भर्खरै :

माक्र्स र एंगेल्सको स्मारक अनावरणमा

-लेनिन
आज हामी विश्व कामदार जनताको क्रान्तिका नेताहरु माक्र्स र एंगेल्सका स्मारकहरु अनावरण गर्दैछौं ।
युगौं युगदेखि मानव जातिले, लाखौं–लाख परिश्रमी कामदार जनतामाथि शोषण गर्ने तुच्छ मठ्ठिभर शोषक वर्गको शोषणको जाँतोमूनि पीडित र कमजोर भएर बस्नुप¥यो ।
तर त्यसअघिको कालखण्डका शोषकहरु अर्थात् सामन्तहरुले असंगठित, छरिएका र असचेत किसान र भूदासहरुमाथि शोषण गरेका थिए भने नयाँ युगका शोषकहरु अर्थात् पूँजीपति वर्गले शहरिया, कलकारखानाका औद्योगिक उत्पीडित अग्रगामी जनताको सामना गर्नुपरेको छ । ती जनता कारखानामा संगठित छन् । शहरिया जीवनले उनीहरुलाई जान्ने–बुझ्ने बनाएको छ । संयुक्त हड्ताल र संघर्ष तथा क्रान्तिकारी गतिविधिले उनीहरुलाई स्पात बनाएको छ ।
पूँजीवादको अवश्यमेव पतन र मानिसले मानिसलाई शोषण नहुने साम्यवादी बन्दोबस्ततर्फको संक्रमणको अनिवार्यताबारे वैज्ञानिक विश्लेषण गर्ने विश्व ऐतिहासिक यश माक्र्स र एंगेल्सलाई जाने गर्दछ । सबै देशका सर्वहारा वर्गलाई उनीहरुका भूमिका, कार्यभार, उद्देश्य अर्थात् पूँजीविरुद्ध क्रान्तिकारी संघर्षमा पहिले सहभागी बन्ने र सबै शोषित पीडित जनता एकगठ बनेर त्यो संघर्षमा होमिने जिम्मेवारी प्रष्ट देखाइदिने विश्व ऐतिहासिक यश पनि माक्र्स र एंगेल्सलाई जाने गर्दछ ।
ती सबै भविष्यवाणीहरु व्यवहारमा साकार बनिरहेको आजको सुखद् परिस्थितिमा हामी बाँचिरहेका छौं । सर्वहारा वर्गको अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिको बिहानी आज संसारभरका देशहरुमा हामी देखिरहेका छौं । राष्ट्रहरुमाथि साम्राज्यवादी उत्पीडनको अचाक्ली आतङ्कले उत्पीडित जनताका सहासिक विद्रोहहरु जन्माइरहेको छ । अनि आफ्नो सशक्तिकरणको लागि उनीहरुको शक्ति दश गुणाले बढिरहेको छ ।
माक्र्स र एंगेल्सका स्मारकले लाखौं–लाख मजदुर र किसानहरुलाई फेरि फेरि पनि हाम्रो संघर्षमा हामी एक्लै मात्र छैनौं भन्ने कुरा याद दिलाओस् । हामीसँग–सँगै अरु विकसित देशका मजदुरहरु पनि जागिरहेका छन् । अझ घनघोर लडाईहरुले उनीहरु र हामीलाई कुरिरहेका छन् । यो संयुक्त संघर्षमा पूँजीका नथीहरु तोडिनेछन् र समाजवादको अन्तिम विजय हुनेछ ।
नोभेम्बर ७, सन् १९१८
प्राभ्दाको अप्रिल ३ सन् १९२४ को अङ्कमा पहिलो पटक प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *