भर्खरै :

सीमा विवाद अन्त्य गर्न नेपालले नै पहल गर्नुपर्ने

सीमा विवाद अन्त्य गर्न नेपालले नै पहल गर्नुपर्ने

नेपाल र भारतको सीमा विवाद नसुल्झिएसम्म सीमा विवाद कहिले पनि अन्त्य हुनेछैन । नेपाल–भारत सीमा विवाद टुङ्ग्याउनेतर्फ एकातिर भारतको वास्ता छैन भने अर्काेतिर समस्यामा परेको नेपाल सरकारको पनि ध्यान पुगेको छैन । वास्तवमा नेपाल–भारत सीमा विवाद अन्त्य गर्नेतर्फ नेपाल सरकारले नै पहल गर्नुपर्ने हो । भारतले नेपाली भूमि मिचेको हो । मिचिएको नेपाली भूमि नेपालले फिर्ता लिनुपर्ने हो । आफ्नो भूमि फिर्ता लिन नेपाल सरकारले विभिन्न विज्ञहरूसँग परामर्श लिनुपर्ने हो† विभिन्न प्रमाण र तथ्यहरू बटुल्नुपर्ने हो । भारतले कालीनदीको नक्कली मुहान देखाएर नेपाली भूमि आफ्नो बनाउने प्रयास गरेको छ । आफ्नो जग्गा आफ्नो भन्न या गर्न नेपाल सरकार पछि पर्नु हुँदैन । आफ्नो जग्गा कायम गर्दा भारत रिसाउला भनेर चिन्ता लिनुपर्ने होइन । नेपालले आफ्नो साँध या सिमाना छुट्याउनैपर्छ । आफ्नो साँध
(सिमाना) छुट्याएर अरु विषयमा दौत्य सम्बन्ध कायम गर्नेतर्फ सरकार लाग्नुपर्छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको कुरा धेरै ऐतिहासिक प्रमाण नेपालसँग नभएको होइन । ऐतिहासिक प्रमाण र तथ्यको आधारमा नेपालले आफ्नो भूमि दाबी गर्नुपर्छ† दाबी गरेर आफ्नो भूमि कायम गर्नुपर्छ । नेपाली भूमिलाई कसैले आवश्यकताअनुसार उपयोग गर्नु एउटा कुरा हो† त्यो भूमि कुनै देशका मानिसहरू ओहोरदोहोर गर्ने मार्ग होला । ओहोरदोहोर भइरहेको आधारमा त्यो बाटो या भूमि आफ्नो हुँदैन । नेपालीहरू काशीमा गइरहेका होलान् तर काशी र काशी जाने बाटो नेपालको हुँदैन । आफू गइरहने, बेलाबखत बसिरहने भनेर त्यो भूमि दाबी गर्न मिल्दैन† दाबी गरे पनि त्यो भूमि कुनै विदेशी या भारतको हुँदैन ।
सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् । तर, भारतले नेपाली भूमि लिपुलेक हुँदै एकतर्फी रूपमा कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने तयारी थालेको छ । कोभिडको समयमा पनि भारतले नेपाली भूमि हुँदै मानसरोवर जोड्ने सडक बनाउन थालेको थियो । ऐतिहासिक सन्धि, प्रमाण, नक्सा र भूबनोटको राम्रो अध्ययन गरी सीमा विवाद टुङ्ग्याउन नेपाल सरकारले नै पहल गर्नुपर्छ । यात्राको लागि उपयोग गर्दै आएको भूमि भनेर भारतले दाबी गर्नु एक प्रकारको बल मिचाइ हो । यो सार्वभौमसत्तामाथिको हस्तक्षेप हो ।
कुनै देशका नागरिकले कुनै देशको भूमिमा अनुमति लिएर यात्रा गर्न पाउँछ । तर, पहिलेदेखि यात्रा गर्दै आएको भनेर त्यो ठाउँ आफ्नो हो भन्न पाउँदैन । भारतजस्तो ठुलो भूभाग ओगटेको देशले नेपालजस्तो सानो भूगोलको भूमिमा आँखा गाड्नु हुँदैनथ्यो† भूमि दाबी गर्नु हुँदैनथ्यो । अस्थायी वास बस्न दिएको आधारमा त्यो ठाउँ नै आफ्नो हो भनी दाबी गर्नु भारतको बलमिचाइ नभए अरु के हुन्छ ? नेपालको सार्वभौमिकताको सम्मान हरेक देशले गर्नुपर्छ । भारतले विचारेर कालापानी, लिपुलेक र लिम्पियाधुरा बिनासर्त नेपालको निम्ति छोड्नुपर्छ ।
सन् १८१६ को सुगौली सन्धिदेखि नेपालले उपभोग गर्दै आएको भूमि भारतले सन् १९५४ देखि कैलाश मानसरोवरमा यात्राका लागि उपयोग गर्दै आएको भनेर त्यो भूमि कसरी भारतको हुन्छ ? भारत नेपालको छिमेकी देश हो† भारत अरु देशको भूमि मिचेर दुःख दिन चाहँदैन भने लिपुलेक, लिम्पियाधुरा र कालापानी बिनासर्त भारतले नेपाललाई छोड्नुपर्छ । भारतले कालापानीमात्र होइन नेपालका अन्य भूमिमा पनि मिचेको छ† मिच्दै छ । सीमा स्तम्भहरू हटाउँदै, नेपालीलाई उठाउँदै भारतले भूमि मिच्ने क्रम छोडेको छैन । भारतले भूमि मिचेकै कारण नेपाल साँगुरिँदै छ । लालपुर्जा, रसिद हाम्रो अनि भोग अरुको कसरी हुन्छ ? भारत नेपाली भूमि छाड्न चाहँदैन भने नेपाल सरकारले अदालतमा मुद्दा हाल्नुपर्छ र मुद्दा हाल्नुअघि गर्नुपर्ने प्रक्रिया अघि बढाउनुपर्छ । नेपाली भूमि नेपालको बनाउन भारतको समर्थन छैन भनेर के सुख पाउँछ ? अतः नेपाल सरकारले उक्त क्षेत्रमा विभिन्न प्रशासनिक कार्यालय भवन बनाउने, बाटोघाटो बनाउने र बस्तीको विकास गर्नेतर्फ सरकारको ध्यान पुग्नुपर्छ । नेपालले नेपाली भूमि आफ्नो कायम गरेर छाड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *