भर्खरै :

स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ हुनुपर्छ

स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ हुनुपर्छ

सरकारले हेर्नुपर्ने एक महत्वपूर्ण पक्ष स्वास्थ्य क्षेत्र पनि हो । उपचारबिना कुनै नागरिक मर्न नपरोस् भनी सबै नागरिकलाई समान रूपले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सरकारले प्रदान गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई जीवनको सुनिश्चितता, निःशुल्क उपचारको बन्दोबस्त र आदर निकेतनको व्यवस्था हुनुपर्छ । टुहुराटुहुरी, अपाङ्ग, विधवा, बिरामी र आफन्तबिनाको असहाय नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्ने र सबै नागरिकलाई सुस्वास्थ्यको निम्ति खेलकुद र शारीरिक शिक्षाको बन्दोबस्त गर्नुपर्छ । रोजगारी, शिक्षा र स्वास्थ्यको सहुलियत आदिमा पनि सरकारको ध्यान पुग्नुपर्छ । पछाडि पारिएका क्षेत्र र युगौँदेखि शोषितपीडित जनतालाई अगाडि बढाउन र व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्ने स्वास्थ्य शिक्षा आवश्यक छ । सुत्केरी अगाडि र पछाडि तलब वा ज्यालासहित तीन महिनाको बिदाको बन्दोबस्त, बोक्सीको आरोप र छाउपडीजस्ता कुसंस्कारबाट महिलालाई ठग्ने, शोषण गर्ने, पीडा दिने तथा घरेलु हिंसा रोक्न पीडकलाई कडा कारबाही गर्ने ऐन कानुनको व्यवस्था गर्नुपर्छ । महिलालाई विदेशमा लगी बेच्ने, जीउ म्हास्ने, म्यानपावर कम्पनीको नाउँमा ठगी गर्ने, झूटो आश्वासन दिई गलत व्यक्तिसँग विवाह गरिदिने व्यक्तिलाई क्षतिपूर्ति दिलाउने काम गर्नु आवश्यक छ ।
सुगम क्षेत्रमा मात्र होइन दुर्गम र विकट क्षेत्रको बस्तीबस्तीमा स्वास्थ्योपचार सेवा पु¥याउन, औषधिको व्यवस्था सर्वसुलभ बनाउन, स्वास्थ्य केन्द्र र अस्पतालहरूको व्यवस्था हुनुपर्छ । हरेक प्रदेश, गाउँ र नगरमा स्वास्थ्य केन्द्र, जिल्ला र केन्द्रीय अस्पतालहरू खोल्नुपर्छ । हरेक प्रदेशमा आवश्यकताअनुसार सरकारी र स्थानीय चिकित्सा विश्वविद्यालय खोल्नुपर्छ । यी विश्वविद्यालयबाट सर्वसाधारण जनताका सन्तानले पनि चिकित्सा विषय अध्ययन गर्ने अवसर सरकारले दिनुपर्छ । हरेक जिल्ला, नगर या गाउँमा अस्पताल हुनुपर्छ । स्वास्थ्य केन्द्र त नगर र गाउँको वडावडामा आवश्यक हुन्छ । हरेक गाउँ र ठाउँको घर आँगन र बस्ती बस्तीमा स्वास्थ्य सेवा, औषधि उपचारको व्यवस्था हुनुपर्छ । देशमा उत्पादित चिकित्सक, नर्स या स्वास्थ्यकर्मीलाई देशमै योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नुपर्छ । सरकारले उनीहरूको रोजगारी र ज्याला सुनिश्चित गर्न नसकेको कारण देशमा लाखौँ खर्चेर तयार भएका चिकित्सक र नर्स बिदेसिरहेका छन् । यहाँ उत्पादित नर्स र चिकित्सक बिदेसिएपछि बस्ती बस्तीमा नेपाली जनतालाई कसरी स्वास्थ्य सेवा पु¥याउन सकिन्छ ? देशमा उत्पाडित नर्स र चिकित्सकहरू किन बिदेसिन्छन् ? सरकारले ध्यान दिनुपर्छ ।
सुगम स्थानमा अस्पताल, स्वास्थ्य केन्द्र, चिकित्सक, औषधि सर्वसुलभ हुन्छ । तर, दुर्गम र विकट स्थानमा त्यो सुविधा हुँदैन । डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई देशको सबै क्षेत्रमा खटाउने व्यवस्था हुनुपर्छ । बिरामीले सजिलैसँग स्वास्थ्य परीक्षण र उपचार गर्ने बन्दोबस्त पाउनुपर्छ । अहिले पनि कति जिल्ला, नगर र गाउँमा अस्पताल नभएर, अस्पताल भए पनि चिकित्सक नपुगेर स्वास्थ्य सेवा सहज भइरहेको छैन । सर्वसाधारण जनताले ठुलठुला रोगको उपचार गर्न सकेका छैनन्† औषधि खर्च गर्न सकेका छैनन् । अतः स्वास्थ्य सेवासँगै औषधि पनि सर्वसुलभ हुनुपर्छ । गाउँ–ठाउँ र बस्ती–बस्तीमा स्वास्थ्य केन्द्र र औषधि उपचारको व्यवस्था नभएर कतिले बाटोमा ल्याउँदा ल्याउँदै त कतिको उपचार खर्च गर्न नसकेर जीवन त्यागेका छन् । यसकारण, स्वास्थ्य सेवा सुगममा मात्र केन्द्रित नगरी दुर्गम र विकट क्षेत्रमा पनि पु¥याउनुपर्छ । स्वास्थ्य सेवालाई निःशुल्क, स्तरीय बनाई, स्वास्थ्य सेवाको निम्ति जनशक्ति तयार गरी स्वास्थ्योपचार जनताको घर आँगनमा पु¥याउन सकेमात्रै जनताले स्वास्थ्य क्षेत्रमा राहत पाउनेछन् ।
जनतालाई विभिन्न रोगबारे पनि सचेत बनाइनुपर्छ । रोगको अज्ञानता, रोगबारे समयमा उपचार नगर्दा, ठीक समयमा ठीक मात्रा औषधि सेवन नगर्दा बिरामीको सङ्ख्या बढेको देखिन्छ । खानपिनमा ध्यान नदिएको कारण बिरामीको सङ्ख्या बढेको हो । अस्पताल, स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूको लस्कर हेर्दा बिरामी नभएको कोही हुँदैन जस्तो अनुभूति हुन्छ । जनतालाई स्वास्थ्यबारे चेतना दिएर उपचारात्मकभन्दा प्रतीकारात्मक उपचार विधि अपनाउनेतर्फ सरकारको ध्यान जानुपर्छ । सर्वसाधारण जनता पनि आफू स्वस्थ हुन चुरोट, लागूऔषध सेवन गर्ने बानी छोड्नुपर्छ । एड्स रोगजस्तो प्राणघातक रोगबारे सचेत हुनुपर्छ । जनतालाई स्वास्थ्यबारे सुसूचित पार्न स्वास्थ्य कार्यकर्ताहरू तयार गर्नुपर्छ । यस्तो बन्दोबस्त भयो भने रोगीको समयमै स्वास्थ्योपचार हुनेछ† रोगीले समयमै उपचार गर्न पाउनेछ । यसले स्वास्थ्य संस्थामा सेवा गर्ने अवसर पाउनेछ र केही हदमा देशको थोरै भए पनि बेरोजगारी समस्या हल हुनेछ । सबै नेपालीलाई स्वास्थ्य सेवा पु¥याउन र सोको पहुँच बस्ती–बस्तीमा पु¥याउन सरकार लाग्नुपर्छ । सबैजसो उपचार विधिहरूमा अकुपञ्चर, होमियोप्याथिक, आयुर्वेदिक आदि स्वास्थ्य सेवा सर्वसुलभ बनाइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *