भर्खरै :

ट्रम्पको भेनेजुयला आक्रमण : विश्वलाई तीन चेतावनी

ट्रम्पको भेनेजुयला आक्रमण : विश्वलाई तीन चेतावनी

जनवरी ३ मा भेनेजुयलामा राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया एडेला फ्लोरेस डे मादुरोलाई नियन्त्रणमा लिएर गरिएको अमेरिकी सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुनअन्तर्गत उत्तिकै जोखिम र गैरकानुनी थियो । ट्रम्प प्रशासनले अब अन्तरिम आधारमा भेनेजुयलामाथि ‘शासन गर्ने’ भनेको कुरा अझ बढी अच्चम्भित पार्नेखाले छ । अमेरिकाले त्यस देशको विशाल तेललाई पनि नियन्त्रण गर्न खोज्नेछ ।
प्रतिस्पर्धात्मक घरेलु राजनीति र मादुरो शासनको कमजोर अभिलेखका बाबजुद भेनेजुयला अन्तर्राष्ट्रिय कानुनअन्तर्गत एक मान्यता प्राप्त सार्वभौम राज्य हो । जसमा यसको प्राकृतिक स्रोतमाथि स्थायी सार्वभौमिकता समावेश छ । भेनेजुयलाको तेलमाथि हुने अमेरिकी कब्जा अन्तर्राष्ट्रिय कानुनको थप उल्लङ्घन हुनेछ ।
तर, अमेरिकाले अन्तर्राष्ट्रिय कानुनका साथ आफ्नो आक्रमणलाई औचित्य दिने प्रयास गरेको छैन । बरू, ट्रम्प प्रशासनले विश्वव्यापी नियमलाई पूर्ण रूपमा बेवास्ता गर्दै आफ्नो घरेलु कानुन प्रयोग गरिरहेको छ । यो एक कुनै अन्तर्राष्ट्रिय कानुनी आधारविनाको नयाँ रणनीति हो ।
ट्रम्प प्रशासनको शत्रुता
पहिलो र दोस्रो ट्रम्प प्रशासनले मादुरो शासनप्रति शत्रुता देखाएका छन् । अमेरिकी सरकारले लगातार दुई प्रमुख मुद्दा वा आरोप उठाउँदै आएको छ, अमेरिकामा अवैध ल्याटिन अमेरिकी आप्रवासी प्रवेशमा भेनेजुयलाले खेलेको भूमिका र अमेरिकामा लागुपदार्थको ओसारप्रसारमा उसको समर्थन ।
२०२४ को अमेरिकी राष्ट्रपति चुनाव अभियानका क्रममा दुवै प्रमुख मुद्दा थिए र ट्रम्पको मागा (मेक अमेरिका ग्रेट अगेन) आन्दोलनका प्रमुख आधार हुन् । मदुरो शासनको वैधतामाथि पनि प्रश्न उठाइएको छ । २०१८ र २०२४ मा सम्पन्न चुनावलाई अमेरिकासहित केही पश्चिमा देशले समर्थन जनाएनन् ।
यद्यपि, मदुरो शासनको वैधता सैन्य हस्तक्षेपका लागि कानुनी आधार होइन । बरू, ट्रम्प प्रशासन भेनेजुयलामा आफ्ना कार्य जायज ठह¥याउन अमेरिकी घरेलु कानुनमा भर परिरहेको छ । २०२० मा मदुरो र उनकी श्रीमतीलाई लागुपदार्थको तस्करीको आरोपमा अमेरिकी ग्रान्ड जुरीको अभियोगले कानुनी तर्कलाई भरथेग गर्छ ।
न्युयोर्कमा टेलिभिजन क्यामेरा अगाडि मादुरोलाई थुनामा राखिएका अन्य कुनै पनि कैदीजस्तै परेड गराइएको कुराले अमेरिकी घरेलु कानुनको महत्वलाई अझ जोड दिएको प्रस्ट हुन्छ । कुनै पनि विदेशी राष्ट्रप्रमुखलाई उनीहरूको राष्ट्रपति परिसरमा पक्राउ गर्नु, हिरासतमा राख्नु र २४ घन्टाभित्र अमेरिकामा कानुनी रूपमा कारबाही गर्नु अनौठो घटना हो ।
मादुरो र उनकी श्रीमतीले अन्ततः विभिन्न आपराधिक आरोपमा मुद्दाको सामना गर्नुपर्नेछ । निकोलस मादुरो भेनेजुयलाका राष्ट्रपति हुन् र त्यसैले अमेरिकी अदालतमा फौजदारी अभियोजनबाट विदेशी राज्य प्रमुख उन्मुक्तिको हकदार हुन्छन् भन्ने कुरा सम्भवतः खारेज हुनेछ, किनकि ट्रम्प प्रशासनले उनको राष्ट्रपतित्वलाई अवैध मान्दै आएको छ ।
त्यस्तैगरी, अमेरिकी बाह्य–क्षेत्रीय कानुन प्रवर्तनमार्फत मादुरोको गिरफ्तारीको तरिकाले अमेरिकी अदालत झमेलामा पर्नेछैन । एकपटक अमेरिकी ग्रान्ड जुरीमा अभियोग जारी भएपछि अमेरिकाले गिरफ्तारी वारेन्टमार्फत मादुरोको सुपुर्दगी माग गर्न सक्थ्यो ।
ट्रम्प प्रशासनले सम्भवतः यस्तो कुनै पनि सुपुर्दगी अनुरोधलाई भेनेजुयलाले बेवास्ता गर्न सक्ने पहिल्यै अनुमान गरेको थियो । त्यसैले, प्रशासनले न्याय मन्त्रालयका अधिकारीलाई मादुरोको पक्राउ सहज बनाउन अमेरिकी सेनालाई काराकासमा प्रवेश गराउने विवादास्पद कदम चाल्यो ।
कानुन प्रवर्तन कि कानुन उल्लङ्घन ?
ट्रम्प प्रशासनले भेनेजुयला र मादुरो शासनविरूद्धको आफ्नो कानुनी अभियानलाई कसरी अगाडि बढाएको छ भन्ने विषयको मूल मर्म अमेरिकी कानुनमाथि यसको निर्भरता हो । सेप्टेम्बरदेखि अमेरिकाले समुद्रमा सैन्य हमलामार्फत कथित भेनेजुयलाको ‘लागुपदार्थ व्यापारसँग जोडिएका’ साना डुङ्गालाई लक्षित गर्न थाल्यो ।
अमेरिकी कानुनको बाह्य–क्षेत्रीय प्रवर्तनको आधारमा क्यारिबियाभर अमेरिकी प्रवेश बिन्दुमा लागुऔषध ढुवानी गर्ने ज्ञात तस्कर समूहविरूद्ध अमेरिकाले यी कुरालाई जायज ठह¥यायो । डिसेम्बरमा अमेरिकी तटरक्षक दलले अमेरिकी प्रतिबन्धको अधीनमा रहेका तेल ट्याङ्कलाई पछ्याउन र जफत गर्न थाल्यो । यो अभ्यास अमेरिकी कानुनको आधारमा पनि जायज थियो, प्रतिबन्धित ट्याङ्करलाई भेनेजुयलाको तटबाट रोकेर जफत गरिएको थियो ।
मादुरो दम्पतीलाई पक्राउ, गिरफ्तारी र नजरबन्द गर्न अमेरिकी कानुन प्रवर्तनलाई अहिले विस्तार गरिएको छ । अमेरिकाले आफ्नै कानुन लागू गरिरहेको छ भन्ने तर्कमा भर पर्दै ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय कानुनले जे भने पनि आफ्ना कार्यका लागि घरेलु कानुनलाई आधार मानेको छ । यो अन्तर्राष्ट्रिय कानुनप्रति अमेरिकी अनादरको स्पष्ट उदाहरण हो, जसको लामो इतिहास छ । यसले अमेरिकाको आफ्नै कानुन छ र अन्य सबै कानुनमाथि हाबी छ भन्ने अमेरिकी दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ । अन्तर्राष्ट्रिय कानुनले आफ्नो राष्ट्रिय हितलाई अगाडि बढाउने क्षमतालाई अनावश्यक रूपमा सीमित गर्नुहुँदैन भन्ने अमेरिकी धारणा छ ।
यो एउटा यस्तो धारणामा पनि आधारित छ कि यसले सामना गर्न सक्ने कुनै पनि अन्तर्राष्ट्रिय आपत्तिलाई सजिलै व्यवस्थित गर्न वा सुरक्षित रूपमा बेवास्ता गर्न अमेरिका सक्षम छ ।
यी घटनाका तत्काल तीनवटा क्षेत्रीय र विश्वव्यापी पाठ छन् । पहिलो, ट्रम्प प्रशासनले घरेलु राजनीतिक इच्छाका आधारमा जसलाई पनि छनोट गर्छ र उसलाई प्रतिबन्ध लगाउने गर्छ । व्यक्ति, संस्था र निगम सबैलाई राष्ट्रपतिको कार्यकारी आदेश, कानुन र बलमार्फत लक्षित गरिएको छ । धेरैजना उच्च सतर्कतामा हुनेछन् ।
दोस्रो, भेनेजुयलाविरूद्धको अमेरिकी कारबाहीले संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरे पनि संयुक्त राष्ट्र सङ्घ अमेरिकालाई रोक्न लगभग शक्तिहीन हुनेछ । यो यसको सुरक्षा परिषद्का स्थायी सदस्यसँग रहेको भिटो शक्तिको कारणले हो, संयुक्त राष्ट्र सङ्घप्रति ट्रम्पको घृणाको कुरा त परै जाओस् ।
तेस्रो, अमेरिकी सहयोगी र साझेदारले यो असाधारण अमेरिकी कानुन प्रवर्तन अभ्यासको प्रभावबारे धेरै सचेत हुनुपर्छ । यदि, अमेरिकी सेनाले भेनेजुयलामा भन्दा बढी बलियो प्रतिक्रियाको सामना ग¥यो भने यसले युरोपेली देश र क्यानडाका लागि नेटो सन्धि र अस्ट्रेलियाका लागि एएनजेडयुएस सन्धिको आवश्यकता बढाउन सक्छ । तसर्थ, अमेरिका यही बाटोमा हिँडिरह्यो भने यसको हस्तक्षेपवादको परिणाम विश्वभरका धेरैले महसुस गर्ने सम्भावना छ ।
रोथवेल अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन् ।
– द कन्भरसेसनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *