पुँजीवादी व्यवस्था शोषणमा फस्टाउने व्यवस्था
- बैशाख ४, २०८३
विश्वलाई चिनाउने र देशको गौरव बढाउने आधारहरूमध्ये नेपालका कला, संस्कृति र सम्पदा पनि हो । विश्वलाई चिनाउने कुनै पनि सम्पदा विश्वकै साझा सम्पत्ति हो । अतः यहाँका अमूल्य सांस्कृतिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक सबै सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्न सके नेपाल र नेपालीको मौलिक पहिचानलाई जीवन्तता दिन सकिन्छ । सयौँ र हजारौँ वर्षदेखि निर्मित मूर्त र अमूर्त सम्पदाहरूलाई जीवन्तता दिन नेपाल सरकार र सम्पदा संरक्षण कार्यालय तथा पुरातत्व विभागको विशेष ध्यान जानु आवश्यक छ । हालसम्म विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरूमा काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायण मन्दिर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । यीबाहेक नेपालमा विश्व सम्पदा सूचीमा सूचित गर्न सुहाउँदा अरू सम्पदाहरू पनि छन् । यी सबै सम्पदाको संरक्षण गरेर जीवन्तता दिन सरोकारवाला निकाय दत्तचित्त हुनुपर्छ† स्थानीय तहलाई आवश्यक सहयोग संस्कृति मन्त्रालयले गर्नुपर्छ ।
हरेक मुलुकको आ–आफ्नै सभ्यता, संस्कृति र सम्पदा हुन्छ । त्यही सभ्यता, संस्कृति र सम्पदाले त्यो देशको गरिमा बढाएको हुन्छ । ऐतिहासिक धरोहरको रूपमा रहेका ती नै जीवन्त सम्पदाले नै आर्थिक समृद्धिको आधारशीला बनेको हुन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरू यस्तै मौलिक सम्पदा हेर्न, बुझ्न सात समुद्रबाट आएका हुन्छन् । सम्पदाको अवलोकन गर्न आउने पर्यटकहरूबाट हुने आम्दानी त्यो ठाउँको विकास र सम्पदा संरक्षणको निम्ति महत्वपूर्ण स्रोत बन्छ । भक्तपुर नगरपालिकाले यहाँका विश्व सम्पदा स्थलमात्र होइन वडा वडामा रहेका सम्पदाहरू संरक्षण गर्न सक्नुको एक कारण पर्यटन सेवा शुल्क पनि हो । यो यहाँको महत्वपूर्ण आयस्रोत बनेको छ । यहीँ कारण यहाँका साना–ठुला, राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति पाएका सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्न सहयोग मिलेको हो ।
यहाँका पाँचतले मन्दिर, भैरवनाथको मन्दिर, पचपन्न झ्याललगायत सयौँ सम्पदाहरूको संरक्षण र संवद्र्धनमा विदेशी सहयोगको आवश्यकता भएन; विदेशी राष्ट्र तथा दाताको मुख ताक्नु परेको छैन । विदेशीको दान र अनुदानमा संरक्षण हुने सम्पदाले हाम्रो स्वाभिमानलाई उँचो बनाइराख्न सक्दैन । त्यस्तो सम्पदाप्रति हामीले गौरव गर्ने ठाउँ हुँदैन । अतः हाम्रो सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी नै सक्षम हुनुपर्छ । सम्पदा संरक्षणको निम्ति आवश्यक काठ सरकारले सस्तोमा उपलब्ध गराउनुपर्छ या करमा भारी छुट दिनुपर्छ । किनकि, सम्पदा त्यो ठाउँको मात्र होइन देशकै साझा सम्पत्ति हो; विश्वकै सम्पत्ति हो । त्यही सम्पदा हेर्न आन्तरिक र बाह्य पर्यटकहरू यहाँ आउँछन् । पर्यटकहरू यहाँ आउनु भनेकै आम्दानी हुनु पनि हो । एकातिर यहाँको सम्पदा स्थल अवलोकन गरेर पर्यटकहरूले विश्वमा चिनाउने काम गर्छन् भने अर्कोतिर आम्दानीको स्रोत पनि बन्छ ।
ऐतिहासिक महत्व बोकेको सम्पदाले देश विदेशमा चिनाउने काम मात्र गर्दैन । सम्पदाको आकर्षणले अरू पर्यटकहरू आइरहने माध्यम पनि बन्छ । यसले जाति, समुदाय र राष्ट्रको पहिचान कायम गरेको हुन्छ । सम्पदाभित्र मानिसको संस्कृति, संस्कार, जात्रा, पर्वलाई चिनाउँछ । यसले संस्कार सिकाउँछ । यसैले यी सबै सम्पदा देशका अमूल्य निधि हुन् । देशको सम्पदा राष्ट्रिय गौरव हो† राष्ट्रिय वैभव हो । सम्पदालाई जीवन्तता दिन सके देशको पहिचान अनन्तसम्म कायम रहने छ, कायम राख्नुपर्छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत स्थलहरू कहिलेकाहीँ खतरामा परेको खबर छापामा आउँछ । लुम्बिनी क्षेत्र र काठमाडौँको सम्पदा स्थल खतराको सूचीमा परेको खबर बेलाबखत नआएको होइन । खतराको सूचीबाट मुक्त हुन सुधार पनि गरिएको पाइन्छ । तर, आधुनिकता र आकर्षक बनाउने नाउँमा आधुनिक शैलीमा निर्माण गर्ने, रंग रोगन गर्ने आदि कामले सम्पदाको संरक्षणमा असर परेको छ । यसबारे विशेषतः संस्कृति मन्त्रालय, पुरातत्व विभाग र स्थानीय तह सचेत हुनुपर्ने देखिन्छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ को प्रावधानअनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने या सांस्कृतिक नगर, सांस्कृतिक गाउँ या सांस्कृतिक स्थल घोषणा गरेर जीवन्तता दिनुपर्ने खाँचो छ । विश्व सम्पदा दिवसले यस्तै सन्देश बाँड्न सकोस् र विगतको गौरव र भविष्यको जिम्मेवारीबिचको गहिरो सम्बन्ध कायम भइरहोस् । यसबारे नयाँ पुस्तामा पनि चेत आओस् र सम्पदाले जीवन्तता पाओस् ।
Leave a Reply