यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भ्रष्टाचारविरुद्ध सुशासन र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुने शासन व्यवस्थाको माग गर्दै तत्कालीन ओली सरकारले गरेको सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा सुरु भएको जेनजी (नयाँ पुस्ता) प्रदर्शनका क्रममा सरकारले दमन गर्दा १९ युवाहरूको ज्यान गयो ।
ओली सरकारले सोही दिन साँझ सामाजिक सञ्जाल सुचारु गरिसकेको थियो ।
भोलि पल्ट बानेश्वरस्थित सङ्घीय संसद्् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत देशभर सयौँ प्रहरी चौकी, नगरपालिका र वडा कार्यालयहरू जले ।
अहिले सामाजिक सञ्जालमा जेनजीको नाममा भएको भदौ २४ गतेको आगजनीसहितको प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्ष सहभागी रहेको विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सेयर गरेका भिडियोहरूबाट स्पष्ट देखाउँदै छन् ।
रास्वपाले भदौ २३ को अघिल्लो दिन भदौ २२ गते नै महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा एक विज्ञप्ति प्रकाशित गरी पछिल्लो पुस्ताको सडक प्रदर्शनमा रास्वपासँग आबद्धलगायत समस्त युवाहरूलाई कुनै पनि दलीय सङ्केत, नारा र परिचय प्रयोग नगरी ऐक्यबद्धता प्रकट गर्न आग्रह गरिएको थियो ।
उक्त विज्ञप्तिमा “भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ता (जेनजी) को स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएको, नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि हाम्रो निगरानी रहनेछ । जेनजीले उठाएका विषयहरूलाई निष्कर्षमा पुर्याउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गर्दछौँ ।”
यस अर्थमा रास्वपा लगभग जेनजी प्रदर्शनको आयोजन नै देखियो कि प्रदर्शन अभूतपूर्व हुने, सरकार र सत्तापक्षीय दलहरूले प्रदर्शन बिथोल्न पर्ने स्थितिमा पु¥याउने, घुसपैठ र दमनको आरोप लगाउनुपर्ने अवस्थाको समेत आँकलन रास्वपाले भदौ २२ गते नै गरिएको प्रस्ट देखिन्छ ।
भदौ २३ गते धादिङमा रहेर रास्वपाकी आशिका तामाङले ‘संसद्् भवन जल्न लाग्दैछ है’ भन्दै युवाहरूलाई उक्साइरहेको देखिन्छ । त्यसको भोलिपल्ट बानेश्वरस्थित सङ्घीय संसद् भवन जल्छ । दशरथ भण्डारीले शेयर गरेको उक्त भिडियोमा भोलिपल्ट संसद् भवन जल्न लागेको छ भन्ने जानकारी उनलाई कसरी जानकारी भयो ? प्रश्न उठाइएको थियो ।
भदौ २४ मा भएको संसद् भवन, सर्वोच्च अदालत, सिंहदरवार, राष्ट्रपति भवनलगायतका सरकारी संरचना ध्वस्त बनाउने, रास्वपा नेता रवि लामिछानेलाई नख्खु जेलबाट बाहिर निकाल्नेलगायतका तोडफोड, आगजनीको घटनामा रास्वपाका प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, रुकेश रंजितलगायतका समस्त रास्वपाजनको प्रत्यक्ष संलग्नता रहेको बारे “भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै अब कुनै दुविधा बाँकी रहेन ।
राष्ट्रपति भवनभित्रै २५० जनाको सेनाको टुकडी रहेको, सिंहदरबारभित्रै सेनाको गण (ब्यारेक) रहेको अवस्थामा आगजनी हुनु र उक्त आगो निभाउन सेनालाई कुनै आदेश नआउनु, काठमाडौँ महानगरपालिकाको मात्रै नभई सेनाको भद्रकालीस्थित दमकल समेत ४० घण्टादेखि ७२ घण्टासम्म घटनास्थलमा नपुग्नुले जेन जीको नाममा भएको प्रदर्शन र भोलिपल्ट भएको तोडफोड एवं आगजनीको घटनामा नेपाली सेनाको संलग्नता रहेको पुष्टि हुने विज्ञहरू बताउँछन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले त भारत र संरा अमेरिकाको संलग्नताबिना नेपालमा यस्तो घटना हुनै नसक्ने बताउनुभएको छ ।
सोही प्रदर्शनको आँडमा ओली सरकारलाई सत्ताच्यूत गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको निर्वाचन सरकार गठन भएको थियो । जसका लागि जेनजीका प्रतिनिधिहरूले नेपाली सेनाको हेडक्वाटर भद्रकाली, काठमाडौँमा प्रधानसेनापतिसँग वार्ता गरेका थिए ।
प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गर्न जेनजी (युवा पुस्ता) का समूहहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुझाएको सर्वविदित्तै थियो । निर्वाचन सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउन पनि उनैले सुझाएको बताइन्छ ।
नेपालको संविधानबमोजिम प्रधानन्यायाधीशको पदबाट अवकास पाएका व्यक्ति मानवअधिकार आयोगबाहेक कुनै पदमा नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थाका बाबजुत पनि न्याय र कानुनका जानकार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री पदमा बहाल भइन् ।
प्रधानमन्त्री पदमा बहाल भएको केही मिनेटमै जनप्रतिनिधिमूलक प्रतिनिधिसभाको विघटन गरिन र फागुन २१ गते निर्वाचन घोषणा गरिन् ।
फिल्मी ढङ्गले रवि लामिछानेलाई नख्खु जेलबाट निकालेका रास्वपाजनलाई सुशीला कार्कीको सरकार आएपछि अदालतको आदेशबाट धरौती जमानीमा निकाल्न कुनै कसरत गर्ने परेन । त्यतिमात्रै कहाँ हो र उनीविरुद्ध पाँच वटा जिल्ला अदालतहरूमा चल्दै गरेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालय आफैले निर्णय गरी फिर्ता लिएर रवि लामिछानेलाई उन्मुक्ति दिए ।
त्यो उन्मुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परी मुद्दा विचाराधीन छ । तर, सर्वोच्च अदालतमाथि समेत शङ्का गर्न थालेको चर्चा जनआस्थाले प्रकाशित समाचार छ । रविविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा यथावत कायम रहे उनले सांसदको शपथ ग्रहण गर्न र मन्त्री बन्न पाउने छैन ।
फिल्मी ढङ्गले जेलबाट निस्केका रवि लामिछाने र जेन जी प्रदर्शनका अप्रत्यक्ष रूपमा निर्देशकको भूमिकामा रहेका बालेन्द्र शाह उर्फ बालेन बिच जादुमय ढङ्गले एकता भयो ।
रास्वपाको विधान, २०७९ को दफा ६६ विपरित बालेनसँग रविले पुस १३ गते सम्झौता गरे । सम्झौताको बुँदा नं. ४ मा “रास्वपाको सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने ।” लेखिएको पाइन्छ ।
जबकि रास्वपाको विधानको दफा ६६ को उपदफा ८ मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था गरेको पाइन्छ ।
साथै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ ले सम्बन्धित दलको निर्देशनबमोजिम सङ्घीय संसद् वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफूमध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछ भन्ने व्यवस्था गरेको पाइन्छ । बाँकी अन्य निर्वाचन प्रक्रिया सम्बन्धित दलको विधानमा उल्लेख भएबमोजिम हुने व्यवस्था गरेको पाइन्छ ।
नेपालको निर्वाचन इतिहासमै पहिलोपल्ट नेपाली सेनाको प्रत्यक्ष सहभागितामा प्रतिनिधिसभाको निर्वाचन भयो ।
दश वर्ष सशस्त्र युद्धबाट आएका तत्कालीन नेकपा माओवादीले भाग लिएको २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा समेत नेपाली सेनाको प्रत्यक्ष संलग्नता थिएन ।
यसपटक निर्वाचनको मतपेटिका ओसारपसार गर्नेसम्मको कार्यमा प्रत्यक्ष रूपमा नेपाली सेनाको संलग्नता देखियो ।
यस पटक नेपाली जनताले देख्दै नदेखेका, सुन्दै नसुनेका, के कुन राजनीतिक दर्शन, विचार र सिद्धान्तबाट के कस्तो शासन व्यवस्था निर्माण गर्न आएका भनी बुझ्नै नपाई रास्वपालाई करिब दुईतिहाई बहुमत सहितको जनादेश प्राप्त भयो । के सामान्य अवस्थामा यो सम्भव छ ? पक्कै छैन ।
विज्ञहरूको भनाइअनुसार संसारका विभिन्न देशमा संरा अमेरिकी प्रशासनले सबैभन्दा कम खर्चमा निर्वाचनमा प्रभावित पार्ने र आफ्नो इशारामा चल्ने कठपुतली सरकार निर्माण गर्ने काम गर्दै आएको पाइन्छ । त्यसको सबैभन्दा जल्दोबल्दो उदाहरण युक्रनमा राष्ट्रपति जेलेन्स्की निर्वाचित भएको निर्वाचन पनि एक हो ।
जोकरको अभिनयबाट चर्चा कमाएका राजनीतिक वृत्त बाहिरबाट राष्ट्रपति बनेको जेलेन्स्की र उनले हाँकेको युरोपको निक्कै सुन्दरमध्येको एउटा देश युक्रेनको हालत अहिले संसारले देखिसकेको छ ।
अरबौँ डलरको मिसाइल खर्च गरेर भन्दा निर्वाचनलाई प्रभावित बनाएर आफ्नो कठपुतली सरकार गठन गराई काम गराउनु संरा अमेरिकाको लागि निक्कै कम खर्चले देश कब्जा गर्नु वा युद्ध जित्नुसरह भएको मानिन्छ ।
नेपालमा पनि ¥यापरको रूपमा चर्चा कमाएका बालेन्द्र साह, करिब साढे तीन वर्षअघि अमेरिकन युथ काउन्सिलको सहयोगमा काठमाडौँ महानगरको मेयरको रूपमा जिताउँदै उनैलाई रातारात हिरो बनाउँदै नेपालको निर्वाचन प्रक्रियाबाट प्रधानमन्त्रीको पदमा पु¥याउन लागेको अवस्था छ ।
देशमा निर्वाचन प्रचारप्रसारका क्रममा “अब कि बार बालेन सरकार” भन्ने नारा लगाउने गरेको पनि देखियो । तर बालेन सरकार के नेपाल र नेपालीकै सरकार हुने हो ? चिन्ताजनक प्रश्न उठेको छ ।
यो सबै मानिसलाई सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्मित सामग्रीहरूको प्रभावबाट भए गरेको जानकारहरू बताउँछन् । जसलाई अल्गोरिडम भनिन्छ । मानिसहरूलाई मानसिक रूपमा एक किसिमले एकोहोरो बनाउने प्रक्रिया हो : अल्गोरिडम । जस्तै चाउचाउ भनेकै ‘वाइवाइ’ भनेजस्तो ।
भारतीय जनता पार्टीका महासचिव अमित साहसँग काम गरेका मानिस पनि रास्वपाबाट जिताएका छन् भने संरा अमेरिकाले पैसा पठाउने गरेका दर्जनौँ गैरसरकारी संस्थाका मानिसहरू प्रत्यक्ष रूपमा यो पटकको निर्वाचनमा संलग्न भएको पुष्टि हुँदैछ ।
यसरी यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा आर्मी (ए), अल्गोरिडम (ए) र अमेरिका (ए) को प्रत्यक्ष संलग्नता रहेको हुँदा रास्वपाले ल्याएको निर्वाचन परिणाममा एएए अर्थात् एक्का ट्रेलको मूख्य भूमिका रहेको रोचन चर्चा चलेको छ ।
आत्मनिर्भरता बिनाको सत्ता र सरकार लामो समय स्थिर हुन सक्दैन भन्ने विश्व इतिहासले देखाउँदै आएको छ । नेपाली जनताकै भरमा निर्वाचित हुने, नेपाल र नेपालीकै लागि निःस्वार्थ रूपमा सेवा र समर्पण गर्ने सत्ता र सरकार स्थापना नभएसम्म नेपाली जनताले दुःख भोग्न बाध्य हुनुको विकल्प छैन ।
त्यसैले नेपाली जनताकै भरमा आफ्नै खुट्टामा उभिने नेपाल र व्यापक कामगरि खाने नेपाली जनताको हितका लागि निःस्वार्थ सेवा र समर्पण गर्न सक्ने समाजवादी सरकारको स्थापनाका लागि निरन्तर सङ्घर्ष गर्नु आजको आवश्यकता हो । भनिन्छ, युद्धमा हारेको सिपाही अझ बढी लडाइँ लड्न जान्ने हुन्छ ।
–२०८२ फागुन ३०
Leave a Reply