भर्खरै :

देशको स्वाभिमान बन्धक राख्नु हुँदैन

  • चैत्र ११, २०८२
  • सिम्रिक
  • विचार
देशको स्वाभिमान बन्धक राख्नु हुँदैन

हामीले देशको स्वाभिमान बन्धक राख्नु हुँदैन । बरु, गरिबी सहिन्छ, अभाव भोगिन्छ र पसिना बगाइन्छ । हिजो देशको स्वाभिमान रक्षा गर्न भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, वंशराज पाण्डेजस्ता वीर योद्धाहरू अङ्ग्रेज साम्राज्यवादसँग लडे । छिमेकी भारतलाई खाइसकेको बाघ बेलायतले नेपाल पनि खान वा हमला गर्न आउने सुइँको भीमसेन थापाले पाए । उनले बेलायतका त्यसबेलाका शत्रु देश फ्रान्ससँग सैनिक सम्झौता गरेर नेपाली सैनिकलाई तालिम दिएर आधुनिक र सशक्त बनाए । त्यस्तै भारतका राजाहरूलाई पनि अङ्ग्रेजविरुद्ध दक्षिणबाट लड्न चिठी पठाए । तर ग्वालियरका राजाले विश्वासघात गरे । उनले अङ्ग्रेजको जस लिन, उनीहरूको आक्रमणबाट बच्न विश्वासघात, दलाली गरेर भीमसेन थापाले पठाएको चिठी अङ्ग्रेजको हातमा पु¥याए । पछि अङ्ग्रेजले उनलाई पनि बाँकी राखेन ।
त्यसपछि अङ्ग्रेजले भीमसेन थापालाई खतरनाक शत्रु भएको थाहा पाए । हाल अमेरिकी साम्राज्यवादले इरानका केही देशभक्त महत्वपूर्ण नेताहरू, उच्च अधिकृतको टाउको ल्याउने वा सूत्र दिने अपराधीलाई करोडौँ डलर पुरस्कारको लोभ देखाएजस्तै भीमसेन थापा मारेको, प्रमाणित गर्न उनको टाउको ल्याउन उर्दी जारी ग¥यो । त्यसबेलाका देशघाती, विश्वासघातीमार्फत अङ्ग्रेजले उनको टाउको बेलायत लगेको सुनिन्छ । इतिहास हार्नेको होइन जित्नेको हुन्छ । त्यो यथार्थ इतिहासलाई विदेशी र देशघातीहरूले बङ्ग्याएर भीमसेन थापाले खोरमै बन्दी अवस्थामा आत्महत्या गरेको भनी नेपालको इतिहासमा पढाइँदै आएको छ । उनी त्यस्तो आत्मसमर्पण वा आत्महत्या गर्ने खालको योद्धा होइन भनेर देशभक्त इतिहासकार, विश्लेषकहरू बताउँछन् । देशको स्वाभिमान रक्षा गर्न आक्रमण र हस्तक्षेपकारी विदेशीको अगाडि रतिभर नझुकिकन वीरतापूर्वक लडेर बलिदान दिने वीरहरू थुप्रै रहेको इतिहास सुन्न पढ्न पाइन्छ ।
हिजोका र अब बन्ने सरकारका शासकहरूले त्यसलाई बिर्सनु हुँदैन । हिजोका शासकहरूले त्यो इतिहास र भावनालाई बिर्सँदा आज त्यसको फल भोग्दै छन् । एमसीसी पास गरेपछि अमेरिकी सेना विभिन्न बहानामा नेपाल आउने र परेड खेल्ने झन् बढ्दो छ । शिवरात्रि र सैनिक दिवसको अवसर पारेर सैनिक मञ्चमा अमेरिकी सेनाले परेड खेलेको सञ्चारमाध्यममा व्यापक भयो । अमेरिकी जनरल साप्राक नेपाल आएर गुप्त मन्त्रणा गरी फर्केको महिना दिन नपुग्दै केही दिनअगाडि अमेरिकी प्यासेफिक डेपुटी कमान्डिङ जनरल जोयल भोवेल काठमाडौँ आएर सैनिक तालिम केन्द्रहरू निरीक्षण गरेर फर्केको खबर आयो ।
वि.सं. २०७७ सालमा अमेरिकी साम्राज्यवादले नेपाली शासक दल र नेताहरूलाई धम्की दिएर देशघाती एमसीसी पास गराएको थियो । सम्पूर्ण नेपाली जनताको देशभरबाट विरोध हुँदाहुँदै राति एसिया प्यासेफिक कमान्ड हेर्ने अमेरिकी उपसहायक मन्त्री डोनाल्ड लु, एमसीएका उपाध्यक्ष फारिमा सुभारलगायतका अमेरिकी उच्च अधिकृत, मन्त्रीले शासक दल र त्यसका नेताहरूलाई फोनबाट धम्की दिएको समाचार बाहिर आएको थियो । त्यसबेला संसदमा स्वाधीन र सार्वभौम देशका प्रधानमन्त्री, मन्त्री, नेताहरूलाई एमसीसी पास गराउन किन धम्की दिएको ? यहाँ अमेरिकी झन्डा फहराउने नै भयो भनेर नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले बाहेक कसैले खबरदारी गरेर विरोध गर्ने आँट गर्न सकेनन् । हालको घण्टी पार्टीका नेता अबको सरकारमा अर्थमन्त्री चर्चामा रहेका स्वर्णिम वाग्लेले एमसीसी पास भएकोमा गर्व गरेका थिए । उनले यसलाई अगाडि बढाउन मैले नै पहल गरेको भनेर सञ्चारलाई बताएका थिए । उनले नेपाललाई ५१ करोड डलर (५५ अर्ब) को गाँठ सिट्टैमा आउने भनेको चानचुने कुरा होइन भनेका थिए ।
एमसीसीले कोरेको बाटोबाट विभिन्न बहानामा अमेरिकाका जनरलहरू, सैनिकहरू, सीआइएका मान्छेहरू नेपाल आएको माथि चर्चा भयो । उनीहरू नेपाल आएर नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, शासक नेताहरू, सेनालाई मालिकले नोकरलाई अ¥हाएजस्तो धम्की दिएको माथि उल्लेख भयो । अब फेरि फेरि भइहाले पनि कुनै नौलो हुनेछैन । सिट्टैमा बिनास्वार्थ कसैले पनि सहयोग दिँदैनन् । यो पशुलाई घाँटीमा बाँध्ने डाम्लो, नाकमा लगाउने नत्थीसरह हुनेछ ।
भदौ २३ र २४ गते शासक दल र त्यसका नेताहरूको भ्रष्टाचार र सुशासनको नाममा युवा पुस्ताको आक्रोश सतहमा आयो । यसैको मौका छोपेर घुसपैठ गराएर देशको सम्पत्ति सिंहदरबार, संसद्, सर्वोच्च अदालत, देशभरका प्रहरी कार्यालय, चौकी, पालिका भवनहरू जलाएर ध्वस्त पारिए । देशको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सुरक्षा निकाय कब्जाजस्तै भएको थियो । देशको माना या तलब सुविधा खाने सुरक्षाकर्मी कर्मचारीहरूको युनियन भए पनि केही गर्न सकिएन । त्यस्तै लाखौँको सङ्गठन, सक्रिय नेता, कार्यकर्ता भएको भनिएका शासक दलले पनि केही गर्न सकेनन् । काङ्ग्रेसको साथ पाएको झण्डै दुईतिहाइको ओलीको बलियो सरकार दुई दिनमै तासको घरजसै ढल्यो । यो विध्वंस, उपद्रोको पछाडि अमेरिका र भारतको हात रहेको तथ्य बिस्तारै खुल्दै छ । ओलीको सरकारलाई सेनाको बलले अपदस्थ गरेर उनीहरूका नेता, कार्यकर्ता, कर्मचारी अर्थात् एनजीओ, आइएनजीओको प्रभावमा परेका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भयो । यो भदौ २३ र २४ गतेको उपद्रो गराउन र सत्ता कब्जा गर्न अमेरिका र भारतले एल्गोरिडमको हतियार प्रयोग गरेको समाचार बाहिर आयो । यसले सम्बन्धित देशका युवा, विद्यार्थीहरूलाई दिग्भ्रमित पार्ने, उक्साउने, उत्तेजनामा ल्याउने काम गर्छ । प्रजातन्त्र, आन्दोलन र विद्रोहको बहानामा देशभक्त नेताको हत्या गराइन्छ र आफ्नो कठपुतली सरकार गठन गरिन्छ । बहुमूल्य प्राकृतिक स्रोत कब्जा गरिन्छ । उनीहरूले भनेजस्तो नमाने देश र सरकारमाथि हस्तक्षेप र आक्रमण गरिन्छ । बङ्गलादेश, श्रीलङ्का, सिरिया, नेपाल, युक्रेन, इराक, लिबिया, भेनेजुयला, चिल्ली, पनामा आदि यसका उदाहरण हुन् । तर, देशभक्त इरानी नेता, सरकार र जनता भने एकढिक्का भएर अमेरिकी कुचाललाई असफल पारिदिएका छन् ।
चैत १३ गते घण्टी पार्टीका नेता बालेन शाहको नेतृत्वमा झण्डै दुईतिहाइ बहुमतको सरकार बन्ने पक्कापक्की भयो । जल, जमिन, जङ्गल, आकाश, सत्ता हात पार्ने यस्ता थुप्रै इतिहास छ । भारतले महाकाली नदी कर्णाली, कोसी, गण्डकी, कब्जा गरिसकेको छ । अब बन्ने बालेनको सरकारले अमेरिकाले नेपाली जेलेन्स्की जन्माएर देशलाई युक्रेन बनाउने हो वा भारतले लेण्डुप डोर्जे जन्माएर देशलाई सिक्किम बनाउने हो वा वीर योद्धाहरूको भावनाबमोजिम देशभक्त भई देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने हो ? त्यसको लागि भने समय कुर्नुपर्ने हुन्छ । अतः नेपाली जनता सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *