भर्खरै :

राजनीतिक पार्टीहरूको आर्थिक र विदेश मामिला मौलिक हुनु आवश्यक

राजनीतिक पार्टीहरूको आर्थिक र विदेश मामिला मौलिक हुनु आवश्यक

भक्तपुर, २९ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा नव वर्ष २०८३ साल एवं बिस्का जात्राको शुभकामना आदानप्रदान कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राजनीतिक पार्टीहरूको आर्थिक र विदेश मामिला मौलिक हुनु आवश्यक छ । एउटै आर्थिक र विदेश मामिला भएका पार्टीहरूको अलग अस्तित्व जरुरी छैन भन्नुभयो ।
“रास्वपा सरकार निरन्तरताबाट बिच्छेद नहुने भए यसको औचित्य साबित हुँदैन । पुराना शासक पार्टीहरूको सहयोगमा यसअघि दुई पटक सरकारको उपप्रधानमन्त्रीसहित मन्त्री हुन गएको रास्वपा नयाँ होइन ।” उहाँले भन्नुभयो ।
उहाँले भदौ २३ गतेको हत्या र भदौ २४ गतेको आगजनीका दोषीहरूलाई कारबाही हुनु आवश्यक छ भन्नुभयो ।
उहाँले सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित हुनु उपयुक्त होइन† संस्थाका सदस्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा शिक्षित गर्नु जरुरी हुन्छ भन्नुभयो ।
उहाँले सहकारी संस्थाहरू ठगीमा किन लागे ?, ठगी रोक्न सरकारी संस्थाको सञ्चालन कसरी हुनुपर्ने हो भन्ने विषयमा सहकारी संस्थाहरूले सदस्यहरूसँग छलफल गरी सुझाव दिनु जरुरी छ भन्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट विभिन्न निर्देशनहरू जारी भएको जानकारी गराउँदै संस्था ती निर्देशनहरूको पालना गरी अरू सहकारी संस्थाभन्दा फरक तवरबाट अघि बढ्दै जानुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले सहकारीमार्फत सदस्यहरूको बचत परिचालन गरी सदस्यहरूलाई उद्यमी बनाउँदै जानुपर्ने बताउँदै अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारी संस्था समस्यामा पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता भइसकेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थामा २५ करोड ४३ लाख शेयर पँुजी, २७ करोड ५८ लाख जगेडा कोष, २ अर्ब ७० करोड ८ लाख कुल बचत, १ अर्ब ९४ करोड ६२ लाख र ३ अर्ब ३७ करोड १ लाख कुल सम्पत्ति रहेको वित्तीय जानकारी दिनुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक सदस्य कृष्णगोविन्द लाखाजुले सदस्यहरूलाई वित्तीय रूपमा सचेत गर्न नियमित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै जानुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले हाल समुदायमा आधारित सहकारी संस्थाहरू पनि समस्यामा पर्ने गरेको बताउँदै ती सहकारी संस्थाहरूलाई असल अभ्यासबारे सचेत र जानकार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले सहकारी संस्थाहरूलाई नकारात्मक सोचले हेरिने वर्तमान अवस्थामा पनि सिद्धि गणेश साकोसले सामाजिक भावनाका साथ समुदायमा आधारित भई उदाहरणीय कार्यहरू गर्दै आएको बताउनुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक रामप्रसाद लाखाजुले ३२ वर्षको अन्तरालमा बजारमा आएका विभिन्न समस्याहरूको सामना गरी सदस्यहरूको विश्वास जित्न सफल भएकोले संस्था सफल भएको उल्लेख गर्नुभयो । कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *