सरकार सार्वजनिक ऋण बढाउँदै देशलाई आर्थिक सङ्कटतर्फ धकेल्दै
- बैशाख २२, २०८३
जुम्ला, २३ वैशाख । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिले बुधबार जुम्लाको खलङ्गामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “एमालेबाट प्रधानमन्त्री भएका केपी ओलीले भदौ २३ गतेको हत्या र भदौ २४ गतेको आगजनी रोक्न सकेनन् र भदौ २४ गते सेनाको दबाबमा पदबाट राजीनामा दिएर जनतालाई जानकारी नदिई भूमिगत भए । राष्ट्रपति रामचन्द्र पौडेलले पनि भदौ २३ र २४ गतेको घटना हुन नदिनेतर्फ संविधान पालन गर्न सकेनन् र प्रम ओलीको राजीनामा स्वीकृत गरी जनतालाई जानकारी नदिई भूमिगत भए ।”
“नेपाल प्रहरीका अधिकारीहरूले छानबिन आयोगसँगको बयानमा भदौ २३ र २४ गतेको घटना रोक्न सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाबाट सहयोग नपाएको बताएको संवेदनशील विषय हो । भदौ २३ र २४ गतेको घटनामा संलग्न दोषीहरूबारे उल्लेख भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारी दबाबको कारण सार्वजनिक हुन नसकेको समाचार प्रकाशित भइरहेको छ” सचिव सुवालले औँल्याउनुभयो ।
उहाँले पैँतीस वर्षयता सरकारमा गएका दल र प्रम एवम् मन्त्रीहरूले जनताको समस्या समयमा समाधान गर्न नसकेको हुँदा उपद्रव गर्नेहरूलाई मौका मिलेको र देशमा अहिलेको सङ्कट उत्पन्न भएको स्पष्ट पार्नुभयो ।
उहाँले थप्नुभयो, “जनतालाई राजनीतिक रूपले शिक्षित, सचेत र सङ्गठित नगरी अघि बढाइएको भारतको नक्सालवादी आन्दोलन, नेपालको झापा विद्रोह र माओवादी सशस्त्र द्वन्द्व असफल भएको थियो । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले पार्टी अध्यक्षज्यूको पुस्तक ‘राजनीतिक कार्यकता बन्ने भाइबहिनीहरूलाई चिठी’ अध्ययन गरेर जनताको सेवामा लाग्नु जरुरी छ । नयाँ पुस्तालाई वर्गीय चेतना दिएर सङ्गठीत गर्नु आवश्यक छ ।”
“३५ वर्षयता सरकारमा गएका नेका, एमाले, माओवादी, राप्रपालगायतका शासक दलहरूले नेपाली जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी दिन सकेनन् । रास्वपा सरकारको विधान र निर्वाचन वाचापत्रमा पञ्चायतले प्रयोग गरेको भाषा ‘शोषणरहित समाज’ र ‘आर्थिक उदारीकरण’ उल्लेख छ, उत्पादनका साधन र सेवा सामाजिकीकरण नभई शोषणरहित समाज स्थापना हुने छैन । रास्वपाको सरकारले एक महिनामा ७० हजारभन्दा बढी युवालाई घरखेत बेचाएर वैदेशिक रोजगारीमा पठायो, ५०–६० अर्ब रुपैयाँ वैदेशिक ऋण लियो, इन्धनको मूल्य बढायो । विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाका अभियन्ताहरूले देशलाई राजनीतिक रूपले नेतृत्व दिन सक्दैनन्” सचिव सुवालले उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि सुवालले वर्तमान पुँजीवादी सरकारमा गएको रास्वपाले पनि देश र जनताको निःस्वार्थ रूपमा सेवा नगर्ने उल्लेख गर्दै मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी तथा देशभक्तहरूको सरकार गठन गर्न नेमकिपाले जनतालाई सङ्गठित गरिरहेको बताउनुभयो ।
उहाँले वरिष्ठ पत्रकार प्रतीक प्रधानले ४० वर्षयता काठमाडौँमा बनेका नब्बे प्रतिशत घरहरू भ्रष्टाचारबाट बनेको खुलासा गरेको र अर्का वरिष्ठ पत्रकार अनिल गिरीले एक लाख नेपाली सेनामध्ये ८० हजार परिचालन गरी चुनाव जिताएर रास्वपाको सरकार गठन गराएको संवेदनशील विषय उठाएको बारे नेपाली जनता सचेत हुनुपर्नेमा जाड दिनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगर्ने सरकार जुनसुकै पार्टीको भए पनि देशभक्त हुनेछैन । यसकारण, नेमकिपाले एमसीसी, एसपीपी र नेपालको नदीनाला भारतलाई दिने सम्झौता खारेजीको आवाज उठाएको हो ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले उत्पादनका साधन राष्ट्रियकरण गरेर जनतालाई शिक्षा–स्वास्थ्य निःशुल्क हुने समाजवादी व्यवस्थाको निम्ति नेपाल मजदुर किसान पार्टी सङ्घर्षरत रहेको उल्लेख गर्दै जनताका दुश्मनहरूले नेमकिपालाई सिध्याउन खोजेकोतर्फ कार्यकर्ता सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रास्वपालगायतका शासक दलहरू विदेशीको सहयोगमा सरकारमा पुगेर नेपाललाई नवउपनिवेश बनाउनेतर्फ उन्मुख छन् । नेपाल मजदुर किसान पार्टी देशको सार्वभौमिकता दाउमा राखेर सत्तामा पुग्न कसैको गुलामी गर्नतिर लाग्दैन । निर्वाचनमा जे जस्तो परिणाम आए पनि निःस्वार्थ रूपले देश र जनताको सेवामा समर्पित हुनेछ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले भन्नुभयो, “पञ्चायती व्यवस्थामा नेपाली जनतालाई बोल्न पाउने, राजनीतिक दल खोल्न पाउने अधिकार थिएन । नेपाली जनताले पञ्चायती निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेर प्रजातन्त्र ल्याएका हुन् । अहिलेको बालेन सरकार पनि विद्यार्थी सङ्गठन, टे«ड युनियन निषेध गरेर पञ्चायतकै बाटोमा हिँड्न खोज्दै छ । नेपाली जनताले बालेन सरकारको निरङ्कुश र फासीवादी कदमविरुद्ध पनि सङ्घर्ष गर्नेछन् ।”
उहाँले अर्जेन्टिनामा जन्मिएका डाक्टर चे ग्वेभाराले क्युवाको क्रान्ति सफल बनाएर बोलिभियाली जनताको निम्ति क्रान्ति सफल बनाउन लड्दा लड्दै सहादत प्राप्त गर्नुभएको चर्चा गर्दै उहाँको अन्तर्राष्ट्रिय भावनाबाट नेपाली जनताले पनि प्रेरणा लिनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सल्लाहकार जयबहादुर शाहीले पार्टीका कार्यकर्ताहरू विचलित नभई इमानदार, नैतिकवान, अनुशासित भएर पार्टी सङ्गठनलाई जनतामाझ पु¥याउन क्रियाशील रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा कर्णाली प्रदेशका धनेन्द्र विक, नेमकिपा कर्णालीका सदस्य विर्खबहादुर रावत, नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटा र नेमकिपा जुम्लाका मानबहादुर बोहराले पनि बोल्नुभयो ।
Leave a Reply