचन घोषणापत्रको आधारमा काम गरिरहेका छौँ ।
नेपालका विश्वविद्यालयहरू अनुसन्धानकेन्द्रित हुन नसकेको हामीले आलोचना सुनिरहेका छौँ । भक्तपुर नगपालिकाले विश्वविद्यालयहरू अनुसन्धानमा केन्द्रित हुनुपर्छ भन्ने कुरामा जोड दिँदै आइरहेको छ । नगरपालिकाअन्तर्गत सञ्चालित कलेजहरूमा अनुसन्धानको लागि छुट्टै बजेट विनियोजन गरी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौँ ।
कृषिमा ६० प्रतिशतभन्दा बढी जनता आश्रित देशमा कृषि क्षेत्रमा अनुसन्धानको राम्रो बन्दोबस्त छैन । कृषि अनुसन्धान परिषद् (नार्क) नाम मात्रको छ । त्यहाँ दरबन्दीअनुसारको वैज्ञानिकहरू छैनन् । कृषिमा व्यापक रूपमा अनुसन्धान गर्न सकेमा नेपाल खाद्यान्न आयात होइन, छिट्टै नै निर्यात गर्ने स्थितिमा पुग्न सम्भव छ । दरबन्दीअनुसार वैज्ञानिकहरू उपलब्ध नहुँदा नेपालको विभिन्न स्थानमा रहेका कृषि अनुसन्धान केन्द्रहरू बन्द प्रायः छन् । वैज्ञानिकहरूलाई उचित सम्मान र सेवा सुविधा नहुँदा नेपालका राम्रा राम्रा कृषि वैज्ञानिकहरू विदेश पलायन भइरहेका छन् । सरकारले त्यस्ता वैज्ञानिकहरूलाई नेपालमै काम गर्ने वातावरण तयार गर्नु आवश्यक छ ।
चीनका वैज्ञानिक युआन लोङफिङले हाइब्रिड बीउको आविष्कार गरे । सन् १९७९ मा त्यो हाइब्रिड वीऊ संरा अमेरिका पठायो । चीनको इतिहासमा त्यो नै बौद्धिक सम्पत्ति हस्तान्तरणको पहिलो उदाहरण बन्यो । हाइब्रीड बीउको आविष्कारले चीनलाई भोकमरीमुक्त देश बनायो । चीनले हाइब्रीड बीउ निर्यात गरेर देशको अर्थतन्त्रलाई मद्दत पु¥याइरहेको छ । हाम्रा विश्वविद्यालयहरूले पनि धान, गहुँ, फलफूल, पशु, जडिबुटीको अनुसन्धान गरेर देशलाई कृषिमा आत्मनिर्भर मात्र होइन कृषि उत्पादन निर्यात गरेर विदेशी मुद्दा आर्जन गर्नेतर्फ सोच्नु आवश्यक छ ।
औषधि खरिदको लागि वर्षको अरबौँ अर्ब रूपैयाँ पैसा विदेश गइरहेको छ । नेपालमा भएका जडिबुटीहरूको अनुसन्धान गरेर देशको आवश्यकताअनुसार धेरै किसिमका औषधि उत्पादन गर्न सकिन्छ । पश्चिम नेपालका पहाडहरू जडिबुटी खेतीका लागि उपयुक्त छन् । सरकारले त्यसतर्फ ध्यान दिइरहेको छैन । नेपालले उपलब्ध जडिबुटीबाट औषधि उत्पादन गर्न नसक्दा हाम्रा जडिबुटीहरू कौडीको मूल्यमा भारतलाई बेचेर सुनको भाउमा किन्नु परेको छ । नेपाल विगतमा राम्रो आयुर्वेदको उपचार हुने देश पनि थियो । अहिले औषधिको लागि पुरै परनिर्भर हुँदै गएको छ । नेपाल औषधि लि. र सिंहदरबार वैद्यखाना बन्द हुने अवस्थामा पुगेका छन् । त्यहाँ उत्पादन हुने औषधि नबिकेर कर्मचारीहरूलाई तलब खुवाउन नसकेका समाचारहरू बाहिर आइरहेका छन् । नेपालका अस्पतालहरूले स्वदेशमा उत्पादित औषधि खरिद गर्नेतर्फ ध्यान दिएको देखिँदैनन् ।
यी सबै सरकारले अनुसन्धानलाई प्राथमिकतामा नराख्नु र विश्वविद्यालयहरू अनुसन्धानमा केन्द्रित हुन नसक्नुको परिणाम हो । सरकारले तत्कालको लागि मात्र सोच्ने होइन, देशको दीर्घकालीन हितलाई सोच्नुपर्ने हो । तर, नेपालमा त्यस्तो भइरहेको छैन । जुनसुकै पार्टी सरकारमा गए पनि शासक पार्टीहरूले आफ्नो र दलको मात्र हित हेर्दै आएका छन् । व्यापक जनताको हितमा कसैले सोचेका छैनन् । परिणाम देश क्रमशः ऋणमा डुब्दै गएको छ । सार्वजनिक ऋण २७–२८ खर्ब पुगेको छ । देशको अर्थतन्त्र धरासायी हुँदै छ ।
अमेरिका, जापान र चीनको अर्थतन्त्र त्यत्तिकै राम्रो बनेको होइन । ती देशहरूले विश्वविद्यालयहरूलाई अनुसन्धानको केन्द्र बनाए । अनुसन्धान प्रतिवेदनहरूलाई राज्यले कार्यान्वयन गर्दै गए । वैज्ञानिकहरूलाई सम्मान र सुविधा दिए । आफ्नै देशमा बस्ने वातावरण बनाए । अझ देशका वैज्ञानिकहरूलाई पनि आकर्षित गरे । त्यसले राज्यको अर्थतन्त्रलाई पनि फाइदा ग¥यो । अध्ययन र अनुसन्धानमा अगाडि बढेकै कारण ती देशहरू विश्व अर्थतन्त्रमा पनि अगाडि बढेका हुन् ।
चीनले अनुसन्धानको क्षेत्रमा असाध्यै धेरै लगानी गरेको छ । एक रिपोर्टअनुसार त्यहाँ १० हजार ९०० अनुसन्धान गर्ने संस्थाहरू रहेको र ती संस्थाहरूमा ६२ लाख १० हजारभन्दा बढी मानिस अनुसन्धान र विकास (आरएन्डडी) मा संलग्न भएको देखाइएको छ । सन् २०१७ मा अनुसन्धानमा प्रत्यक्ष संलग्न पूर्णकालीनहरूको सङ्ख्या ४० लाख रहेको देखाइएको छ । चीन, अमेरिका र जापानपछि तेस्रोमा सूचिकृत छ ।
चिनियाँ जनताको अथक मेहनतपछि चीनले विज्ञान र प्रविधिमा उल्लेख्य प्रगति गर्यो । अनुसन्धान र विकासको लागि चीनले हरेक वर्ष २० प्रतिशतको दरले औसत वृद्धि गरिरहेको पाइन्छ । सन् २०१७ मा अनुसन्धान र विकासको लागि मात्र १७ खर्ब ६० अर्ब युआन खर्च गरेको अभिलेख छ । चीनको राष्ट्रिय तथ्याङ्कअनुसार त्यो कुल गार्हस्थ उत्पादनको २.१३ प्रतिशत हो ।
अहिले बौद्धिक सम्पत्तिको पनि त्यत्तिकै महत्व बढ्दै गएको छ । अमेरिका चीनबिच बौद्धिक सम्पत्ति खरिद बिक्री भइरहेको छ । अमेरिकाको बौद्धिक सम्पत्ति प्रयोग गरेबापत चीनले हरेक वर्ष भुक्तानी बढाइरहेको छ । अमेरिका चीनले बौद्धिक सम्पत्ति आयात गर्ने मुख्यस्रोत बनेको छ । सन् २०१२–२०१६ सम्म चीनले अमेरिकाबाट २८ हजारवटा बौद्धिक सम्पत्ति आयात गरेको तथ्याङ्क छ । सन् २०१७ मा मात्र चीनले अमेरिकालाई बौद्धिक सम्पत्ति आयात गरेबापत ७.२ अर्ब अमेरिकी डलर भुक्तानी ग¥यो ।
यस्ता कुराहरूबाट नेपालले कहिले सिक्ने ?
हाम्रा शासक दलहरू देश विकासका राम्रा राम्रा नारा दिन्छन् । नाराले विकास हुने होइन, अनुसन्धानबाट मात्र देश विकासको पथमा अगाडि बढ्न सम्भव छ । त्यसैले अब राज्यको ध्यान अनुसन्धानतर्फ केन्द्रित हुनुपर्छ भन्नेमा हामी पुनः जोड दिन्छौँ ।
भक्तपुर नगरपालिकाले पनि यो वर्षको बजेटमा उपयुक्त स्थानमा अनुसन्धान केन्द्र बनाउने निर्णय गरेको छ । हामी त्यसको निम्ति प्रयास गरिरहेका छौँ । वैज्ञानिक र अनुसन्धानकर्ता साथीहरूबाट त्यस कार्यमा साथ र सहयोग पाउने आशा गर्छौं । सरकारको भरमा मात्र बस्याँै भने प्रगतिको सम्भावना पनि देख्दैनौँ । सबैले आ–आफ्नो क्षेत्रबाट देशको लागि योगदान गरौँ ! दुई दिनसम्म चल्ने यस कार्यशालाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग, काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्स, भौतिक शास्त्र विभाग, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा पुस ७ गते भएको ‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरूमा अन्तर्राष्ट्रिय कार्यशाला २०२५’ को उद्घाटन कार्यक्रममा व्यक्त मन्तव्यको सार)
Leave a Reply