संरा अमेरिकामा मजदुर आन्दोलन – १
- बैशाख २४, २०८३
धेरै वर्षसम्म म माक्र्ससँग साँझपख टहलिन गएँ । ह्याम्पस्टिड हिथका फाँटहरूमा घुमफिर गने बेला मैले अर्थशास्त्रको शिक्षा हासिल गरेँ । नजानिँदो ढङ्गले उहाँले मलाई ‘पुँजी’ को पहिलो खण्डका विषयवस्तु बताउनुभयो† जसरी लेख्नुभयो, त्यसरी नै बताउनुभयो ।
घर फर्केपछि मैले सुनेजति कुराको टिपोट बनाइरहेँ । सुरुसुरुमा मलाई उहाँका गहिरा र जटिल तर्कहरू पछ्याउन अप्ठेरो भयो । दुःखको कुरा, मैले ती बहुमूल्य टिपोटहरू जोगाउन सकिन । (पेरिस) कम्युनपछि पेरिस र बोर्डक्सबाट प्रहरीले मेरा कागजात बरामद ग¥यो र जलाइदियो ।
ती टिपोटहरू गुमाएकोमा मलाई एकदम पछुतो लाग्छ । पर्याप्त प्रमाण र चिन्तन नगरी माक्र्सले केही पनि बोल्नुहुन्थेन । यो उहाँको बानी नै थियो । त्यसरी खोजी निकालेको मानव समाजको विकाससम्बन्धी सिद्धान्त विलक्षण थियो । त्यसबारे हर साँझ उहाँ घण्टौँसम्म बोल्नुहुन्थ्यो । त्यसका टिपोटहरू मैले गुमाएँ । आँखाको नानी गुमाएझैँ भयो । पहिलो पल्ट मैले विश्व इतिहासको तर्क स्पष्ट देखेँ । झट्ट हेर्दा विरोधाभाषपूर्ण लाग्ने समाज र विचारहरूको विकासको नियम पहिल्याउन सकेँ† तिनको भौतिक जग बुझेँ । म बिजुलीझैँ चम्केँ । त्यो अनुभूति वर्षौँसम्म कायम रह्यो ।
त्यही प्रभाव पछि मैले म्याड्रिड (१) का समाजवादीहरूमा देखेँ । उनीहरूलाई मैले आफ्नो सीमित बुद्धिले भ्याएसम्म माक्र्सको सिद्धान्तका घतलाग्दा पक्षहरूबारे बताएको थिएँ । मानिसको बुद्धिले वर्णन गरेका विश्वका महानतम् सिद्धान्तमध्ये एक थियो त्यो सिद्धान्त । मेरो व्याख्या सुनेर ती समाजवादीहरू चकित परेका थिए ।
(टिपोट १ : पेरिस कम्युनको पराजयपछि लाफार्ज स्पेनको राजधानी म्याड्रिड गएका थिए । माक्र्स र प्रथम इन्टरनेसनलको महापरिषद्ले लाफार्जलाई अराजकतावादी विचार राख्ने बाकुनिनका अनुयायीहरूसँग सङ्घर्ष गर्न स्पेन पठाएका थिए ।)
माक्र्सको दिमाग इतिहास, प्रकृति विज्ञान र दार्शनिक सिद्धान्तका तथ्य–तथ्याङ्कको अविश्वसनीय भण्डारले सुसज्जित थियो । आफ्नो वर्षौँको बौद्धिक अनुसन्धानबाट जम्मा भएको ज्ञान र निष्कर्षहरूको प्रयोग गर्न माक्र्स निकै सिपालु हुनुहुन्थ्यो । उहाँलाई जुनसुकै बेला कुनै पनि विषयमा प्रश्न गर्न सकिन्थ्यो र उत्तरमा अपेक्षा नै नगरेको विस्तृत जवाफ आउँथ्यो । जवाफसँगै उहाँले त्यो विषयको दार्शनिक पक्ष पनि बताउनुहुन्थ्यो । उहाँको दिमाग बन्दरगाहमा चिम्नी बालेर तम्तयार राखिएको युद्धपोत जस्तो थियो; जुनसुकै विचारतर्फ तुरुन्तै दौडिन सक्ने खालको थियो ।
निश्चय नै ‘पुँजी’ ले एक अचम्मै साहसिलो र उत्तम ज्ञान भएको दिमागको झल्को दिन्छ । तर, माक्र्सलाई नजिकबाट चिन्ने मजस्ता व्यक्तिका लागि ‘पुँजी’ र उहाँका अन्य कुनै पनि रचना उहाँको समस्त ज्ञान र प्रतिभाको हाराहारीमा आउँदैनन् । उहाँ आफ्ना रचनाहरूभन्दा कता हो कता माथि हुनुहुन्थ्यो ।
मैले माक्र्ससँग काम गरेँ । म उहाँको नोट टिप्ने लेखनकर्मी मात्र थिएँ । यही बहानामा मैले उहाँको चिन्तन र लेखन शैली अवलोकन गर्ने मौका पाएँ । काम गर्न सजिलो थियो उहाँलाई, तर गा¥हो पनि थियो । सजिलो किनभने उहाँलाई आवश्यक तथ्य र पृष्ठभूमिलाई पूर्णतामा आत्मसात गर्न गा¥हो थिएन । तर, यही पूर्णताले गर्दा उहाँले आफ्ना विचार राख्न लामो र कठिन काम गर्नुपथ्र्यो ।
(इटलीका दार्शनिक) भिकोले भने, “सर्वज्ञानी ईश्वरका लागि वस्तु शरीर मात्र हो; मानिसको ज्ञान बोक्रे हुन्छ, त्यसैले वस्तुलाई ऊ सतह मात्र ठान्दछ ।” माक्र्स भिकोको ईश्वरभन्दा गहिराइमा गएर विषयमा पकड राख्नुहुन्थ्यो । उहाँले सतह मात्र देख्नुभएन, भित्रको आन्तर्य पनि देख्नुभयो । उहाँले (वस्तुका) सबै अवयवलाई तिनको परस्पर क्रिया र प्रतिक्रियामा केलाउनुभयो । उहाँले सबै अवयवलाई केस्राकेस्रा पार्नुभयो र समग्र वस्तुको विकासको इतिहास पहिल्याउनुभयो । त्यसपछि उहाँ त्यो वस्तुको सेरोफेरोमा जानुभयो र अर्को वस्तुमाथि त्यो वस्तुको प्रतिक्रिया बुझ्नुभयो । उहाँले वस्तुको उद्भव, त्यो के कति परिवर्तन, क्रम विकास र क्रान्तिबाट गुज्रियो भनी पहिल्याउनुभयो । अन्त्यमा उहाँ त्यो वस्तुले पार्ने सबैभन्दा टाढाका प्रभावहरू खोतल्नुभयो । उहाँले कुनै पनि वस्तुलाई त्यसको सेरोफेरोबाट अलग बनाएर वा त्यसभित्रै सीमित पारेर हेर्नुभएन । उहाँले यो अत्यन्त जेलिएको विश्वलाई यसको सतत गतिमा देख्नुभयो ।
उहाँ संसारका सबै पत्र खोलेर देखाइदिन चाहनुहुन्थ्यो । संसारका निरन्तर गतिशील क्रिया–प्रतिक्रियाबाट पर्दा हटाएर सबैसामु राखिदिन चाहनुहुन्थ्यो । फ्लुबर्ट र गोन्कोर्टजस्ता साहित्यकारको एउटा अलग्गै धार छ । उनीहरू भन्छन् – आफूले देखेको कुराको सटिक वर्णन गर्न कति गा¥हो छ भने व्यक्तिले छाया वा सतही कुरा लेख्नेभन्दा बढी सोच्नै सक्दैन । माक्र्ससँग तुलना गर्दा उनीहरूको लेखनी केटाकेटी खेल मात्र हो । यथार्थलाई पक्रन र आफूले देखेको कुरा अरूले पनि देख्न सक्ने गरी प्रस्ट भाषामा उतार्न असामान्य पौरख चाहिन्छ । माक्र्स आफ्नो कामबाट कहिल्यै सन्तुष्ट हुनुभएन । बरु उहाँले सदैव केही न केही परिमार्जन गरिरहनुभयो । उहाँले आफ्नो लेखनीलाई जहिल्यै आफूले अभिव्यक्त गर्न चाहेको विचारभन्दा निम्छरो पाउनुभयो ।
माक्र्ससँग दुई विलक्षण खुबी थिए । उहाँसँग कुनै वस्तुलाई त्यसका अवयवहरूमा टुक्र्याउन सक्ने अतुलनीय प्रतिभा थियो । अर्कोतर्फ, उहाँले ती टुक्रे अवयवहरूका विकासका विभिन्न स्वरूप केलाएर तिनको आपसी सम्बन्धहरू खोतल्नुहुन्थ्यो र तिनलाई पुनः सग्लो वस्तुमा जोड्नुहुन्थ्यो । यी काममा उहाँ सिद्धहस्त हुनुहुन्थ्यो । उहाँका यस्ता विश्लेषणहरू छाया (वा अमूर्तीकरण) थिएनन् । कतिपय अर्थशास्त्रीहरूले यस्तो आरोप लगाएका छन् । तर, चिन्तनको क्षमता नहुनेहरूले त्यसो भनेका हुन् । उहाँको तरिका ज्यामितिकारको जस्तो थिएन† वरपरबाट आफ्नै परिभाषा निकाल्ने तर निष्कर्ष निकाल्न यथार्थलाई पूर्णतः बेवास्ता गर्ने उहाँको बानी थिएन । ‘पुँजी’ ले अरूबाट अलग्गिएका बिराना परिभाषा वा सूत्र सिकाउँदैन । बरु, त्यसले एकपछि अर्को गर्दै सर्वथा गहिरो विश्लेषण पेस गर्छ† सबैभन्दा ओझेल पारिएका र पक्रिन नसकिने मिहीन भिन्नताहरू उजागर गर्छ ।
माक्र्सले एउटा सादा सत्यबाट सुरु गर्नुभयो – पुँजीवादी उत्पादन पद्धतिको दबदबामा रहेको समाजको धन आफैमा मालको विशाल सञ्चय हो† माल ठोस वस्तु हो, गणितीय छाया होइन, बरु पुँजीवादी धनको आधारभूत तत्व वा कोष हो । यसपछि माक्र्स मालमाथि केन्द्रित हुनुभयो† त्यसलाई ओल्टाइपल्टाइ गर्नुभयो, भित्रबाहिर नियाल्नुभयो† अनि एकपछि अर्को गर्दै आधिकारिक अर्थविद्हरूलाई नदेखेका गुप्त सत्य निकाल्नुभयो । क्याथोलिक धर्मका सबै रहस्यलाई जोड्दा पनि यति धेरै र गहिरा कुरा भेटिँदैनन् । माललाई सम्पूर्ण कोणबाट जाँचेपछि माक्र्सले यसलाई अर्को मालसँगको सम्बन्ध वा विनिमयका आधारमा हेर्नुभयो । त्यसपछि उहाँले मालको उत्पादन र उत्पादनका लागि चाहिने ऐतिहासिक पृष्ठभूमिलाई केलाउनुभयो । मालले विभिन्न स्वरूप लिन्छन् । माक्र्सले त्यसमा ध्यान दिनुभयो र कसरी एउटा रूप अर्कोमा फेरिन्छ भनी देखाउनुभयो । एउटा स्वरूप कसरी अर्कोमा फेरिनैपर्छ भनी व्याख्या गर्नुभयो । उहाँले कुनै पनि परिघटनाले लिने तर्कसङ्गत विकासपथलाई कति कुशलतापूर्वक वर्णन गर्नुभयो भने झट्ट हेर्दा मनगढन्ते लाग्न सक्छ । तर, यो यथार्थको उपज हो† मालको वास्तविक द्वन्द्वात्मकताको पुनरुत्पादन हो ।
माक्र्स आफ्नो काममा सदा सजग हुनुहुन्थ्यो । आधिकारिक स्रोतबाट नआएको तथ्य–तथ्याङ्कलाई उहाँले कहिल्यै उल्लेख गर्नुहुन्नथ्यो । द्वितीय स्रोतका सूचनामा उहाँ कहिल्यै सन्तुष्ट हुनुभएन । जतिसुकै सा¥होगा¥हो भए पनि उहाँ आफै स्रोतसम्म पुग्नुहुन्थ्यो । एउटा साधारण तथ्य जाँच्नसमेत उहाँ ब्रिटिश म्युजियम धाउनुहुन्थ्यो र अनेक पुस्तकका पाना पल्टाउनुहुन्थ्यो । उहाँका आलोचकहरूले उहाँलाई कहिल्यै लापरबाह प्रमाणित गर्न सकेनन् । उहाँका तर्क राम्ररी नजाँचिएका तथ्यमा आधारित छन् भनी कसैले आक्षेप लगाउन सकेन ।
स्रोतसम्मै पुग्ने बानी थियो उहाँको । यही बानीले गर्दा उहाँले नामै नसुनिएका लेखकका रचना पनि पढ्नुभयो । ती लेखकलाई उद्धृत गर्ने एक्ला व्यक्ति बन्नुभयो उहाँ । ‘पुँजी’ मा यस्ता नाम नचलेका लेखकहरूका धेरै उद्धरण पाइन्छ । यसबाट माक्र्सले आफूलाई अति अध्ययनशील देखाउन खोजेका होलान् भन्ने भान पर्न सक्छ । तर, उहाँको मनसाय अर्कै थियो । उहाँले भन्नुभयो, “म इतिहासप्रति न्याय गर्न चाहन्छु । सबैलाई उसको हकको श्रेय दिन चाहन्छु ।” लेखक जति नगन्य वा नाम नचलेको भए पनि कुनै विचार उसले सटिकतापूर्वक अघि सारेको छ भने उसको नाम उल्लेख गर्नुलाई माक्र्सले आफ्नो कर्तव्य ठान्नुभयो ।
वैज्ञानिक दृष्टिले मात्र होइन, साहित्यका दृष्टिले पनि माक्र्स उत्तिकै सजग हुनुहुन्थ्यो । भरपर्दो तथ्यलाई आधार नबनाई उहाँ तर्क गर्नुहुन्नथ्यो । यसैगरी, आफूले गहिराइमा गएर अध्ययन नगरेको विषयमा कहिल्यै बोल्नुहुन्नथ्यो । बारम्बार परिमार्जन गरेर सबैभन्दा उत्तम स्वरूप नदिएसम्म उहाँले कुनै पनि पुस्तक प्रकाशित गर्नुभएन । पर्याप्त तयारी नगरी सार्वजनिक रूपमा प्रकट हुन उहाँलाई सह्य थिएन । आफ्ना पाण्डुलिपिहरूलाई अन्तिम स्वरूप नदिँदासम्म अरूलाई देखाउनु उहाँलाई यातनाजस्तै लाग्थ्यो । यसमा उहाँ कति कटिबद्ध हुनुहुन्थ्यो भने एक दिन उहाँले मसित आफ्ना पाण्डुलिपिहरूलाई अधुरो राख्नुभन्दा जलाइदिनु बेस भन्नुभयो ।
उहाँको कार्यविधिले गर्दा उहाँमाथि कामको अकल्पनीय भार आइलाग्थ्यो । ‘पुँजी’ मा उहाँले बेलायती कारखाना कानुनबारे २०–२२ पेज लेख्नुभयो । यसका लागि उहाँले निलो किताबहरूको पुस्तकालय नै पढ्नुभयो । निलो किताबमा इङ्गल्यान्ड र स्कटल्यान्डका कारखाना निरीक्षक र आयोगका प्रतिवेदन छापिएका हुन्थे । उहाँले एक शब्द नबिराई ती प्रतिवेदन पढ्नुहुन्थ्यो† तिनमा पाइने पेन्सिलका चिह्न देख्दा यस्तै लाग्छ । ती प्रतिवेदनहरूलाई माक्र्स पुँजीवादी उत्पादन पद्धतिको अध्ययन गर्नका निम्ति सबैभन्दा महत्वपूर्ण र दमदार दस्ताबेज हुन् भन्नुहुन्थ्यो । उहाँ ती प्रतिवेदन लेखकहरूका ठुला प्रशंसक हुनुहुन्थ्यो । ‘बेलायतका जस्ता योग्य, तटस्थ र अरूलाई सम्मान गर्ने कारखाना निरीक्षकहरू’ युरोपका अन्य देशमा पाउन सकिनेमा उहाँलाई शङ्का थियो । ‘पुँजी’ को भूमिकामा उहाँले तिनीहरूलाई गहकिलो सम्मान दिनुभएको छ ।
यिनै निलो किताबबाट माक्र्सले तथ्य–तथ्याङ्कको ठुलो खजाना निकाल्नुभयो । निलो किताब बेलायती सांसदहरूलाई वितरण गरिन्थ्यो । धेरै सांसदले यी किताबलाई निसानेबाजीमा प्रयोग गर्थे । गोलीले कति पाना छेड्यो भनेर उनीहरू गोलीको तागत नाप्थे । कतिपय सांसदले तिनलाई किलोका दरले बेच्थे । तिनको दृष्टिमा प्रतिवेदनबाट छुटकारा पाउने तर्कसङ्गत उपाय यही थियो । यसैकारण, माक्र्सले लङआर्क पुगेर पुरानो कागत बिक्रेताबाट सस्तो मोलमा ती प्रतिवेदन किन्न सक्नुभयो । पुराना किताब र कागजात हेर्न माक्र्स बेलाबेला लङआर्क पुग्नुहुन्थ्यो । प्रोफेसर बिज्लीको भनाइमा माक्र्सले बेलायतका सरकारी छानबिनहरूको सर्वोत्तम उपयोग गर्नुभयो र तिनलाई विश्वको जानकारीमा ल्याउनुभयो । तर, उनलाई के थाहा थिएन भने सन् १८४५ भन्दा अगाडि नै बेलायतमा मजदुरवर्गको अवस्थासम्बन्धी पुस्तक लेख्न एङ्गेल्सले निलो किताबका कैयन् दस्ताबेजहरूको मद्दत लिनुभएको थियो ।
(बाँकी भोलि । मोहिनी)
Leave a Reply