भर्खरै :

संरा अमेरिकामा मजदुर आन्दोलन – १

  • बैशाख २४, २०८३
  • का. रोहित
  • विचार
संरा अमेरिकामा मजदुर आन्दोलन – १

सन् १८३० मा संरा अमेरिकामा रेलको बाटो खुल्यो । रेलको बाटोले अलग अलग भएको स्थानीय बजारलाई व्यापक राष्ट्रिय बजारसँग जोडिदियो । त्यसले बन्द व्यापार काम–माम र जीविकालाई बढाइदियो । कल–कारखाना र उद्योगधन्दाको विकास भयो । कोइला, तामा, फलाम, तेल र काठपातहरूजस्ता काँचा वस्तुहरूमा अमेरिका एक नसिद्धिने भण्डार नै थियो । बैङ्क, रेल, यातायात, बीमा र अरू कम्पनीहरू खुल्दै गए । १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति पूरा भयो । औद्योगिक उत्पादनको हिसाबले त्यो विश्वको पाँचौँ देश बन्यो ।
सन् १८६० तिर संरा अमेरिकाको जनसङ्ख्या ३ करोड १० लाख थियो । कपडा कारखानामा जम्मा ५३ लाख लट्टाइहरू थिए । इस्पातको गोलो पाताको उत्पादन १ लाख १५ हजार थियो । रेल बाटोको लम्बाइ ४८ हजार किमि थियो । औद्योगिक मजदुरहरू १४ लाख पुगेका थिए । कपडा उद्योग छिटछिटो विकास भइसकेको थियो । त्यसकारण, मजदुरहरूको सङ्ख्या छिट्टै १८ लाख पुग्यो । त्यसमध्ये धेरै यातायातमा काम गर्थे । फेरि ८ लाख खेती मजदुर थिए । उद्योगमा काम गर्ने मजदुरहरूमध्ये एउटा ठुलो भाग केटाकेटीहरूको थियो । ९–१० वर्षका केटाकेटीहरूलाई दिनको १२–१३ घण्टा काममा लगाइन्थ्यो ।
सन् १८६५ सम्ममा औद्योगिक उत्पादनमा संरा अमेरिका विश्वको चौथो श्रेणीमा पुग्यो । १८७० तिर तेल झिक्ने उद्योगको विकास भयो । १ लाख ७० हजार मजदुर त तेलको उद्योगमा काम गर्ने भए । पुँजीवादको जति जति विकास हुँदै गयो उति उति आर्थिक विषमता बढ्दै गयो । धनीहरू झन्झन् धनी हुँदै गए र गरिबहरू झन्झन् गरिब हुँदै गए । उदाहरणको निम्ति फिल्ड भन्ने एक पुँजीपतिको कुरा लिऊँ । त्यस पुँजीपतिको कारखानामा काम गरेको ११ भागमध्ये दुई भागमात्रै त्यसका मजदुरहरूले पाउँथे । अरू सबै पुँजीपतिको पेटमा जान्थ्यो । मजदुरहरूले जति जति काम गर्दै जान्थे उति उति पैसा पुँजीपतिको पेटमा पुग्थ्यो । काम गर्ने मजदुरहरूले एक छाक पनि राम्रो खाना खान पाउँदैनथे । तर, तिनीहरूकै कमाइबाट त्यस कारखानाका मालिकलाई दिनको ९ हजार रूपैयाँ माथिल्लो स्तरको खाना खान पुग्थ्यो । एक मजदुरले दिनको २ डलर ज्याला पाउँथ्यो भने एक मालिकको आम्दानी घण्टाको ५०० देखि ७०० डलरसम्म पुग्थ्यो ।
त्यस पुँजीपतिको ज्यासलमा एक दिनमा लोग्नेमानिस, स्वास्नीमानिस र केटाकेटीहरू गरेर जम्मा १० हजार मजदुर काम गर्थे । सयकडा ९५ मजदुरले हप्तामा १२ डलर अथवा त्यो भन्दा कम पाउँथे । दिनभरि झुकेर सिलाइको काम गर्ने आइमाईहरूले हप्ताको ६ डलर ७५ सेन्ट पाउँथे । त्यसको अर्थ मजदुरहरूले आधा पेटमात्रै खाएर काम गर्नुपर्दथ्यो । दिनभरि काम गरिसकेपछि तिनीहरू आफ्नो छाप्रो डेरामा फर्कन्थे । भोलि फेरि काम गर्न जानैपथ्र्यो । सबभन्दा सस्तो वस्तु सुख्खा रोटी थियो । घ्यू भनेको त सा¥है माथिल्लो खाना थियो । बिहानको खाजा भनेको त कफी र सुख्खा रोटी थियो । दिउँसोको मुख्य खाना एक टुक्रो प्याजसँग रोटी खाइन्थ्यो । सँगै माछाको एक टुक्रो अथवा नरम दूध रोटी हुन्थ्यो । अथवा सखर वा कुनै गुलियो वस्तुसँग रोटी निल्नु पर्दथ्यो । राति एक टुक्रो सुङ्गुर या गाईको मासु, गर्मीमा गन्हाएको तरकारीसँग रोटी खाइन्थ्यो । पिउने कुरामा चियामात्रै हुन्थ्यो । मजदुहरूसँग मुस्किलले एकजोर लुगा हुन्थ्यो । डेराको बहाल कम गर्न एउटै कोठामा पनि ८–१० जवान मजदुर बस्ने गर्थे ।
सन् १८७०–१८८० को बेला संरा अमेरिकाको श्रमिक आन्दोलनको इतिहासमा एक महत्वपूर्ण अवधि थियो । मजदुरहरू लामो समयको काम र कम ज्यालाको विरोधमा लड्थे । तिनीहरू आफ्नो पक्षको कानुन बनाउन लगाउन आर्थिक र राजनैतिक सङ्घर्षहरू गर्थे । रेलका बाटोहरू बनाउने र कोइला खानीमा काम गर्ने मजदुरहरूको ठुलठुला हडतालहरू भए । १८७० तिर भएका ती हडतालहरू सा¥है दरो ढङ्गका थिए र ती सङ्घर्षहरू कहिले केही सशस्त्र भिडन्तमा समेत बदलिन्थे । अमेरिकी पुँजीपतिवर्ग ती हडताल र सङ्घर्षहरूलाई सा¥है निर्दयतापूर्वक दबाउँथे ।
सन् १८७७ मा संरा अमेरिकामा पहिलोचोटि देशव्यापी रेल बाटोका मजदुरहरूको हडताल भयो । त्यस ऐतिहासिक हडताललाई दबाउन अमेरिकी पुँजीपतिवर्गले सेना र स्वयंसेवक नाउँका हुल्याहा र गुण्डाहरूलाई उपयोग ग¥यो । पुँजीपतिहरूको प्रेस र अखबारहरूले ती हडतालहरूलाई कम्युनिस्ट षड्यन्त्र भनेर घोषणा गरे र त्यसलाई दबाउन माग गरे । रेललाई रोक्न खोज्ने मजदुहरूमाथि सेनाद्वारा गोली हान्न दिए ।
तर, सरकार र पुँजीपतिवर्गको दमनले अमेरिकी मजदुरवर्ग लत्रेनन् । अरू औद्योगिक मजदुर र किसानहरूले त्यस रेलवे मजदुरहरूको हडताललाई समर्थन गरे । पिटसवर्ग, बाल्टिमोर, शिकागो र अरू मुख्य–मुख्य सहरहरूमा हडताली मजदुरहरू र सिपाहीँहरूको बिचमा चर्काचर्की र भिडन्तहरू भए । ती भिडन्तहरूमा कमभन्दा कम तीन सय मजदुर मारिए । पिटसवर्गको सेनाको गोलीबाट मारिएका मजदुरहरूको लास जहाँतहाँ छरिएको थियो । ती मजदुरहरू वास्तवमा आफ्नो न्यायोचित मागका निम्ति लडेका थिए । तर, पुँजीपतिवर्गले मजदुरवर्गको त्यस न्यायोचित मागलाई अपराध सम्झे र गोली चलाएर हत्याकाण्डहरू मच्चाए । त्यस हत्याकाण्डबाट सारा अमेरिकी मजदुरहरूमा ठुलो आक्रोसको लहर फैलेको थियो । एक पुँजीवादी अखबारअनुसारै हत्याकाण्डमा परेका मजदुहरूका आइमाईहरू रोइरहेका थिए र तिनीहरू आफूलाई विधवा बनाउनेहरूलाई सरापिरहेका थिए । यसको अर्थ हो – मजदुरहरूका स्वास्नीमानिसहरू र महिला मजदुरहरूसमेत पुँजीपतिवर्गको अन्याय अत्याचारको विरोधमा सङ्घर्ष गर्दै थिए ।
पुँजीपतिवर्गको निर्दयी दमनबाट संरा अमेरिकाको मजदुर हडताल हा¥यो । तर, १८८० तिरको ती हडतालले संरा अमेरिकाको सम्पूर्ण मजदुरवर्गलाई ब्युँझाइदिए । देशभर ८ घण्टाको आन्दोलन सुरु भयो । हडताल र आन्दोलनहरूलाई दबाउन सरकारले आफ्नो सेना र पुलिसलाई प्रयोग गरेर निर्दयताको एक अर्को उदाहरण प्रस्तुत ग¥यो । त्यस दमनले अमेरिकाको दक्षिणी मुख्य राज्य टेक्सासदेखि मध्य अमेरिकाको सेन्ट लुई राज्यसम्म मजदुरहरूको रगत बग्यो ।
तर, बलिदान खेर गएन । १८८६ मा संरा अमेरिकामा फेरि मजदुर आन्दोलन भयो । ८ घण्टाको कामको दिन, ज्याला बढाउने र अरू मागहरूको निम्ति संरा अमेरिकाका मजदुरहरू जुरमुरिएर उठे । त्यो आन्दोलनलाई पनि पुँजीपतिवर्गले रगतमा डुबाइदियो । त्यस आन्दोलनलाई आज १ मेको आन्दोलनको नामले सबै जान्दछन् । १ मे १८८६ को त्यो आन्दोलन आज मजदुर दिवसको रूपमा सारा संसारमा मनाइन्छ । आज संसारमा धेरै देशका मजदुरहरूले ८ घण्टाको कामको दिन पाएका छन् ।
१ मेको आन्दोलन
पुँजीपतिवर्गले मजदुरवर्गलाई जति जति दबाउँदै जान्थ्यो, उति उति तिनीहरू पहिलेभन्दा सङ्गठित र सचेत हुँदै जान्थे । समाजवादी विचारधारा फैलिँदै गयो । एङ्गेल्स फ्रेडरिक एडोलफ सोर्गेमार्फत अमेरिकाको मजदुर आन्दोलनबारे जानकारी राख्नुहुन्थ्यो ।
सन् १८८४ को गर्मी महिनामा फ्लोरेन्स केली विस्चेवेत्की भन्ने २५ वर्षकी एक अमेरिकी केटी जुरिच विश्वविद्यालयमा अध्ययन गर्दै थिइन् । तिनले समाजवादी विचारधारा स्वीकार गरिन् । तिनले एङ्गेल्ससँग उहाँको ‘बेलायतमा मजदुरवर्गको अवस्था’ भन्ने किताब अमेरिकामा प्रकाशित गर्न अनुमति मागिन् । एङ्गेल्सले त्यस अनुवादलाई सम्पादन गर्ने वचन दिनुभयो । घर फर्कँदा १८८६ को शरद्मा तिनले लण्डनमा एङ्गेल्स भेटिन् । तिनले पनि एङ्गेल्ससँग अमेरिकी मजदुर आन्दोलन र समाजवादी सङ्गठनबारे चिट्ठीपत्र गर्थिन् । ४० वर्ष पुरानो आफ्नो किताब अमेरिकामा छाप्ने कुरोले एङ्गेल्स खुसी हुनुभयो । त्यसबेला अमेरिकाको उद्योगको अवस्था १८४४ तिरकै बेलायतको अवस्थासँग मिल्दोजुल्दो थियो । मजदुरवर्गको अवस्थामा सुधार ल्याउने, कामको दिनलाई छोट्याउने, स्वास्नीमान्छे र केटाकेटीको श्रमको शोषणको विरोध गर्नेजस्ता विषयमा कुरा मिल्दथ्यो । १८८६ को सुरुमा त्यस अनुवादलाई ६ हप्ता लगाएर एङ्गेल्सले सम्पादन गर्दै हुनुहुन्थ्यो ।
त्यसैबेला अमेरिकामा मजदुर आन्दोलन फेरि चर्किँदै थियो । १८८६ को सुरुमै ठुलठुला औद्योगिक केन्द्रहरूमा ८ घण्टाको कामको दिन प्रचार आन्दोलन अगाडि बढ्न थाल्यो । त्यस आन्दोलनमा ३ लाख ५० हजारभन्दा बढी मजदुरहरू सम्मिलित थिए । आन्दोलनले बडो राम्रोसँग सफलता हासिल गर्दै थियो । २९ अप्रिल १८८६ मा एङ्गेल्सलाई एक पत्र प्राप्त भयो । त्यसमा लेखिएको थियो, “पहिलोचोटि त्यहाँ अङ्ग्रेजी बोल्ने मजदुरहरूमा साँचो व्यापक आन्दोलन भएको छ ।… अहिले पनि तिनीहरू अँध्यारोमा छामछाम छुमछुम गर्दै छन्, अस्पष्ट र अचेत छन् जसलाई हटाउन सकेनन् । तर, यो ठीक हुनेछ, आन्दोलनले आफ्नो गल्तीहरूबाट सिक्नुपर्छ र सिक्दै विकास गर्नेछ ।”
स्रोत : ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *