“समाजवादी विचार एवम् दृष्टिकोण ‘श्रमिक’ को मार्गदर्शक हो”
- बैशाख २३, २०८३
“उनी एक मानिस थिए,
सबै कोणबाट असल
उनीजस्तो अरू कोही,
अब म देख्ने छैन ।”
(ह्याम्लेट, दृश्य १, अङ्क २)
कार्ल माक्र्ससँग मेरो पहिलो भेट सन् १८६५ को फेब्रुअरीमा भयो । सन् १८६४ सेप्टेम्बर २८ मा लन्डनको सेन्ट मार्टिन हलमा एउटा भेला भयो । त्यो भेलाबाट प्रथम इन्टरनेसनल गठन भयो । माक्र्सलाई नयाँ सङ्गठन बनेको खबर दिन म लन्डनबाट पेरिस गएँ । एम. टोलेनले मेरो परिचय खुलाएर पत्र लेखिदिनुभएको थियो । अहिले उहाँ पुँजीवादी गणतन्त्रका सिनेटर हुनुहुन्छ ।
त्यो बेला म २४ वर्षको थिएँ । माक्र्ससँगको त्यो पहिलो भेटले मनमा गहिरो छाप पा¥यो । यो जुनीमा त्यसको झल्को मेटिनेछैन । त्यो बेला माक्र्स बिरामी हुनुहुन्थ्यो । ‘पुँजी’ को पहिलो खण्ड लेखिरहनुभएको थियो । दुई वर्षपछि सन् १८६७ मा गएर त्यो ग्रन्थ छापियो । उहाँलाई किताब लेखेर सिध्याउन्न कि भन्ने पीर थियो । त्यसैले, नवयुवाहरू भेट्न जाँदा रमाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “मैले आफ्नो सेखपछि कम्युनिस्ट प्रचारप्रसार जारी राख्ने व्यक्तिहरूलाई तालिम दिनुपर्छ ।”
कार्ल माक्र्स एक दुर्लभ व्यक्ति हुनुहुन्थ्यो । उहाँ एकैबाजि विज्ञान र सार्वजनिक जीवन दुवैको नेता बन्नुभयो । यी दुई पक्ष उहाँको व्यक्तित्वका अभिन्न अङ्ग थिए । उहाँ एक विद्वान र समाजवादी योद्धा हुनुहुन्थ्यो । यी दुई पक्षलाई ध्यानमा नराखी उहाँलाई बुझ्न सकिन्न ।
कार्ल माक्र्स विज्ञानलाई जस्तो छ त्यस्तै हेर्नुपर्छ, अध्ययन गर्दै जाँदा जेजस्तो परिणाम आए पनि स्वीकार्नुपर्छ भन्नुहुन्थ्यो । सार्वजनिक जीवनमा सक्रिय सहभागी नभई महको माखो जस्तो आफूलाई केवल अध्ययन कोठा वा प्रयोगशालामा थुनेर अनि आफ्ना दौँतरीहरूको राजनीतिक सङ्घर्ष वा जीवनबाट आफूलाई अलग्ग राखेर एक वैज्ञानिकले आफ्नो स्तर खस्काउन मात्र सक्छ भन्नुहुन्थ्यो ।
उहाँ भन्नुहुन्थ्यो, “विज्ञान आत्मरति हुनुहुँदैन । आफूलाई वैज्ञानिक खोजबिनमा समर्पित गर्ने सौभाग्य कमैले पाउँछन् । जसले पाउँछ, तिनले आफ्नो ज्ञानलाई मानव जातिको सेवामा लगाउन अघि सर्नुपर्छ ।” उहाँको प्रिय भनाइ थियो – “मानव जातिको निम्ति काम गर ।”
कामदार जनताको दुःखप्रति माक्र्सको गहिरो सहानुभूति थियो । तैपनि, भावुकताले नभई इतिहास र राजनीतिक अर्थशास्त्रको अध्ययनले उहाँलाई कम्युनिस्ट विचारसम्म पु¥याएको थियो । निजी स्वार्थको प्रभावमा नपरेको र वर्गीय पूर्वाग्रहले आँखा नटालेको जुनसुकै व्यक्ति यही निष्कर्षमा पुग्ने उहाँ बताइरहनुहुन्थ्यो ।
माक्र्सले पूर्वाग्रह नराखी मानव समाजको आर्थिक र राजनीतिक विकासको अध्ययन गर्नुभयो । तर, आफ्नो अध्ययनको निष्कर्ष लेख्दै गर्दा उहाँ एकदम प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँले कल्पनाको बादलमा रुमल्लिएको सामाजिक आन्दोलनलाई वैज्ञानिक आधार प्रदान गर्ने उद्देश्यले मात्र लेख्नुभयो । उहाँले केवल कामदारवर्गको विजयलाई मलजल गर्न आफ्नो विचार प्रचारप्रसार गर्नुभयो । समाजको राजनीतिक र आर्थिक नेतृत्व हासिल गरेपछि साम्यवाद स्थापना गर्नु यो वर्गको ऐतिहासिक मिसन हो ।
माक्र्सले आफू जन्मेको देशमा मात्र गतिविधि गर्नुभएन । उहाँ भन्नुहुन्थ्यो, “म विश्वको नागरिक हुँ । जहाँ हुन्छु, त्यही सक्रिय रहन्छु ।” हुन पनि विभिन्न राजनीतिक घटनाक्रमले गर्दा फ्रान्स, बेल्जियम, बेलायत जहाँ जानुपरे पनि उहाँले त्यहाँ भइरहेका क्रान्तिकारी आन्दोलनहरूमा अहम् भूमिका खेल्नुभयो ।
पहिलोपल्ट भेट्दा मैले माक्र्सलाई एक अथक र अतुलनीय समाजवादी योद्धाभन्दा पनि एक वैज्ञानिक पाएँ । माइल्यान्ड पार्क सडकमा रहेको उहाँको अध्ययन कोठा सभ्य जगतका सबै मुलुकबाट आएका पार्टी कामरेडहरूको केन्द्र थियो । मानिसहरू समाजवादी विचारका गुरुको विचार बुझ्न त्यहाँ आइरहन्थे । माक्र्सको आत्मिक जीवनमा पस्नुअघि उहाँको त्यो ऐतिहासिक कोठालाई चिन्न जरुरी छ ।
त्यो कोठा पहिलो तलामा थियो । कोठामा पार्कतिर फर्केको बडेमानको झ्याल थियो । त्यहाँबाट भित्रिने प्रकाशले कोठा नै उज्यालो हुन्थ्यो । वल्लो भित्तामा मकल थियो र छेउका दुवै भित्तामा किताब राख्ने दराज थिए । दराजमा टन्नै पुस्तक थिए† पत्रपत्रिका र पाण्डुलिपिहरूको छत छुने चाङ थियो । कोठाको बिचमा पुग्दो प्रकाश थियो । त्यहाँ एउटा सानो, सादा टेबल र काठको कुर्सी थियो । कुर्सी र किताबको दराजबिच, झ्यालको ठीक अघिल्तिर एउटा लेदरको सोफा थियो । बेलाबेला माक्र्स त्यहीँ सुस्ताउनुहुन्थ्यो । मकलमाथि फलेकमा पुस्तक, सिगार, सलाइ, सुर्तीका बट्टा, पेपन–वेट र माक्र्सका छोरी, जहान, विल्हेल्म वुल्फ र फ्रेडरिख एङ्गेल्सका तस्बिर थिए ।
माक्र्स अम्मली हुनुहुन्थ्यो । एकपल्ट उहाँले मसँग भन्नुभयो, “‘पुँजी’ बाट जति कमाइ भयो, त्यसले त किताब लेख्ने बेला मैले खाएको सिगारको खर्चसमेत उठ्दैन ।” सिगारको भन्दा ठूलो खर्च सलाइमा जान्थ्यो । उहाँ बरोबर आफ्नो सिगार वा पाइप रित्तिएको बिर्सनुहुन्थ्यो र बेलाबेला त्यसलाई सल्काउन सलाइका काँटी बालेर खेर फाल्नुहुन्थ्यो ।
उहाँले कसैलाई पनि आफ्ना किताब वा पत्रपत्रिका मिलाउन दिनुहुन्नथ्यो । अरूले मिलाउनुको अर्थ बिगार्नु हुन्थ्यो । ती किताब वा पत्रपत्रिका छरपस्ट भएजस्ता देखिन्थे । तर, ती सबै आआफ्ना ठाउँमा हुन्थे र आफूले चाहेको किताब वा नोटबुक माक्र्सले सजिलै भेट्नुहुन्थ्यो । कुराकानीको बेला समेत उहाँ बिचमै रोकिनुहुन्थ्यो र आफूले भर्खरै नाम लिएको किताबबाट उद्धरण वा तथ्याङ्क देखाउनुहुन्थ्यो । आफ्नो अध्ययन कोठासँग उहाँ नङमासु हुनुहुन्थ्यो । कोठाका किताब र पत्रपत्रिका मानौँ उहाँको हातमा थिए ।
किताब व्यवस्थापन गर्ने औपचारिक सूत्रको उहाँलाई काम थिएन । फरक आकार प्रकारका किताब र पर्चाहरू सँगै चाङ लागेका हुन्थे । उहाँ तिनलाई विषयवस्तुअनुसार मिलाउनुहुन्थ्यो । आकार हेर्नुहुन्थेन । किताब उहाँको दिमागका लागि औजार थिए, विलाशका साधन थिएनन् । उहाँ भन्नुहुन्थ्यो, “यिनीहरू मेरा सेवक हुन् र यिनले मैले चाहे अनुसार मेरो सेवा गर्नुपर्छ ।” उहाँ किताबको आकार वा मोटाइ, कागतको गुणस्तर वा प्रकारलाई महत्व दिनुहुन्नथ्यो । उहाँले पानाका कुनाहरू मोड्नुहुन्थ्यो, छेउमा पेन्सिलले चिह्न लगाउनुहुन्थ्यो र वाक्यलाई अन्डरलाइन गर्नुहुन्थ्यो । उहाँले कहिल्यै किताबमा लेख्नुभएन । तर, कहिलेकाहीँ लेखकले सीमा पार गर्दा मन थाम्न नसकी विस्मय वा प्रश्न चिह्न लगाउनुहुन्थ्यो । अन्डरलाइन गर्ने विधिले गर्दा उहाँले कुनै पनि पुस्तकमा चाहेको अनुच्छेद सजिलै खोज्न सक्नुहुन्थ्यो । उहाँ आफ्नो नोटबुक पल्टाइरहनुहुन्थ्यो र किताबमा अन्डरलाइन गरेका अनुच्छेदहरू पढिरहनुहुन्थ्यो । यी कुरा स्मरणमा राखिरहन उहाँ केही वर्षको अन्तरालमा यसो गरिरहनुहुन्थ्यो । उहाँको स्मरण शक्ति अत्यन्त भरपर्दो थियो । (दार्शनिक) हेगेलको सल्लाहअनुसार युवा उमेरबाटै उहाँले यो क्षमता बलियो पार्दै आउनुभएको थियो । यसको लागि उहाँले आफूले नबुझ्ने विदेशी भाषाका कविता कण्ठस्थ पार्नुहुन्थ्यो ।
माक्र्सलाई हाइने र गोथेजस्ता कविका कविता कण्ठस्थ थिए । कुराकानी गर्दा प्रायः तिनका हरफ सुनाउनुहुन्थ्यो । युरोपका सबै भाषाका कविहरू पढ्ने परिश्रमी पाठक हुनुहुन्थ्यो । हरेक वर्ष उहाँ एस्किलिजका कविता मूल ग्रीक भाषामा पढ्नुहुन्थ्यो । एस्किलिज र शेक्सपियरलाई उहाँ मानव जातिले जन्माएका महानम नाट्य प्रतिभा मान्नुहुन्थ्यो । शेक्सपियरलाई उहाँ असीम सम्मान गर्नुहुन्थ्यो । उनका रचनाहरूको केस्राकेस्रा केलाउनुभएको थियो माक्र्सले । शेक्सपियरका एकदम नगन्य पात्रबारे समेत उहाँलाई थाहा थियो । खासमा उहाँको पूरै परिवार ती अङ्ग्रेज नाटककारका भक्त थिए । माक्र्सका तीन जना छोरीलाई शेक्सपियरका धेरै नाटकहरू कण्ठस्थ थिए । अङ्ग्रेजी पढ्न जान्दाजान्दै पनि सन् १८४८ मा माक्र्सले आफ्नो भाषिक ज्ञान माझ्न चाहनुभयो । यसको लागि उहाँले शेक्सपियरका मूल भनाइहरू जम्मा गर्नुभयो र तिनलाई वर्गीकरण गर्नुभयो । यसरी नै उहाँले विलियम कोबेटका व्यङ्ग्य रचनाहरू सङ्कलन गर्नुभयो । कोबेटलाई उहाँ सम्मान गर्नुहुन्थ्यो । दाँते र रोबर्ट बन्र्स उहाँका प्रिय कवि थिए । छोरीहरूले ती स्कट कवि बन्र्सका हास्यव्यङ्ग्य वा लोकगीत सुनाउँदा उहाँ असाध्यै रमाइलो मान्नुहुन्थ्यो ।
कुभियर विज्ञानका अथक कामदार र विज्ञ थिए । उनी पेरिस म्युजियमका निर्देशक थिए । उनको निजी प्रयोगका लागि त्यहाँ अनेक कोठा थिए । प्रत्येक कोठा एउटा न एउटा कामका लागि तयार गरिएको थियो । एउटा कोठामा एउटै विषयसँग सम्बन्धित किताब, उपकरण, चिरफारका सामग्री आदि राखिएको हुन्थ्यो । एउटा कामबाट थाकेपछि उनी अर्को कोठामा जान्थे र अर्को काममा मग्न हुन्थे । भनिन्छ, मानसिक पेसाको यो सामान्य बदलाव नै उनको लागि आराम थियो ।
माक्र्स पनि कुभियरजस्तै अथक कामदार हुनुहुन्थ्यो । तर, चौतर्फी अध्ययनका लागि उहाँसँग कुभियरको जस्तो जोरजाम थिएन । उहाँ कोठाभित्र ओहोरदोहोर गरेर आराम गर्नुहुन्थ्यो । मैदानमा बारम्बार ओहोरदोहोर गर्दा गोरेटो बने जस्तो ढोकादेखि झ्यालसम्म भुइँमा एउटा खुइलिएको डोरो बनेको थियो ।
बेलाबेला उहाँ सोफामा पल्टिनुहुन्थ्यो र उपन्यास पढ्नुहुन्थ्यो । कहिलेकसो आलोपालो एकैपल्ट दुई–तीन उपन्यास पढ्नुहुन्थ्यो । डार्विनजस्तै उहाँ उपन्यासका जब्बर पाठक हुनुहुन्थ्यो । उहाँ अठारौँ शताब्दीका उपन्यास रुचाउनुहुन्थ्यो । फिल्डिङको ‘टम जोन्स’ उहाँलाई मनपर्ने उपन्यास थियो । पाउल डि कक, चाल्र्स लिभर, अलेक्जान्डर डुमा र वाल्टर स्कट जस्ता आधुनिक उपन्यासकारलाई उहाँ असाध्यै रुचाउनुहुन्थ्यो । स्कटको उपन्यास ‘पुरानो सदाचार’ लाई उहाँ उत्कृष्ट मान्नुहुन्थ्यो । उहाँलाई साहसी र हास्य कथाहरू मन पथ्र्यो ।
सेर्वान्तेस र बाल्जाकलाई उहाँले अरू उपन्यासकारभन्दा माथि राख्नुभयो । डन किहोतेमा उहाँले एक मर्दै गरेको घोडचढी योद्धाको रामकहानी देख्नुभयो । उदाउँदो पुँजीवादी संसारले किहोतेको सदाचारलाई मजाक बनायो र उपहास ग¥यो । माक्र्स बाल्जाकलाई औधी मन पराउनुहुन्थ्यो । त्यसैले, माक्र्सले अर्थशास्त्रको किताब लेखेर भ्याएपछि बाल्जाकको महान् रचना ‘ह्युमन कमेडी’ को समीक्षा लेख्ने मन बनाउनुभएको थियो । उहाँको नजरमा बाल्जाक आफ्नो युगको इतिहासकार मात्र होइन, भविष्यमा देखा पर्ने पात्रहरूका स्रष्टा पनि थिए । लुइ फिलिपको शासनकालमा ती पात्र गर्भमै थिए । तर, बाल्जाकको मृत्युपछि नेपोलियन तृतीयको शासनकालमा समाजमा त्यस्ता पात्रहरू देखिन थाले ।
माक्र्सले युरोपका सबै भाषा पढ्न सक्नुहुन्थ्यो । जर्मन, फ्रेन्च र अङ्ग्रेजी भाषामा भने उहाँ भाषाविद्हरूले तारिफ गर्ने स्तरमा लेख्न पनि सक्नुहुन्थ्यो । एउटा भनाइ उहाँ बरोबर दोहो¥याउनुहुन्थ्यो, “जीवन सङ्ग्राममा विदेशी भाषा एउटा हतियार हो ।”
भाषामा उहाँको दक्खल थियो । त्यो गुण उहाँका छोरीहरूले पनि वारेसमा पाए । ५० वर्षको उमेरमा उहाँले रुसी भाषाको अध्ययन सुरु गर्नुभयो । उहाँले जान्ने युरोपका आधुनिक र प्राचीन भाषासँग त्यो भाषाको कुनै साइनो थिएन । तैपनि, ६ महिनामै उहाँ रुसी कवि र गद्य लेखकहरूका रचनाको स्वाद लिन सक्ने बन्नुभयो । रुसी साहित्यकारमा उहाँ पुश्किन, गोगोल र श्चेद्रिनका रचना रुचाउनुहुन्थ्यो । रुस सरकारका आधिकारिक दस्ताबेजहरू पढ्नका लागि उहाँले रुसी भाषा सिक्नुभएको थियो । किनभने, ती दस्ताबेजमा राजनीतिक जानकारी भेटिन्थे । माक्र्सका लागि उहाँलाई आदर गर्ने साथीहरूले ती दस्ताबेज झिकाउँथे । उहाँ पश्चिम युरोपमा ती दस्ताबेजको जानकारी राख्ने एकमात्र राजनीतिक अर्थशास्त्री हुनुहुन्थ्यो ।
कवि र उपन्यासकारका अलावा बौद्धिक आराम गर्ने माक्र्सको अर्को गजबको तरिका थियो – गणित । गणितप्रति उहाँको विशेष मोह थियो । बीजगणितले उहाँलाई नैतिक सान्त्वना दिन्थ्यो । जीवनका उकालीओरालीमा एकदम निरास भएको बेला उहाँ गणितको शरण पर्नुहुन्थ्यो । आफ्नी जहान अन्तिम पल्ट बिरामी पर्दा उहाँ आफ्नो वैज्ञानिक अनुसन्धानमा समर्पित हुन पाउनुभएन । जहानको पीडाबाट उहाँ मर्माहत हुनुभयो । त्यसबाट पार पाउने एउटै सहारा गणित बन्यो । गणितकै मद्दतले उहाँ त्यो कुण्ठाबाट बाहिरिनुभयो । त्यो नैतिक सकसको बेला उहाँले ‘सूक्ष्म क्याल्कुलस’ को विषयमा एउटा किताब लेख्नुभयो । विज्ञहरूले यसलाई वैज्ञानिक महत्वको महान् कृति भनेका छन् । उहाँको सङ्कलित रचनामा यो पनि छापिनेछ । उन्नत गणितमा उहाँले द्वन्द्वात्मक गतिको सबैभन्दा तर्कसङ्गत र सबैभन्दा सरल रूप देख्नुभयो । उहाँको विचारमा गणितको प्रयोग गर्न नसिकेसम्म कुनै पनि विज्ञान साँचो अर्थमा विकसित हुँदैन ।
माक्र्सको पुस्तकालयमा आजीवन अनुसन्धान गर्दा सावधानीपूर्वक जम्मा गरेका हजारौँ पुस्तक थिए । तर, त्यो सङ्ग्रह पुग्दो थिएन । वर्षौँसम्म उहाँ ब्रिटिश म्युजियममा नियमित जानुभयो । त्यहाँको क्याटलगप्रति उहाँको उच्च सम्मान थियो ।
माक्र्सको विद्वता केवल राजनीतिक अर्थशास्त्रमा सीमित थिएन । सबैजसो देशका इतिहास, दर्शन र साहित्यमा उहाँको दखल थियो । माक्र्सका विरोधीहरू उहाँको त्यो फराकिलो र गहिरो विद्वतालाई कदर गर्न बाध्य थिए ।
राति अबेला सुत्न गए पनि माक्र्स बिहान ८ देखि ९ बजेसम्म उठिसक्नुहुन्थ्यो । त्यसपछि कालो कफी पिएर अखबार पढ्नुहुन्थ्यो र अध्ययन कोठामा जानुहुन्थ्यो । त्यहाँ उहाँ राति २–३ बजेसम्म काम गर्नुहुन्थ्यो । खाना खाने बेला मात्र उहाँ रोकिनुहुन्थ्यो । मौसमले साथ दिए साँझपख उहाँ ह्याम्पस्टिड हिथतिर टहलिन जानुहुन्थ्यो । कहिलेकाहीँ दिउँसोपख एक–दुई घण्टा सोफामा सुत्नुहुन्थ्यो । जवान छँदा प्रायः रातभरि जागै रहेर काम गर्नुहुन्थ्यो ।
(बाँकी भोलि । मोहिनी)
माक्र्समा कामप्रति अनुराग थियो । काममा उहाँ कति डुब्नुहुन्थ्यो भने प्रायः खाना खान बिर्सनुहुन्थ्यो । खाना खानका लागि उहाँलाई बारम्बार बोलाउनुपथ्र्यो । धेरैपल्ट बोलाएपछि मात्र उहाँ तल भान्सा कोठामा आउनुहुन्थ्यो । अनि, अन्तिम गाँस खाँदाबित्तिकै अध्ययन कोठामा फर्किहाल्नुहुन्थ्यो ।
उहाँ अल्पहारी हुनुहुन्थ्यो । उहाँलाई प्रायः अरूचिले सताइरहन्थ्यो । यो समस्याबाट छुटकारा पाउन उहाँले मासु, माछाको सुकुटी, माछाकै चटनी, अचारजस्ता अत्यन्त स्वादिला परिकार पनि खानुभयो । बुद्धिले यामानको काम गर्न पेटले सास्ती भोग्नुप¥यो । आफ्नो मस्तिष्कका लागि उहाँले आफ्नै शरीर बलिवेदीमा चढाउनुभयो । चिन्तन–मनन नै उहाँको लागि अपार आनन्दको स्रोत थियो । हेगेल उहाँका दार्शनिक गुरु हुनुहुन्थ्यो । हेगेलको एउटा भनाइ उहाँ बारम्बार दोहो¥याउनुहुन्थ्यो, “अपराधीको दुष्ट विचारसमेत स्वर्गको झिलिमिलीभन्दा बढी भव्य र समृद्ध हुन्छ ।”
यस्तो असामान्य जीवनशैली र थकानपूर्ण मानसिक श्रमलाई भरथेग गर्न उहाँको शारीरिक बनोट बलियो हुन जरुरी थियो । वास्तवमा उहाँ गठिलो, औसतभन्दा अलि अग्लो, चौडा काँध र बलिष्ठ छातीयुक्त हुनुहुन्थ्यो । उहाँका हातखुट्टा ठिक्कका थिए तर खुट्टाभन्दा मेरुदण्ड लामो थियो, जस्तो यहुदीहरूको हुने गर्छ । जवानीमा जिमन्यास्टिक सिकेको भए उहाँ पहलमान हुनुहुने थियो । उहाँले गर्ने एउटै व्यायाम थियो – हिँडाइ । उहाँ घण्टौँसम्म डुल्न वा पहाड चढ्न सक्नुहुन्थ्यो । गफिँदै र घुमघाम गर्दै घण्टौँ बिताउँदा पनि उहाँ थाक्नुहुन्थेन । कोठामा हिँडिरहँदा होस् वा हिँड्दा सोचेको विचार लेख्न अलिबेर बस्दा होस् – उहाँ काम गरिरहनुहुन्थ्यो । कुराकानी गर्दा कोठाभित्रै उताउता हिँडिरहन मन पथ्र्यो उहाँलाई । वर्णन गहकिलो बन्दा वा संवाद गम्भीर मोडमा पुग्दा उहाँ बेलाबेला अडिनुहुन्थ्यो ।
(बाँकी भोलि । मोहिनी)
Leave a Reply