भर्खरै :

“समाजवादी विचार एवम् दृष्टिकोण ‘श्रमिक’ को मार्गदर्शक हो”

“समाजवादी विचार एवम् दृष्टिकोण ‘श्रमिक’ को मार्गदर्शक हो”

समाजवादी आस्था नै ‘श्रमिक’ को आस्था हो; समाजवादी विचार एवम् दृष्टिकोण ‘श्रमिक’ को मार्गदर्शक हो । अर्थात्, नेमकिपाको आस्था नै हाम्रो आस्था हो; नेमकिपाको आदर्श नै हाम्रो आदर्श हो । जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने वा आमूल परिवर्तन गर्ने नेमकिपाको उद्देश्य पूरा गर्न पृष्ठभूमि तयार गर्नुलाई ‘श्रमिक’ परिवार आफ्नो कर्तव्य ठान्दछ ।
राज्यको चौथो अङ्गको भूमिका इमानदारीसाथ निर्वाह गर्दै पत्रकारिता क्षेत्रमा ‘श्रमिक’ साप्ताहिक प्रखर प्रतिपक्षको भूमिकामा उभिएको छ । सूचना मात्र होइन, ज्ञान दिने हाम्रो उद्देश्य हो† जनसरोकार नै हाम्रा विषय हुन्; आवाजविहीनहरूको आवाज बन्नु हाम्रो लक्ष्य हो; सम्बन्धित निकाय र जनताबिचको पुल बन्ने प्रयासलाई हामीले निरन्तरता दिइरहेका छौँ; जनधारणा निर्माण गर्न हामी क्रियाशील छौँ; समाज र देशको पहरेदार बनी जनताको वास्तविक प्रतिनिधि बन्ने हाम्रो सङ्कल्पलाई हामीले उँचो राख्दै अघि बढिरहेका छौँ । नेपालको जनपक्षीय साँचो इतिहास लेखनमा कसैले ‘श्रमिक’ साप्ताहिकका पानाहरू पल्टाउन छुटाएमा त्यो अधुरो हुने विश्लेषकहरूको भनाइ पनि हामी स्मरण गरिरहेका छौँ । यसरी देश र जनताको सेवामा कलम चलाउनुलाई ‘श्रमिक’ ले प्राथमिकता दिएको छ† जनतालाई राजनीतिक रूपले सचेत र शिक्षित बनाउनुलाई ‘श्रमिक’ ले पत्रकारिताको धर्म सम्झेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष श्रद्धेय नारायणमान बिजुक्छेँ (रोहित) ले आस्था र विचारको पत्रकारिता गर्नुपर्ने विषयमा जोड दिनुभएको स्मरणीय छ । यस अर्थमा समाजवादी आस्था नै ‘श्रमिक’ को आस्था हो; समाजवादी विचार एवम् दृष्टिकोण ‘श्रमिक’ को मार्गदर्शक हो । अर्थात्, नेमकिपाको आस्था नै हाम्रो आस्था हो; नेमकिपाको आदर्श नै हाम्रो आदर्श हो । जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने वा आमूल परिवर्तन गर्ने नेमकिपाको उद्देश्य पूरा गर्न पृष्ठभूमि तयार गर्नुलाई ‘श्रमिक’ परिवार आफ्नो कर्तव्य ठान्दछ ।
‘श्रमिक’ साप्ताहिकले आफ्ना लेख–रचनामार्फत विचारशून्य अवस्थामा पुगेर सत्तामा कुहिरोका कागझैँ बनेर बसेका शासक दलहरूलाई सैद्धान्तिक–वैचारिक आलोचनासँगै देश र जनताको हितमा गर्नुपर्ने काम–कारबाहीका विषयमा सही मार्ग पहिल्याउने अनेक उपाय पनि दिँदै आएको छ । यदि शासक दलहरूले देश र जनताको पक्षमा हाम्रा ती उपायहरूलाई थोरै मात्र भए पनि लागू गरेको भए देश आज भयावह अवस्था र विध्वंसको सङ्घारमा उभिने थिएन । शासक दलहरूले देश र जनताको समस्या समाधानलाई बेवास्ता मात्र गरेनन्; देशका नदीनाला एक–एक गर्दै भारतीय एकाधिकार पुँजीको पोल्टामा सुम्पे; विस्तारवादी भारतीय शासकहरूकै सेवालाई प्राथमिकता दिए; जनताको नागरिक भावनालाई कमजोर पार्दै विदेशी हस्तक्षेपलाई बलियो बनाए; एमसीसीजस्ता देशघाती सन्धि–सम्झौतालाई अघि बढाई देशको सार्वभौमिकता धरापमा पारे । आज ती देशघाती पुराना शासक दलहरू र एमसीसी–एसपीपीलगायत अन्य देशघाती सन्धि–सम्झौता खारेजीलाई प्राथमिकतामा नराखी अघि बढिरहेको ‘अमेरिकी युथ काउन्सिल’, ‘बारबरा फाउन्डेसन’, ‘हामी नेपाल’ लगायत संस्थासँग साइनो जोडिएका नयाँ भनिएका शासक दलहरू एउटै आमाको कोखबाट अर्थात् पुँजीवादी व्यवस्थाबाट जन्मिएका जुम्ल्याहा दाजुभाइ त होइनन् ? यो आशङ्का छापा मिडियामा मात्र होइन, सचेत नेपालीले सामाजिक सञ्जालमा पनि व्यक्त गरिरहेका छन् । एसपीपीलगायत अन्य देशघाती सन्धि–सम्झौता अघि बढाई विदेशीकै सेवा गर्न नयाँ पुस्तालाई सत्तामा पुग्ने हतियार त बनाइएन ? यो विषयमा पनि आज चर्को बहस भइरहेको हामी सुन्दै छौँ ।
हिजो तानाशाही राणा शासनकालमा जनताको बोली दमन गर्न गोली चलाइयो; निरङ्कुश पञ्चायती शासनमा जनताका पक्षमा चल्ने कलममाथि समेत बन्देज लगाई प्रजातन्त्रलाई दलनको अवस्थामा पु¥याइयो । आज जनताका आवाज र जनपक्षमा उठेका विचार वा फरक मत दबाउन प्रचारको एउटा माध्यम सामाजिक सञ्जालमा शासक दलहरूले दमनको निकृष्ट शैली प्रस्तुत गरिरहेका छन् । यसले अत्याचारी राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाको आधुनिक संस्करणको झल्को दिइरहेको अनुभूति सर्वसाधारणले गरिरहेका छन् ।
तर, शासक दलहरूले जनताको पक्षमा लेखिएका विचारमाथि प्रतिबन्धका अनेक दाउपेच लगाएर छर्न खोजेको भ्रान्तिले साँचो क्रान्तिलाई रोक्न–छेक्न नसक्नेमा हामी प्रस्ट छौँ । ‘श्रमिक’ साप्ताहिक त्यो क्रान्तिकारी विचारको प्रतिनिधित्व गर्दै अविरल वा अविराम अनि अविचलित यात्रा तय गरेर विगत तीन दशकदेखि लम्किरहेको सर्वविदित नै छ ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै अघि बढिरहेको ‘श्रमिक’ साप्ताहिकले यसअघि २ वटा ‘सम्पादकीय सङ्कलन’ पुस्तक सार्वजनिक गरिसकेको विदित नै छ । पार्टीको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सार्वजनिक गरिएको पहिलो खण्डमा २०७२ देखि २०७६ सालसम्मका सम्पादकीय सङ्कलित छन् भने पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा २०७६–२०७८ सालसम्मका सम्पादकीयहरूलाई सङ्ग्रहित गरी दोस्रो खण्ड सार्वजनिक गरिएको थियो । तेस्रो खण्ड आज विमोचन गर्दै छौँ ।
यसरी नै समसामयिक टिप्पणीको रूपमा ‘श्रमिक’ को अन्तिम पृष्ठमा प्रकाशित हुने ‘एकक्षण’ लाई पुस्तकाकारमा आज सार्वजनिक गर्दै छौँ । यसमा २०७२ सालदेखि २०७५ सम्मका लेखहरू सङ्ग्रहित छन् । यी पुस्तकहरू हरेक राजनीतिक कार्यकर्ताका निमित्त निकै महत्वपूर्ण दस्ताबेज तथा सर्वसाधारणका निमित्त ज्ञानका निकै गहकिला खुराक बन्न सक्नेमा हामी विश्वस्त छौँ ।
पुस्तक सार्वजनिकीकरणपछि आज टिप्पणीकारहरूले प्रदान गर्नुहुने महत्वपूर्ण सल्लाह, सुझाव र पछि अध्ययन–गोष्ठी, अन्तरक्रियाबाट प्राप्त हुने सल्लाह सुझावले हामीलाई हाम्रा कमीकमजोरी केलाउन अवसर मिल्ने अपेक्षा पनि गरेका छौँ ।
(वैशाख १९ गते आयोजित ‘सम्पादकीय सङ्कलन’ (तेस्रो खण्ड) र समसामयिक टिप्पणी सङ्कलन ‘एकक्षण’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा व्यक्त मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *