बलले विचारलाई दबाउन नसकिने
- बैशाख २७, २०८३
भक्तपुर, २९ चैत । भक्तपुरका सार्वजनिक माध्यमिक विद्यालयहरूको संयुक्त परीक्षा समितिको आयोजनामा स्थानीय वागीश्वरी मा.वि.को प्राङ्गणमा ४६ औँ शिक्षक दिवस निवृत्त शिक्षकहरूको सम्मान गरी मनाइयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले शिक्षक प्राध्यापक विद्यार्थीलाई राजनीतिबाट अलग्याउन खोज्नु आफै एउटा प्रतिक्रियावादी राजनीति भएको बताउनुभयो ।
उहाँले वर्तमान सरकारको यो सोच गलत भएको चर्चा गर्दै यसमा सम्पूर्ण शिक्षक प्राध्यापक विद्यार्थीहरू सचेत हुन आवश्यक छ भन्नुभयो ।
उहाँले अवकाशपछिको जीवनलाई अझ बढी सक्रिय बनाउनुपर्ने सुझाव दिँदै शिक्षण पेसामा आफूले बिताएको लामो समयको अनुभव लेख्न पनि सुझाउनुभयो ।
शिक्षक दिवसको सन्दर्भमा उहाँले निर्दलीय पञ्चायती व्यवस्थामा राजनीतिक गतिविधि प्रतिबन्धित अवस्थामा पेसागत आर्थिक आन्दोलन उठाइएको र पछि त्यही आन्दोलन राजनीतिक आन्दोलनका रूपमा फेरिएको पनि बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले २०३६ सालमा भएको शिक्षक आन्दोलनले पञ्चायती व्यवस्थालाई चैत २९ गते घुँडा टेकाउन सफल भएकाले हरेक वर्ष यो दिन शिक्षक दिवस मनाउँदै आएको चर्चा गर्दै त्यसबेला जस्तो अहिले शिक्षक एकता नहुँदा सरकारले शिक्षकको सुनुवाइ नगरेको बताउनुभयो ।
अहिलेको बालेन सरकारले शिक्षामा अराजकता ल्याउन खोजेको उदाहरण दिँदै उहाँले विद्यार्थी भर्ना अभियान रोक्नु, हप्तामा दुई दिन बिदा दिनु, शैक्षिक सत्र पछि सार्नु लगायतका आदेशले निजी विद्यालय पोसिरहेको बताउनुभयो ।
एक महिनामै एसईई परीक्षाको नतिजा निकाल्ने नाममा परीक्षाको विश्वसनीयता र मर्यादाको ख्याल नराखेको बताउँदै उहाँले न्यून विद्यार्थी भएका विद्यालयलाई ठुला विद्यालयमा मर्ज गर्ने सरकारी नीति गलत भएको र कमजोर विद्यालयलाई सबल बनाउने प्रयास गरे सफल भएका उदाहरण दिनुभयो ।
कार्यक्रममा ऐतिहासिक शिक्षक आन्दोलनका अगुवाइ गरेका निवृत्त शिक्षक मोहनप्रसाद प्रजापतिले शिक्षक आन्दोलनको अनुभव सुनाउँदै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नेतृत्वमा रहेका अगुवाहरूको गलत व्यवहारले शिक्षक सङ्गठन टुटफुट भएको बताउनुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले निवृत्त शिक्षकहरू वासु माविका प्रेम मगर र राजेन्द्र प्रधान, समाज सुधार माविका चञ्चला पोटे श्रेष्ठ र गणेश मावि छालिङका कृष्णकुमार दुवाललाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने समितिअन्तर्गतका १७ विद्यालयका ६६ जना शिक्षक शिक्षिकाहरूलाई पनि पाठ योजना डायरीको राम्रो उपयोग गरेकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा समितिका सदस्य सचिव लक्ष्मीनारायण दुवालले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष एवं शारदा माविका प्रअ रोशनराज तुइतुईको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।
Leave a Reply