भर्खरै :

कवि हरिबहादुर श्रेष्ठ र उहाँका कविताहरू

कवि हरिबहादुर श्रेष्ठ र उहाँका कविताहरू

सोच, व्यवहार, क्रियाकलाप, भनाइ तथा घटना कुनै पनि जब एक भावुक सचेत संवेदनशील व्यक्तिको अन्तस्करणमा ठोकिन पुग्दछ त्यतिखेर उनीबाट केही भावना अनुभूतिहरू प्रतिध्वनित हुने गर्दछ । जसबाट विभिन्न कला तथा साहित्यिक कृतिहरूको सृजना हुने गर्दछ । आ–आफ्ना चित्रद्वारा चित्रकारले, मूर्तिहरूद्वारा मूर्तिकारले ती भावना र अनुभूतिहरू प्रतिबिम्बित गराइरहेका हुन्छन् भने साहित्यकारहरूले आफ्ना साहित्यिक रचनाहरूमा व्यक्त गरिरहेको हुन्छन् । त्यस्ता व्यक्ति प्राज्ञिक नै हुनुपर्दछ भने पक्कै होइन । भारीले थिचिएका एक भरियाको प्रत्येक सुस्केराबाट पनि आफ्नो दुःख भोगाइ एवम् विचारका स्वरहरू अभिव्यक्त भइरहेका हुन्छ । बस हेर्ने, सुन्ने र बुझ्ने इच्छाशक्ति चाहिन्छ । भनिन्छ, कसैको पनि मनोभावना, चिन्तन, विचार, अनुभव, कल्पना तथा जीवनका कुनै पनि क्रियाकलापलाई कलात्मक शैली र भाषामा व्यक्त गरिरहेको पाइन्छ साहित्यकारहरूको साहित्यिक कृतिहरूमा । अब सवाल उठ्दछ कि ती साहित्यिक कृतिहरूले कुन वर्गको हित गरिरहेको छ ? कसको सेवा गरिरहेछ ? के ती साहित्यहरू बौद्धिक विलासिताका लागि मात्रै हो ? देशभक्ति, देशको स्वाभिमान, स्वतन्त्रता र गरिमा उच्च पार्ने मात्र होइन निमुखाहरूको पीडा तथा आवाजविहीनहरूको स्वरको रूपको साथै त्यहाँ उन्मुक्तिका प्रतिबिम्बहरू रहेका साहित्यिक कृतिहरू निर्माण हुनुपर्दछ । कुनै पनि खाले शोषण, अत्याचारको प्रतिकार र त्यसबाट मुक्ति पाउने शक्तिको निर्माणमा त्यो साहित्यले अगुवाइ गरेको हुनुपर्दछ । हो, त्यस्तै खालका साहित्यहरू सृजना गर्नमा सफल, सरल जीवन र उच्च विचारका संवाहक साहित्यकार हुनुहुन्छ – हरिबहादुर श्रेष्ठ ।
उनै साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा रचित वि.सं. २०८२ को माघ महिनामा ‘मजदुर’ दैनिकबाट प्रकाशित ‘ए, मेरा रातहरू ¤’ नामक कवितासङ्ग्रह सर्वसाधारणको लागि प्रकाशित भयो । उक्त कवितासङ्ग्रह यस पङ्क्तिका पङ्क्तिकारले पनि अध्ययन गर्ने अवसर पाएँ । उक्त कवितासङ्ग्रहमा रहेका सबै कविताहरू एकसेएक मर्मस्पर्शी छन् । सुरुकै कविता ‘साथीहरूलाई पर्खदा पर्खँदै’ अध्ययन गरेँ, आफू भावुक एवम् भावविह्वल भएको अनुभूति पनि गर्दै गएँ ।
जीवन पक्कै पनि अघि बढ्नको लागि हो । केको लागि र कसरी अघि बढ्ने ? यो महत्वपूर्ण प्रश्न हो । केवल आफू मात्र अघिल्लो बन्नको लागि हो भने समाजमा त्यसको कुनै महत्व हुँदैन । पुस्तौँदेखि आफ्नो रगत पसिना खेतमा बगाउँदै आएर पनि त्यसमा हक नपाएका, अरुको पेट भर्दा भर्दै आफू सधैँ भोकाएकाहरूको दुःखलाई निमिट्यान्न पार्न उनीहरूसँगै अघि बढ्नु नै बुद्धिमानी हुनेछ† त्यसको सदाकाल महत्व रहन्छ । सयौँ वर्ष कलकारखानाहरूमा श्रम गर्दा पनि राम्ररी खान, सुत्न, बस्न नपाएकाहरू, एकक्षण सुस्ताउन नपाएकाहरूको सन्तुष्टि र मुस्कानका लागि अघि बढ्नु नै मानवोचित कर्तव्य हो, पहिचान हो । यस्तो स्थितिमा कुन बाटो रोज्ने हो आफूमा भर पर्दछ । समाजभन्दा महत्वपूर्ण व्यक्ति वा परिवार अवश्य पनि होइन । समाजमा उज्यालो रहे हरेक व्यक्ति तथा परिवार स्वतः उज्यालो हुन्छ । विपन्नवर्गको उन्मुक्तिको लागि अघि बढ्दा कवि श्रेष्ठलाई साथ दिने कतिपय साथीहरूले उहाँलाई एक्लै छाडे बिच बाटोमा । तर, उहाँ विचलित हुनुभएन । केही साथीहरूले उहाँको विचारलाई उग्रविचार भनिरहँदा उहाँ अल्मलिनु भएन, निरन्तर अघि बढिरहे र शोषितपीडित निमुखा गरिब जनताको मुक्तिका लागि अनवरत रूपमा लागिरहे । सत्य र स्वतन्त्रता प्राप्तिको लागि सुरुमा एक्लै भएर के भो र ? जनताले वास्तविकता बुझ्दै गएपछि साथ पक्का दिनेछ भन्नेमा उहाँलाई पूर्ण विश्वास थियो । राति आकाशमा चन्द्रमा पनि एक्लै त हो नि ¤ त्यही चन्द्रमाबाट उज्यालो शीतल किरण धर्तीमा पर्दै गए । पछि जुनेली रातमा धेरैले रमाउन पाएजस्तो उहाँको अभियानलाई साथ दिने निमुखा जनताको साथ बाक्लिँदै गयो । जनताको पक्षमा परिवर्तनहरू पनि केही हुँदै गए ।
अनि कवि श्रेष्ठ पहिले आफूलाई बिच बाटोमा छोड्दै गरेका साथीहरूलाई सम्झिनुहुन्छ । ती साथीहरूको अवस्था देख्नुहुन्छ । उहाँहरू केवल बाँच्नको लागि बाँचिरहनुभएको, लाचार भएर बसिरहेका तथा महत्वविहीन भएर जीवन बिताइरहेका देख्दा कवि श्रेष्ठको हृदयद्रवित हुन पुग्दछ । मानवता भएको मानव त हो नि उहाँ । भौतिक सुख सुविधा नै सबैथोक होइन । उहाँका साथीहरूलाई यो कुरा बेलैमा थाहा भएन । आलिशान महलमा बस्न पाएर के गर्ने ? पछि रुचि लाग्दैन, निन्द्रा लाग्दैन भने । विश्वासघात र पश्चातापको बोझ देखिने त होइन तर थाम्न कति गा¥हो ? यो त उहाँहरूलाई थाहा होला ।
चराचुरुङ्गी, पशु, जीव–जीवात्मा कुनै पनि आफ्नो स्वार्थको लागि अघि सधैँ परिश्रम गर्छ त्यो त सामान्य कुरा हो । मानव त विशिष्ट र चेतनशील प्राणी हो नि । सँगै बसेका एक बोकालाई कसैले काट्दै गर्दा अर्काे बोको त घाँस खाएर चुप लागी बस्दछ । यसमा कुनै आश्चर्य छैन किनभने बोका त पशु हो । मानव यदि मानव हुने हो भने त्यो बोकाजस्तै चुप लागेर घाँस खाँदै बस्न कदापि हुँदैन । यही चेतना, बुझाइले गर्दा कवि श्रेष्ठ एक्लै भए पनि परम्परागत थिचोमिचोको विरुद्धमा लागिपर्नुभयो । विद्रोहको बाटोमा गुलाफ ओछ्याइएको हुँदैन, निरङ्कुश तानाशाहहरूले आफ्नो बराबरीमा अरु नआओस् भनेर अनेकौँ कोठा र जालोहरू राखेका हुन्छन् । कोहीमा सहिद हुने आँट नहोला । व्यक्तिगत स्वार्थ त त्याग्न सकिन्छ नि । समूहगत हिँडाइ र साथलाई निरन्तरता दिन सकिन्छ नि । कुनै न कुनै रूपमा सहयोग त गर्न सकिन्छ नि । कवि श्रेष्ठ निराश हुनुभएको छैन । साथीहरू फर्किएला भनी उहाँहरू नआए पनि पछिका पुस्ताले साथ दिनेमा उहाँ विश्वस्त देखिनुहुन्छ । वर्तमान अवस्थामा थोरैको भए पनि जनजीवनमा सकारात्मक परिवर्तनहरू देखापरिरहेका छन् । चेतनाको लहर जनजीवनमा फैलिँदै छ । त्यसैले, कविको अभियान न त उग्र विचार हो न त कोरा कल्पना नै हो । यो त वस्तुगत शाश्वत हो ।
त्यस्तै नै तिनै पुस्तकमा रहेको ‘म नेपाली र म भक्तपुरवासी’ शीर्षकको अर्काे कविताप्रति म आकर्षित भएँ । कविता निकै सान्दर्भिक रहेको मेरो बुझाइ रह्यो । थोरै केही पढेँ, सिकेँ र सामथ्र्य बुद्धि क्षमता योग्यता राखेँ भन्दैमा आफ्नो समाज देशप्रति तुच्छ भाव राख्नेहरू अचेल यो देशमा के छ र ? यसले मलाई के दिन्छ र ? मेरो भविष्य यहाँ सुनिश्चित छैन भन्ने भाष्यहरू प्रयोग गरिरहेको हामी पाउँदछौँ । केही सम्पन्न, बौद्धिक, प्राज्ञिक व्यक्तिहरूले त्यस्ता भनाइहरूलाई मलजल दिने गर्छन् जो लुकिछिपि विदेशी सुविधा र भत्ता खान पल्केका छन् । आफू जहाँ जन्मे, हुर्के, सिके र जहाँबाट आफ्नो व्यक्तित्व पहिचान प्राप्त गरे आज त्यसैलाई तुच्छ सम्झनेहरूको सङ्ख्या बढ्दै छ । जिम्मेवार निकायहरू नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई विदेसिन बाध्य पार्नेमात्र होइन विदेसिनको लागि सरल र सुलभ तरिका स्थापित गर्दै छन् । त्यस्ताहरू आफ्नो घर जलाएर न्यानो भयो, उज्यालो भयो भनी दङ्ग पर्दै छन् ।
अर्काे कुरा भक्तपुरमा भक्तपुरकै देशप्रेमी जनताले गरेको शिक्षा, व्यवसायिक तालिमहरू, स्वास्थ्य, खेलकुद, कलाकृति संस्कृति, सम्पदा आदिको संरक्षण एवम् विकास, स्वच्छ वातावरण कायमका लागि गरिएका प्रयत्नहरू आदिलाई जानाजान अनदेखा गर्ने दृष्टिदोष भएका केही व्यक्तिहरू जताततै नकारात्मक पक्षमात्र देख्ने गर्दछन् । केही कमी कमजोरी होला । त्यसलाई समाधानतर्फ नलगी तीललाई पहाड बनाउने प्रवृत्ति बढ्दो छ । आफ्नै नाक काटेर स्वर्ग देखियो भन्ने भ्रममा पर्नु कतिको बुद्धिमानी होला ? समय र परिस्थितिले सबैलाई सत्यताको बोध गराउनेछ । हेक्का राखौँ, भ्रममा परेर न्याउरी मूसोलाई मारेर पछि पछुटाउन नपरोस् । एक दिन सबैको घैँटोमा घाम लाग्नेछ । यही विश्वास गरौँ । हामी आफ्नो जनताको सेवा गर्ने अभियानमा लागिरहौँ । परिश्रमको फल अवश्य पनि सबैको लागि मीठो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *