अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भोलि मे १ । अन्तर्राष्ट्रिय श्रमिक दिवस । संसारभरका श्रमिक जनता विविध गतिविधि गरी श्रमिक दिवस मनाउने तयारीमा छन् । समाजवादी देशका मजदुरहरु मे १ लाई समाजवाद स्थापनाको निम्ति आफ्ना पुर्खाले गरेका गौरवशाली सङ्घर्षको स्मरण र शत्रु शक्तिमाथि आफ्नो विजयको उत्सवका रुपमा मनाउँदैछन् । पूँजीवादी देशका श्रमिक जनता भने आफूमाथि पूँजीवादी राज्य व्यवस्थाले गरिरहेको शोषणको विरोधमा सरकारविरोधी सङ्घर्षका गतिविधि गरेर श्रमिक दिवस मनाउँदैछन् । ग्रीसका निवृत्त शिक्षक, मजदुर र कर्मचारीहरुले मे दिवसको दिन सरकारले आफ्नो निवृत्तिभरणमा गरेको कटौती र नवउदार अर्थतन्त्रका विरोधमा विशाल जुलुस गरेर श्रमिक दिवस मनाउँँदैछन् । युरोपका अधिकांश देशका मजदुरहरुले मे दिवस पूँजीवादी आर्थिक सङ्कटले निम्त्याएका कठिनाई, बेरोजगारी, महङ्गी, सामाजिक अपराधको बिगबिगी, न्युन ज्याला, शोषण आदिको विरोधमा प्रदर्शन गरेर, त्यस्ता जुलुसमा सरकारी प्रहरीले गर्ने बलमिचाई विरुद्ध लडेर मे दिवस मनाउनेछन् ।
नेपालका मजदुरहरुले पनि आफूलाई वामपन्थी भन्न मनपराउने नक्कली वामपन्थी ओली–प्रचण्ड सरकारले चालु राखेको शोषणमूलक बन्दोबस्तको विरोधमा विविध गतिविधि गरी मजदुर दिवस मनाउँदैछन् । नेपालका क्रान्तिकारी मजदुरहरुले मे दिवसको अवसरमा देशभरका मजदुरहरु जम्मा गरी आफ्नो राष्ट्रिय सम्मेलन गर्दैछन् । उनीहरुले जनताको प्रजातन्त्र, समाजवाद र साम्यवाद नै आफू शोषणबाट मुक्त हुने वैकल्पिक मार्ग भएको ठहर गर्दै मे दिवसलाई क्रान्तिकारी आन्दोलनकै शिलशिलाको रुपमा मनाउँदैछन् ।
भारतका मजदुरहरुले यो वर्षको मे दिवस मोदी नेतृत्वको हिन्दुवादी फासीवादविरुद्धको सङ्घर्षका रुपमा मनाउनेछन् । मोदी र उनको पार्टी भारतीय जनता पार्टीको हिन्दुवादी फासीवादी दमनको मिचाईमा आज भारतका मजदुरहरु परेका छन् । मजदुरहरुले उपभोग गर्दै आएका र पाउनुपर्ने राजनीतिक तथा आर्थिक अधिकार आज मोदी सरकारले कटौती गरिरहेको छ । आफ्ना न्यायपूर्ण मागका लागि सडकमा उत्रेका मजदुरहरु मोदी सरकारको दमन नीतिको शिकार बनेका छन् । साथै भारतीय मजदुर र किसानहरुले भारतमा बढ्दो बलात्कार र छात्रा असुरक्षाको विषयलाई पनि यो मे दिवसको महत्वपूर्ण विषय बनाएका छन् ।
तर समाजवादी देश क्युवाका मजदुरहरुको लागि यो वर्षको मे दिवस विगत वर्षझैं विशेष हुनेछ । नयाँ राष्ट्रपति मिगुएल डायजले समाजवादी निर्माणलाई अझ अघि बढाउन व्यक्त गरेको प्रतिबद्धतासँगै क्युवाली समाजवादको भविष्यप्रति विश्वस्त बनेका मजदुरहरु मे दिवसलाई क्युवाली क्रान्तिको इतिहास र समाजवादी निर्माणका विषयमा विचारवान बहस गरेर मनाउनेछन् ।
कोरियाली मजदुरहरु भने कोरिया प्रायःद्विपमा विकसित नयाँ परिस्थितिबारे अझ गहन छलफल गर्दै दुई कोरियालाई एक बनाउने विगत लामो समयदेखिको कोरियाली जनताको साझा सपना पूरा हुनेमा आशावादी भएर मे दिवसलाई उत्सवको रुपमा मनाउनेछन् ।
मध्यपूर्वी देशका श्रमिक जनता भने आ–आफ्नो देशमा संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चाको कारण फैलिएको युद्धको विरोधमा शान्तिको कामना गर्दै श्रमिक दिवस मान्नेछन् । प्यालेस्टाइनी र इजरायली क्रान्तिकारी मजदुरहरुले संरा अमेरिका र इजरायल साम्राज्यवादी नीतिको विरोध गरेर मे दिवस मनाउने तयारीमा छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस संसारका श्रमजीवी जनताको गौरवपूर्ण दिन हो । यो पूँजीवाद, शोषण, युद्ध र मानवताविरोधी अत्याचारको विरोधमा श्रमजीवी संसार निर्माताहरुको दिवस हो । यो दिनमा नेपालजस्तो पूँजीवादी बन्दोबस्त भएका देशका मजदुरहरुले समाजवादी आन्दोलनको शिलशिलाको रुपमा मनाउनुपर्ने आजको आवश्यकता हो ।
Leave a Reply