भर्खरै :

रहेनन् साम्राज्यवादविरोधी माक्र्सवादी आवाज माइकल परेन्टी

  • माघ १४, २०८२
  • जान्ना काद्री
  • विचार
रहेनन् साम्राज्यवादविरोधी माक्र्सवादी आवाज माइकल परेन्टी

माइकल परेन्टीको मृत्युमा विश्वका वामपन्थीहरू शोक मनाइरहेका छन् । परेन्टी प्रभावशाली माक्र्सवादी विद्वान्, इतिहासकार र जनबौद्धिक थिए । उनले पुँजीवाद, साम्राज्यवाद र विचारधारात्मक शक्तिले कसरी काम गर्छ भनेर छर्लङ्ग पारे । जनवरी २४ गते ९२ को उमेरमा परेन्टीको निधन भयो । उनले धेरै रचना छोडेर गएका छन् । यी रचनाले विश्वभरि नै विद्वान्, सङ्गठक र साम्राज्यवादविरोधी अभियन्ताहरूको एक पुस्तालाई आकार दिए ।
दशकौँसम्म परेन्टी मूलधारे प्राज्ञ र राजनीतिक जीवनविरुद्ध निर्मम भएर उभिए । उनले उदारवादीहरूको सम्मानमा आफ्नो विश्लेषण र आलोचनाको भाषा नरम पार्न अस्वीकार गरिरहे । उनले सत्ताधारीहरूलाई रिझाउनका लागि कहिल्यै लेखेनन् । बरु, जनतालाई सत्यतथ्य बुझाउनका लागि लेखे ।

मजदुर पृष्ठभूमि र सम्झौताहीन राजनीति
परेन्टी सन् १९३३ मा अमेरिकाको न्युयोर्क सहरमा जन्मेका थिए । उनका आमाबुबा इटालीबाट आएका अमेरिकी थिए । उनीहरू मजदुरवर्गका थिए । परेन्टी प्रायः भन्ने गर्थे, उनको राजनीतिक प्रतिबद्धता अमूर्त थिएन बरु देखेभोगेको अनुभवमा आधारित थियो । वर्ग उनले सिद्धान्तमा भेटेका थिएनन्, वर्गमै हुर्केका थिए उनी ।
उनले विद्यावारिधि गरे† राजनीति र इतिहास पढाए । तर, सँगै उनी मुखर माक्र्सवादी र साम्राज्यवादविरोधी पनि रहे । यसले गर्दा सम्भ्रान्त प्राज्ञतन्त्रले उनलाई सधैँ किनारतिर धकेलिरह्यो । परेन्टी पछि हटेनन्, जसोजसो बाहुन बाजे उसैउसै स्वाहा भनेनन् । बरु उनले स्वतन्त्रता रोजे । उनी ठाउँठाउँमा प्रवचन दिँदै हिँडे; लगातार लेखिरहे र मजदुर युनियनका सभाहरूमा खुलेर बोले । उनले सामुदायिक केन्द्रमा गएर बोले । अभियन्ताहरूका मञ्चमा बोले र बोलिरहे अन्तर्राष्ट्रिय दर्शक स्रोता सामु, धित नमेटिने गरी ।
उनले सादा जीवन बाँचे । थिङ्क ट्याङको करियर बनाउनबाट जोगिए । कर्पोरेटहरूको पैसाबाट टाढै बसे । उनले आफ्नो निजी जीवनलाई सकेसम्म बाहिर ल्याएनन् । उनी एक लोग्ने थिए, पत्रकार एवम् राजनीतिक विश्लेषक क्रिस्चियन परेन्टीका बाबु थिए । तर, उनले आफ्नो जीवनीलाई उति महत्व दिएनन् । उनका लागि एउटै चीज महत्वपूर्ण थियो – काम ।

‘प्रजातन्त्र’ को वर्गीय चरित्र उदाङ्ग्याए
परेन्टीको प्राज्ञिक योगदान गहिरो छ । उनको सबैभन्दा ठुलो देन थियो – पुँजीवादमा उदारवादी प्रजातन्त्र/लोकतन्त्रको व्यवस्थित आलोचना । उनको कालजयी पुस्तक रह्यो – मुठीभर मानिसको प्रजातन्त्र । यो पुस्तक सन् १९७४ मा प्रकाशित भएको थियो । पुस्तकमा उनले तर्क गरे – पुँजीवादी प्रजातन्त्र सबैलाई सहाराको हात दिने तटस्थ प्रणाली होइन† बरु राजनीतिमा रजगज चलाउने आर्थिक सत्ता हो; वर्गनिर्देशित अवस्था हो ।
परेन्टीले साबित गरिदिए – पुँजीवादी प्रजातन्त्रमा निर्वाचन, अदालत, सञ्चार र राज्यका निकायहरूले लगातार पुँजीको सेवा गरिरहन्छन् जब कि जनताका मागलाई एकातिर तह लगाइन्छ, छ्यासमिस पारिन्छ वा दबाइन्छ । उनले तर्क गरे – प्रजातन्त्रलाई (शासकहरूले) तबसम्म सहन्छन् जबसम्म त्यसले सम्पत्तिको स्वरूपमा आँच पु¥याउन्न । परेन्टीले लेखे, “सत्ता समाजमा समान रूपले वितरण गरिन्न । उत्पादक धनमाथि जसको स्वामित्व र नियन्त्रण छ, तिनैले राष्ट्रको राजनीतिक जीवनमा वर्चस्व जमाउन खोज्छन् ।”
परेन्टीको यो किताब विश्वभरिका विद्यार्थी र अभियन्ताहरूको लागि आधारभूत पुस्तक बन्यो । प्रस्ट भाषा र उदारवादी भ्रमको खण्डनका लागि यो पुस्तकले संसारभरि नाम कमायो ।

नग्न साम्राज्यवाद
साम्राज्यवाद र अमेरिकी विदेश नीतिको अध्ययनमा पनि परेन्टीले ठुलै छाप छोडे । ‘साम्राज्यविरुद्ध’ र ‘राष्ट्रको हत्यार्थ’ नाउँका दुई पुस्तकमा उनले पश्चिमा युद्धहरू मानवीय ध्येय वा प्रजातान्त्रिक आदर्शका लागि लडिन्छ भन्ने विचारलाई धुजाधुजा पारे ।
उनले देखाइदिए – हस्तक्षेप, नाकाबन्दी र सत्तापलटमार्फत गरिने यी युद्धहरू भौतिक स्वार्थपूर्तिका लागि; प्राकृतिक सम्पदा, श्रमशक्ति, सामरिक भूमि तथा विश्व बजारमाथि नियन्त्रण जमाउनका लागि गरिन्छ । मानव अधिकारका बहस र विमर्शहरू कसरी एकलकाँटे बनाइन्छ, आफूले भनेजसो गर्ने राज्यलाई कसरी जवाफदेही हुनबाट जोगाइन्छ र प्रतिरोध सङ्घर्षलाई कसरी आतङ्कवादको बिल्ला लगाइन्छ – यी यावत दृश्यलाई परेन्टीले छर्लङ्ग पारे ।
परेन्टीको एउटा भनाइलाई धेरैले उद्धृत गर्दै आएका छन् र यो भनाइ आजको कटु यथार्थ पनि हो । उनले भनेका थिए, “साम्राज्यवादको गाँठी काम सभ्यता वा प्रजातन्त्र फैलाउनु होइन, बरु असमानताको विश्व व्यवस्था जोगाइरहनु हो ।”
उनको यो विश्लेषणले युद्धविरोधी र साम्राज्यवादविरोधी आन्दोलनहरूलाई प्रस्ट बाटो देखायो । नैतिकताको छलकारी भड्काउबाट जोगिन र बाहिरी रूपमाभन्दा भित्री सार–संरचनामा ध्यान दिन अभियन्ताहरूलाई मद्दत ग¥यो ।

कम्युनिस्टविरोधीहरूको विरोध र ऐतिहासिक इमानदारी
‘ब्ल्याकसर्ट र लालहरू’ पुस्तकमा परेन्टीले शीतयुद्धताका फैलाइएको कम्युनिस्टविरोधी (Anti-communism) लाई सामान्य विश्लेषणभन्दा पनि एक विचारधाराको रूपमा हेरे; त्यही रूपमा खण्डन गरे । उनले समाजवादी राज्यहरूको दमन वा विफलतालाई अस्वीकार गरेनन् । बरु, उनले समाजवादी प्रयोगहरूलाई असम्भव नैतिक मापदण्डले नाप्दै गर्दा कसरी पुँजीवादी हिंसालाई स्वाभाविक देखाइन्छ (Normalize) भनेर भण्डाफोर गरिदिए ।
परेन्टीले ऐतिहासिक तुलनामा जोड दिए । उनले प्रश्न गरे – फासीवादीलाई किन विचलन मात्र मानिन्छ ? उपनिवेशवाद, दासप्रथा, नाकाबन्दी, संरचनात्मक अभावजस्ता पुँजीवादका आफ्नै सामूहिक हिंसालाई किन अदृश्य वा अपरिहार्य मानिन्छ ?
त्यो पुस्तकले एउटा गम्भीर बहस सुरु ग¥यो । राजनीतिमा समाजवादको चर्चा छिःछिःदुरदुरको अवस्थामा थियो । यस्तो बेला परेन्टीको पुस्तकले साक्षरता, स्वास्थ्यसेवा, महिला सहभागिता र लोककल्याणको क्षेत्रमा समाजवादले हासिल गरेका उपलब्धिहरूबारे छलफलको ढोका खोल्यो ।

मिडिया, विचारधारा र शासकनिर्मित जनमत
‘मिडिया साक्षरता’ पदावली आउनुभन्दा धेरै अघि नै परेन्टीले कर्पोरेट मिडियाको संरचनात्मक पूर्वाग्रहलाई नङ्ग्याइदिएका थिए । ‘यथार्थको आविष्कार’ नामक पुस्तकमा उनले कस्तो समाचार लेख्ने, कसरी लेख्ने र को–कसका विचारलाई लुकाउने भन्ने निक्र्योल मालिक, विज्ञापनदाता, लगानीकर्ता र शासकहरूबिचको आम सहमतिले गर्छ भनी केस्राकेस्रा केलाए ।
परेन्टीले जोड दिए – दुष्प्रचार गर्नका लागि देखिने गरी सेन्सरसिप लगाउनु पर्दैन । पुनरावृत्ति (झूटलाई बारम्बार भट्याउने), (सत्यतथ्यलाई) बेवास्ता, उपहास (गर्ने) र छाँटिएको आक्रोशमार्फत दर्शक/पाठक/स्रोतालाई के चीजलाई बेवास्ता गर्ने र केलाई विश्वास गर्ने भनी सिकाएपछि सेन्सरसिप लगाउनै पर्दैन ।
यो पुस्तकले परेन्टीलाई ‘आलोचनात्मक मिडिया अध्ययन’ को एक कोशेढुङ्गा बनाइदियो । खासगरी युद्धमुखी भाष्य र आर्थिक मिथकहरूलाई चुनौती दिन खोजिरहेका अभियन्ताहरूबिच उनी मार्गदर्शक बने ।

सम्झौता नभई सङ्घर्षका विद्वान्
परेन्टीलाई उनका तर्कले मात्र फरक बनाएनन् । बरु, जसरी उनी बाँचे, त्यसले उनलाई अरुभन्दा फरक बनायो । उनले कहिल्यै आफ्नो कठोर/परिवर्तनकामी राजनीतिलाई करियर बनाउने भ¥याङ बनाएनन् । उनले कहिल्यै सम्झौता गरेनन् । बरु बहिष्करणमै पर्न चाहे† ओझेल अवस्था स्वीकारे । चिल्लो बोल्दा पुरस्कार पाइने प्राज्ञिक माहोलबिच उनले लगातार खस्रा र सिधा कुरा गरिरहे ।
उनका प्रवचनहरू आज पनि अनलाइनमा विश्वभरि सुनिन्छ । ती प्रवचनमा पाइने आत्मीयता, हास्यरस र विस्फोटक सटिकताका लागि सबैले तिनलाई सम्झिने गर्छन् । उनी सर्वसाधारण जनतामाथि भर परे । कुनै प्राज्ञ वा विद्वान्को बैसाखी नटेकेरै पनि साधारण जनताले गहिरा र जटिल विचार बुझ्न सक्छन् भन्ने परेन्टीको विश्वास थियो ।
यही मेलोमा परेन्टीले विद्वता र सङ्घर्षबिच रहेको भड्खालोलाई पुर्न मद्दत गरे । वर्गीय कोणलाई हलुका बनाइएको बेला र त्यसको ठाउँमा (पुँजीवादी/साम्राज्यवादी शासकहरूले) अमूर्त नैतिकताको मापदण्डलाई बढावा दिइरहेको बेला परेन्टीले वर्गमा आधारित दृष्टिकोणलाई† त्यो दृष्टिकोणमाथिको जनविश्वासलाई पुनर्जीवन दिए ।

एक चिरस्थायी विरासत
माइकल परेन्टीले कुनै विचारधारा प्रतिपादन गरेनन् । उनको प्रभाव अलग्गै बाटो भएर विश्वभरि फैलियो । पुराना किताब, धेरैले सुन्ने प्रवचन, अध्ययन समूह, आन्दोलनका मोर्चा र अचानक संसार बुझ्दाका शान्त क्षणहरू हुँदै परेन्टीको प्रवाह फैलियो ।
साम्राज्यवादी हिंसाले पुनः टाउको उठाउँदा, असमानताको खाडल अझ गहिरिँदा र विचारधारात्मक अन्योल बढ्दा परेन्टीका कृतिहरू सान्दर्भिक भइरहनेछन्; परेन्टीले बोलिरहनेछन् ।
एकपल्ट उनले भनेका थिए, “सामाजिक न्यायको सङ्घर्षमा हामी जुन व्यवस्थाका विरुद्ध उभिन्छौँ, त्यसको प्रकृति बुझ्नु नै पहिलो पाइला हो ।”
विश्वभरि छरिएका कामदारवर्गका बौद्धिक, सङ्गठक र विद्वान्हरूका कैयन् पुस्तालाई माइकल परेन्टीले त्यो ‘प्रकृति’ बुझ्न सघाए ।
अब उनी हामीमाझ छैनन् । तर, उनको वैचारिक स्पष्टता सदा जीवित रहिरनेछ ।
स्रोत : एमआर अन्लाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *