भर्खरै :

संसद् देशभक्त, निःस्वार्थी र इमानदारहरूको थलो बनोस्

संसद् देशभक्त, निःस्वार्थी र इमानदारहरूको थलो बनोस्

सरकारको नेतृत्व गर्ने दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधि, कर्मचारी इमानदार र निःस्वार्थी नभएसम्म देश विकास सम्भव छैन । शासकहरू देश र जनताप्रति समर्पित नभएसम्म देश र जनताको सेवामा ऐन कानुन बन्ने छैन । अहिले सरकारको नेतृत्व गर्ने दलले कुन वर्गका जनताको सेवा गर्ने हो ? त्यो महत्वपूर्ण विषय हो । देशको जिम्मेवारी बोक्न बहुमत पाएका दलका नेताहरूमा सामूहिक भावना छैन; जनताको सेवा गर्ने भावना छैन भने उनीहरूको जिम्मेवारी कसरी पूरा हुन्छ ? कमाउनको निम्ति राजनीति गर्ने दलका नेता, मन्त्री र सांसदहरू जनताका प्रिय पात्र बन्दैनन् । विगतमा कति सांसदहरू भ्रष्ट आचरणका भए; जाली मुद्दा, हत्या–हिंसामा फसे । मन्त्री र सांसदहरू आफै लुकीलुकी भागे । अनेक प्रकारका मुद्दामा परे । देश र जनताको निम्ति काम गर्नुपर्ने जिम्मेवार नेताहरू घटिया बन्न पुगे ।
संसद् देशभक्त, निःस्वार्थी, इमानदार र दूरदर्शीहरूको थलो बन्नुपर्छ । जुनसुकै दलको नेतृत्वमा सरकार गठन भए पनि निर्वाचित सांसदहरू भ्रष्ट आचरणका हुनुहुँदैन । नयाँ शक्तिको खोल ओढेर सत्ताको स्वाद चाख्न आएका सांसदहरू दाग लागेका छन्; अवसरवादी छन् भने विगतको सरकार र यो सरकारको भिन्नताबारे जनताले कसरी बुझ्ने ? निर्वाचित सांसदहरू भ्रष्ट चरित्रका छन्, आपराधिक क्रियाकलापमा संलग्न छन् भने संसद् कुनै दिन ठेकेदार, भ्रष्टाचारी, हिंसा तथा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको थलो बन्न बेर लाग्दैन । सांसद हिमाल, पहाड, तराई जुनसुकै निर्वाचन क्षेत्रका भए पनि देश र जनताप्रति समर्पित हुन्छ भने ऐन कानुन राम्रो बन्छ ।
रास्वपाबाट निर्वाचित सांसदहरू सबै साँच्चै रास्वपाका होइनन् भन्ने कुरा उनीहरू आफै बताउँछन् । उनीहरूमध्ये कति पहिलेको दलमा रहँदा गुटबन्दी र भागबन्डाबाट वाक्कदिक्क भएका, आफूले टिकट नपाएका, पदमा नपुगेका व्यक्तिहरू रास्वपामा झरेका थिए । सिद्धान्त र विचारको कुनै ख्याल नगर्ने, नेका, एमाले, माओवादी, राप्रपाबाट असन्तुष्ट नेता तथा कार्यकर्ताहरू अहिले रास्वपामा सक्रिय बनेका छन् । राजा आउ देश बचाउ भन्नेहरू, प्रजातान्त्रिक आन्दोलनमा लागेका युवाहरू रास्वपामा प्रवेश गरेका छन् । आर्थिक अनुशासनमा नरहेका, निर्वाचनमा उम्मेदवार बन्न मात्र रास्वपा छिरेका व्यक्तिहरू देश र जनताप्रति कति समर्पित हुने हुन् ? समर्पित भएर काम गर्ने हुन् ? त्यो जनताको चासोको विषय बनेको छ ।
सस्तो लोकप्रियताको राजनीति गरेर या जाल बुनेर निर्वाचित भएका सांसदहरूले के देशको अर्थतन्त्र मजबुत पार्लान् ? हिमाल, पहाड र तराईका जनताको समस्या बुझेर अघि बढ्लान् या ऐन कानुन बनाउलान् ? अरु दलभित्र पस्न नसकेर, काम गर्न नसकेर या अवसर नपाएर कति रास्वपा छिरेका छन् । पहिले आफू गलत काममा फसेर नयाँ दलतर्फ लागेका हुन् भने पसेको दलमा पनि फस्ने सम्भावना हुन्छ ।
हल्लाको भरमा राजनीति गर्नु बुद्धिमानी होइन । दर्शन, सिद्धान्त र विचारबिनाको दलले मार्गनिर्देश गर्न सक्दैन । निर्वाचन सकेपछि र नयाँ सरकार गठनको अभ्यास भइरहेको बेला ग्यास सिलिन्डरको अभाव भयो । पेट्रोल र मट्टीतेलको भाडा बढ्यो । सिमेन्ट र डण्डीको पनि भाउ बढ्यो । यो मूल्यवृद्धि अमेरिका, इजरायल र इरानबिच युद्धको कारण भएको हो कि संयोगमात्र हो ? कि अहिले भाउ बढाएर नयाँ सरकार गठन भएपछि मूल्यवृद्धि घटाएको देखाउन चालेको चाल हो ? अब बन्ने सरकारले के नयाँ निर्णय गरेर जनताको भावनाबमोजिम काम गर्छ ? भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका विषयमा सरकार कसरी अघि बढ्ने हो† सरकारले के कस्ता अल्पकालीन र दीर्घकालीन निर्णय गरेर जनताको विश्वास जित्ने प्रयास गर्ने हो ? देशमा सुशासनको प्रत्याभूति दिलाउन के कस्ता भ्रष्टाचारी, अपराधी, हत्या–हिंसामा संलग्न व्यक्तिहरूलाई उचित कारबाही गर्ने हो ? त्यो पनि अहिले जनतामाझ चर्चाको विषय बनेको छ ।
सरकार गठनको पूर्वाभ्यास भइरहेको खबर सञ्चारमाध्यममा आएको छ । प्रम बनाउने सन्दर्भमा रास्वपाको विधान संशोधन गर्ने खबर पनि छ । बालेनलाई संसदीय दलको नेता बनाएर प्रम बनाउने चर्चाले नेतृत्व र कार्यकाल बाँडफाँडको सवालमा रस्साकस्सी भएको खबर पनि छापामा आएको छ । समानुपातिक चयनदेखि पार्टी सभापति रवि लामिछाने र बालेनबिच केही असमझदारी देखिएको खबर पनि छ । निर्वाचनअघि पार्टी सभापति र बालेनबिच प्रम बनाउने सहमतिको कुरा सार्वजनिक भए पनि पूरा कार्यकालको लागि हो कि होइन भन्ने निर्णय प्रकाशमा आएको छैन । पार्टी बैठकले गर्नुपर्ने निर्णय दुई व्यक्तिबिच सहमति गर्दा सो सहमतिबारे पार्टीका जिम्मेवार नेताहरू नै अनभिज्ञ भए । अब बन्ने सरकारको पहिलो प्राथमिकता के हो ? वाचा पत्र पूरा गर्छ कि गर्दैन भन्ने जनताको जिज्ञासा छ । सरकार देश र जनताप्रति जवाफदेही हुनुपर्छ† श्रमजीवीवर्गको पक्षमा सरकारले काम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *