भर्खरै :

आस्थाको पत्रकारिता आजको आवश्यकता

आस्थाको पत्रकारिता आजको आवश्यकता

पत्रकारिता जनतालाई सचेत पार्ने एक भरपर्दो प्रचार साधन हो । पत्रकारितामा काम गर्ने पत्रकार या सञ्चारकर्मी र सञ्चालकहरू राजनीतिबाट अलग्ग हुँदैनन् । प्रत्यक्ष या अप्रत्यक्ष, जानी या नजानी हरेक मानिस राजनीतिमा संलग्न रहेकै हुन्छन् । कति राजनीतिमा सक्रियपूर्वक लागेको होला त कति निष्कृय होला, त्यो आफ्नो ठाउँमा छ । विभिन्न सञ्चार क्षेत्र र पत्रिकामा काम गर्ने कति सञ्चारकर्मीहरू पत्रिका स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्छ† कुनै राजनीतिक दलको हतियार हुनुहुँदैन भन्छन् । सत्तासीन दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूको मात्र होइन जो कुनै पदमा रहेका उच्चपदस्थ अधिकारी तथा कर्मचारी या सर्वसाधारण नागरिक नै किन नहोऊन् उनीहरूले गरेका कमी कमजोरी पत्रिकाले औँल्याएर खबरदारी गर्नुपर्छ । पत्रिकाले प्रजातन्त्रलाई जीवन पद्धतिको रूपमा अघि बढाउन मात्र होइन जो कसैले गर्ने भ्रष्टाचार र अनियमितताको पनि विरोध गर्छ, गर्नुपर्छ । आस्थाको पत्रिकाले त्यो दायित्व निर्वाह गर्छ ।
पत्रिकाले कसैले भ्रष्टाचार र अनियमितता ग¥यो भनेर घटनामात्र छाप्ने होइन, भ्रष्टाचारीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनी समाचार सम्प्रेषण गर्नुपर्छ । भ्रष्टाचारीलाई अदालतले कारबाही गर्छ भनेर सञ्चारकर्मीहरू पर्खेर बस्ने होइन । भ्रष्टाचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अदालतले कारबाही गर्छ, कारबाही गर्ने सरकारी निकाय छ भनेर जनता र सञ्चारकर्मीहरू के टुलुटुलु हेरेर बस्ने ? अतः ‘मिडिया लोकतन्त्रको दर्पण बन्ने कि राजनीतिक औजार ?’ भनेर प्रश्न गर्ने होइन । सञ्चार क्षेत्रले प्रजातन्त्रलाई जीवन पद्धतिको रूपमा अघि बढाउन मात्र होइन देश जोगाउन र बनाउन पनि भूमिका खेल्छ† खेल्नुपर्छ । पत्रकारिता सूचित जनमत तयार गर्ने साधन पनि हो । हो, पत्रिकामा छापिने समाचार र लेख भावनामा डुबेर लेख्ने होइन† सत्यतथ्यलाई बङ्ग्याएर लेख्ने होइन । पत्रकारिता समुदायकै निम्ति हुनुपर्छ, समुदायकै आवाज समेटिनुपर्छ । पत्रिका अकुत सम्पत्ति कमाउने साधन भयो भने त्यस्तो पत्रिका र सञ्चारकर्मीले न प्रजातन्त्रको संरक्षण गर्छ न त जनतालाई सचेत पार्ने र कमी कमजोरी औँल्याउने राजनीतिक औजार नै बन्छ । पैसाकै निम्ति लेख्ने, पैसा कमाउनकै निम्ति पत्रिका सञ्चालन गर्ने सञ्चालकहरू देश र जनताका पक्षका हुँदैनन् । देश र जनताप्रति चासो नराख्ने, देशमा जस्तो दमन, अतिक्रमण, हस्तक्षेप भए पनि एक शब्द चुइँक्क नबोल्ने, नलेख्ने सञ्चारकर्मी र पत्रिका कसरी लोकतन्त्रको दर्पण बन्छ ?
राजनीतिप्रति चासो नराख्ने सञ्चारकर्मी र पत्रकारिताले झन् सार्वभौमसत्ताप्रति चासो राख्दैन । पत्रकारहरू आफ्नो दायित्वबाट पन्छिनु हुँदैन† पन्छिएको खण्डमा प्रजातन्त्र कमजोर हुन्छ । सरकारले जे जस्तो निर्णय गरे पनि आँखा चिम्लेर बस्ने धर्म पत्रकारको होइन । सरकारको निर्णय जनविरोधी र देशविरोधी छ भने त्यसको खबरदारी गर्नुपर्छ । गलत निर्णयको विरोध जनताले गर्ने हो, पत्रिकाले होइन भनेर पन्छिन मिल्दैन । के पत्रिका सञ्चालकहरू जनता होइनन् ? के उनीहरूसँग बुद्धि र विवेक हुँदैनन् ? पत्रिका कुनै दल आबद्ध हुँदैमा, कुनै दलप्रति सहानुभूति राख्दैमा असमानता, अन्याय, दमन, थिचोमिचो, हस्तक्षेप र आक्रमणको विरोध गर्दैन भन्ने होइन । देश र जनताप्रति समर्पित पत्रिकाले देश र जनताको समस्यामात्र केलाउने होइन दलको सिद्धान्त र विचार प्रचार गर्नु पनि स्वाभाविक हो । विदेशीहरूले चलखेल गर्न पाउने एमसीसी सम्झौताको प्रसङ्गको चर्चा हुँदा देशभरका सबै पत्रिकाले विरोध गर्नुपर्ने हो । तर, एमसीसी सम्झौता पारित गर्ने शासक दलको धेरै पत्रिकाले विरोध गरेनन् । भोलि कुनै विदेशी शक्ति राष्ट्रले नेपालमा हस्तक्षेप गरे, आक्रमण गरे पनि विरोध गर्ने काम पत्रिकाको होइन भनेर के मौन बस्ने ? पत्रिका र सञ्चारकर्मीको देशप्रति के कुनै चासो हुँदैन ? देशको समस्याबारे चासो राखे पनि नराखे पनि त्यसमा राजनीतिक रङ्ग मुछिएकै हुन्छ । समाचारको आधारमा श्रमजीवी पत्रकारहरूलाई दसौँ लाखको क्षतिपूर्ति गराउने, जेलमा हाल्ने भनेपछि मात्र पत्रकारहरूले होस पु¥याउने होइन ।
देश विकासको निम्ति, जनताको जीवनस्तर उठाउनको निम्ति, देश बचाउन र सीमा मिच्नबाट बचाउनुको निम्ति पत्रिकाले कुरो उठाउनुपर्छ, खबरदारी गर्नुपर्छ । पत्रिकाको काम कुनै घटनाको विवरण दिने मात्र होइन, समाचार मात्र छाप्ने होइन । त्यो घटना कसरी भयो, के कारणले भयो, त्यो घटना हुनबाट सरकार या सरोकारवाला निकायले के गर्नुपर्छ, त्यसबारे पनि पत्रिकाले बोल्नुपर्छ; छाप्नुपर्छ । सरकारी कार्यालयमा ढिलासुस्ती भयो, पैसाबिना काम गर्दैन भने के पत्रिकाले नलेख्ने ? नबोल्ने ? घुस खायो भनेर लेखेपछि राजनीति हुन्छ भनेर पत्रिकामा नलेख्ने ? याद गरौँ, भ्रष्टाचार, अनियमितता गरे पनि नबोल्नु, नलेख्नुको अर्थ भ्रष्टाचार र अनियमितता गर्ने पक्षमा मौन रहेको हुन्छ, त्यो मौन रहनु पनि राजनीति नै हो । बरु, राजनीति देश र जनताको पक्षमा गर्नुपर्छ । राजनीतिलाई कमाउने पेसा ठान्नु हुँदैन । व्यक्तिगत स्वार्थको निम्ति गरिएको राजनीतिको पक्षमा सञ्चारकर्मीले कलम चलाउनु उपयुक्त हुँदैन । अतः पत्रकार, पत्रकारिता या सञ्चार जगत् राजनीतिबाट अलग्ग हुन सकदैन । पत्रकारिताले प्रजातन्त्रको निम्ति पनि लेख्छ, देशमा मौलिक परिवर्तनको निम्ति पनि वातावरण तयार गर्छ; गर्नुपर्छ । देश र जनताको पक्षमा आवाज बुलन्द गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *