भर्खरै :

हतपतको काम लटपट नहोस् भन्ने हाम्रो भनाइ !

हतपतको काम लटपट नहोस् भन्ने हाम्रो भनाइ !

कुनै पनि सरकारका मन्त्रीहरूले आफूहरू नै ‘सर्वज्ञ’ ठानेर वा केही अव्यावहारिक एवं गलत सल्लाहकारहरूको ‘हाहुमा लागेर’ काम गर्दा देशले ठुलठुला नराम्रो परिणाम भोगेको जगजाहेर छ । परीक्षा नै नलिई ५ कक्षासम्म कक्षा चढाउने एक महिला शिक्षामन्त्रीको निर्णयले शिक्षाको स्तर घटेको देशभरका शिक्षक र अभिभावकहरूले भोगेकै विषय हो । एसएलसीको सट्टा एसईई गर्नासाथ कक्षा १० का विद्यार्थीहरूमा पढ्ने भावनामा कमी आएको पनि धेरैले महसुस गरेको विषय हो । शिक्षामन्त्री र त्यस बेलाका सरकारको निर्णयबाट देशले तलका नराम्रा क्षतिहरू भोग्न बाध्य भए –
एक, परीक्षा नलिई माथिल्लो कक्षा चढाइएका अत्यन्त बहुमत विद्यार्थीहरू स्तरहीन भई माथिल्ला कक्षाको प्रवेश परीक्षामा अनुत्तीर्ण हुँदा माथिल्ला कक्षामा भर्ना हुन सकेनन् । ती स्तरहीन विद्यार्थीहरूमध्ये बढी विदेशको ज्यामी बन्न बाध्य भए† सरकारको त्यो निर्णयले म्यानपावर कम्पनी (गल्लावालहरू) र विदेशी पुँजीका भक्तहरू खुसी हुने नै भए ।
दुई, विदेश नगएका त्यसबेलाका स्तरहीन विद्यार्थीहरू कक्षा माथि उक्लिन नसकेर बर्बाद भए, कति लागूपदार्थको लतमा लागे भने कति नराम्रा पेसामा लागे ।
यसकारण, कुनै पनि सरकारले नयाँ नीति लागू गर्दा अचानक नगरी व्यापक छलफल गरी देशका सबै विचारका बुद्धिजीवीहरूसँग सल्लाह लिँदा कम क्षति हुनु स्वाभाविक हो । एक जना जान्ने सुन्ने भइटोपलेका मन्त्रीको कारण नयाँ पुस्ता नै बर्बाद हुने विषयलाई ‘कानुन सरह लागू’ गर्नु स्वयं एक अराजकता हो । त्यस्ता निर्णय र देशलाई हुने क्षतिबाट यो नयाँ सरकार जोगिनै पर्छ – देश र जनताको हितमा ।
दुई दिनको बिदाबारे
वर्तमान सरकारले पहिले असफल भएको ‘दुई दिनको बिदा’ नीतिलाई पुनः लागू गरेको छ, यसको परिणाम ध्वंसात्मक साबित हुने नै छ ।
नेपाल सबभन्दा बढी बिदा पाउने देशहरूमध्ये पर्दछ । धेरै बिदाको अर्थ हो – नयाँ पुस्ताले धेरै दिन पढ्न पाउने अवसरबाट वञ्चित हुनु । दुई दिनको बिदा वा लामो बिदाको बन्दोबस्तले नयाँ बालबालिकाहरूको पढाइमा ठुलो बाधा–व्यवधान नै खडा हुने निश्चित छ । नयाँ सरकार र नयाँ पुस्ताको नाममा सरकार देशद्रोहीहरूको हातमा पर्नुको अर्थ सत्यानाशलाई निम्तो दिनु हुन्छ ।
उदाहरण हो – नयाँ पुस्ताको नाममा प्रम गिरिजाप्रसाद कोइरालाका छोरी सुजाता कोइरालालाई मन्त्री बनाउँदा केही नकारात्मक युवाहरूले ‘… दिदी अगाडि बढ् ज्यान दिन तयार छौँ’ भन्ने गर्दा सुडान काण्ड, लाउडा काण्ड, पासपोर्ट छपाइ काण्ड र अनेका काण्डहरू भए, उक्त काण्डमा आफ्नै छोरी–ज्वाइँ बङ्गालीकै कारण देशले धेरै बेइज्जती र क्षति ब्यहोर्न बाध्य भयो ।
यस्ता घटनाले बताउँछ – नयाँ र कम उमेरको भन्दैमा तिनीहरूबाट सबै राम्रा हुन्छन् भन्ने होइन । पुरानाहरू भ्रष्टाचार गर्न पोख्त हुन्छन् तर सबै पुराना ‘एउटै ड्याङका मूला’ हुँदैनन् । त्यस्तै नयाँ हुँदैमा सबै खराब र खोटो काम गर्छन् भन्ने होइन । कम उमेर नै योग्यता हुने भए १० वर्षका केटा २५ वर्षका युवाभन्दा राम्रो हुन्छ भन्ने तर्क खोटपूर्ण हो ।
सत्य के हो भने हरेक वस्तु र प्राणीमात्रमा पनि बलियो र कमजोर पक्ष हुन्छ । ठुलो मानिसको ठुलो कमजोरी र सानो मानिसको साधारण कमजोरी हुन्छ । सत्तामा बस्नेहरूको पनि छोराछोरीहरूप्रति मोह हुनु स्वयं कमजोरी हुन्छ । भारतमा गान्धीजीका छोरो बम्बईका एक पत्रकार रक्सी खाएरै मरे, भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसादको छोराले एक किसानलाई गोली हानेर मारे, स्थानीय प्रशासनले पक्राउ गर्न डराउँदा माथिबाट पक्राउको आदेश दिलायो र पछि मिलापत्रबाट राष्ट्रपतिको छोरालाई बचाइयो ।
वर्तमान सरकारले एसईई परीक्षाको परिणाम छिटो दिने उद्देश्यले परीक्षा केन्द्रमै कापी जँचाई परीक्षाको परिणामलाई घोषणा गर्ने योजनाको अर्को कमजोरीले ‘कोड–डिकोड’ जस्ता बन्दोबस्तको विषयमा ध्यान नदिँदा कुन कुन विद्यार्थीले के कति अङ्क ल्यायो भनी ठाउँ ठाउँमा ‘रिजल्ट आउट’ भएको हल्ला व्यापक छ ।
यसकारण, हतारिएर नयाँ काम गर्दाको कस्त आउनेछ भन्नेबारे छलफलपश्चात् मात्रै काम थालेमा विवाद कम होला भन्ने हाम्रो ठम्याइ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *