भर्खरै :

नेमकिपाबारे प्रतिक्रियावादीहरूले फैलाएको भ्रम र यथार्थ

नेमकिपाबारे प्रतिक्रियावादीहरूले फैलाएको भ्रम र यथार्थ

फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन प्रचारप्रसारले तिव्रता पाएको छ । सामाजिक सञ्जाल पुरै निर्वाचनमय भएको छ । आचारसंहिता कागजको पानामा सीमित हुँदै छ । शासक पार्टीहरूले हाकाहाकी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोग मौन छ । सञ्चारमाध्यमहरू आचारसंहिताविपरीत उम्मेदवारहरूको मत सर्वेक्षण गर्दै छन् । मतदाताबाट आफूले चाहेका विचार ओकल्न लगाउन वा सार्वजनिक गर्न कतिपय सञ्चारमाध्यमहरू सक्रियतापूर्वक लाग्दै छन् ।
निर्वाचन प्रचारप्रसारको क्रममा नेमकिपाबारे शासक दलका नेता कार्यकर्ताहरू र कतिपय सञ्चारमाध्यमहरूले गलत ढङ्गले प्रचाप्रसार गरी जनताबिच भ्रम छर्दै छन् । नेमकिपाको विचार, सिद्धान्त र पार्टी कार्यकर्ताहरूको अनुशासनलाई ओझेलमा पार्दै नेमकिपाबारे गलत प्रचार वा टिप्पणीहरूबारे प्रस्ट पार्नु आवश्यक छ ।
नेमकिपा भक्तपुर नगरपालिकामा मात्र सीमित पार्टी :
यो आजको मात्र होइन, दशकौँ पहिलेदेखि प्रतिक्रियावादीहरूले लगाउँदै आएको आरोप हो । नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै अगाडि बढिरहेको पार्टी हो । २०३१ साल माघ १० गते विधिवत स्थापना भएको यस पार्टीले हरेक निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ‘ब्यारोमिटर’ को रूपमा उपयोग गर्दै छ । २०३८ सालमा भएको पञ्चायतकालीन आम निर्वाचनदेखि आजसम्म भएका निर्वाचनहरूमा नेमकिपाले भाग लिँदै आएको छ र हरेक संसद्मा नेमकिपाको प्रतिनिधित्व रहँदै आएको छ । २०४२ सालमा १ जना, २०५१ म ४ जना, २०५६ मा १ जना, २०६४ मा ५ जना, २०७० मा ४ जना, २०७४ र २०७९ मा १,१ जना सांसदको प्रतिनिधित्व थियो ।
भक्तपुर जिल्लाबाट मात्र होइन, देशका विभिन्न जिल्लाबाट समेत प्रतिनिधित्व थियो । आगामी फागुन २१ मा हुन गइरहेका निर्वाचनमा पनि नेमकिपाले ५९ जिल्लाबाट १२१ उम्मेदवार उठाएको छ । पूर्व मेचीदेखि महाकालीसम्म, उत्तर हिमालदेखि तराइका जिल्लाहरूमा समेत नेमकिपाका उम्मेदवारहरू छन् । जिल्ला जिल्लाका उम्मेदवारहरूले नै प्रतिक्रियावादीहरूको आरोप गलत भएको प्रमाणित गर्दैन र ?
नेमकिपा एक जनामात्र जित्ने पार्टी :
प्रजातन्त्रमा विचारको प्रतिस्पर्धा हुन्छ, भिडको होइन । को सही र गलत भन्ने मापदण्ड डर त्रास देखाई पैसा बाँडेर, भोज खुवाएर, लोभ लालचको भरमा पाएको मतले निर्धारण गर्दैन । बरु, आजसम्मको संसदीय व्यवस्थाको अभ्यासले नेमकिपा जनतालाई दिएको आश्वासन पूरा गर्ने एक मात्र पार्टी साबित भएको छ । नेमकिपाका अध्यक्ष का. रोहितलाई प्रधानमन्त्री, उपप्रधानमन्त्रीको पटक पटक प्रस्ताव आएको र पार्टीलाई यसअघिका अधिकांश सरकारमा सहभागिताको लागि आग्रह गरिएको थियो । नेमकिपा जनताबिच प्रखर प्रतिपक्षको भूमिकामा बस्ने घोषणापत्रको आधारमा निर्वाचित भएको हुँदा त्यही वचनअनुसार प्रतिपक्षमा बस्दै आएको छ ।
संसद्मा कतिजनाले प्रतिनिधित्व ग¥यो त्यो मुख्य होइन । ठुलो सङ्ख्यामा सरकार गठनको बेला बहुमत पु¥याउन काम लागे पनि अन्य बेला कस्तो व्यक्ति र विचारले प्रतिनिधित्व ग¥यो भन्ने महत्वपूर्ण हुन्छ । नेमकिपाले आजसम्म इमानदारीपूर्वक देश र जनताको सेवा गर्दै आएको छ । कुनै विकृति, सत्तामोहमा लागेको छैन । नेमकिपाको एकैजना सांसद भए पनि सशक्त प्रतिपक्षमा रहेर संसद्लाई जीवित राख्न सहयोग गरे । के अन्य कुनै पार्टीबाट त्यस्तो रचनात्मक भूमिका खेलेको थियो ?
संसद्मा प्रस्तुत विधेयक र प्रस्तावबारे आफ्ना पार्टीको विचार प्रस्तुत गर्ने, विदेशीसँगको सन्धि सम्झौताहरूमा रहेका देशघाती प्रावधानहरूको विरोध गर्ने र सरकारका मन्त्रीहरूलाई विषयगत प्रश्नहरू गरेर ¥याख¥याख्ती पार्ने काम एकजना सांसदले गरे । संविधान र कानुनले तोकेको प्रावधानभित्र रहेर संसदीय प्रजातन्त्रको अभ्यास गर्दै आए । विशाल पृथ्वीमा एउटा चन्द्रमाले झलमल्ल प्रकाश दिएजस्तै नेमकिपाका एउटै सांसदले भ्रष्टाचारले दुर्गन्धित सरकारको विरोधमा सशक्त आवाज बुलन्द गरे । नेका, एमाले र माओवादीका जतिसुकै सङ्ख्या भएर के अर्थ भयो ? नेमकिपाका सांसद नभएको भए संसद मृतसरह हुने सबैले अनुभव गरेको विषय हो । एकजना पनि नजित्ने भए पनि प्रतिक्रियावादीहरूले गरेको गलत कामलाई नङ्ग्याउन पनि नेमकिपाले निर्वाचनमा भाग लिन्छ ।
जित्ने होइन, किन जिल्ला जिल्लामा उम्मेदवार उठाए ?
नेमकिपा निर्वाचनमा जित्नकै लागि उठ्ने गर्दैन । प्रतिगामीहरूलाई सजिलै जित्न नदिन, जनताको राजनीतिकस्तर माथि उठाउन र जनविरोधी विधेयक तथा सम्झौताहरूविरुद्ध आवाज उठाउन पनि निर्वाचनलाई उपयोग गर्छ । निर्वाचनमा जित्ने, सरकारमा जाने र करोडौँ पैसा कमाउने जस्ता सोच नेमकिपाले कहिल्यै राखेको छैन र राख्दैन पनि । पैसा कमाउने भए व्यापार वा अन्य पेसामा लाग्न पार्टीले नै निर्देशन दिएको हुन्छ । राजनीतिलाई देश र जनताको सेवा हो भन्ने मान्यतालाई नेमकिपाका नेता कार्यकर्ताहरूले आत्मसात गर्दै आएका छन् । आज देशमा धेरै पार्टीहरू भए पनि नेमकिपा एउटा इमानदार, देशभक्त, स्वच्छ छवि भएको सिद्धान्तनिष्ठ र अनुशासित पार्टीको रूपमा स्थापित छ । जित्नलाई भन्दा पुँजीवादी सरकारमा भएका विकृतिहरू जनताबिच नङ्ग्याउनको लागि नेमकिपाका उम्मेदवारहरू जनताबिच पुग्दैछन् ।
विभिन्न जिल्लामा भक्तपुरका उम्मेदवार उठाएको बारे :
नेमकिपा देशको संविधान, ऐनकानुनलाई अक्षरसः पालना गर्छ । देशका कानुनले प्रतिनिधिसभामा कुनै पनि क्षेत्रबाट चुनाव लड्ने अधिकार प्रदान गरेको छ । त्यही आधारमा चितवनका प्रचण्ड रोल्पाबाट, काठमाडौँका रवि लामिछाने चितवनबाट, महोत्तरीका बालेन साह झापाबाट उम्मेदवार बनेका छन् । त्यस्ता कैयौँ उम्मेदवारहरू छन् जो पार्टीले उपयुक्त ठानेका क्षेत्रमा निर्वाचन लड्दै छन् । अन्य कसैको हकमा यस्तो प्रश्न नउठ्ने तर नेमकिपाकै बारे मात्र किन प्रश्न उठ्छ ? यसले के प्रस्ट पार्छ भने नेमकिपाको नाउँदेखि नै प्रतिक्रियावादीहरू डराएका छन् वा तर्सेका छन् ।
नेमकिपाले निर्वाचन आयोगको निर्देशनबमोजिम देशभरिबाट ३३ प्रतिशतभन्दा बढी महिला उम्मेदवार उठाएर देशकै सबैभन्दा बढी महिला उम्मेदवार उठाउने पार्टीको रेकर्ड राखेको छ । नेमकिपाबाट ४४ प्रतिशत महिला उम्मेदवार उठेका छन् । महिलाहरूको सम्मान गरेको विषयलाई पनि प्रतिगामीहरूले गलत ढङ्गले प्रचारप्रसार गर्दै छन् । जोसुकैले जेसुकै सोचून्, यथार्थ कामदार वर्गलाई राजनीतिक रूपले सचेत पार्नु नै नेमकिपाको उद्देश्य हो र त्यही उद्देश्य पूर्तिका लागि नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै छ ।
नेमकिपा सानो छ भन्नेबारे :
प्रतिक्रियावादीहरू नेमकिपालाई सधैँ सानो पार्टी भनेर हेलाहोचो गर्छन् । वास्तवमा उनीहरूलाई थाहा हुनुपर्छ, विचार कहिले पनि सानो र ठुलो हुँदैन । नेमकिपाले सङ्ख्या होइन, विचारको प्रतिनिधित्व गर्छ र गरिरहेको छ । नेमकिपाले बोकेको समाजवादी विचार विश्वमा आजसम्म विकास भएको मानव इतिहासमा सबैभन्दा नवीन विचार हो ।
आकारलाई सही मान्ने हो भने नेपाल विश्वको ९५ औँ देश हो । छिमेकी देशहरू चीन र भारतभन्दा पनि क्षेत्रफल र जनसङ्ख्यामा निकै सानो छ । जति नै सानो भए पनि सबै देशको सार्वभौमिकता बराबर हुन्छ । त्यसैले निर्वाचन धाँधली गरेर प्राप्त गरेको मतको आधारमा पार्टीलाई सानो र ठुलोको संज्ञा दिनु उचित होइन ।
आकारमा प्रजग कोरिया सानो देश हो तर अमेरिकालाई हरेक क्षेत्रमा टक्कर दिन ऊ सक्षम छ । अणु बम, हाइड्रोजन बमसमेत उत्पादन गरेर अमेरिकाजस्तो विश्वकै ठुलो शक्तिशाली र आतङ्ककारी देशलाई पनि प्रजग कोरियाले तर्साइरहेको छ । यसको मुख्य कारण प्रजग कोरियाले अवलम्बन गरेको जुछे विचारधारा र समाजवादी सिद्धान्त हो ।
आकारमा ठुलो हुँदैमा सही हुन्छ भन्ने होइन । विघटित संसद्मा सबभन्दा ठुलो दल नेका र दोस्रो ठुलो दल एमाले थियो । ती दुई पार्टी मिलेर प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत सरकार बनाए तर युवाहरूको आन्दोलनले दुई दिनमै समाप्त पारिदियो । त्यो ठुलो हुनुको के अर्थ रह्यो र ?
हो, सुन र हीरा सानै भए पनि मूल्यवान हुन्छन् । आज नेमकिपाले विचारको राजनीति गरिरहेको छ । विचार र सिद्धान्तअनुसार चलेको सङ्गठित देशमा कुनै पनि दल छ भने त्यो नेपाल मजदुर किसान पार्टी हो । यस अर्थमा नेमकिपा वैचारिक रूपमा सम्पन्न र गौरवशाली पार्टी हो । नेमकिपालाई सानो देख्नु नेमकिपाप्रति पूर्वाग्राही र सामन्तवादी सोच मात्र हो ।
स्वतन्त्र र धाँधलीरहित चुनाव भए नेमकिपाका अधिकांश उम्मेदवारहरूले जित हासिल गर्नेछन् । के पैसा खर्च नगरी नेमकिपाजस्तै स्वतन्त्र चुनाव लड्न अन्य दलहरू तयार छन् ? आजको दिनमा त्यो सम्भव छैन । करोडौँ खर्च गरेर निर्वाचन लड्नेहरूले स्वच्छ निर्वाचनको कल्पना पनि गर्दैनन् । निर्वाचनमा नेमकिपालाई जतिसुकै मत प्राप्त भए पनि त्यो इमानदारीको मत हुनेछ । त्यही मतले नेमकिपालाई उम्मेदवार र पार्टी कार्यकर्ताहरूलाई इमानदारीपूर्वक जनताको सेवा गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *