विदेशी शक्तिसँग नझुकिकन काम गर्नुपर्छ
- बैशाख ५, २०८३
अमेरिकी प्रतिनिधिमण्डलले अप्रिल १२ गते सम्झौता नगरी इस्लामावाद छोड्यो । लगत्तै उसले तनाव चर्कायो । ट्रम्पले अमेरिकी जलसेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाउने घोषणा गरे । उनले इरान जाने र त्यहाँबाट बाहिरिने जहाजहरू रोक्ने बताए । अमेरिकी केन्द्रीय कमान्डले यो कारबाही अप्रिल १३ गते स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुने बतायो ।
युद्ध सुरु भएको ६ हप्ता बितिसकेको छ । यसबिच इरानले हर्मुज जल–नाकामा नियन्त्रण जमाइसकेको छ । हर्मुज उसको जलक्षेत्रभित्र पर्छ । निश्चित सर्तसहित इरानले त्यहाँबाट सीमित जहाजलाई मात्र आवागमन गर्न दिएको छ । अमेरिकाले इरानमाथि अवैध रूपमा युद्ध ग¥यो† बिनाकारण इरानमाथि बमबारी गरेर सर्वसाधारण जनताको हत्या ग¥यो† सयौँ विद्यालय, अस्पताल र मुख्य उद्योगहरूलाई ध्वस्त पा¥यो । यसको जवाफमा इरानले हर्मुजमा नियन्त्रण गरेको हो ।
अमेरिकी नाकाबन्दी अर्कै रूपमा युद्धको निरन्तरता हो । बमबारी गरेर र वार्तामा आफ्ना सर्तहरू थोपरेर वासिङटनले इरानलाई झुकाउन सकेन । अब उसले इरानको तेल निर्यातको घाँटी थिच्न खोज्दै छ । हर्मुजले इरानलाई विश्व बजारसँग जोड्दै आएको छ । सेना लगाएर गर्न नसकेको काम अमेरिकाले नाकाबन्दी लगाएर फत्ते गर्न चाहन्छ ।
फेब्रुअरी २८ गते इरानमाथि युद्ध थालेपछि ट्रम्पले लिएको यो तेस्रो ठुलो निर्णय हो । यसको लागि उनले अमेरिकी संसद्को सहमति लिएनन्, सार्वजनिक बहस गरेनन् र बहुमत जनताको राजनीतिक समर्थन लिन खोजेनन् । युद्धबारे लिएका कुनै पनि निर्णयमा ट्रम्पले संसद्को अनुमोदन चाहेनन् । तथापि, युद्ध जारी छ ।
प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका नेताहरूले युद्ध अन्त्य गर्न भनेका छैनन् । ट्रम्पले युद्ध जसरी चलाइरहेका छन्, त्यसको मात्र विरोध गर्दै छन् । युद्ध चालु राख्ने कि नराख्ने भन्ने विषयमा केही पनि बोलेका छैनन् ।
अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाउनुभन्दा अगाडि नै विश्व अर्थतन्त्रमा आर्थिक झट्का लागिसकेको थियो । युद्ध र इरानको नियन्त्रणका कारण हर्मुजमा जहाजको आवागमन बिथोलिएको थियो । कच्चा तेलको मूल्य दुई हप्ताको युद्धविरामका कारण प्रतिब्यारल ९२ डलरमा झरेको थियो । वार्ता बिथोलिएपछि अप्रिल १३ गते तेलको भाउ फेरि १०२ डलर पुगेको छ । अमेरिकाले कारबाही गर्ने घोषणा गरेपछि तेल बोकेका ट्याङ्कहरू फटाफट हर्मुज नाकाबाट लाखापाखा लागेका छन् ।
समस्या अहिले तेल अर्थतन्त्रभन्दा बाहिर पुगिसकेको छ । हिलियम, तरल ग्यास र औद्योगिक कच्चापदार्थमा कमी आइसकेको विश्लेषण छ । रणनीतिक ऊर्जा उत्पादन गर्ने देशमाथि साम्राज्यवादी देशले आक्रमण गर्छ भने त्यो तेल बजारमा मात्र सीमित हुन्न । यस्तो आक्रमण समग्र व्यापार र उत्पादन प्रणालीभरि फैलिन्छ ।
इरानले आफ्नो क्षेत्राधिकारभित्र पर्ने नाकामा प्रतिबन्ध लगाएको हो । तर, वासिङटनले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ । इरानी तेल विश्व बजारमा पुग्नबाट रोक्न अमेरिका यो हत्कण्डामा उत्रेको हो ।
हर्मुज नाकाको भूगोल कठिन छ । यो नाका करिब २१ माइल फराकिलो छ । अन्तर्राष्ट्रिय नियमअनुसार समुद्री किनारको देशसँग तटबाट १३.८ माइल टाढासम्म भोगाधिकार हुन्छ । यसको अर्थ हर्मुज नाकामा जहाज इरान र ओमनको पानीबाट गुज्रिनुपर्छ । यो साँघुरो नाकामा जहाजमाथि निरन्तर निगरानी गरिन्छ । तटीय सुरक्षाकर्मीले तिनलाई निगरानी गर्छन् । यो अमेरिकाको भोगाधिकारभित्र पर्ने ठाउँ नै होइन ।
ट्याङ्करहरू नाकाबाट पाखा लागिसकेका छन् । तर, अमेरिकाको कागजी निर्णयबाट यी जहाज डराएका होइनन् । १५ भन्दा बढी अमेरिकी जलबेडालाई पछिल्लो कारबाहीमा लगाइएको छ । यी बेडाले विमान र बमवर्षक बोक्न सक्छन् । यीमध्ये एउटा पानी र जमिन दुवैमा चल्न सक्छ । केही बेडामा कारबाही सञ्चालन गर्नको लागि चाहिने उपकरणहरू भरिएका छन् । अरू जहाजलाई रोक्न र तिनको बाटो मोड्नका लागि राखिएको छ ।
व्यवहारमा जहाजलाई रोक्न सजिलो छैन । जहाज चलाइरहेको टोलीले आदेश मान्न अस्वीकार गर्न सक्छ, विपक्षीको प्रवेशलाई रोक्न सक्छ वा नियन्त्रण प्रणाली ठप्प पार्न सक्छ । चेतावनी, प्रवेश वा कब्जाजस्ता जोडबलका कारण प्रत्यक्ष मुठभेडको जोखिम बढ्न सक्छ । तनाव नचर्काइ नाकाबन्दी लगाउन सकिन्न ।
दशकौँसम्म वासिङटनले ‘पारवहन स्वतन्त्रता’ को पक्षमा बोल्दै आएको छ । व्यवहारमा कसले तेल बेच्ने, कसले किन्ने र जहाज कसरी लैजाने भनी तय गर्न आर्थिक प्रतिबन्ध र सैन्य बल प्रयोग गर्दै आएको छ । अमेरिकाले लगाउने प्रतिबन्धले कुनकुन देश र कम्पनीले तेल किन्ने भनी तय गर्छ । हालै मात्र क्युवामा तेलका जहाज जान नपाउने गरी अमेरिकाले पूर्ण नाकाबन्दी लगायो । यसबाट व्यवहारमा अमेरिकाले कसरी आफ्नो नियन्त्रण लाद्छ भन्ने प्रस्ट हुन्छ । नाकाबन्दीले अमेरिकी नियन्त्रण खुलस्त पार्छ । नाकाबन्दी ऊर्जाको प्रसारमा बलप्रयोगमार्फत नियन्त्रण जमाउने प्रयास हो ।
गएको मार्च महिनामा अमेरिकाको अब्राहम लिङ्कन जलबेडामा मिसाइल आक्रमण भयो । यसपछि यो जलबेडा इरानको तटबाट झन्डै १ किलोमिटर पछि हटेको थियो । यो दूरीबाट उसले इरानमा नाकाबन्दी लगाउन सक्थेन ।
अप्रिल १३ मा इरानको ‘इस्लामी क्रान्तिकारी गार्ड कोर’ ले अमेरिकी सैन्य जलबेडा हर्मुज नाकातर्फ आएमा त्यसलाई युद्धविरामको उल्लङ्घन मानिने बतायो । त्यो स्थितिमा इरानले बलप्रयोगबाट जवाफ दिने बतायो । तर, साधारण जहाजलाई निश्चित नियमभित्र रहेर आवागमन गर्न दिने पनि उसले बतायो ।
अमेरिका र इरानबिच यही भिन्नता छ । इरान सबै जहाजलाई रोक्ने पक्षमा छैन । उसले आफ्नो भोगाधिकारभित्र पर्ने पानीमा मात्र नियन्त्रण गर्दै छ । त्यो पनि युद्धको आपत्कालीन परिस्थितिमा ।
अप्रिल ७ मा दुईहप्ते युद्धविराम घोषणा भयो । प्राविधिक रूपमा यो युद्धविराम अप्रिल २१ गतेसम्म जारी रहनेछ । थप वार्ताको कुरा छलफलमै छ । तर, अमेरिकी नाकाबन्दीले थप वार्ताको सम्भावना मार्ने देखिन्छ । इरानी विदेशमन्त्री अरागचीले अमेरिकाले बिचमै वार्ता छोडेर बाहिरिनुभन्दा अगाडि दुवै पक्ष समझदारी नजिक पुगेको बताए ।
२१ घण्टासम्म वार्ता गर्दा पनि सम्झौता नभएपछि अमेरिकाको प्रतिनिधि टोली बाहिरिएको थियो । यति ठुलो युद्धको विषयमा हुने वार्ताहरू एकै दिनमा टुङ्गिँदैनन् । यसबाट अमेरिका त्यहाँ सम्झौता गर्नभन्दा पनि आफ्ना सर्तहरू थोपर्न गएको स्पष्ट हुन्छ ।
वासिङटनले आणविक मुद्दामा कुरा नमिलेपछि वार्ता विफल भएको बतायो । तर, वार्ता हर्मुज, लेबनान र इरानले अमेरिकी सर्त स्वीकार गर्छ कि गर्दैन भन्ने मुद्दामा भइरहेको थियो । यिनै मुद्दाका कारण नाकाबन्दीको प्रश्न उठेको हो ।
वासिङटनले इरानमा सत्ता उल्ट्याउन युद्ध थालेको थियो । त्यो विफल भयो । आफ्नो अस्तित्व नै अक्करमा परेपछि सारा इरान एकजुट भयो† उसले आफ्नो प्रतिरक्षालाई सबल बनायो; हर्मुज नाकालाई नियन्त्रणमा राख्यो । त्यसपछि मात्र वासिङटनले यो नाकालाई खोल्नुपर्ने माग राख्न थालेको हो । तर, यसको लागि अमेरिकाले आफ्ना सर्तहरू अघि तेस्र्यायो ।
इरानले अस्वीकार गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएर जवाफ दियो ।
युद्ध र वार्ता असफल भएपछि अमेरिकाले इरानलाई तेल निर्यात बन्द गर्ने र आर्थिक पतनको डर देखाउन खोज्दै छ ।
तर, यो दबाब इरानमाथि मात्र पर्नेछैन । चीन, भारत र पाकिस्तान इरानी ऊर्जा आपूर्तिमाथि निर्भर छन् । इरानी निर्यात रोक्का गर्न खोजे अमेरिकाले ती देशसँग भिड्नुपर्नेछ । अब अन्य देशसँग भिड्ने जोखिम नमोली वा युद्धलाई विस्तार नगरी वासिङटनले इरानविरुद्ध तनाव चर्काउन सक्दैन ।
वासिङटनले यो साम्राज्यवादी युद्धमा प्रत्येक उक्साहटलाई सीमित र नियन्त्रित देखाउन खोज्दै छ । वास्तवमा युद्धको लागत÷मूल्य बढ्दै छ र जोखिम झन् फैलिँदो छ । नाकाबन्दीले समस्या हल हुनेछैन । बरु समस्या झन् गहिरिनेछ ।
युद्ध र सम्झौता वार्ता नै विफल भएको स्थितिमा इरानविरुद्ध अमेरिकाले लगाएको नाकाबन्दी सफल हुन्छ भनी पत्याउनुपर्ने कुनै कारण छैन ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply